site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘मैले छोएको पानी चल्दैन...’
Sarbottam CementSarbottam Cement

— नरेश फुयाँल


बालापनको कुरा, मस्तिष्कमा चित्र स्पष्ट त छैन तर घुर्मैलो याद भने मेटिएको छैन । प्रत्येक बिहान घरमा ऋण लिने र फिर्ता गर्नेको भीड लाग्थ्यो । साहू–महाजन न परे, शान–मान नै बेग्लै । ऋण लिने आँगनमा बस्थे, हातमा खाता र कलम बोकेका बुवा भने दलानमा ओछ्याएको दरीमा ठाँटिएर विराजमान हुन्थे । बिहानभरि पैसा गन्दै भ्याइनभ्याइ हुन्थ्यो ।

ऊबेला कामदार लगाएर जंगल फाँडेको सर्लाही कर्मैयाको जग्गा । आँखाले भ्याउँदैनथ्यो हेर्दा । आँप र लिचीको ठूलो बगैंचा थियो । लिची लिन मात्रै ३५–४० वटा ट्रक आउँथे ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपालीमा एउटा उखान छ, ‘हुने हार दबै नटार’ । हो रहेछ । ०४३ साउनको एक रात । राति ३ बजे यश कुमारलाई बुवा–आमाले अचानक उठाए । ८ वर्षको उमेर थियो । बाहिर निस्किँदा चारैतिर पानी थियो । पिठ्यूँमा बोकेर बागमतीको पुलमा पुर्‍याए । पुलमा पुग्दा सबै गाउँले त्यहीँ जम्मा भइसकेका थिए । बिहान भइसक्दासम्म बागमतीले आफ्नो किनारछेउका बस्तीलाई आफूसँगै मिसाइसकेको थियो । यश कुमारको आँखाले देख्न नसकिने सयौं बिघा जमिन बागमतीले खाइसकेको थियो । केही दिनमा बागमतीको भेल त सुस्तायो तर जग्गा बगर भइसकेको थियो । करोडपति यश कुमारको परिवार रोडमा आइपुग्यो । हिजोको शानशौकत छिनभरमै बागमतीको बगरमै मिसिएर गयो ।

सम्पत्ति त सकियो तर जीवन सकिएको थिएन । परिवार पाल्नु थियो । जीवनमा नयाँ गोरेटो कोर्नु थियो । उनीहरूले बगरलाई जीवन दिने माटो बनाउन खोजे तर सम्भव भएन । त्यही बेला यश कुमारको उमेरले भने प्वाँख हाल्न थालेको थियो । उनले चलचित्र हेरेका थिए, ‘हामी एक हौं’ । त्यहाँ रंगीचंगी काठमाडौं देखिएको थियो । उनले सुनेका थिए— काठमाडौंमा राति पनि उज्यालो हुन्छ रे !

Global Ime bank

कस्तो होला राति उज्यालो हुने काठमाडौं ? उनमा हेर्ने रहरको वायुपंखी घोडा सवार भयो । त्यही रहरको घोडा चढेर घरबाट भागे ।

चन्द्रनिगाहपुर पुगेपछि गोजी रित्तियो । पूर्णसिंह वाइवा पनि उनीसँगै भागेका थिए— उज्यालो काठमाडौं हेर्ने लालसा पालेर । पैसासँगै उनको पनि सपनाको धागो चुँडियो । लज्जाको रातो मुहार लिएर युद्धमा हारेको सिपाहीझैं घर फर्किए दुवै ।

सपना देख्न पैसा लाग्दैन । प्वाँख पलाएको चरीलाई कसैले छेक्छ सक्दैन । त्यस्तै भयो । गोजी टक्टक्याउँदा पैसा नझरेपछि चुँडिएको सपनाको धागो जोडेर काठमाडौंसम्म पुर्‍याउने रहर फेरि टुसायो । उनी फेरि भागे । फेरि पनि सपना उसैगरी बाटैमा अलपत्र पर्‍यो । पहिलेजस्तै फर्किए— हारेको अनुहार लिएर ।

दुई वर्षसम्म बागमतीको बगरमा उनका आमाबुवाले भविष्य खोजे तर कुनै बाटो देखेनन् । अरुलाई दिएर मुखियाको जिन्दगी बाँचेका आमाबुवालाई बलौटोसँग पौंठेजोरी खेलेर बाँच्न सकिन्छ भन्ने आशा लाग्न छाड्यो । र, सोचे— अब नयाँ ठाउँमा नयाँ जिन्दगी बाँच्नुपर्छ । 

यश कुमार काठमाडौं भागिरहन्थे । त्यसैले पनि उनीहरूलाई लाग्यो— छोराको रहर पनि पूरा हुन्छ, जाऊँ काठमाडौं ।

०४५ सालमा १० वर्षका यश कुमारलाई लिएर उनको परिवार काठमाडौं हिँड्यो ।

गौशालाको शारदा माध्यमिक विद्यालयमा भर्ना भए । नारायण गोपाल, भक्तराज आचार्य, रवीन शर्मा, कुमार बस्नेतका गीत हुबहु गाउने यशले कहिल्यै पनि कलम–कापी किन्नु परेन । उनको स्वरले नै त्यसको जोहो गर्‍यो ।

यश कुमार स्वर परीक्षाका लागि ०५१ सालमा रेडियो नेपालको स्टुडियो पुगे । अरुका गीत जस्ताको तस्तै गाउने यशलाई सुर र तालको ज्ञान थिएन । टाइमिङ पनि थाहा थिएन । स्वर परीक्षाको नतिजाले उनलाई खुशी दिन सकेन ।

सिविनको सहयोगमा कलामण्डपमा १८ महिनाको भोकल कक्षा लिए । स्टुडियोहरू खुल्न थालेका थिए । ०५२ मा उनले गीत रेकर्ड गरे— ‘हाँसो मागें तिमीसँग...।’ गीत चलेन । संगीतकार भएर रमेश खड्काको सहयोगमा ‘आस्था’ एल्बम ल्याए । त्यसबाट पनि उनले स्रोताको ‘ग्रिन सिग्नल’ पाएनन् । ‘उमेर’ एल्बमलाई पनि कसैले पत्याएन ।

शायद कलाप्रति आस्थावान् कलाकार साँच्चै ढिट् हुन्छ— न हार्छ न त गल्छ । उनले पनि हारेनन् र निकाले ०५८ मा ‘यो संसार’ । जसमा थिए— ‘मैले छोएको पानी चल्दैन...’ र ‘यो मनले तिमीलाई नै रोजेको छ...।’

० ० ०

गन्धर्वहरूले गाउँ–गाउँ पुगेर सन्देशमूलक गीत गाउँदै चेतना फैलाइरहेको यश कुमारलाई थाहा थियो । रेकर्ड गरिएको गीतको पनि त प्रभाव पर्छ होला र सन्देश दिन सकिन्छ होला भन्ने लाग्यो उनलाई ।

गीतकार बिनु काफ्लेलाई जातीय छुवाछुत समेटेर एउटा गीत लेख्न भने । तर, गीतमा ‘माया–पिरती’ नभई चल्दैन भन्ने उनलाई भलीभाँती जानकारी थियो । केटा र केटीको प्रेम सम्बन्धमा केटीलाई कथित ठूलो र केटालाई सानो जातको बनाएर लेख्ने विषय काफ्लेले सुनाए । उनले पनि भनेजस्तो गीत तयार पारे— ‘मैले छोएको पानी चल्दैन...।’

संगीत भरे । तर, आफूले गाएको गीत अहिलेसम्म नचलेको विगतले उनलाई छाडेन । गाउन अरुलाई नै लगाउने सोचे । केही गायकलाई आग्रह गरे । ‘विद्रोही’ भन्दै धेरैले मानेनन् । कसैले पनि रुचि नदेखाएपछि उनको मन मर्‍यो । एल्बममा १० वटा गीत राख्नैपर्ने थियो । एल्बमको रिल भर्नकै लागि भए पनि राख्नुपर्छ भन्दै एरेन्जरले भने, “तिम्रो पनि स्वर राम्रो छ, तिमी नै गाऊ ।”

अन्ततः कसैले नमानेपछि यशकुमार आफैं स्टुडियो छिरे र गाए । सबैले छोडेको गीत चल्छ भन्ने आशै थिएन । ‘बी’ साइडको पनि अन्तिममा गीत राखेर एल्बम बजारमा आयो । शायद त्यो गीतमा सिंगो दलित समुदायको आवाज थियो । ६० लाख जनसंख्याले दिनानुदिन भोगिरहेको कहर थियो ।

“काल्पनिक भए पनि यथार्थ थियो । त्यसैले गीत मन पराइयो, चल्छ भन्ने आशा त थिएन,” धेरै गायकले दुत्कारेको गीतको कथा सुनाउँछन् यश कुमार, “तर मलाई त्यो गीतप्रति एकप्रकारको अट्याचमेन्टचाहिँ थियो ।”

गीतको कथा सुनाउँदा उनी अलि भावुक हुन्छन्, “शायद समय आउनुपर्ने थियो मेरा लागि, बाल्यकालको गीत गाउने चाहना पूरा हुनु पनि पर्ने थियो होला । त्यही भएर पनि त्यो गीत अरुले गाउन मानेनन् ।” कर्मसँगै भाग्यको पनि कुरा जोड्छन् उनी, “शायद बाढीले गाउँ नै उठाउनु मेरा लागि काठमाडौंका लागि बाटो खोलिनु थियो । त्यो बाढीले विचल्ली नपारेको भए आज पनि म त्यही गाउँमा बुवाको पेशा सम्हालेर बसिरहेको हुन्थें होला ।”

आमा ‘परियार’, बुवा ‘नेपाल’ । बुवाआमाको अन्तरजातीय विवाह थियो । उनको नशामा समाजले गर्ने विभेदको रगत बगे पनि भोग्नु परेको थिएन । तर, बुवाआमाले भने त्यसलाई मज्जैले अनुभूत गरेका थिए । आफ्नै आँखाले देखेको त्यो विभेदको राँकोले उनको दिमाग रन्थनिन्थ्यो । कसरी सकिन्छ हटाउन ? प्रश्नले हिर्काइरहन्थ्यो ।

त्यसैले त यश कुमार गीतमार्फत जातीय विभेदविरुद्ध आगो ओकल्छन् । कथित ठूला भनिने जातिले साना भनिने जातिमाथि गर्ने छुवाछुतको व्यवहारविरुद्ध आगो सल्काउँछन् । यसर्थ उनी गायक मात्रै होइनन्, गीतमार्फत समाजमा चेतनाको दियो बाल्ने सामाजिक अभियन्ता पनि हुन् ।

देखे, भोगेका कुरालाई गीतमार्फत भनेपछि स्रोताले मन पराइदिए । त्यसले उनलाई प्रेरित गर्‍यो । उनले अर्को गीत जन्माए— आफ्नै शब्द, संगीत र स्वरमा, ‘म आफ्नै आँगनमा इनार बनाउँछु ...।’

मन्दिरमा छिर्न नदिने, धारामा पानी भर्न नदिने सामाजिक कुसंस्कारले यश कुमारलाई भित्रैदेखि छोएको थियो । भगवान् मन्दिरमा होइन, मान्छेको मनमा हुन्छ भन्ने थिम बनाए । भलै यो अधिकारकर्मीहरूले भन्दै पनि आएका थिए । घर झुपडी नै भए पनि आँगन त हुन्छ, त्यहीँ इनार खनेर पनि तिमीलाई पानी खान दिन्छु भन्दै प्रेमिकालाई सम्झाएको थिममा गीत लेखे । यो गीत पनि मन पराइयो । कथित ठूला जातिविरुद्ध लक्षित भए पनि उनीहरूले नै मन पराए । “शायद गीत, कलाको कुनै जाति, रंग, भाषा र भूगोल हुँदैन भनेको यही होला,” उनी दंग देखिए ।

“मेरा आमाबुवा आफैं पनि राम्रो गीत गाउनुहुन्छ । आमाले त मलाई कमेन्ट गरिरहनुहुन्थ्यो । कहिले भएन भनेर भन्नुहुन्थ्यो । कहिले ठाडो स्वर भयो भन्नुहुन्थ्यो तर बुवा भने केही भन्नुहुन्नथ्यो,” यश कुमार ०५८ सालतिर फर्किए, “बजारमा ‘मैले छोएको पानी चल्दैन’ गीतको चर्चा हुन थालेपछि कस्तो गीत गाएछ भनेर सुन्नुभयो । म सँगै थिएँ, उहाँले पूरै गीत सुन्नुभयो तर केही भन्नु भएन । मात्रै मुसुक्क हाँस्नुभयो ।”

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ६, २०७५  ०६:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC