काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चनाखो भई कलम चलाउन पत्रकारहरुलाई आग्रह गरेका छन् । विजयादशमी, दीपावली र छठ पर्वको अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा उनले मुलुक सङ्गीन घडीमा उभिएको बताउँदै लोकतन्त्रलाई बदनाम गर्ने तत्व सक्रिय षड्यन्त्रमा लागेको बताए ।
“संविधान कार्यान्वयन हुन नदिन र निर्वाचन बिथोल्न लाग्नेविरुद्ध गोलबद्ध भई सत्य तथ्य समाचार सम्प्रेषण गरी जनतालाई जानकारी दिन पत्रकार वर्गमा अनुरोध गर्छु,” वरिष्ठ नेता पौडेलले भने, “लोकतन्त्रविरुद्ध मैले ठूलो षड्यन्त्र देखेको छु । तपाईंले कलम तिखो बनाई सोच्नुहोस्, चिन्तन, अनुसन्धान गरी सत्य तथ्य खोजी गर्नुहोस् ।” कार्यक्रममा विभिन्न समाचारमाध्यममा कार्यरत तथा स्वतन्त्र पत्रकारहरुको उपस्थिति थियो ।
रासस