site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विमला गुरूङलाई पत्र : अनाहकको हन्डर
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
श्रीमती विमला गुरुङजी,
तपाईँले यही असोज २९ गतेको बाह्रखरीमा ‘मरेर बाँचेको दिन’ शीर्षकमा अनुभव लेख्नुभएको रहेछ । तपाईँले दु:खमात्र हैन, एकप्रकारको यातना नै भोग्नु परेछ  । झन्, त्यसमाथि त्यो हन्डर खेपाइमा अधिकांश चिकित्सकहरू दोषी देखिँदा हामी अन्य चिकित्सकलाई पनि अपराधबोध हुनु स्वाभाविक नै हो र मलाई पनि भइरहेछ । सरी!
तपाईँका मूल प्रश्नहरू ‘विशेषज्ञ डक्टर हुँदाहुँदै मलाई किन अर्को अस्पताल पठाए? मेडिकल मूल्यमान्यताविपरीत उनले किन मलाई एक एक महिना गलत उपचार गरे ? दैलोअगाडिको डक्टरमा किन रेफर गरेनन्? किन डक्टरहरू बिरामीलाई सास्ती दिन्छन्? आफ्नो पेसामा रमाएर काम गर्ने नर्स किन छैनन्?’ भन्ने रहेछन् । तपाईँले देखाएको अस्पतालका विशेषज्ञ डाक्टर तपाईँको रोगबारे कति अनुभवी छन् भन्ने पनि बुझ्नुभएको होला ।
निजी अस्पतालका डाक्टरले आफ्नो अस्पतालमा त्यो सेवा हुँदाहुँदै अर्को निजी अस्पतालमा अर्कै डाक्टरलाई रेफर गर्नु त्यति सजिलो नहोला । बेकारमा अस्पताल मालिकको वक्रदृष्टीमा पर्ने चाहना कसैलाई नहोला । तेस्रो प्रश्नको उत्तर पनि यही नै हो । रहे दोस्रो, चौथो र पाचौँ प्रश्नहरू । म सकभर सबैले बुझ्ने भाषामा यी प्रश्नहरूको जबाफ र तपाईँको रोगबारे लेख्ने प्रयास गर्ने छु । अत्यावश्यक केही डाक्टरी शब्दहरूलाई पनि सरल बनाउने कोसिस गरेको छु, सायद बुझिन्छ । केही द्विविधा भए पहिलाजस्तै ‘गुगल’ गर्नुहुन अनुरोध पनि छ है !
‘पेरिफेरल आर्टरी डिजिज्’ त्यति अनौठो र दुर्लभ रोग होइन । उदाहरणका लागि हालैको अमेरिकी अध्ययनअनुसार अमेरिकामा करिब ८५ लाखलाई यो रोग छ र ६० वर्षमाथिका अमेरिकीमा त हरेक पाँच जनामध्ये एक जना यस रोगबाट ग्रसित छन् । तपाईँलाई ‘करोडौँमा एकजनालाई हुने रोग’ बताइएको भारतमा पनि प्रतिहजारमा १७ जना हरेक वर्ष यस रोगबाट आक्रान्त हुने एक अध्ययनले देखाएको छ । नेपालमा यसरी तथ्याङ्क राख्ने चलन नभए पनि टिचिङ अस्पताल र गंगालाल हृदय केन्द्रमा हरेक दिनजसो आउने बिरामीहरू हेर्दा यो हाम्रामा पनि त्यति दुर्लभ नभएको बुझिन्छ । अझ टिचिङ अस्पतालको मनमोहन केन्द्रको भास्कुलर युनिटका तीनचार जना विषेशज्ञ त यसै रोगका बिरामीहरूको उपचारमा भ्याइनभ्याई लागिरहेका छन् ।
यो रोग दुई प्रकारको हुन्छ - एक्युट र क्रोनिक ।
एक्युट भनेको पहिला रोग नलागेको रगतको नलीमा अरु ठाउँबाट (उदाहरणका लागि मुटु) जमेका रगतका ढिक्का वा अन्य बाहिरी ठोस पदार्थहरू बग्दै आएर अड्किएपछि उत्पन्न हुने ‘रक्तसंचारको कमी’ हो । यसरी एक्कासि रक्तप्रवाह बन्द हुँदा अचाक्ली दुख्छ, खुट्टा नीलोकालो हुन्छ र कालान्तरमा चाल नपाइने, चलाउन नसकिने र औँलाबाट क्रमशः कुहिन थाल्ने (गान्ग्रिन) हुन्छ । अड्किएको ठाउँ हेरी यसलाई तुरुन्तै उपचार गर्नुपर्ने वा केही समय पर्खिएर त्यस ठाउँलाई बाइपास गर्ने वा दबाईमात्र दिने हुन सक्छ । काछभन्दा तल र घुँडाभन्दा माथि यसरी बन्द हुँदा इमर्जेन्सी अपरेसन गर्ने गरिन्छ । सजिलो र न्यून खतरा हुने एम्बोलेक्टोमीले गुम्नसक्ने जोखिम भएको खुट्टामा रक्तप्रवाह सुचारु गरिन्छ ।
तर, यहाँलाई भएजस्तो काछमाथिको आइल्याक आर्टरी बन्द हुँदा चाहिँ या त एम्बोलेक्टोमी या त बाइपास गरिन्छ या त कुनै समस्या नदेखिएमा दबाईमात्र पनि दिइन्छ । क्रोनिक पेरिफेरल आर्टरी डिजिज्‌मा चैँ सुरुमा हिँड्दा दुख्ने, बिस्तारै महिनौँपछि खुट्टा सुक्दै जाने र कुहिने हुन्छ । तपाईँले भनेअनुसार तपाईँलाई एक्युट पेरिफेरल आर्टरी डिजिज्‌ भएको बुझिन्छ । काछभन्दा माथि भएकाले देब्रे खुट्टामा अन्य ससाना हाँगाबिँगाहरूबाट केहीमात्रामा रक्तसंचार भइरहने हुनाले तुरुन्तै अपरेसन नगरे पनि खुट्टा बचेको हो । संभावनाका हिसाबले त्यो रगतको ढिक्काबाट केही साना चोक्टाहरू फेरि बग्दै औँलाका नसाहरूमा आएर अड्किए र ती औँलाहरू मरे । लगभग तपाईँको रोग यही हुनुपर्छ ।
विमलाजीको अनुभवअनुसार खुट्टालाई नछोईकनै दबाई लेख्ने डाक्टर आचार्य, चुरोटबारे चाहिआ सोध्ने तर खुट्टाको नाडी नछाम्ने डाक्टर महरा, नछामीकनै न्युरो अस्पताल कुदाउने र नीलो कालो खुट्टामा हथौडाले ठाकठुक गर्ने डाक्टर श्रेष्ठका दोष क्षम्य छैनन् नै ।
पेरिफेरल आर्टरी डिजिज्‌को जाँचमा सुरुमा चिकित्सकले छालाको रंग हेर्ने, खुट्टाको नाडी र तापक्रम छाम्ने र आवश्यक ठानेमा खुट्टा र हातको रक्तचाप नाप्ने गर्छन् । यो रोग नै हो भन्ने भएमा प्रायः खुट्टाको धमनीको डप्लर अल्ट्रासाउन्ड गरिन्छ र नलीमा रगतको बहाव कम वा छैन भन्ने रिपोर्ट आएमा सिटी, एमआरआई वा क्याथल्याबमा एन्जियोग्राम गरिन्छ र उपचार विधि निर्क्योल गरिन्छ । डप्लर-अल्ट्रासाउन्डका लागि रेडियोलोजिस्टले गुगल गर्ने के जरुरत ठाने, सजिलै बुझ्न सकिन्न । पक्कै पनि डप्लर सस्तो र सजिलो उपाय हो । रगतको नली बन्द वा साँधुरो छ भन्ने प्रारम्भिक नतिजा आएछ भने बल्ल सिटी एन्जियोग्राम गराउनु नैतिक र आर्थिक हिसाबले पनि सही कदम मानिन्छ । कुनै चिकित्सकले डप्लर वा अन्य सुलभ विधि नअपनाई एकैपटक एन्जियोग्राम गराउन थालेमा हामी नै ‘कमिसन’को खेल भन्न फिटिक्कै डराउन्नौ ।
एकैछिनमा हुनुपर्ने डप्लरमा भएको ढिलाइले सिटी-एन्जियोग्रामको रिपोर्ट आउँदासम्म अनाहकमा खेर गएको बहुमूल्य समयबारे सम्बन्धित चिकित्सक दोषी देखिन्छन् । यसबाट उनीहरू उम्किन पाउन्नन् । वीर अस्पतालका यसै रोगसँग सम्बन्धित विशेषज्ञ डा. किरण श्रेष्ठले सही सुझाव दिएको तर विविध कारणले जाँचमा ढीला भएको बुझिन्छ । चीसो र नीला काला भइसकेका खुट्टा र झन् तीनतीनवटा औँला कुहिसकेको अवस्थामा डाक्टरले कुनै पनि हालतमा रोग पत्ता लगाउन सकिन भन्न पाउन्नन् र हेल्थ असिस्टेन्टले समेत जान्नुपर्ने लक्षणहरू नदेख्नुमा हड्डीरोग विशेषज्ञ वा फिजिसियन, कानुनीरुपमा कसैले पनि उन्मुक्ति पाउन्नन् । 
पक्कै पनि ब्लुक्रसको भन्दा केएमसीको सिटी स्क्यान मेसिन उन्नत छ र झन् सिटी एन्जियोग्रामका लागि ब्लुक्रसको मेसिनले भरपर्दो तस्बिर निकाल्न सक्दैन । आजका दिनमा केही सरकारी अनि केएमसी र ग्रान्डीलगायत थोरै निजी अस्पतालहरूमा राम्रा सिटीस्क्यान मेसिनहरू छन् जसका रिपोर्टका भरमा कस्तो उपचार गर्ने भन्ने निर्क्योल गर्न सकिन्छ । सस्तो र उही गुणस्तरको निजामती अस्पताल किन पठाएनन्, ती डाक्टरसँग जवाफ होला नै ।
आउनुस्, अलिकति तपाईँलाई उत्कृष्ट लागेको विदेशी अस्पतालका चिकित्सकका बारेमा पनि केही छलफल गरौँ । नेपालमा तुरुन्तै उपचार गरिने रोगका लागि पनि यहाँलाई मेदान्तामा सातादिनभन्दा बढी कुर्नुपरेछ ।
एकपटक यसो सोच्नुहोस् त, चिकित्सकले कुनै अँग काटेर अपाङ्ग बनाउनुभन्दा अगाडि अरु उपाय लगाउन्नन् होला? के डाक्टरले झिनो आशा भए पनि अँग बचाउनतिर लाग्दैनन् होला? मलाई त ती चिकित्सक बडा निर्दयी लागे, एम्बोलेक्टोमी गर्ने उपाय हुँदाहुँदै सिधै दुईटै खुट्टा काट्नुपर्छ भन्दिएछन् । ‘मिराकल’को समेत आशा नगरेका चिकित्सकले किन एम्बोलेक्टोमी गरे? बिरामी र आफन्तले भने भन्दैमा ‘काम नलाग्ने’ अपरेसन गर्न चिकित्सकको नैतिकताले दिन्छ र ? हरेक अपरेसनमा थोरबहुत ज्यान जाने जोखिम हुन्छ नै ।
त्यस्तै हुनु हुनामी भएको भए ती चिकित्सकले आफूलाई हत्यारा ठान्थे कि ठान्दैन थिए ? म ठम्याउन सकिरहेको छइन । झन् रगत नै नचाहिने अपरेसनका लागि १२-१५ जनाको रगत किन खोज्न लगाए, अंदाज लगाउन त सकिरहेको छु तर चिकित्सकलाई त्यस रुपमा सोच्न मन मानिरहेको छैन ।  अँ, देब्रे खुट्टाको त एम्बोलेक्टोमी गरेछन्, काट्नुपर्छ भनेको दाहिने खुट्टा चाहिँ कसरी ठीक भयो, लेखिदिनु भएको भए राम्रो हुन्थ्यो ।
बाइपास सर्जरी भन्दा हाँस्नुपर्ने कारण देखिएन । हो, पक्कै पनि त्यो हाँसो नेपालबाट जाने प्रायशः बिरामीको ‘मुर्गा बन्ने’ चाहना लक्षित हुनुपर्छ या त नेपाली डाक्टरलाई उडाउँदा बढी ग्राहक आउँछन् भन्ने छट्टु ‘बनियाँ’ बुद्धि हुनुपर्छ । काछभन्दा माथिको आइल्याक आर्टरीमा अवरोध छ र काछतलको फिमोरल आर्टरी ठीक छ भने एम्बोलेक्टोमी वा बाइपास गर्नुपर्छ, खुट्टा काट्ने हैन भन्ने ती चिकित्सकलाई थाहा थियो, तर लेख लेख्ने लेखिकालाई थाहा हुने कुरै थिएन । हाँसे । उडाए । अनि हामी उड्यौँ । आफ्नै आङको छारो उडायौँ ।
अझ, धमनीमा जमेको रगत दिमाग वा मुटुमा पुग्छ भनेर जानकारी दिने चिकित्सकको ज्ञान अभूतपूर्व लाग्यो । संसारमा कहीँ नभएको ज्ञान दिएछन् । अर्कोपटक जाँदा कसरी धमनीको रगतको चोक्टा दिमाग वा मुटुमा पुग्छ भनेर सोध्नुहोला र हामीलाई पनि त्यो ज्ञान प्राप्त गर्ने मौका दिनुहोला है !
तपाईँको अपरेसनकै केही कुरा पनि भन्न चाहन्छु । तपाईँलाई अपरेसन गरेपछि आईसीयुमा राखिएको बुझिन्छ । ४० घण्न्टा बेहोस? पढेर म नै झन्डै बेहोस भएँ । हाम्रामा त काछमा नदुख्ने दबाईको सुई लगाएर आधा धन्टाभित्र वार्डमा पठाउने चलन छ र यो चलन संसारभर व्याप्त छ । अझ, गंगालालमा त दबाई जाँच र अपरेसनसहित कुल लागत २० हजार हाराहारी छ । त्यहाँ कति थियो, कुन्नि ? पैसाकै लागि बेहोस बनाएर हाम्रातिरको ‘माइनर सर्जरी, ग्रेड दुईलाई ‘मेजर सर्जरी’ बनाएनन् भन्ने आधार भेटिएन । शंका त गर्न पाइन्छ नि ! 
आउनुस्, अलिकति नर्सका बारेमा पनि कुरा गरौँ । तपाईँ प्लेनमा नै दिल्ली जानुभएको होला । काठमाडौंका सार्वजनिक बसका कन्डक्टर र विमानका परिचारिकामा फरक देख्नु भयो नि, हैन? हामी नेपाली हरपल दोधारे मानसिकता लिएर बाँच्छौँ । तपाईँ आफैँ सरकारीभन्दा राम्रो पढाइ हुन्छ भनेरै आफ्नो स्कुलमा भर्ना हुन चाहने विद्यार्थीका अभिभावकहरूलाई अलिक धेरै शुल्क तिर्न लगाउनु हुन्छ ।
सायद अध्यापकहरू पनि सरकारी वा न्यूनस्तरका निजी विद्यालयका भन्दा राम्रा राख्नु भएको छ, कम काम दिनु हुन्छ र राम्रो पारिश्रमिक दिनुभएको छ । यहाँलाई थाहै छ, विद्यालय होस् वा अस्पताल, निजी छ भने त्यसले दिने सेवाको त्यहीअनुसार सेवाग्राहीबाट असुलउपर गर्छ । नेपालमा केही निजी अस्पतालले त कति नर्सहरूलाई तलबै नदिई वा अति न्यूनतम तलबमा काम लगाउँछन् भनेर बारम्बार छापामा आएको पढ्नु भएकै होला । अनि अलिक बढी तलब दिने केही अस्पतालमा जाँदा ‘ए! त्याँ त लुट्छन्’ भनेर भनेको पनि सुन्नु भएकै होला । मेदान्ताजस्तै हरेक बिरामीलाई स्याहार गर्न दुई दुईजना नर्स राख्न पाए कति राम्रो हुन्थ्यो, सोच्नुस् त । आहा! कति बेरोजगार नर्स नानीहरूको घर चल्थ्यो र काम होलो भएर तिनीहरू पनि हाँसीहाँसी काम गर्थे ।
तर, फेरि तिनीहरूलाई दिने तलब चैँ तपाईँ हाम्रै गोजीबाट जान्थ्यो नि । अस्पतालले लुटेको हैन है त! तन्नादेखि हाँसोसम्म सबै पैसाले किन्ने जमानामा बाँच्न गाह्रो तलब र अनगिन्ती बिरामीको जिम्मा पाएकी नर्ससँग तपाईँले राखेको अपेक्षा कति यथार्थपरक छ, सोच्नुहोला ।
मैले यो पत्र लेख्नुलाई ‘नदुखेको कपाल डोरी लगाएर दुखाएको’ नबुझियोस् । आज नेपाली चिकित्सक समाज चारैतिरबाट घेरिएर निरीह बनिरहेको देखिरहेछु । एकातिर विश्वसनीयता नबुझी लेख्ने पत्रकार छन् भने अर्कातिर कुनै बिरामीलाई तलमाथि हुनेबित्तिकै कानुनी उपायतिर नलागेर पकेटमारलाई झैँ हात जोडाएर सार्वजनिक माफी मगाउने वा लेनदेन मिलाउने प्रशासक र जनता छन् । अझ त्यसमा नुनचुक लगाउन त रुघा लाग्दासमेत राज्यको सम्पत्तिमा विदेशी उपचार खोज्ने शासकवर्ग तम्तयार बसेको छ । यो तपाईँको लेख पनि कतै त्यस्तै नियोजित हतियार त हैन भनेर शंका गरेकोमा क्षमाप्रार्थी छु नै ।
आफ्नो रोग र त्यसको निदान नहुँदा पाएको हन्डरबारे सविस्तार लेख्नु भएकीले म विश्वस्त छु यहाँसँग ती सबै नेपाली डाक्टरहरूका पुर्जा र जाँचका रिपोर्टहरू छन् । यहाँले लेखेजस्तै भएको खण्डमा ती चिकित्सकहरू कानुनतः दोषी छन् र नेपाल अझसम्म पनि कानुनी राज्य नै हो । निकैवटा कमजोरी देखिएका छन्, पक्कै पनि उम्किन पाउँदैनन् । तपाईँ जति अन्य बिरामी भाग्यमानी नहुन सक्छन् ।
तिनीहरूकै भविष्यका लागि पनि यहाँले कानुनी बाटो समात्नु जरुरी छ । आउनुस्, ती दोषीहरूलाई सजाय दिलाऔँ । हुन त यहाँको लेखमा मेरो नाम आएको भए म पक्कै पनि कानुनी उपचार खोज्थेँ, अनाहकमा मानहानि गरेको भनेर । यहाँको वा ती नाम आएका चिकित्सकहरूको मौनले भविष्यमा अर्थ लगाउने नै छ । बेकारमा मुद्दा गर्न मन लागेन भन्ने अभिव्यक्ति नआओस् । दुवै खुट्टा सद्दे नै रहुन् भन्ने शुभकामनाका साथै रगत जाँच अनि दबाई मिलाउने काम हाम्रो अस्पतालमा पनि गरिन्छ भन्ने जानकारी पनि यहीँ दिइहाल्छु । भेट्न मन छ नै । धन्यवाद !
सहयोग गर्न अग्रसर रहेको जानकारीसहित,
 
रामेश कोइराला
सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र ।
विमला गुरुङको लेख  यो लिंकमा क्लिक गरेर पढ्न सक्नुहुनेछ । http://baahrakhari.com/news-details/7860/2016-10-15
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ३०, २०७३  ११:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC