नेपालमा अहिले ७२ देशका कामदारहरू कार्यरत रहेछन् । तिनमा दक्ष श्रमिकदेखि व्यवस्थापकसमेत छन् । सरकारको जानकारीअनुसार श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले संकलन गरेको तथ्यांकअनुसार ३ हजार १ सय ६४ जना विदेशीले सरकारबाट श्रम स्वीकृति लिएर काम गरिरहेका छन् । यो संख्यामा कूटनीतिक नियोगमा काम गर्नेको संख्या समावेश गरिएको छैन । यसैगरी विशेषगरी भारतबाट आएर शारीरिक श्रम गर्ने कामदारहरूको ठूलो संख्या पनि यसमा समावेश भएको छैन होला । नेपालमा अनौपचारिक क्षेत्रमा काम गर्ने भारतीयले श्रम स्वीकृति लिने प्रक्रिया बिरलै पूरा गर्छन् । त्यसैले पनि श्रम स्वीकृति लिएर काम गर्ने विदेशीमा चिनियाँ कामदारको संख्या दुई तिहाइ रहेको हुनुपर्छ । जे होस्, नेपाली मात्र कामको खोजीमा विदेश गएका हैनन् नेपालमा पनि विदेशीले आएर काम गरेका छन् । र, यो स्वाभाविक पनि हो ।
मानव सभ्यताको विकास भएदेखि नै मानिसहरू मूलतः जीविका र रोमाञ्चको खोजीमा थातथलो छाडेर हिँड्ने गरेका छन् । त्यही घुमन्ते प्रवृत्तिको परिमार्जितरूप अहिलेको वैदेशिक रोजगारी पनि हो । नेपालमा वैदेशिक रोजगारीप्रति राजनीति गर्नेहरूले दोहोरो मापदण्ड देखाउने गरेका छन् । समाजको दृष्टिकोणमा पनि त्यस्तै पाखण्ड देखिन्छ । सरकारले नीतिगतरूपमै वैदेशिक रोजगारीलाई प्रोत्साहित गरेको छ । देशभित्र पर्याप्त रोजगारीको अवसर पनि छैन । यसैले ठूलो संख्यामा युवा जनशक्ति विदेशमा काम गर्न गएको छ । केही दशक यता विदेशमा बसाइँ सरेर जानेहरूको संख्या पनि निकै बढेको छ । तर, काम गर्न वा बसाइँ सरेर विदेश जानेहरू ‘पलायन‘ भएका भने हैनन् । उनीहरू कुनै समस्याको सामना गर्न नसकेर भागेका हैनन् ।
देशमा रोजगारको अवसर छैन । रोजगारको अवसर भए यति धेरै संख्यामा युवा विदेश जाने पनि थिएनन् । तर, रोजगारको अवसर सिर्जना गर्न नसक्नेहरूले पसिना बगाउन विदेश जानेहरूलाई ‘पलायनवादी’ भन्नु न्यायाचित हुँदैन । सस्तो लोकप्रियताका लागि चर्को भाषण गर्दा प्रयोग गरिने शब्दहरूले अझै पनि समाजमा विम्ब निर्माण गर्दैछन् । अमेरिका जस्ता चेतनाशील भनिएको समाजमा त भाषणमा प्रयोग गरिएको शब्द र शैलीले जनमत निर्माणमा निर्णायक भूमिका खेल्दोरहेछ भने नेपाली समाज अपवाद हुनसक्तैन । वैदेशिक रोजगारी लाजमर्दो विषय हैन । नेपाल सम्पन्न र समृद्ध नै भएपछि पनि वैदेशिक रोजगारीमा जाने प्रवृत्ति रोकिँदैन । अहिले फोहोर, कठिन र जोखिमपूर्ण काम गर्नेहरूको संख्या धेरै होला । पछि कामको प्रकृति फेरिएला तर वैदेशिक रोजगारी र बसाइ सराइ बन्दै भने हुनेछैन । यसैले वैदेशिक रोजगारीमा जानु लज्जाको विषय होइन भन्ने राजनीतिक नेता, सञ्चारकर्मी र समाजका अगुवाहरूजस्ता विचार निर्माताले आत्मसत् गरून् । विदेशमा काम गरेर देशको अर्थतन्त्र धान्ने युवा पलायन भएका हैनन् ।