site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

संविधान दिवस जति नै तामझामसहित मनाए पनि सफलताको कसी यसको स्वीकार्यता हो । संविधान सभाबाट नेपालको संविधान पारित गर्नै नदिने प्रयास भएको थियो । मधेसी दलको असहमतिलाई निहुँ बनाएर भारतले संविधान जारी गरेपछि नाकबन्दी लगाएको थियो । भारतकै पहलमा बेलायत र युरोपेली युनियनले समेत नेपालको संविधानप्रति कटु टिप्पणी गरेका थिए । तर, देशभित्र ठूला राजनीतिक दल र बहुसंख्यक नेपाली नागरिक संविधान कार्यान्वयनका पक्षमा उभिए । सबै तहको निर्वाचन नयाँ संविधानअनुसार निर्धारित मितिमै सम्पन्न गरियो । संघीयता कार्यान्वयनमा केही व्यावहारिक कठिनाइ बाँकी रहे पनि प्रदेश र स्थानीय तहमा सरकारहरू क्रियाशील भएका छन् । संविधानविरुद्ध आन्दोलन गरेर भारतले गरेको नाकाबन्दीलाई आफ्नो पुरुषार्थका रूपमा बखान गर्ने दलहरूसमेत तीनै तहका सरकारमा सामेल भएका छन् । 
अर्थात्, यसबीच संविधानको स्वीकार्यता जारी हुँदाका समयमा भन्दा बढेको छ । यो संविधान सभाबाट संविधान निर्माण गर्ने नेपाली जनताको संकल्पको जित हो । परन्तु, यसको अर्थ अब संविधानको विरोधै हुँदैन वा गर्न पाइँदैन भन्ने पक्कै पनि लाग्दैन । संविधान जीवन्त दस्ताबेज हो भने त्यसको विरोध र परिमार्जन पनि निरन्तर भइरहने प्रक्रिया हो । संसारको संविधानको इतिहास हेर्दा विरोध र असन्तोषलाई सहजरूपमा समेट्न सक्ने संविधानको आयु लामो हुने देखिएको छ । अमेरिका र भारतको संविधान यसका उदाहरण हुन् । नेपालका राजनीतिक नेताहरूमा भने सहिष्णुताभन्दा अहंकार र दम्भ बढी देखिन्छ । यसैले नेपालको संविधानमाथि खतरा यसका विरोधीबाट भन्दा समर्थक र त्यसमा पनि सत्ताधारीबाटै बढी देखिन्छ । 
नेपालको संविधान, २०७२ सहमति र सम्झौताको दस्ताबेज पनि हो । यसमा उदार र अनुदार आर्थिक, राजनीतिक तथा सामाजिक दर्शनको मेल रहेको छ । प्रचलित व्यवस्थाको विरोध गर्न पाइने अधिकार संविधानले नै सुनिश्चित गरेको छ । यसैले सरकार वा राज्यका कुनै अंगको नीति, कुनै पदाधिकारीको व्यवहार तथा आचरणको विरोध गर्नु संविधानको विरोध हैन । संघीयताको मर्म संघीय सरकारले उल्लंघन गरेको भन्ने मुख्यमन्त्रीहरूको टिप्पणीलाई विखण्डनकारी भन्न मिल्दैन । प्रधानमन्त्री केपी ओलीले ‘‘अब हुने आन्दोलन विकास र समृद्धिका लागि हुनुपर्छ’’ भन्ने फर्मान जारी गर्दैमा लोकतन्त्रमा विरोधको स्वर बन्द हुन्छ भन्ने ठान्नु आत्मघाती मूर्खता हुनेछ । यस्तै, यही संविधानअन्तर्गत शपथ ग्रहण गर्ने प्रदेश सरकारको मन्त्रीले सडकमा संविधानविरुद्ध जुलुसमा भाग लिनु पनि गलत र अनैतिक काम हो । दुर्भाग्य, यो द्वैध चरित्र विपक्षबाट हैन सरकारमा सहभागी दलले नै देखाएको छ । संविधानलाई सफल बनाउने हो भने राज्य उदार र समावेशी हुनुपर्छ भने सरकार सहिष्णु, पारदर्शी तथा प्रभावकारी हुनुपर्छ । आशा गरौँ, सरकार चलाउनेहरूले पनि यो सत्य बुझ्ने र आत्मसात् गर्नेछन् ।
नेपाली सबैमा शुभकामना !   


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३, २०७५  १६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC