साहित्य
परिवेश– एक
राजधानीको मुटुमा उभिएको एउटा घरको डाइनिङ रुम ।
“आज जिद्दी नगर न छोरा । अरुबेला खाकै छौ नि ।”
“नाइँ,” एलेक्सले झर्किंदै भन्यो, “म त मासु नभई भात खाँदै खान्नँ । बरु भोकै सुत्ने आज ।”
“होइन कस्तो ढिट केटो रहेछ । बाबु, जे जे पकाको छ, त्यै खा । झन् मासु खान नहुने भनेर आज च्याउको तरकारी पकाउन लगाको । भातै खान्न पो भन्छ ।”
अरुसँग जति कड्किए पनि ऊ आफ्ना ड्याडसँग चैँ निकै डराउँथ्यो । त्यसमाथि ड्याडको स्वरमा अलिक कडापनको आभास पाएपछि उसले अरु जिद्दी गरेन ।
खाईपिई सकेर ड्याड समाचार हेर्न थाले, ममी ल्यापटपमा व्यस्त भइन् । एलेक्स भने सरासर आफ्नो कोठामा गएर खाटमा पल्टियो ।
मासुबिनै भात खायो तर उसको भोक मरेन ।
○○○
परिवेश– दुई
एलेक्सको घरबाट अलि परको एउटा घरमा सागर र उसका परिवार बस्थे । बाबा अफिसको कामले उपत्यका बाहिर गएका थिए । घरमा आमा र छोराछोरी मात्र थिए । आमाले पकाउन नहुने ।
दाल र भात त सागर आफैंले पकाएर राखेको थियो । तरकारीचाहिँ भरे दिदी आएर पकाउँछे भनेर पकाएनछ । दिदी आज साथीकोमा नै बस्ने भइछ । ढिलो फोन गरी । आमाले भनिन्, “ठिकै छ त । आज एकदिन तरकारीबिनै भात खाऊँ । पकाउन जान्दैनस् तैँले ।”
सागर दालसँग मात्र भात खाएर उठ्यो । आमा भाँडा माझ्न थालिन् । सागर पढ्न बस्यो । पढ्न त बस्यो तर खै किन पढ्न मनै लागेन उसलाई आज । सिरक तानेर पल्ट्यो, एकछिनमा निदायो ।
○○○
परिवेश– तीन
रामका बुबा त्यसदिन अलि ढिलो घर फर्किए ।
सामान्यतः अलि धेरै काम गर्नुपरेका दिन ढिलो गर्थे बुबाले । आज पनि धेरै काम गरेर निकै पैसो कमाए होलान् भन्ने सोच्यो रामले । आमा पर्तिरको घरमा काम सघाउन गएकी थिइन् । बुबा कोठासम्म नआइपुग्दै अँगालो हाल्न पुग्यो, “बुबा, आज चामल ल्याउनु भो है ? आज भात खान पाउँछम् है ?” रामले उफ्रिँदै सोध्यो ।
बुबा केही नबोली छेउको पिर्कामा गएर टुसुक्क बसे । टोपी फुकालेर निधारको पसिना पुछिरहे ।
त्यतिबेलै आमालाई ढोकामा देखेर राम आमाछेउ गयो ।
“आमा, बुबा त केही बोल्नुहुन्न, सोध्नू न चामल ल्याको कि नल्याको भनेर,” आमाको धोतीको फेर तान्दै रामले भन्यो ।
उसको कपाल सुमसुम्याउँदै आमाले जवाफ दिइन्, “सोधिहाल्छु नि बाबु, तँ भित्र कोठामा गएर बस् है एकछिन ।”
राम अर्को कोठाको भुइँमा ओछ्याएको सानो गुन्द्रीमा गएर पल्टियो ।
बाहिर बुबाले आमालाई भन्दैथिए, “आज चामल ल्याउन पाइएन । दिनभर डुलेर खोज्दा पनि कसैले भारी बोक्न बोलाउने हैन । एउटा साहुकहाँ काम छ भन्ने सुनेर त्यतै धाएँ । नचिनेकोलाई काम दिन डरै हुन्छ भनेर फर्काइदियो । अन्त सबैतिर सुख्खा । खै के खुवाउने होला, तेल्लाई अब !” बाले भक्कानिँदै भने ।
भोकै सुत्ने बानी त लागिसकेको थियो । तर, आज बाको कुरा सुनेर रामलाई कस्तो कस्तो लागिरह्यो ।
त्यो रात तीनवटै पात्रले उस्तै–उस्तै सपना देखे–
एलेक्सले मासु, सागरले तरकारी र रामले भात खाइरहेका थिए ।
प्रकाशित मिति: शनिबार, असोज २९, २०७३ १०:५६
प्रतिक्रिया दिनुहोस्