site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
९० घण्टा बोलेको बोल्यै
Sarbottam CementSarbottam Cement

– अक्षर काका


“सपना जीवनको सारथि हो, यसले डोर्‍याएर जीवनलाई गन्तव्यमा पुर्‍याउँछ ।”

झट्ट सुन्दा यो उक्ति कुनै दार्शनिकको भनाइजस्तो लाग्छ । होइन, यो त जिन्दगीको यथार्थ हो ।

Prabhu Bank
Agni Group
NIC Asia

नुवाकोट तलाँखुका अनन्तराम केसी त्यसका लौकिक पात्र हुन्, जसले सपनालाई सदैव ‘पूजा’ गरे र गन्तव्य चुमी छाडे ।

भदौ १५ गते बिहान १२ बजे । तदनुसार ३१ अगस्टको मध्यरात । उज्यालो हुन अझै दुई प्रहर बाँकी हुँदो हो । मिर्मिरे नखस्दै उनको सपनामा झुल्के घाम लाग्यो । 

Global Ime bank

अर्थात्, उनले विश्वमा नूतन कीर्तिमान खडा गरे । निरन्तर ९० घण्टा २ मिनेट बोलेर ‘गिनिज बुक अफ वर्ल्ड रेकर्डस्’’मा नयाँ कीर्तिमान कायम गरे ।

बोल्ने उनको सोख मात्रै थिएन । बाल्यकालदेखिको सपना थियो । त्यसका लागि उनले जीवनभर साधना गरे । त्यही साधना र सपनाको फसल हो— गिनिज ।

बाबुविरुद्ध ताली

काठमाडौं उपत्यका छिर्ने चार भन्ज्याङमध्ये एक, पाटी भन्ज्याङ । काठमाडौंसँग साँध जोडिएको शिवपुरीको पानीढलो । लिखुको सिरान तलाखु गाउँपञ्चायतमा जन्मिए उनी ।

राजनीतिक घरानामा जन्मिएका । बाबु ज्योतेन्द्रराज खत्री नामुद राजनीतिज्ञ । बीसको दशकदेखि चालीसको दशकसम्म, २० वर्षभन्दा बढी गाउँको ‘बागडोर’ सम्हाले । बाबुको ‘शासन’बारे सिन्धुबेंसी र लिखुबेंसी दुवैतिर चर्चा हुन्थ्यो । तालामाराङ र मेलम्ची खोलासम्म फैलिन भ्याएको हुँदो हो, शायद ।

बोल्ने तृष्णा गर्भमै बोकेर जन्मिएका । सार्वजनिक सभा–समारोह जहाँ हुन्छ, थाहा पाउनेबित्तिकै त्यहीँ फाल हाल्दै पुग्थे उनी ।

त्यस्तै ०३३ सालतिरको कुरा हुनुपर्छ, गाउँसभा चलिरहेको थियो । पञ्चायतविरोधी र समर्थकबीच हात हालाहाल, माइक खोसाखोस, तनावग्रस्त थियो माहोल । के भएको हो, उनले खासै भेउ पाउन सकेनन् ।

एकजना अग्लो मानिस धाराप्रवाह बोलिरहेका थिए । उखरमाउलो घाम, पसिनाले निथ्रुक्कै भिजेका थिए ।

“पञ्चायत छिट्टै ढल्दैछ, पञ्चेहरूका दिन गए,” शायद उनले यस्तै केही भनेको हुनुपर्छ । अनन्तले घुर्मैलो सुने ।

उनको भाषण सुनेर दर्शक निकै उत्तेजित भए । समर्थनमा तालीको वर्षा भयो । लिखुरे ज्यानका अनन्त अलि पर थिए । भाषणकर्ताको वाक्–कलाबाट विभोर भएर उनले पनि ताली ठटाएछन् ।

“अघिको आमसभामा किन ताली बजाइस् ?” घरआएपछि बाबुले झाँको झारे । त्यसपछि पो रहस्य उद्घाटन भयो– अघि त उनले आफ्नै बाबुविरुद्ध ताली बजाएछन् ।

तर, उनले पश्चाताप गरेनन् । दर्शकलाई मुग्ध तुल्याएर ताली पाउनु भाषणकर्ताको उपलब्धि हो । मासलाई आफूतिर आकर्षित गर्नुलाई सफलताको द्योतक मानिन्छ ।  आफ्नो बाबुविरुद्ध दमदार भाषण गर्ने ती पात्र उनको आदर्श बने ।

बोल्नकै लागि राजनीति

गाउँकै भूमिदेवीबाट अक्षरको धर्सा कोर्न जानेका अनन्तको निम्नमाध्यमिक तहसम्मको शिक्षा–दीक्षा त्यहीँ भयो ।

८ सम्म घरभन्दा अलि तलतिरको महेन्द्र मावि र ९–१० पूरा गर्न स्याउलेभूमि मावि सिक्रे पुगे । काठमाडौं आसपासका जिल्लामा पञ्चायतविरोधी डढेलो सल्किँदै थियो । उनको झुकाव त्यता बढ्यो । कक्षा ८ मै पढ्दाताका उनी अनेरास्ववियू तत्कालीन पाँचौंमा संगठित भए ।

“दीर्घकालसम्म राजनीति गर्ने सोच त कहाँ हो र ! उही बोल्न पाइन्छ भनेर क्या !” पञ्चायतविरोधी आन्दोलनको भँगालोमा हेलिनुको तात्पर्य बताउँछन् उनी ।

किशोरवयमै प्रारम्भिक कमिटी सचिव, अध्यक्ष हुँदै जिल्ला उपाध्यक्षसम्मको यात्रा तय गरे । राजनीतिक यात्रामा जति फड्किँदै गए, वाकपटुतामा उति निखार आउँदै गयो । माध्यमिक तहको फड्के नाघ्ने बेलासम्म त उनी ‘भाषणबाज’ बनिसकेका थिए ।

“बोल्ने प्यासन बोकेकाहरूका लागि त विद्यार्थी आन्दोलन मलिलो र अतिउर्वर थलो हो नि !” हाँस्छन् उनी ।

तलाखुदेखि शुरू भएको राजनीतिक यात्राले काठमाडौं आएपछि पनि विश्राम पाएन । अगुल्टोझैं राकिँदै, रापिँदै गए उनी । त्यतिबेलाको एउटा रमाइलो घटनाले उद्वेलित बनाइरहन्छ उनलाई ।

काठमाडौंमा पञ्चायतविरुद्ध निर्णायक संघर्ष जारी थियो । चैतको धूप जति चर्को थियो, त्योभन्दा रापिलो थियो आन्दोलन । पञ्चायत ढल्ने पक्कापक्की थियो ।

उनी पनि ‘अन्तिम संघर्ष’मा होमिए । प्रहरीको लाठी, बुट नखाएको दिन थिएन । प्रहरीको धरपकड, अश्रुग्यासका सेल लागेर धेरैपटक आहत भए उनी ।

पञ्चायत जोगाउन भरमग्दुर प्रयास गरेका बाबुले कताबाट थाहा पाएछन् । हुर्रिंदै काठमाडौं आए र उनलाई आन्दोलनमा सरिक नहुन अनुनयविनय नै गरे । मथिंगगलमा व्यवस्थाविरोधी भूत सवार उनी रोकिने कुरै थिएन । पञ्चायतविरुद्ध सम्झौताहीन संघर्षको मसाल बोकेका उनी आफ्नो निर्णयबाट पछि किन हट्थे !

केही जोर नचलेपछि बाबु घरको मूलढोकामा ताल्चा ठोकेर गाउँ हानिए । घरभित्रै बन्धक बने उनी । ०४६ चैत २३ गतेको कुरा हो यो । चैत २६ गते पञ्चायतको अन्तिम दिन बनिहाल्यो । त्यसको भोलिपल्ट साँझपख मात्रै उनी ‘फुकुवा’ भए ।

“पञ्चायत ढाल्ने बेला नजरबन्दमा परेको मानिस पो हुँ त !” फेरि हाँस्छन् उनी ।

तर, त्यो तीन दिनको अवधिमा उनलाई खाने, शौचालय जाने कुनै कुराको असुविधा भएन । बाबुले घरभित्रै सबै बन्दोवस्त मिलाइदिएका थिए ।

“आन्दोलनमा नजाओस् भनेर होइन, छोरो मर्छ भनेर बाबुलाई पीर परेको नि ! के थाहा आन्दोलनको मोहोरीमा म पनि पर्थें कि !” भन्छन्, “पञ्चायतविरुद्ध संगठित हुनुको एउटै उद्देश्य थियो– वाककलाको प्रष्फुटन । बोल्ने शिल्पको विकास ।”

शिक्षणले अझै उकास्यो

०५२ को शेरबहादुर देउवानेतृत्वको सरकारका पालमा गाउँकै भूमिदेवी माध्यमिक विद्यालयको प्रधानाध्यापक नियुक्त भए उनी । बाबुसँग विद्रोह गर्दागर्दै थाकेका । भर्खर स्नातक सकेको गधापच्चिसे उमेरका थिए उनी । बाबुको पसिनाको जगमै खडा भएको स्कुल हुनाले प्रधानाध्यापक हुने बाटो खुलिहाल्यो । विद्यार्थी राजनीतिबाट शिक्षक राजनीतितिर प्रविष्ट भए उनी ।

०६० सालसम्म स्कुलको हेडमास्टर बनेका अनन्तलाई त्यहाँ पनि बोल्ने प्रशस्त मञ्च मिल्यो । गैरसरकारी संघसंस्था, शिक्षक संघसंस्थाका तालिम, विद्यालयका सानातिना कार्यक्रममा उद्घोषकका रूपमा कसैले माइक समात्न पाएनन् । वाक्–कलालाई मस्काउँदै लगे ।

किशोर–युवावयमा राजनीतितिर हेलिएका थिए । शिक्षण पेशा जीवन–दर्शनजस्तो भयो । शिक्षक–विद्यार्थीसँग उठबस । समाजसँग साक्षात्कार । दर्शनभन्दा कुनै पनि अर्थमा भिन्न थिएन । त्यसपछि उनी अध्यात्मतिर समाहार भए । त्यसको पनि रमाइलो किस्सा छ—

०५६ वैशाख १ अगाडि उनी नास्तिक थिए । जनै–टुप्पी काटेका । मन्दिर देख्नेबित्तिकै लात्ती उचाल्न पछि पर्दैनथे । त्यसबेला कम्युनिस्ट पार्टीका नेता मोदनाथ प्रश्रितले ‘देवासुर संग्राम’ भन्ने कृति निकालेका थिए । त्यसलाई मिहिन अध्ययन गरेका उनले देवता होइन, दानव नै ठीक रहेछन् भन्ने निष्कर्ष निकालेछन् र धर्मकर्मलाई लिखुमै बगाए । उनको उग्र–कृत्यले बाबुलाई पिरोल्नुसम्म पिरोल्यो ।

०५५ चैतको पुछारतिर जीवनको उत्तराद्र्धमा आइपुगेका बाबुले बोलाएरै उनलाई भने, “म अन्तिम अवस्थामा आइपुगें । आजसम्म तैंले मैले भनेको कुरा खाइनस्, एउटा कुराचाहिँ मान्छस् ?”

यसो हेर्छन्, बाको आँखा निकै धमिलो देखे । अनुहारमा मृत्युको सग्लो अनुहार छमछमी नाचेको पो आभास भयो ।

“के बा ?” आत्तिँदै सोधे ।

“तँ धर्मकर्म मान्, देवता–पितृप्रति रुचि देखा !”

बाबुको अन्तिम वचन उनले काटन् सकेनन् । जीवनको पाइला अध्यात्मतिर मोडे ।

“अचम्म ! मैले हुन्छ के भनेको थिएँ, बाको प्राण गइहाल्यो,” भावुक हुन्छन् उनी ।

०६० मा शिक्षकबाट सेवानिवृत्त भएका उनी अध्यात्मको खोजी गर्दै विभिन्न ठाउँ चहारे । बालयोगश्वर (हाल गृहस्थी जीवनमा फर्किएपछि प्रेम राउत भएका छन्), ओशो, विकासानन्द, साईबाबाका आश्रम धाए । त्यतिले मात्रै ज्ञानको हुटहुटी शमन भएन । योग तथा प्राकृतिक चिकित्सा अध्ययनका लागि भारत पुगे र स्नातक बने ।

दर्शन, अध्यात्म र योगको तीन शीराले जीवन सिञ्चन गरिसकेपछि उनलाई संसार (देश) विहार गर्ने अनौठो रहर जागृत भयो, पैदलै ।

म्याग्दीसम्म गाडीमा र त्यसपछि पैदलै हुम्ला पुगेर त्यो पाइलालाई पचहत्तरै जिल्लाका सदरमुकामसम्म पुर्‍याए । १७ महिना २३ दिनको अवधिमा ७५ जिल्ला भ्रमण गरे । उनका पाइला यत्तिमै रोकिएनन् । भारतका ६ वटा प्रान्त, श्रीलंकासँग सिमाना जोडिएको कन्याकुमारीसम्म पैदलै नापे ।

“योग–साधनाको ठूलो प्यासन थियो । त्यसले पैदलै डोर्‍याएर त्यहाँसम्म पुर्‍यायो,” उनी अहिले सम्झन्छन् ।

बोलेर संसार जित्ने अभिलाषा

राजनीतिक, दर्शन, अध्यात्म, योग–प्राृकतिक चिकित्सका हाँगाबिँगा समात्नुको मूल तात्पर्य थियो– बोल्ने । फगत बोल्ने । २०६४ सालको वैशाखमा आएपछि उनमा अनौठो रहर जागृत भयो– बोलेरै संसार जित्ने ।

त्यतिबेलासम्म उनले जीवन पढिसकेका थिए । आफ्नो क्षमताको नाडी पनि छामिसकेका थिए । रहरका अनेक बाटामा पाइला बिछ्याए पनि आफूलाई खासै सफलता मिलेको आभास भइरहेको थिएन । आफू संसारमा बोल्नकै लागि पदार्पण गरेको हुँ भन्ने लागिसकेको थियो । दुनियाँलाई आफ्नो जीवन चिन्न उद्वेलित गराउने उनले आफू केका लागि जन्मिएको हुँ नठम्याउने कुरै भएन । योग, ध्यान, रेकी, मोटिभेसन, सुपरलर्निङ जति पनि विधा पछ्याएका थिए, ती सबैले उनलाई बोल्न नै हौस्याएका थिए ।

०६४ वैशाख १५ देखि उनले लगातार बोल्न थाले । शुरूमा १३ घण्टा अविच्छिन्न बोलेका अनन्तले त्यसको डेढ वर्षपछि ०६६ मा ३६ घण्टा ३६ मिनेट बोलेर राष्ट्रिय कीर्तिमान खडा गरे । त्यसपछि थाहा भयो— मुलुकमा बोल्ने स्पर्धामा उनी एक्लो होइनन् । सुने— कसैले ४५ घण्टाको रेकर्ड राखिसकेको छ । ६३ घण्टा लगातार बोलेर त्यो कीर्तिमान तोडे उनले ।

बोल्न नपाउँदाको छटपटी

“सपना त्यो होइन, जो निदाउँदा देखिन्छ । सपना त त्यो हो, जसले निदाउन दिँदैन !”

एपीजे अबदुल कलामको यो भनाइ उनको जीवनमा पनि लागू हुन्छ । बोल्न नपाउँदा उनमा तीव्र छटपटी पैदा हुन्थ्यो । मन बेचैन हुन्थ्यो । निधारमा चिटचिट पसिना आउँथ्यो । बोल्न पाउँदा भात, पानी, निद्रासमेत भुलेका छन् उनले । घर परिवार, इष्टमित्र, नातागोतासमेत बिर्सिएका छन् ।

०६६ मा पनौतीमा मकर मेला चलिरहेको थियो । आयोजकले कलाकार गौरी मल्ललाई मेलामा लैजान खोजेका रहेछन् तर उनीहरूले सम्पर्क–सूत्र पहिल्याउन सकेनन् । अनन्तरामले उनीहरूलाई सहयोग गरे– बोल्न पाउने लोभमा ।

तर, आयोजकले बदमासी गरे । वक्ता र परै जाओस्, अतिथिदीर्घामा राख्नसमेत उपयुक्त ठानेनन् । अपमानबोध भयो उनलाई । अन्तिममा नबोल्न मनले मानेन । “बोल्न दिन्छु भनेर ल्याएर अपमान गर्नुभयो तपाईंहरूले !” उनले मुख फोरे ।

आयोजकले गल्ती महसुस गरे । प्रमुख अतिथिले मन्तव्य राखिसकेका थिए । त्यसपछि उनलाई धन्यवाद व्यक्त गर्न दिइएको थियो तर उनले त्यहाँ धाराप्रवाह बोले ।

“मेरो प्रवचनबाट प्रभावित भएर अटोग्राफ पो माग्न आए स्रोताहरू ! त्यसपछि अरूले होइन, आफूले आफैंलाई वक्ता भनेर चिनें,” पुलकित हुँदै सुनाउँछन् उनी ।

र, गिनिज वल्र्ड रेकर्ड

बोलेरै संसार जित्ने ध्याउन्नमा लागेका अनन्तलाई ६३ घण्टाको राष्ट्रिय कीर्तिमानले चैन दिएन । यस्ता विधाहरूको अन्तर्राष्ट्रिय कीर्तिमान राख्ने ‘गिनिज वल्र्ड रेकर्ड’का बारेमा सुनेका थिए ।

विश्व नै मोबाइल, कम्युटरमा साँघुरिइसकेको आजको जमानामा विश्व कीर्तिमानबारे जिज्ञासा मेटाउन ठूलो धामा गर्नै पर्दैन । गुगलको सर्च इन्जिन दबाए पुग्छ ।

उनले ‘गिनिज वल्र्ड रेकर्ड’बारे बुझे । ‘लङ्गेस्ट स्पिकिङ म्याराथन’ शीर्षक राखेर सर्च इन्जिन दबाएको त भारत, गुजरात प्रान्तका अस्विन भाइ सुदानीको नाममा ७५ घण्टा ३२ मिनेटको विश्व कीर्तिमान पो रहेछ ।

क्युबाका तत्कालीन राष्ट्रपति फिडेल क्यास्ट्रोको २७ घण्टा ३२ मिनेटको भाषण पहिलो लामो भाषण/प्रवचनको सूचीमा दर्ज छ । कीर्तिमानको पछिल्लो संस्करण थिए सुदानी ।

त्यसयता लामो समय बोलेर कीर्तिमान राख्नेको सूचीमा भारतीय योग–अध्यात्म–साधक र धर्म गुरुहरूकै आधिपत्य छ । दुई जना पास्चरले बाहेक कसैले पनि भारतीय–साधकलाई उछिन्न सकेका छैनन् । ७५ घण्टा ३२ मिनेटको कीर्तिमान भंग गर्ने ध्याउन्नमा लागे उनी ।

भारत केरलाका भाल साराजानले ८१ घण्टा १६ मिनेट बोलेर ७५ घण्टा ३२ मिनेटको कीर्तिमानलाई पछि पारे । अघिल्लो वर्ष नै अनन्तले ८० घण्टा ४ मिनेट लगातार बोलेका थिए तर विश्व कीर्तिमान कायम गर्न उनी असफल रहे । प्रमाणीकरणलगायत प्राविधिक पाटोमा दृष्टि नपुर्‍याउँदा त्यतिबेलै कीर्तिमान राख्न विफल भए भनौं ।

यसपटक भदौ ११ देखि १४ गते मध्यरातसम्म ९० घण्टा २ मिनेट लगातार बोलेरै विश्व जित्ने सपनाको अध्याय पूरा गरे ।

‘गिनिज बुक अफ वर्ल्ड रेकर्डस्’ले स्पटमै आएर भेरिफिकेसन (प्रमाणीकरण) गरी प्रमाणपत्र दिइसकेको छ । केही दिनपछि प्रमाणपत्र पठाएर कीर्तिमानलाई थप आधिकारिकता दिनेछ ।

गिनिजमा त्यस्तै ४७ हजार कीर्तिमान दर्ता भइसकेका छन् । विश्वकै होचो व्यक्ति चन्द्रबहादुर डाँगी (हाल दिवंगत भइसके र उनको कीर्तिमान पनि भंग भइसक्यो) देखि अनन्तसम्म आइपुग्दा नेपालकै नाममा पनि झन्डै १७ वटा त्यस्ता रेकर्ड छन् ।

“तथापि ६२ घण्टा ‘लङ्गेस्ट म्याराथन टेलिभिजन टक शो’ चलाएर कीर्तिमान खडा गरेका रवि लामिछाने र मैले मात्रै स्पट भेरिफिकेसन पाएका छौं,” सगर्व सुनाउँछन् उनी ।

सपनाको रथारोहण

सफलता लगावको परिणती हो । अनवच्छिन्न मेहनत र तिलस्मी लगाव नभइदिएको भए न उनका पैताला लक्ष्यमा पुग्थे न बोलेर विश्व कीर्तिमान खडा हुन्थ्यो ।

तथापि यसको श्रेय आफैंमात्रै लिन चाहँदैनन् उनी । गोकर्णेश्वर नगरपालिका, न्यु माइन्ड्स एकेडेमी, इस्टपोल स्कुल, तमाम योगगुरु, खेलाडी, वकिल, प्राध्यापक, शिक्षकको साझा सहयोग सफलताको द्योतक बन्यो ।

१०–१५ मिनेटको भाषण नै पट्यारलाग्दो हुन्छ । ९० घण्टासम्म दर्शक–स्रोता अड्याउनु चानचुने कुरा होइन । प्रत्येक एक घण्टा पूरा बोलेपछि पाँच मिनेट आराम पाइन्छ । दिसा–पिसाब, खाना खाने समय त्यही हो । प्रत्येक घण्टामा चार जना साक्षी (वकिल) र १० जना दर्शक घट्न मिल्दैन । अन्यथा प्रक्रिया नै रद्द हुन्छ । एकपटक प्रयोग गरेको साक्षीलाई बढीमा चार घण्टा राख्न पाइन्छ । त्यसपछिको समयलाई अरू वकिल नियुक्त गर्नुपर्छ । ४० जनाभन्दा बढी वकिल साक्षीका रूपमा वर्ल्ड रेकर्डमा प्रयोग भए ।

त्यसबाहेक उनले १२ वटा मुख्य शीर्षक र ८४ वटा उपशीर्षक पहिल्यै गिनिजसँग अनुमोदन गराइसकेका थिए । त्यही विषयमा आधारित भएर प्रवचन दिए उनले ।

दिनरात ९० घण्टा एउटै थलोमा बसेर बोल्ने, मानवीय काबुभन्दा निकै परको कुरा हो । भक्ति, साधना, निष्ठा, मस्तिष्क व्यवस्थापनादि सूत्रले सपनाको कोर्स पूरा भयो ।

त्यसक्रममा केही अविस्मरणीय घटना भए । बोल्दै थिए, २४ मिनेट नपुग्दै स्वर भासिन थालिहाल्यो । घाँटी चरचर गरेर बोल्नै नसक्ने हालतमा पुगे ।

“धन्न दर्शकदीर्घामा बस्नुभएकाले जेठीमधु (जटिबुटी) ल्याउनुभएको रहेछ र तातोपानीमा मिसाएर खाएपछि स्वर फर्कियो,” सम्झन्छन् उनी ।

पाँच मिनेट आराम पूरा गरेको भर्खर ३५ मिनेट भएको थियो, ६० मिनेट पूरा नहुन्जेल विश्राम लिन पाइँदैन, पिसाबले च्यापिहाल्यो । त्यस्तो दुई पटक भयो उनलाई । त्यसैले पनि प्रवचन लम्बिएर ९० घण्टा २ मिनेट पुग्यो ।

बोल्ने क्रममा बेलाबखत ‘ह्यालुसिनेसन’ पनि हुन्थ्यो । विद्यालयको सभा कक्षामा प्रवचन दिइरहेको छ, जोरपाटी चोकमा उभिएर भाषण गरिरहेको जस्तो लाग्ने । आफैं हो कि अरू कोही बोलिरहेको छ, ठम्याउनै मुस्किल हुने ।

तर, धेरैबेर रहिरहेन त्यो । मस्तिष्क–व्यवस्थापनको अनेक सूत्र पहिल्याएर उनी आफूलाई पूर्ववत् मुद्रामा फर्काइहाल्थे ।

मध्यरात झुपुक्क निद्राले सताउँथ्यो । कहिले त तन्द्रामा पुग्थे र बर्बराउन थाल्थे ।  “त्यस्तो बेला एकदेखि सयसम्म उल्टो गन्न थाल्थें र आफू स्फूर्त रहेको भान पार्थें,” हाँस्दै सुनाउँछन् ।

“कदाचित् तपाईंको नाममा रहेको कीर्तिमान तोडियो भने अर्को कीर्तिमान खडा गर्ने तपाईंको प्रयास रहन्छ कि रहँदैन ?”

प्रश्न उनलाई अस्वाभाविक लागेन । आफ्नो कीर्तिमान आफैं भंग गर्दै विश्व रेकर्ड राखिसकेकाले उनी बोलेर थाक्छन् भनी कल्पना गर्नु पनि बेकारकै कुरा हो ।

“बोलेरै विश्व जितूँला भन्ने हिजो लागेन, के थाहा भोलि बोलेरै सय घण्टा व्यतीत पो गर्न मन लाग्छ कि !” थप महत्त्वाकांक्षालाई भविष्यकै गर्भमा छाडेर बिदा भए उनी ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ६, २०७५  ०७:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC