site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
असल मित्रसँग छोटो भलाकुसारी
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
अमेरिकी पुरुष भन्नेबित्तिकै कता कता डोनाल्ड ट्रम्पको छवि मनमा आउन थालेका बेला दसैँ ताका सज्जन अमेरिकी ब्रुस केनानसँग भेट भयो । हुनत, केही वर्ष यता ब्रुससँग बर्सेनि एकाधपटक भेट हुँदैआएको छ । हामी समवयी पनि हौँ र बालबालिकाका हितमा जो सकिन्छ गर्नुपर्छ भन्ने समान सोच पनि राख्छौँ । ब्रुस धार्मिक त नभनौ तर आध्यात्मिक प्रकृतिका व्यक्ति हुन् । उनले ‘धर्म’ र ‘कर्म’ शब्दको सही अर्थ बुझेका छन् र बेलाबखत उपयुक्त सन्दर्भमा प्रयोग पनि गर्छन् । क्रियटिङ पोसिबिलिटिज नेपाल (सीपी) नामको सामाजिक संस्थामार्फत् ब्रुससँग सम्पर्क भएको हो । ब्रुस केनान र उनकी पत्नी सोफिया अमेरिकी च्यारिटी (सामाजिक संस्था) हिमालयन चिल्ड्रेन च्यारिटी (एचसीसी) का संस्थापक सञ्चालक हुन् । 
(केही वर्ष सीपीको अध्यक्ष थिएँ म । एचसीसी सीपीको साझेदार संस्था भएकाले सम्पर्क र संवाद हुने नै भयो । अधिकांश गोराहरू र नेपाली पनि मौका पर्नेबित्तिकै धनको धक्कु लगाइहाल्छन् । धाक लगाउन मिल्ने सम्पत्ति नभएकाले हो कि आफैँले कुरा निकाली निकाली धनको धाक लगाउनेहरू मलाई उति मन पर्दैनन् । ब्रुससँगको सङ्गत लामै भए पनि सम्पत्तिका बारेमा उनले कहिल्यै केही भनेको सम्झना छैन । ब्रुस सफल व्यवसायी हुन् र केही वर्ष पहिले स्वास्थ्यमा समस्या भएपछि उनले आफ्नो कम्पनी बेचेको भन्ने चाहिँ अरूबाटै थाहा पाएको थिएँ । अहिले उनको समय सायद सम्पत्तिको व्यवस्थापन, सन्तानहरूको हेरचाह र घुमफिरमा बित्छ सायद ।) 
नेपाल उनी धर्म सन्तानको हेरचाह र घुमफिरका लागि आउँछन् । यसपटक उनी आएका बेला रमाइलो संयोग पनि परेको थियो । केही दिन पहिले चेतकुमारी विक ‘मिस विश्वकर्मा’ छानिएकी थिइन् । सोलुकी अभिभावकहीन बालिका चेत बालमन्दिरमा थिइन् । ब्रुस केनान पहिलो पटक नेपाल आएका बेला चेत र उनकी बहिनी नुरीको संरक्षक भएका थिए । नेपालका विभिन्न बाल गृहमा रहेका अधिकांश बालबालिकाका अचम्मका संरक्षक हुन्छन् । कानुनी दायित्व वा अधिकार त केही हुँदैन तर तिनले बालबालिकाको पालनपोषणको जिम्मेवारी लिएका हुन्छन् । कतिले यस्तो जिम्मेवारीलाई ‘कमाउने मेलो’ वा देखाउने विषय बनाएका हुन्छन् तर केही ब्रुस केनानहरू पनि छन् । ब्रुसले चेत र नुरीको हेरचाहको व्यवस्था मिलाउने क्रममा अरू पनि थुप्रै बालबालिकाको लालनपालनमा सहयोग पुर्‍याएका छन् । 
सीपीले चेतको सफलताको खुसी मनाउन सानो कार्यक्रम आयोजना गरेको थियो । त्यस समारोहमा ब्रुसको उज्यालो अनुहार झन् चहकिलो भएको थियो । त्यतिबेला ब्रुसको अनुहार र आँखामा भरिएको खुसी देखेपछि मलाई लाग्यो यो स्नेह र समर्पणको प्रतिमूर्तिसँग थप कुराकानी गर्नुपर्छ र त्यसलाई पाठकहरूसमक्ष प्रस्तुत गर्नुपर्छ । ब्रुसलाई कुरा गरौँ है भन्दा सजिलै स्वीकार गरे । अनि आइतवार ब्रुससँग मेरै घरमा भेट भयो ।
सामान्य भलाकुसारीपछि मैले ब्रुसलाई भने म अब सीपीको अध्यक्ष छैन । यसैले एचसीसीको साझेदार पनि हैन । अब म पत्रकारका रूपमा कुराकानी गर्छु नि ! अलि ‘मेलो ड्रामाटिक’ भएछ कि एक छिन हाँसियो । 
मैले ब्रुसलाई सोधेँ — नेपालमा पहिलो पटक किन र कहिले आएको ?
‘‘ म १९९९ मा ट्रेकिङका लागि पहिलोपटक नेपाल आएको थिएँ । मेरो भर्खरै पत्नीसँग सम्बन्ध विच्देछ भएको थियो । म परिवार संस्थालाई सम्मान गर्ने मान्छे । मनमा एक प्रकारको बेचैनी थियो । पूर्वीय दर्शनका सम्बन्धमा केही थाहा पाएको थिएँ । हिप्पीहरूको जमानामै थाहा पाएको र संगत गरेको । तर, पश्चिमी सभ्यताबाहिर निस्केको भने त्यो पहिलो अवसर थियो । हामी त्यतिबेला मुस्ताङको लोमान्थाङ गएका थियौँ । मुस्ताङका राजासँग भेट हुँदा उनले आफू पनि अमेरिका पुगेको सम्झँदै ‘‘अमेरिका त स्वर्गै पो हो त । तिमीहरू किन नेपाल आएको ?’’ भनेको अझै सम्झन्छु । 
त्यसपटक नेपाल आउँदा सँगै आएका साथीको दम्पतीले बाल मन्दिरका बालबालिकालाई संरक्षकत्व प्रदान गरेका थिए । मलाई पनि लाग्यो म पनि किन कुनै बालबलिकाको संरक्षक नहुने ? अनि मैले पनि चेत र नरीको जिम्मा लिएँ । मलाई मेरो परिवार बढेजस्तो लाग्यो । परिस्थितिवश सम्बन्ध विच्छेद गर्नुपरेको व्यक्ति भए पनि म परिवारलाई धेरै महत्त्व दिन्छु । बाल मन्दिरसँग जोडिएपछि मैले थप केही गर्ने अठोट गरेँ । त्यही क्रममा एचसीसी दर्ता भयो । ’’
‘‘चेत र नरीकै पालनपोषण वा बाल मन्दिरका अरू बालबालिकाको संरक्षणमा सहयोग गर्न त च्यारिटी चाहिने थिएन । नेपालबाट फर्केपछि बढी नै परोपकारी भयौ कि क्या हो ?” मैले हाँसेर सोधेँ ।
ब्रुसले भने — ‘‘परोपकार भन्नेजस्तो सुरुमा केही थिएन । च्यारिटी दर्ता गरेपछि त्यसमा दिएको दानको कर लाग्दैन । कामकाजका लागि पनि सजिलो हुन्छ । यसलाई व्यावसायिक चतुर्‍याइँ भने हुन्छ । कानुन व्यवसायी साथीहरूले सबै काम हेरिदिएकाले च्यारिटी बनाउन पनि खासै कठिन भएन । यसलाई परोपकार जस्तो ठूलो नाम नदिउँ तर अब यो मेरो साधना भने बनेको छ ।”
(ब्रुसले जति बेला नेपालमा बालबालिकाका लागि छात्रवृत्ति कार्यक्रम सुरु गरेका थिए त्यति बेला यहाँ बाल गृह खोलेर वास्तविक वा कागजी टुहुरालाई धर्म सन्तानका रूपमा विदेश पठाउने काम 'कमाउ धन्धा' नै बनेको थियो । धेरै विदेशीले नेपालमा त्यस्ता बाल गृह चलाउन लगानी गरेका थिए । तर, हुर्केका बालबालिकाको जति नै बिचल्ली भए पनि तिनले खासै ध्यान दिँदैनथे । ब्रुसले त्यो प्रवृत्ति अपनाएनन् । उनले धर्म सन्तान त बनाए तर कागजमा हैन हृदयमा । केही जनालाई जन्मभूमिबाट टाढा लगेनन् बरु धेरै जनालाइ पढ्न सहयोग गरे ।)
एचसीसीको विस्तार हुँदैगएको छ । यसबीचमा सीपी र अरू पनि संस्था तथा व्यक्तिसँग ब्रुसले सम्बन्ध कायम गरेका छन् । उनले भने - ‘‘ सन् २००६ मा मैले मेरो कम्पनी बेचेँ । अनि २००८ मा मुटुको शल्यक्रिया गरेपछि त मैले पूर्णकालीन काम गर्न पनि छाडेँ । त्यसपछि एचसीसीलाई दिने समय पनि स्वाभाविकरूपमा बढी हुने नै भयो । त्यसमाथि मलाई सोफियाले (ब्रुसकी पत्नी) पूरा साथ दिएकी छिन् । अर्का एक जना साथीसँगै हामी ३ जना बोर्डमा छौँ । अझ बालबालिकाको ख्याल त उनले बढी राख्छिन् । यसबाट धेरै सहयोग भएको छ ।”
‘‘सबैभन्दा खुसी लागेको क्षण ?” मैले जान्न चाहेँ ।  ‘‘केटाकेटीले पढाइसकेको क्षण ।” ब्रुसले भने । केही महिना पहिले पनि ब्रुस दम्पती नेपाल आएका थिए । त्यति बेला एउटा कार्यक्रम गरेर सीपी/एचसीसीको संरक्षकत्वमा रहेका बालबालिकामध्ये १० जनालाई बिदाइ गरिएको थियो । तीमध्ये ७ जना स्नातक भएका थिए भने अरू तीन जनाले व्यावसायिक सीप हासिल गरेका थिए । तिनको भविष्य उज्यालो छ छ भनेर ढुक्क हुन सकिन्थ्यो । सीपी/एचसीसीको बाल संरक्षण कार्यक्रमको एउटा विशेषता के हो भने यहाँका बालबालिकालाई विद्यालयको पढाइ सकिएपछि पनि अलपत्र पारेर छाडिँदैन । उनीहरूलाई बिस्तारै आत्मनिर्भर हुन सहयोग गरिन्छ । कलेजसम्मको शिक्ष हासिल गर्न छात्रवृत्ति दिइन्छ भने उनीहरूलाई अलग्गै बस्ने बानी पार्न पनि खोजिन्छ । बाल गृहमा हुर्केका बालबालिकामा परिवारमा जसरी बस्ने बानी पार्न सजिलो हुँदैन । यसैले एकाध वर्ष समय लाग्छ । राम्रै शिक्षा पाएकाले सीपी/एचसीसीका ‘ग्य्राजुएट’ बालबालिकामध्ये धेरै काम गर्दै उच्च शिक्षा हासिल गर्दै छन् । यही क्षण सम्झँदै ब्रुसले भनेका हुन् — “केटाकेटीको ‘ग्य्राजुएसन’ को बेला मलाई सबैभन्दा बढी रमाइलो लाग्यो ।”
(अधिकांश बाल गृहमा बालबालिकालाई भविष्यमा कसरी आत्मनिर्भर बनाउने भन्ने विषयमा खासै ध्यान दिइँदैन । गृहमा आश्रित बालबालिका १६ वा १८ वर्ष पुगेपछि के गर्ने भन्ने योजना पनि हुँदैन । संरक्षक उदार परे उच्च शिक्षाको व्यवस्था हुन्छ नत्र हुँदैन । यसैगरी बाल गृहमा हुर्केका बालबालिका दैनिक जीवनमा संघर्ष गर्न हिचकिचाउँछन् । उनीहरूलाई गृहस्थी चलाउने व्यावहारिक ज्ञान पनि हुँदैन । केही स्थापित संस्थाले विभिन्न प्रकारका विधि अपनाउने गरेका छन् आफ्ना गृहमा हुर्केका बालबालिकालाई समुदायमा स्थापित गर्नका लागि । एचसीसी/सीपीमा पनि आफ्नै प्रकारको विधि अपनाइन्छ । बिस्तारै स्वावलम्बी बनाउँदै लैजाने चरणहरू त छँदैछन् पढ्न सक्ने बालबालिकालाई स्नातक तहसम्मको पढाएरमात्र बिदा गर्ने चलन छ । यसले बालबालिकालाई आत्मनिर्भर हुन र गरिबीको दुश्चक्रबाट सधैँका लागि मुक्त हुन राम्रो सहयोग हुन्छ । यही चरण पार गरेका बालबालिकालाई बिदाइ गरिएको थियो । यसैले ब्रुसलाई बिदाइमा पनि (उनको शब्दमा 'ग्य्राजुएसन'मा) सबैभन्दा बढी रमाइलो लागेको हुनुपर्छ ।)
मैले ब्रुसलाई सोधेँ - "सबैभन्दा नरमाइलो कहिले लाग्यो नि ?"
"हामीले वर्षौँ पालनपोषण गरेका केटाकेटीले जाने बेलामा 'धन्यवाद'सम्म पनि नभनी जाँदा मन ज्यादै कुँडिएको थियो ।" उनले भने । केही वर्ष पहिले सीपीको संरक्षणमा रहेका ३ वटी बालिकाका नातेदारले अर्को व्यक्तिको उल्ल्याइँमा लागेर तिनलाई विधिवत् सीपीबाट बाहिर लगेका थिए । सामान्यतः आफन्तहरूले बालबालिकालाई घर लैजानु सीपी र एचसीसीका लागि खुसीकै विषय हुन्थ्यो । तर, तिनलाई त आफन्तहरूले पैसाको लोभमा लगेका थिए । यसैले तिनको भविष्यको चिन्ता बुसलाई पनि लागेको थियो । तिनको भविष्य बिग्रिन्छ कि भनेर चिन्तित ब्रुसलाई उनीहरूले एक वचन जान्छु पनि नभनी जाँदा चित्त दुखेको रहेछ । मैले त बिर्सी पनि सकेको थिएँ । केटाकेटीसँग भावनात्मकरूपमा म निकट पनि नभएकाले हो कि ? त्यति बेला सोफियाले अझ धेरै चित्त दुखाएकी ब्रुसले सम्झे । अवरुद्ध गलामा सोफियाले ती बालबालिकालाई सोधेकी थिइन् रे - तिमीहरूसँग हामीलाई केही पनि भन्नु छैन ?
धेरै अप्ठेरा र असजिलालाई कर्मको फल भनेर सहजरूपमा स्वीकार्ने र आफ्नो धर्ममा निरन्तर लागिरहनुपर्छ भन्ने ब्रुसलाई पनि चित्त नबुझ्ने एउटा विषय नेपालको शिक्षा प्रणाली रहेछ । शिक्षा पद्धतिमा सुधारका लागि ब्रुसको सुझाव भने अलि बेग्लै छ । भन्छन् - "शिक्षकको तलब ५० हजारभन्दा माथि हुनुपर्छ। अनिमात्र प्रतिभावान् विद्यार्थीले शिक्षक हुन मनपराउनेछन् । त्यसपछि विद्यालयको पढाइ राम्रो हुन्छ ।" शिक्षकको तलब बढाउने पैसा चाहिँ राजनीति गर्नेहरूलाई दिने पैसा कटाएर जम्मा गर्नुपर्ने पनि सुझाव थियो उनको । विद्यालयमा पढाइ राम्रो भयो भने धेरै समस्या समाधान हुन्छ ।
एचसीसीले पालनपोषणको जिम्मा लिएका केटाकेटीको पढाइ राम्रो होस् भन्नेमा ब्रुस दम्पतीले सधैँ नै ध्यान दिएको पाएको छु । त्यसक्रममा उनीहरूले सीपीसँग साझेदारी नथाल्दै एउटा नाम चलेको विद्यालयमा बाल मन्दिरमा बस्दैआएका बालबालिकालाई भर्ना गरेका रहेछन् । तर, अपेक्षाकृत धनीका सन्तान पढ्ने त्यस विद्यालयमा बाल मन्दिरबाट आउने बालबालिकामाथि भेदभाव र हेला भएको पाएपछि उनीहरूले एउटै विद्यालयमा सबैलाई राख्ने व्यवस्था मिलाएछन् । नेपालका अधिकांश विद्यालयमा गरिब वा असहाय बालबालिका हुन् भन्ने थाहा पाएपछि विद्यालयका विद्यार्थीले मात्र हैन शिक्षकशिक्षिकाले पनि हेप्छन् । वर्षैपिच्छे नेपालका विभिन्न भागमा पैदल यात्रा पनि गर्ने ब्रुसले अधिकांश शिक्षकहरू अयोग्य र 'कामचोर' छन् भन्ने थाहा पाएका रहेछन् । यस्तै शिक्षकको तलबका कारण यो पेसा आकर्षक र मर्यादित हुन नसकेको भन्ने पनि बुझेका रहेछन् । 
हामी कुराकानी बिट मार्नेतिर लाग्यौँ । ब्रुससँग त घन्टौँ रमाइलो कुराकानी गर्न सकिन्थ्यो तर समयले अनुमति दिएन । 
मैले सोधेँ - "तिम्रो प्रेरणास्रोत के हो ? आरामले चैन गर्न छाडेर किन दुःख बेसाएको ?" ब्रुसले भने - "सकिन्छ भने सकेको भलो गर्ने नसके पनि कसैको कुभलो नगर्ने मेरो जीवन दर्शन हो । यही प्रेरणाको स्रोत पनि हो ।" उनले थपे - "कुनै काम गर्न योग्य छ भने गर्नुपर्छ । राम्रो काम गर्न कतैबाट बाधा पर्छ भने पनि रोकिनु हुन्न । दुष्टलाई जित्न दिनुहुन्न । बस् ।" 
एचसीसी अमेरिकामा २००० मा दर्ता भएको गैरसरकारी संस्था हो । यसको आयको स्रोतका सम्बन्धमा जानकारी दिँदै ब्रुसले असल कामका लागि दैवले नै संयोग जुराइदिने विश्वास उदाहरणसहित दिए । उनले एचसीसीका सहयोगीहरू बढ्दै गएको पनि बताए । एचसीसीका लागि व्यक्तिगत र संस्थागत सहयोगबाट रकम जुट्ने गरेको तथा अमेरिका र स्विटजरल्यान्डमा चन्दा संकलनजस्ता कार्यक्रम पनि आयोजना हुने गरेको रहेछ । स्रोत र त्यसको व्यवस्थापनका सम्बन्धमा ब्रुसले भने - "एचसीसीमा संकलित रकम प्रायः संरक्षकत्वको हुन्छ । त्यो सम्बन्धित बालबालिकाको पालनपोषणमा नै खर्च हुन्छ । अरू रकम बोर्डको निर्णयअनुसार खर्च हुन्छ । सल्लाहकार समितिले पनि नीतिगत विषयमा सल्लाह दिन्छ ।" विनयी स्वभावका ब्रुस कृतज्ञ हुन पनि बिर्सँदैनन् । भने - "हामीले संसारका विभिन्न कुनाबाट सहयोग सद्भाव पाएका छौँ । हामी यस कार्यक्रममा सहयोग गर्ने सबैप्रति कृतज्ञ छौँ ।"
ब्रुसले भने - "हाम्रा केही बालबालिकाका संरक्षक छन् । तिनलाई नियमित जानकारी दिएर पनि हामी संरक्षकत्व निरन्तर राख्न प्रेरित गर्छौँ । हाम्रा दाता र संरक्षकहरू लगभग सबै निरन्तरै रहेका छन् ।" यस्ता संस्थामा संरक्षकत्व वा अरू सहयोग निरन्तर राख्न सबैभन्दा कठिन हुन्छ । भावावेशमा पटके सहयोग गर्ने धेरै हुन्छन् । नियमित सहयोग गर्छु भन्नेहरू पनि हुन्छन् तर तिनले तुरुन्तै बिर्सी पनि हाल्छन् । यसरी बिर्सनेमा कतिपय प्रतिबद्ध व्यक्तिहरू पनि हुन्छन् । तिनलाई सम्झाइरहनुपर्छ । ब्रुसले भनेको नियमित जानकारी त्यसैका लागि हो । उनीहरूलाई नियमित जानकारी दिँदा तिनले पालनपोषणमा सहयोग गरेका बालबालिकासँग भावनात्मक सम्बन्ध पनि कायमै रहन्छ । 
(अधिकांश गैरसरकारी संघसंस्था चलाउने बाठाहरूले संस्थालाई सके कमाउने नभए पनि कम्तीमा घुमफिरका लागि स्रोत जुटाउने साधन बनाएका हुन्छन् । मानौ, असनको कुनै साहुले आफू पशुपति जान नसकेपछि कसैलाई त्यहाँ गएर माग्नेहरूलाई बाँडिदिन सय रुपैयाँ दिन्छ । पैसा लिने मान्छेलाई भोक लागेको हुन्छ । उसले भोटाहिटी पुगेर १० रुपियाँको जेरी र स्वारी खान्छ । अनि ट्याक्सी लिएर गौशाला पुग्छ । त्यसको भाडा ४० रुपैयाँ लाग्छ । फर्कने भाडा ४० छुट्ट्याउँछ । बाँकी १० रुपैयाँको खुद्रा पैसा साँट्छ । गौशालामा माग्न बसेका सय जनालाई १०/१० पैसा दिन्छ । फर्केर असन जान्छ र साहुलाई सय जनालाई पैसा बाँडिदिएको जानकारी दिन्छ । धेरै राष्ट्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको अवस्था लगभग यस्तै हो । भूकम्पपछि नेपालमा काम गर्न आएका लगभग सबै अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सही लेखापरीक्षण गर्ने हो भने १० प्रतिशतभन्दा बढी रकम पीडित कहाँ नपुगेको देखिनसक्छ ।) 
ब्रुस पनि त बर्सेनि नेपाल आउँछन् । कतै केटाकेटीका नाममा दाताले दिएका पैसा पशुपतिमा बाँडेजस्तै त भएको छैन ? सोधेँ - "तिमीहरूको नेपाल यात्राको खर्च त एचसीसीबाटै गर्छौ होला हैन ?" ब्रुसले उत्तर दिए - "सोफिया र म नेपाल आउँदाजाँदा र यहाँ बस्दा पनि व्यक्तिगत खर्च गर्छौँ । यसैले एचसीसीमा संकलित सबै रकम बालबालिकाकै निम्ति खर्च हुन्छ । हामीभन्दा कम भाग्यमानीका निम्ति संकलित पैसा हामीले आफ्ना लागि खर्च गर्नु उचित हुँदैन ।"
यति धर्म सबैले पालन गरिदिए !
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ३०, २०७३  १२:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC