site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
कसैलार्इ देखाउन वा गरेजस्तो अभिनय गर्न गरिने हाउभाउलार्इ स्वाँग पार्नु भनिन्छ । सरकार पनि बेलाबखत सडक सुरक्षादेखि बजार नियमनसम्म केही न केही गरेको देखाउन स्वाँग पार्ने गर्छ । चाडबाडका मुखमा सुपथ मूल्यका पसल खोल्ने र बजारको अनुगमन गर्ने काम पनि यस्तै एक प्रकारको स्वाँगमात्र हो । सधैँजस्तै यस वर्ष पनि दसैँ लाग्दानलाग्दै केही ठाउँमा सुपथ मूल्यको पसल खोलिएको छ । सरकारी स्वामित्वका केही कम्पनीले अल्छी गरेर केही पसल राखिदिएका छन् । एकाध रुपैयाँ सस्तो पनि होला । यसैगरी बजार अनुगमनका नाममा केही सरकारी कर्मचारी र पेसेवर अधिकारकर्मीलार्इ बजारमा पठाइएको छ । तिनले बजार अनुगमनका नाममा केही पसलमा छड्के जाँच पनि गरेका होलान् । तर, सुपथ मूल्यका पसल र मौसमी बजार अनुगमन स्वाँगमा सीमित हुनेगरेको छ । 
सुपथ मूल्यको पसलमा बसेका विक्रेता स्वयंलार्इ त्यस्तो पसलबाट खासै फाइदा होला भन्ने नलागेको हुनसक्छ । तर, जागिर खाएपछि खटाएको काम गर्नुपर्छ भनेर उनीहरू पसलमा बसेका छन् । यसैगरी बजार अनुगमनबाट पनि जनसाधारणलार्इ कुनै लाभ हुँदैन भन्ने अनुगमनमा जानेहरूले पक्कै बुझेका होलान् । उनीहरूले बजार अनुगमन गरेबापत भत्ता पाउँछन् र भत्ता पचाउनकै लागि पनि अनुगमनको स्वाँग गर्छन् । अनुगमनमा जाने कर्मचारी र अधिकारकर्मीले पहिले नै थाहा दिएर जाने गरेको समाचार पनि बेलाबखत सार्वजनिक हुनेगरेको छ । अनुगमनमा जाने सबै भ्रष्ट हुन्छन् भन्नु अन्याय हुन्छ । तर, अनुगमन सुपथ मूल्यको पसलजस्तै निरर्थक अभ्यास हो भन्नु चाहिँ गलत हुँदैन । बजार अनुगमन र सुपथ मूल्यको पसलको चलन पञ्चायत कालबाटै सुरु भएको हो । बजारमा राज्यको नियन्त्रण भएका बेलामा सायद सरकारी संस्थानहरूले उपभोग्य सामग्री सस्तामा बेच्नु पनि उचितै हुन्थ्यो । सहरका निम्नमध्यम वर्गलाई सन्तुष्ट बनाइराख्न अपनाइएको यो उपाय बजार खुला भएपछि पनि यथावत् कायम राखियो । यसैले सुपथ मूल्यका पसल चलाउन संस्थानहरूले गर्ने खर्च जति पनि उपभोक्ताले लाभ पाउँदैनन् भन्ने जान्दाजान्दै पनि प्रत्येक वर्ष यो कर्मकाण्ड गरिँदै आएको छ । सुपथ मूल्यका भनिएका पसलका बारेमा धेरैलार्इ त थाहा नै हुँदैन । थाहा पाउनेहरू पनि त्यहाँ जान भ्याउँदैनन् । सुपथ मूल्यको पसलमा गतिला सामान सस्तोमा पाइए किन्न दिनभर लाम लाग्नुपर्छ । सामान किन्दा लाग्ने समयमा अरू काम गर्न पाए बाहिरै किन्दा बढी फाइदा हुन्छ । सामान्य सामान भए बजारका अरू पसलमा पनि सजिलै पाइन्छ । 
बजार अनुगमन पनि अहिलेसम्म पञ्चायतको नियन्त्रणकारी परम्पराबाट बाहिर निस्कन सकेको छैन । खुला बजार अर्थतन्त्र अपनाएपछि सरकारले बजारमा मूल्य नियन्त्रण गर्न सक्तैन । मूल्य नियन्त्रण गरेको स्वाँगमात्र पारिने हो । तर, यसो भन्नुको तात्पर्य सरकारले बजारलार्इ छाडा छाड्नुपर्छ भन्ने चाहिँ होइन । खुला अर्थतन्त्रमा बजारमा सरकारको भूमिका फेरिनेमात्र हो सकिने हैन । खुला बजारमा सरकारले गुणस्तर नियन्त्रण र सहज आपूर्तिका लागि झन् बढी नियमनकारी र सहजकर्ताको भूमिका पूरा गर्नुपर्छ । कम्मरपेटी वा अधोवस्त्रको भाउ हेर्न र तोक्न थालियो भने बजार अनुगमनलार्इ धेरैले 'ब्ल्याकमेल' गरेर रकम असुल्ने मेलोमात्रै ठान्नेछन् । तर, तिनै वस्तु पनि एउटा भनेर अर्को गुणस्तर नबेचियोस् भन्ने चाहिँ सरकारको जिम्मेवारी हो । अर्थात्, अनुगमन मूल्यभन्दा गुणस्तर सुनिश्चित गर्न केन्द्रित हुनुपर्छ । अनुगमन पद्धति प्रभावकारी बनाएमा बजारमा अखाद्य वस्तु खाद्य पदार्थका नाममा विक्री हुन नसक्ने व्यवस्था कायम हुनसक्छ । वस्तुको भाउ बजारलार्इ नै तय गर्न दिनुपर्छ । तर, उपभोक्तालार्इ कुनै एउटा ब्रान्डको माल भनेर अर्कै सामान बेच्ने वा कम गुणस्तरको सामानलार्इ उच्चस्तरको बताएर ठग्ने प्रवृत्ति रोक्न भने अनुगमन र नियमन प्रभावकारी बनाउनुपर्छ । राज्यले आपूर्ति गर्नसक्नेबाहेक अरू वस्तुको भाउमा सरकारले हस्तक्षेप गरे बजारले पनि कृत्रिम अभाव देखाएर कालोबजार गर्ने बाटो समात्छ । यसैले सरकारको ध्यान गुणस्तर नियमनमा केन्द्रित हुनुपर्छ । आशा गरौं, सरकारले अनुगमनलार्इ स्वाँगमात्र हुनबाट जोगाउनेछ । बजारमा केही दिन एकाध सस्तो पसल चलाउन गरिने खर्च दुर्गम भेगका उत्पादन बजारमा पुर्‍याउन लगाउने हो भने उत्पादक किसान र उपभोक्ता दुवैलार्इ फाइदा हुनेछ । सरकारले 'श्राद्धमा बिरालो बाँधे'जसरी पञ्चायती चलन कायम राख्नुको साटो समयसापेक्ष आपूर्ति र अनुगमन नीति अपनाए समय, स्रोत र शक्तिको अपव्यय हुनेछैन । 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १२, २०७३  १९:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC