site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

संविधान जारी भएको ३ वर्ष पूरा भइसक्ता पनि नेपाली कांग्रेसले आफ्नो पार्टीको विधानलाई संघीय ढाँचामा बदल्न सकेको छैन । पार्टीको विधान बनाउन बल्ल कार्यकर्तासँग छलफल थालिएको छ । विभिन्न भेला गरेर संकलित सुझावहरूमा बेग्लाबेग्लै प्रकारका धारणा पाइनु अस्वाभाविक पनि होइन । तर, नेपाली कांग्रेसका नेताहरूले जस्तै कार्यकर्ताले पनि पार्टीको प्रकृति र चरित्र ठम्याउन नसक्नु भने निश्चय नै आश्चर्यको विषय हो । यसैगरी, पार्टीको विधान निर्माणमा पनि नेता कार्यकर्ताले आफ्नो गुटको स्वार्थ रक्षालाई प्रधानता दिएको देखिएको छ । पार्टीको विधानमा कति सदस्यीय समितिहरू रहने र सभापतिलाई कति शक्तिशाली बनाउने भन्नेजस्तो विषयमा कार्यकर्ताको ध्यान बढी केन्द्रित भएको छ । यसैले नेपाली कांग्रेसको आगामी विधान पनि ‘गणेश बनाउन खोज्दा उँट’ बन्यो भनेजस्तै हुनसक्छ । 

कम्युनिस्ट शब्दावली र संरचनाको सिको गर्न थालेपछि नै नेपाली कांग्रेसको पतन सुरु भएको हो । पुँजीवादीबाट अलग्ग देखिन समाजवादलाई आर्थिक सिद्धान्तको आधारका रूपमा २०१२ सालमा स्वीकार गरेको भए पनि नेपाली कांग्रेस उदार लोकतन्त्रवादी दल हो । नेपाली कांग्रेसको घोषणापत्रको सार यही हो । तर,  पार्टीलाई नेताहरूको सुविधामा कहिले ‘सामूहिक नेतृत्व’मा त कहिले एकल नेतृत्वमा अनि कहिले अध्यक्षात्मक  पद्धतिमा चलाउन थालियो । यसले कांग्रेस जनाधारित (मास बेस्ड) हो कि कार्यकर्तामा आधारित (क्याडर बेस्ड) पार्टी हो भन्ने नै छुट्ट्याउन कठिन भयो । पार्टी संगठनमा पछिल्ला दिनमा देखापरेको विकृतिको जड यही दोधार हो । क्रियाशील सदस्यता वितरणमा जालझेल गरेर वा एकपटक केन्द्रमा पुगेपछि सधैँ उतै टाँसिएर आफूलाई नेता बनाउनेहरूलाई प्रतिस्पर्धा र निरन्तर सक्रियताको बाटो रोज्न सजिलो त कसरी होला र ?   

नेपाली कांग्रेसको मूल समस्या भने अझ अर्को छ । नेताले कार्यकर्ताको कुरा नसुन्ने र कार्यकर्ताले जनतासँग संवादै नगर्ने रोग पार्टीमा लागेको छ । कृष्णप्रसाद भट्टराई वा गिरिजाप्रसाद कोइराला पनि आफू नजिकका कार्यकर्ताका कुरा सुन्थे तर उनीहरू समाजका विभिन्न वर्ग र क्षेत्रका प्रतिनिधिसँग प्रत्यक्ष संवाद र सम्पर्कमा हुन्थे । यसैले पार्टीमा पनि उनीहरूको आफ्नै पकड र पहुँच थियो । तर, सुशील कोइराला र शेरबहादुर देउवामा पार्टीबाहिर सम्पर्क र संवाद गर्ने संस्कारको विकासै भएन । नेतामा हुनुपर्ने मुख्य गुण नै नभएकाहरूले नेतृत्व गर्दा विकृति थुप्रिनु अस्वाभाविक हैन । तर, विकृति पहिचान गरेर पनि त्यसैलाई निरन्तरता दिनु भने स्वस्थ प्रवृत्ति हैन । नेता अर्थात् पार्टी सभापति बलियो कि कमजोर बनाउने भनेर बहस गर्ने अवस्था उत्पन्न हुनु जनतामा आधारित दलका लागि शुभ संकेत हैन । पार्टीको नेता सकेसम्म फराकिलो मताधारबाट छानिनुपर्छ र उसले आफ्नो कार्यकालमा पार्टीलाई स्वतन्त्रतापूर्वक हाँक्न पाउनुपर्छ । नेताको नियत ठीक हुने हो भने पार्टीको सञ्चालनमा विवाद हुँदैन । विसं २०१२ सालमा सुवर्ण शमशेर गणेशमान सिंहलाई हराएर पार्टी सभापति चुनिए तर २०१४ मा नेपाली कांग्रेसले सत्याग्रह गर्ने निर्णय गरेपछि उनले राजीनामा गरेर बीपी कोइरालालाई सभापति बनाए । पार्टीले सफलतापूर्वक भद्र अवज्ञा आन्दोलन गरेर राजालाई चुनाव गराउन बाध्य बनायो । 
अहिले त नेपाली कांग्रेस र नेपाली जनताबीच भरोसामात्र हैन संवाद पनि टुटेको छ । पार्टीको विधान निर्माण गर्दा पार्टीको जनाधारित प्रकृति आत्मसात् गर्न सकेमा सही दिशाबोध हुनसक्थ्यो । जनाधारित पार्टीमा नेता व्यापक मताधार भएको संयनत्रबाट चुनिन्छ । यसैले कार्यकर्तालाई जनतासँग निरन्तर संवाद र सम्पर्कमा रहनुपर्ने हुन्छ । तर, पार्टीका मठाधीशजस्ता नेताहरूको स्वार्थका लागि अन्त्यमा विधानलाई सम्झौताको दस्ताबेज बनाइने स्पष्टै छ । पहिले यस्तै भएको छ भने अहिलेको सुझाव संकलनको नियति र नियत पो कसरी बेग्लै होला र ? देशको सबैभन्दा पुरानो र अहिलेसम्मका सबै लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेको दल इतिहासको गर्भमा बिलाएर नजाओस् भन्ने हो भने कांग्रेसका नेताहरूले पार्टीलाई संसारका अरू जनाधारित दलको स्वरूप र संरचनाजस्तै फराकिलो बनाउनुपर्छ । कम्तीमा नेताले कार्यकर्ताको र कार्यकर्ताले जनताको कुरा सुन्नै पर्ने पद्धति र मञ्च विधानमै व्यवस्था गर्नुपर्छ । कांग्रेसले यसपटक व्यक्तिको स्वार्थमा पद्धति, प्रक्रिया र परम्परा मिच्ने चलन छाड्ला त ?
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १५, २०७५  १३:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC