एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा एथ्लेटिको मड्रिड, बोरुसिया डर्टमण्ड र गालातासारे विजयी भएका छन् । लिग अन्तर्गत आज बिहान सकिएका खेलमा एथ्लेटिको मड्रिड, बोरुसिया डर्टमण्ड र गालातासारे विजयी भएका हुन् । समुह ए अन्तर्गतको खेलमा एथ्लेटिको मड्रिडले मोनाकोको घरेलु मैदानमा २–१ को जित निकालेको छ । मड्रिडको जितमा डियगो कोष्टा र जोसे गिमिनेजले गोल गरे । मोनाकोले घरेलु मैदानमा सुरुवाति अग्रता लिए पनि जित निकाल्न सकेनन् । खेलको १८ औं मिनेटमा स्यामसुलले अग्रता दिलाएका थिए ।
समुह ए अन्तर्गतको खेलमा बोरुसिया डर्टमण्ड क्लब बु्रगमाथि १–० विजयी भयो । क्लब बु्रगको मैदानमा डर्टमण्डका लागि क्रिष्टियन पुलिसिकले गरेको एकमात्र गोल निर्णायक बनेको थियो । लिग अन्तर्गत भएको समूह डिको खेलमा गालातासारेले लोकोमोटिभविरुद्ध ३–० को शानदार जित निकालेको छ । घरेलु मैदानमा गालातासारेको जितमा ग्यारी, इरीन, इनानले गोल गरे । यस्तै, समूह डिको अर्को खेलमा शाल्के र पोर्टोले १–१को बराबरी खेलेका छन् ।