site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पहिचानको हुर्मत
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
विसं २०६२-६३ पछि पहिचान शब्दले दह्रो जरो गाड्यो हाम्रो समाजमा । 'समावेशी' र 'पहिचान' यी दुर्इ शब्द यसभन्दा अघि कहिल्यै यति बग्रेल्ती लेखिएका थिएनन् होला । दार्शनिक विवेचना गर्ने फुर्सद नभएर हो कि यी दुर्इ लफ्फाजी  चलिरहे नेपाली समाजमा । तपाईं समावेशी चाहनु हुन्छ कि पहिचान ? कसैले सोधेन, सोध्ने हिम्मतै कसैले गरेन । पहिचानले समाजलाई आफ्नै सीमित घेरामा बाँध्छ र समावेशिताले त्यो  सीमालाइ भत्काउँछ भन्ने चुरो बुझाउन कसैले चाहेन । बीपी कोइरालाले कुनै प्रसङ्गमा भनेका छन् - नेपाल राष्ट्र बनेकै छैन र यो बन्ने प्रक्रियामा छ । बीपी बितेका चौथो दशकमा समेत हाम्रो राष्ट्र निर्माण महत्त्वपूर्ण प्रश्न बनेर अडेको छ ।  के हो नेपाल राष्ट्र ? हिमाल हो कि मैदान ? बुद्ध हुन् कि जानकी ? नेपाल मण्डलको वैभव हो कि सिंजाको सभ्यता ? लोहमान्थांगको किल्लाबद्ध राज्य हो कि इतिहासमा बिलाएको सिम्रौनगढ वा काँक्रे विहारका भग्नावशेष ? पोखराको सौन्दर्य कि कैलालीको कमैया कलंक? खण्डखण्डमा खण्डित भएर हाम्रो राष्ट्र खोज्ने यत्न गरियो भने हामी विखण्डितबाहेक केही हुँदैनौ । 
निश्चय नै 'एउटै भाषा, एउटै  भेष' ले राष्ट्र बनाउने अभियान असफल भयो ।
किनभने, त्यो राज्यबाट लादियो । त्यो जनस्तरबाट आएन बरू फरमानका रूपमा आयो । अधिकांशको मातृभाषामा कामकाज चलाउन पाउनुपर्ने अभियानसमेत 'सर्वोच्च' फरमानले तुहाइदियो । काठमाडौंमा जन्मे हुर्केको मलार्इ नेवारी अपरिचित भाषा थिएन जसरी जनकपुरमा जन्मेको मेरो श्रेष्ठ थरको साथीलार्इ मैथिली नौलो छैन । कपिलवस्तुको देहातमा विज्ञान पढाउने अर्याल सर न्युटनका सिद्धान्तलार्इ अवधीमा अर्थ्याउँथे । ढाका टोपी, गम्छा र कमिज पाइजामामा उनले कहिल्यै खाँचीतिर भन्दा कम सम्मान पाएनन् । उनको त्यही पहिचान बन्दै थियो । यथार्थमा, नेपाल राष्ट्र त्यसरी बन्दै  थियो । रूप, रोगन, लवाइ अनि लवजका आधारमा नेपालगंजतिरका एक झर्रा 'राणा' मित्र मेरा नजरमा निकै कालसम्म 'राना' थारु लागिरहे । ती थारु संस्कृतिमा कति पारङ्गत थिए भने सायद जन्मका आधारमा थारु भएका तर नेपालको अर्कै भूभागमा जन्मेका थारुभन्दा धेरै जान्थे । हुम्ला पुगेका सर्लाहीका कुनै यादव सर हुम्लीहरू भन्दा कतै फरक नहुँदा हुन् । यसरी हेर्दा माथि उदाहरणार्थ प्रस्तुत यी पात्र हामीलाई नेवारी, भोजपुरी, मैथिली, अवधीजस्ता स्थानीय भाषा, संस्कृति अनि परम्परामा गौरवान्वित  बन्ने वातावरण बन्दै थियो ।
हामी सबैका सम्पर्क भाषा नेपाली बन्दै थियो । इतिहास खोतल्दै जाने हो भने नेपाली भाषा नेवारी, भोजपुरी, मैथिली, अवधीभाषा भन्दा कान्छो देखिन्छ । तर, यो कम क्लिष्ट, सरल, सहज र ग्राह्य बन्दै गएको थियो ।  पछिल्लो समयमा  पटकपटक यस भाषाको पनि हुर्मत लिने चाल चालिँदै छ । हाम्रो राष्ट्र निर्माणको प्रक्रियामाथि हुँदै गरेको बलात्कारबाहेक यो अरू केही होइन । र, यो नै हाम्रो पहिचान माथिको आक्रमण हो । हिन्दीलार्इ सम्पर्क भाषा बनाउने 'विभीषण' हरूलाई सम्झिँदै गर्दा २०६० को जेठ असारतिरको कुरा सम्झेँ । फुर्सद हुँदा आँप किन्न धरानबाट मधेस झरिन्थ्यो । सुनसरी, मोरंगका देहातका महिला टोकरीमा आँप लिएर राजमार्ग छेउका ठूल्ठूला गाछीका सिँयालमा बसेका हुन्थे । जतिपटक हामीले ब्रोकन हिन्दीमा आँपको मोलतोल गर्न कोसिस गर्थ्यौँ, उति पटक नै मैथिली वा नेपालीमा जवाफ पाइयो । हिन्दी मधेसतिर पनि सम्पर्क भाषा होइन, ठालु भाषा हो, जमिन्दारको भाषा हो । हिन्दी भाषा सम्पर्क भाषा भन्नु पहिचानको हुर्मत काड्नु हो । हो बरु, मिश्रित मैथिली, अवधी, भोजपुरी, थारु भाषा सम्पर्क भाषा हुन् जनस्तरका । कलैयामा जन्मेका मेरा एक आचार्य थरका मित्र नेपाली त बोल्छन् तर लवजमा भोजपुरी मिसिएकै हुन्छ । 'बे' नलगाई वाक्य टुंगिन्न मेरा तौलिहवाका दाहाल मित्रको । गत साल नेपालमा भेट हुँदा 'तिमी त निकै मोटाएछौ बे ?' भन्दै थिए ।
 हाम्रो नेपालीमा त्यो सुन्दरता थपिँदै थियो, हामी राष्ट्र बन्दै थियौँ । हाम्रो संयुक्त पहिचान बन्दै थियो र हामी नेपाली बन्ने क्रममा थियौँ । नेपाली कला आकाशका उज्ज्वल नक्षत्र मह जोडीले ४० को दशकको अन्त्य तिरै '१५ गते' नामक टेलिसिरियलमार्फत यो संदेश दिइसकेका थिए । पहिचानको गुदोसम्म पुग्न छाडेर बोक्रो समातेर नेपाल राष्ट्र बन्दैन । त्यो दुष्टहरूले बुझेका छन् । त्यसैले ती हामीलाई बोक्रे पहिचानमा अल्मल्याउछन् । अनेक भंगीमामा प्रस्तुत भएर हामीलाई गाँड कोराकोर गराउन उद्यत छन्, हामी लड्न भिड्न माहिर छौँ, लडिरहेछौँ । 
राष्ट्रकवि माधव घिमिरेले उहिले लेखेका छन् - कहिले नझुक्ने, शिर उभेको स्वाभिमानी नेपाली हुन्छ । हो, स्वाभिमान हाम्रो पहिचान हो । सामाजिक संजालमा पछिल्लो साता हाम्री प्रथम महिलाको भावभंगी देखेपछि उनको हुर्मत लिएको देख्न, पढ्न पाइयो । मलाइ के कुरा यकिन छ भने मेरो वस्त्र, मेरो अनुहार, मेरो मुद्रा मेरो जातिको पहिचान हो । जब कान्तिहीन म कुनै समारोहमा उभिन्छु, प्रश्न उब्जिन्छ- के तिमी सन्चै त छौ ? म पिछडिएको नेपाली हुँ, म कामकाजी होइन भनेर सुख पाइए बेसै हुन्थ्यो । त्यो हुँदैन, सायद 'शिष्टता' को 'क्लिष्टता' बुझ्न जरुरी छैन ।  बुझ्न के चाहिँ जरुरी छ भने जीवन नाटक नै सही, तत्क्षण खेलेको भूमिकाप्रति वस्तुगत न्याय नगर्ने हो भने खिल्ली त उँड्छ नै रूपान्तरणका नारासमेत लफ्फाजी कहिन्छन् ।
हाम्रै प्रस्तुतिका कारण विदेशी भूमिमा हामी हेपिएका बग्रेल्ती उदाहरण छन् । बीपी कोइराला देख्न पाउने तर बुझ्न पढ्नै पर्ने पुस्ताका हौँ हामी । बीपी कोइरालाको बारेमा सुशीला आमाको अन्तर्वार्ता  रिकर्डलाई कापीमा उतारेको बाहेक मेरो कुनै सम्बन्ध होइन कोइराला परिवारसँग । तर, पनि यस प्रकरणमा मैले सुशिला आमालाई सम्झेँ । किन भने बीपी भए के गर्थे भन्ने प्रश्न त उठ्ने गर्छ आजकाल हरेक प्रसंगमा । बीपी कोइराला सम्झने उसै होइन । सुशीला आमा कहिल्यै चुलोचौकोभन्दा बाहिर निस्किनन् तर जब जब बीपीसँग उभिइन्  आत्मसम्मानयुक्त आभा प्रसारित गरिन् । मान्छे 'ब्रेडबाट नभई ब्रेनबाट संचालित हुन्छ' भन्थे उनका पति ।
तिमी आफैँ विचार गर भन्थे रे ! सीता दाहालप्रति कटाक्ष होइन तर उनको प्रस्तुति अलि बिझ्ने थियो । उनको विवेकले जे सिकायो, गलत सिकायो । र  उनको त्यस प्रस्तुतिले भारतीय 'बाबु' हरूका नजरमा हाम्रो पहिचान पुनः भान्छे, कान्छा, दरबान, गोर्खे, बहादुर, बम्बैका अँध्यारा गल्लीमा जोवन बेच्न बाध्य चेलीको जस्तो हुन पुग्यो । को कता उभियो जस्ता निकृष्ट व्यंग्य जरुरी त थिएन नै तर के चाहिँ जरुरी थियो भने उनी त्यहाँ उपस्थित थिइन् कि थिइनन् ? शरीर उपस्थित हुनु तर मन अन्तै कतै हुनुले उनको सादगी पुष्ट्याइँ गर्न सक्दैन । उनी नगएकी भए त्यो ठीक हुन्थ्यो बरु गएर अनुपस्थित देखिइन् । त्यो सही भएन । सामान्यतया ३ जना बस्ने सोफामा ४ जना बस्न कसले सिकायो ? दैव जानुन् । ती शिष्टाचार सिकाउने अशिष्टहरू कारवाहीमा परुन् । तर, एक सामान्य गृहिणी पनि हाम्रो लोकाचारअनुरूप तीन पुरुष बसेको सोफामा खाँदिन जान्नन् उसैमाथि चप्पल फुकालेर पलेँटी कस्न । हो, यहाँ हाम्रो पहिचानको धोती खुस्केकै हो । रफ्फुगारहरू यथेष्ट छन् । रफ्फु त गरिदेलान् तर दाग त बसेकै हो । 
समग्रमा, जुन ठाउँमा समावेशिता हुनुपर्थ्यो, त्यहाँ भएन । एकथरीले कुर्लिकुर्ली आफनै भाइभैयादलाई समेत विहारी प्रमाणित गरे । अर्काथरीले बाहुन छेत्री जति सबैलाई आप्रवासी देखे । कोही पहाडी भनेका सामन्तबाहेक केही होइनन् भन्ने कुचेतले लठ्ठ छन् ।
अनि बात चाहिँ समावेशीको गरी टोपल्छन । खान पल्केका ढाडेहरूबाहेक सबैलाई थाहा छ - हाम्रो पहिचान नेपाली हो र सामाजिक तहमा हामी समावेशी छौँ । अलिअघि कतै लेखेको छु - नेपाली खोज्न अब विदेशतिर हेर्दा हुन्छ । यता चौधराइन हाकुपटासी लगाउँछिन्, बाहुनी शेर्पिनीको दोचा लगाउँछिन्, गुरुङसेनि छठको वर्त बस्छिन्, नेवारनी धोती पटुका कस्छिन् । एकाध विग्रह्का कुरा त सुनिन्छन् तर सबै नेपाली छन् यताहुँदी । कताकतै कांग्रेस, कम्निस्ट, पूर्वेली, जनजाति, चुम्लुङ्ग, नेवा पनि भएका छन् रे । तर उताको बाछिटा यतासम्म आइपुगेकै कारण बिदेशमै पनि हामी ध्रुवीकृत छौँ । नेपाली जो हौँ, आआफ्ना अहंकारका जुँगा पालेका छौँ । जुँगा लड़छन् यता पनि । सायद अप गाँसिएको संस्कृति नै भयो यो पनि । हाम्रो आफ्नो पहिचान समावेशीता हुनुपर्थ्यो, अर्कै भयो । आफ्नो पहिचानको हुर्मत लीन हामीबाहेक कसले सकौँला ? 
जय होस् !
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ९, २०७३  १०:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC