राजनीति
काठमाडौं । सरकारले मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी विधेयक संसद्बाट फिर्ता लिने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको आज बसेको बैठकले संसद्बाट उक्त विधेयक फिर्ता लिने निर्णय गरेको हो । त्यसैगरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सको नाम परिवर्तन गरेर मनमोहन अधिकारी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान बनाउने निर्णय गरेको छ । डा. गोविन्द केसीसँग भएको सहमतिअनुसार स्वास्थ्य मन्त्रालयले लगेको प्रस्ताव मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेको हो ।
त्यसैगरी सरकारले आर्थिक वर्ष २०७३र७४ को बजेटसँग सम्बन्धित राष्ट्र ऋण उठाउने विधेयक व्यवस्थापिका–संसद्मा पेस गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले बजेटसँग आश्रित उक्त विधेयक आजै सदनमा पेस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
चालु बजेटको विनियोजन विधेयक यसअघि नै संसद्बाट पारित भइसकेको भएपनि सत्ता गठबन्धनमा आएको परिवर्तनले बजेटसँग आश्रित तीन विधेयक भने अस्वीकृत भएका थिए । सरकारले बाँकी दुई विधेयक पनि संसदमा लाने निर्णय गरेको छ । सरकारले अर्थमन्त्रालयका प्रमुख सल्लाहकारमा प्रा डा पुण्यप्रसाद रेग्मीलाई र विश्वविद्यालय अनुदान आयोगको रिक्त सचिव पदमा प्रा डा देवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।
त्यस्तै, आयोगमा विश्वविद्यालयका उपकुलपतिबाट प्रतिनिधित्व हुने पदमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा तीर्थराज खनियाँ र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति डा ईश्वरीप्रसाद ढकाललाई नियुक्त गर्ने निर्णय भएको मन्त्री कार्कीले जानकारी दिए ।
राससको सहयोगमा
प्रकाशित मिति: बिहीबार, असोज १३, २०७३ १४:०३
प्रतिक्रिया दिनुहोस्