site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
षड्यन्त्र सिद्धान्तः चित्र र चरित्र

हामीले त प्रचण्ड भनेको नै राजा ज्ञानेन्द्र हो भन्यौ । हामीले त राजा ज्ञानेन्द्रको महत्त्वकांक्षा नै ‘ग्रान्ड डिजाइन’को मूल कारक हो भन्यौ । हामीले त एमाले र माओवादीलाई फरक फरक पार्टी हुन् भन्यौ । एमालेले प्रजातान्त्रिक मूल्यलाई मदन भण्डारीको ‘जनताको बहुदलीय जनवाद’लाई स्वीकार गरेको छ भन्यौ, मान्यौ । निरपेक्ष शासन त माओवादीहरूलाई मात्र चाहिएको हो तर विस्तृत शान्ति सम्झौतामार्फत माओवादी पनि राष्ट्रिय मूलधारमा बहुदलीय व्यवस्थामा आउँछ भन्ने बुझ्यौँ । सबै प्रतिगामी कार्यहरूको स्रोत राजसंस्थालाई समूल अन्त्य गरेपछि हामीले अब अगाडि बढ्ने भनेको यिनै दलहरू हुन् भनेर मान्यौ । तर, त्यसो त होइन रहेछ नि ! अलिकति गल्ती भएछ । कुरा त एमाले र माओवादी समयकाल क्रममा एउटै भएको देखियो त । अनि बाबुराम र प्रचण्ड चाहिँ एउटै होइन रहेछन् । फेरि एउटै होइनन् भन्ने कसरी ? एउटै हुन पनि त सक्छन् नि । त्यसो भए प्रकाण्ड छुट्नु, पक्रिनु, थुना पर्नु पनि एउटै चित्रको फरक चरित्र हो कि एउटै चरित्रको फरक चित्र हो ? कसरी निर्धारण गर्ने? सिके राउतको तनाव चाहिँ के हो? 

हामीलाई वास्तवमा भन्ने हो भने एउटा ‘इडियोलोजी’को असरको रूपमा निर्माण गरिएको छ । राजा महेन्द्रले नयाँ शिक्षा योजना लागु गरेर निर्दिष्ट किसिमका नागरिक निर्माणको युगको थालनी नै गरेका थिए २०२८ सालमा । त्यो महेन्द्रमालाको युगमा निर्माण भएका मस्तिष्कमा राज्य, सत्ता र शक्तिको सन्दर्भमा एउटा बीजगणितीय अवधारणा जडित गरिएको छ । त्यसको सबैभन्दा स्पष्ट प्रभाव त्यस समयमा शिक्षित र अहिले कर्मचारीतन्त्र, न्यायालय र अन्य जनजीवनका महत्त्वपूर्ण भूमिकामा नेतृत्व प्रदान गरिरहेका व्यक्तित्वहरूमा देखा परेको छ । महेन्द्रको युगको सबैभन्दा रोचक विरोधाभाष कम्युनिस्टहरूलाई दरबारमा पाल्नु, देशलाई एकात्मक चिन्तनको केन्द्र बनाउनु र शिक्षाका नियमहरूलाई पुनर्लेखन गरेर पूर्णरूपमा नयाँ नागरिकको कल्पना गर्नुरहेको थियो । अझै सरल शब्दमा भन्नुपर्दा समाजको एउटा तप्कामा पहुँच हुने मानिसहरू महेन्द्रको ‘स्वर्ग–कल्पना’का हिस्सा भए । ती नै पढेकालेखेका, जानेकाबुझेका व्यक्ति भए । तिनले समाजको चित्र कोर्न सक्छन् र चरित्र वा स्वभावलाई पुनर्लेखन गर्न सक्छन् भन्ने मान्यता नयाँ शिक्षाको केन्द्रमा थियो । त्यस्तै सम्पूर्ण नागरिकका लागि शिक्षालाई अनिवार्य सर्त भएको अवस्थामा कम्युनिस्ट चिन्तनको एउटा कित्तालाई दरबारले संरक्षणमा राख्नुमा नै दुई प्रकारका परस्पर बिरोधी चिन्तनको लागि राष्ट्रिय रूपमा नै  आधारभूमि तयार गरिएको कुरा देख्न सकिन्छ ।

राज्यले तयार गरेका देशभक्त नागरिकहरू एउटा आदर्शको पृष्ठभूमिबाट तयार हुँदै थिए । संस्थापनलाई सहयोग गर्ने र मौजुदा मूल्य र मान्यतालाई विकसित तथा विस्तारित गर्ने, सामाजिक संरचनालाई मलजल गरेर कायम राजनीतिक व्यवस्थाबाट नै सम्पूर्ण रूपमा लाभ आर्जन गर्ने तयारीमा रहेका थिए भने नेपाली कांग्रेसको प्रतिबन्धित राजनीतिक अभ्यासमा समाहित र कम्युनिस्ट राजनीतिक चिन्तनमा लागि परेका अगुवा व्यक्तिहरूको चिन्तन भनेको समग्र रूपमा राजनीतिक मान्यताहरूको परिवर्तन नै थियो । हो, यसरी फरक सोचको विकास भइरहँदा राजनीतिक आदर्शहरू पनि एकअर्काका बिरोधीजस्ता देखिने गरी नै हुर्किरहेका थिए । यही परिप्रेक्षमा पञ्चायतले एउटा बौद्धिक हस्तक्षेप गरेको थियो – षडयन्त्रको चस्माले राजनीतिक घटना क्रमहरूलाई हेर्ने र मध्यमस्तरका बुद्धिजिबीलाई अलमलाउने ।

Prabhu Bank
Agni Group
NIC Asia

यस आलेखको यस बिन्दुमा मध्यम स्तरको बुद्धिजिबी को हो भनेर अथ्र्याउनु पर्ने हुन्छ । सामान्यरूपमा भन्नु पर्दा मध्यम स्तरको बुद्धिजीवी राजनीतिक पहुँच नभएको वा थोरै भएको त्यो व्यक्ति हो जसले समाज, राजनीति, इतिहास र संस्कृतिको थोर बहुत ज्ञान राख्छ । यस्तो व्यक्तिले समाजको विश्लेषणमा रूचि राख्छ, समाजमा उसलाई सुन्ने मानिसहरूको धारणा निर्माण गर्छ, पत्रपत्रिकामा लेख्छ, विभिन्न विकल्पहरूका बारेमा सोच्छ । तर, समाज रूपान्तरका लागि आवश्यक यथेष्ट आन्तरिक शक्ति, बाह्य प्रभाव यस प्रकारका बुद्धिजीवीमा हुँदैन । धेरैजसो समय समाजको राजनीतिक, सामाजिक, ऐतिहासिक विश्लेषणमा खर्च गर्ने यस प्रकारका बुद्धिजीवीले सार्वजनिक जीवनको ठूलो हिस्सालाई प्रभाव पार्न सक्छन् । यही तह र तप्काबाट उठेर राष्ट्रिय राजनीतिको नेतृत्वमा पुग्नेहरू पनि थुप्रै छन् ।

हो, पञ्चायतले गरेको यस्तो हस्तक्षेप एक प्रकारको बौद्धिक हिंसा नै थियो । यो बौद्धिक हिंसाको परिमाण स्वरूप ‘षड्यन्त्रको लेन्सबाट’ समाज विश्लेषण गर्ने बानी पारिदिए पछि समाजका घटनालाई हेर्ने एउटा पद्धतिको नै विकास भयो । हुन त समाजको गहिराइसम्म नपुगी सहती विश्लेषणका आधारमा आफ्ना धारणा समाजमा, राज्य सत्तामा आफ्नो पहुँच भएको स्थानमा पुर्याएर आफ्नो शक्ति, प्रभाव विस्तार गर्ने किसिमका चाकडीबाजका लागि यो विधि त वरदान नै साबित भयो । त्यस्तै समाजको रूपान्तरणको सपना देख्ने र आफ्नो राजनीतिक अभीष्ट प्राप्तिका लागि मिथ्याप्रचार गर्नेहरूका लागि पनि ज्ञानको आधारभन्दा बाहिर गएर तर्क गर्नु, देशका घटनापरिघटनाहरूलाई बौद्धिक रोमान्सका खातिर प्रस्तुत गर्न यस प्रकारको षड्यन्त्रको सिद्धान्त वरदान भयो । अब हामीले कुनै पनि प्रकारको घटना विश्लेषण गर्न आफ्नो हिम्मत, स्रोत, साधन प्रयोग गर्नुपरेन ।

Global Ime bank

राज्य सत्ताले भोग्नुपर्ने इतिहासको गति नै मोडिदिने घटनाको ठीक अनुसन्धान हुनुपर्छ । त्यसको सही विश्लेषणले मात्र अगाडिको हाम्रो बाटो फराकिलो हुन्छ । फेडेरिक निस्त्जेले भनेजस्तै समालोचनात्मक ऐतिहासिक चेत खुल्न हामीमा विगतका घटनाहरूको राज्यस्तरबाट नै अनुसन्धान र अभिलेखीकरण गरेर घटनाको विवरण तयार भएको हुनुपर्छ । जुन देशमा भएका घटनाहरूको बारेमा राज्यले चित्त बुझ्दो जवाफ दिन सक्तैन त्यस देशमा जनताहरूमा सरकारप्रति सम्मान र विश्वास हुँदैन । पञ्चायतले तयार गरिदिएको षड्यन्त्रको सिद्धान्तबाट घटनाहरूलाई विश्लेषण गर्दा आफ्नो अनुकूलको मिथ्याप्रचार त हुने नै भयो, त्यस्तै घटनालाई जुन ढंगले मन लाग्छ त्यसरी नै निष्कर्षमा लैँजादा हुन्छ । हो, यही नै हाम्रो समकालीन राजनीतिको चुरो हो ।

राज्यले नेतृत्व प्रदान गरेर अन्तिम व्याख्या गरिनु पर्ने निश्चित प्रश्नहरू अनुत्तरित रहने अवस्थामा हामी अनुमानको राजनीतिमा पुग्छौँ । मदन भण्डारीको सही व्याख्या के हो? यो घटना जीप दुर्घटनामात्र हो कि राजनीतिक अभीष्टले भरिएको इतिहासको सनसनी पूर्ण कुनै खेल पनि हो ? राजा वीरेन्द्र के हुन् ? उनको व्याख्या के हो ? त्यसबेला सभामुख रहेका तारानाथ रानाभाटले पढेर सार्वजनिक गरेको प्रतिवेदनलाई जनताले स्वीकार गरेका छन् ? छैनन् भने के गर्नु पर्छ? दिपेन्द्रले खाएको भनेको कालो पदार्थ के हो ? किन त्यो पदार्थको नाम खुलेन ? अमर लामाको हत्या के संयोगमात्र हो ? कि त्यसको कुनै राजनीतिक अर्थ छ? राज्य सत्तालाई थाहा भएका कुराहरू जनतालाई भन्नु हुन्छ कि हुँदैन ? नहुने कुराहरू के के हुन् ? हुने कुराहरू के के हुन् ? यी र यस्ता थुप्रै प्रश्न हुँदै हालका दिनसम्म आइपुग्दा इतिहासको गर्भमा लुप्त हुन नसकेका र राज्यले विस्तृत व्याख्या गर्न नसकेका थुप्रै प्रश्नको सही व्याख्या गर्न हामी एउटा राज्यको रूपमा चुकेका छौँ । अथवा हामीले महेन्द्रीय शासन पद्धतिले निर्माण गरेको षड्यन्त्रको सिद्धान्तलाई नै प्रवद्र्धन गरेका छौँ ।

इतिहासको रूपान्तरणको हरेक घुम्तीमा हामीमाथि प्रहार गर्ने मुद्दा भनेको नै हाम्रो विवेकको निर्मल सागरमा घोलिने षड्यन्त्रमूलक व्याख्या हो जसले हामीभित्र परिवर्तनकारी शक्ति छ भनेर मान्दैन । पहिला यस्तो परिवर्तनको बिगुल चन्द्र समशेरको दरबारबाट बज्थ्यो ।

खरीको बोटमा उभिएर १९८१ मंसिर १४ गते शुक्रबारका दिन दासता उन्मूलनका लागि उनले बोलेका थिए – सज्जन हो ! आज एउटा असजिलो कुराको विचारलाई यो भारादारी कचहरी जोरिएको छ । बराबर उन्नति हुँदैरहेको यो संसारमा बखतबखतमा अनेक फेरफारहरू पनि हुँदैगइरहेका छन् । रहँदबस्ताको रीतमा होस्, छरछिमेकी सँगको व्यवहारमा होस्, यतिमात्र होइन घर गृहस्थको चाँजोपाँजोमा समेत यही चाल छ । उनले बजाएको बिगुल अब दासता समाजले थाम्दैन भन्ने हो ।  दासतालाई समाजिक संरचनाको समस्याको रूपमा प्रष्ट पार्न चन्द्र समशेरले गरेको विश्लेषणले अत्यन्त महत्त्वपूर्ण स्थान ओगट्छ । तर पछिल्लो समयमा जनभावनाप्रति गैरजिम्मेबार नेतृत्वले तात्कालिक परिस्थितिमा लाभको दृष्टिमात्र प्रक्षेपण गरेको हुनाले हामीले खासै कुनै पनि प्रकारको निर्मल राष्ट्रिय चरित्र, चित्र र चित्तको निर्माण गर्नसकेका छैनौ । षड्यन्त्रको सिन्द्धान्त हाम्रो दृष्टिकोणको प्रमुख हिस्सा भएको हुनाले हामीले गर्ने चिन्तन र घटनाको व्याख्याले अलमल र अनिश्चित निष्कर्षतर्फ हामीलाई अभिप्रेरित गर्छ । त्यसैले हाम्रो विवेकलाई बन्धकी राख्न बाध्य बनाउँछ ।

हो, त्यसैले माओवादी आन्दोलनको एउटा प्रजातन्त्रिक अभ्यासको रूपमा तत्कालीन एमालेलाई अहिले हामीले हेरे पनि भयो । अथवा विप्लवका प्रकाण्ड छुट्दा पुनः एउटा ठूलो चित्रको सानो चरित्रको मञ्चनका रूपमा पनि बुझे भयो नि ! राज्यले अन्तिमरूपमा चित्त बुझ्दो व्याख्या हामीलाई नदिएको अवस्थामा षड्यन्त्रको सिद्धान्तलाई प्रयोग गरेर हामीमाथि थप षड्यन्त्र भइरहेछ भनेर बुझ्दा हुन्न र ? राजा वीरेन्द्रको वंशनाशको कुनै अन्तिम व्याख्या गरिएको छैन । तर, मानिसहरूलाई सोध्ने हो भने हरेकसँग आआफ्नै रोचक व्याख्या छ । ती अनेकन व्याख्यामध्ये एउटा सत्य हुन सक्छ वा सबै असत्य पनि हुन सक्छन् । मदन भण्डारी वा निर्मला पन्तसम्बन्धी मानिसहरूका अवधारणा पनि त्यस्तै छन् । नेपाल गणराज्य हुनुका पछाडि पनि त्यस्तै अप्रमाणित अनेकन विवेचना छन् । यी र यस्ता घटनाहरू नै समाजलाई रहस्यमय बनाउने कडी हुन् । कुनै पनि समाजको रहस्यलाई ज्ञानका अस्त्रहरूले भेदन गर्न विवेकको तराजुमा राख्ने हो । तर, हामीले राष्ट्रिय चेतको सही प्रयोग गर्ने हो भने समकालीन राजनीतिका केही परिघटनाबाट भविष्यमा हुनसक्ने राजनीतिक संकटको पूर्वाभास गर्न सक्छौँ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ११, २०७५  १८:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC