site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
क्यान्सरलाई जितेकी अम्बिका
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
६० वसन्त नाघिसकेपछि आराम गर्नुपर्छ, भजनकीर्तन सुन्नुपर्छ अनि तीर्थव्रत गर्नतिर लाग्नुपर्छ भन्ने आमधारणा छ । धेरैले गर्ने पनि त्यही हो ।
अम्बिका श्रेष्ठ (८४) भने अलि फरक छिन् । उनको जोस–जाँगर र कामप्रतिको लगाव कुनै तन्नेरीभन्दा कम छैन । अझै पनि उनी काम गरेर बस्छिन् ।
“शरीर बूढो भए पनि मन बूढो हँुदोरहेनछ । मनले कहाँ मान्छ र ! अझै केही गर्नुपर्छ भन्ने लाग्छ,” उनी जोसका साथ भन्छिन् ।
भौतिक रूपमा त उनले कहिल्यै दुःख पाइनन् । तर, मानसिक र भावनात्मक पीडा भने उनले धेरै भोगिन् ।
किशोर छोरा गुमाउनुको पीडा त छँदैथियो, श्रीमान् पनि गुमाउनुपर्‍यो । उनी आफैंलाई प्राणघातक रोग क्यान्सर लाग्यो । मेडिकल उपचारका साथै दृढ इच्छाशक्तिका कारण उनी क्यान्सरलाई पनि जित्न सफल भइन् । अब त उनलाई जस्तोसुकै दुःख आइपरे पनि छुँदैन ।
अम्बिकाको जन्म भारतको सिक्किममा भए पनि विवाह भने नेपालमा भयो । उनको माइती भक्तपुर हो । उनका हजुरबुबाका पनि हजुरबुबा कोतपर्वमा रातारात भागेर सिक्किम पुगेका थिए । त्यसयता उनको परिवार सिक्किम बस्न थालेको थियो । सिक्किमे भारद्वार खलक चोग्याल दरबारमा सोझो सम्बन्ध बनाएको थियो उनको परिवारले ।
सिक्किममा बसे पनि उनलाई नेपाली भाषा बोल्न राम्रोसँग आउँथ्यो । त्यहाँ बस्ने अधिकांश नेपाली समुदाय नै थिए । उनका ठूलोबुबा हरिप्रसाद प्रधान नेपालका प्रथम प्रधानन्यायाधीश रहेछन् ।
उनले दार्जिलिङको लोरेटो कन्भेन्ट स्कुलमा पढिन् । ब्रिटिसका छोराछोरीमात्रै पढ्थे त्यहाँ । वर्धमनका महाराजाकी छोरी वरुण र उनीमात्रै बाहिरका थिए । सबैले क्रिश्चियन धर्म मान्ने भएकाले उनीहरूले एकदमै हेप्थे । उनी घरमा स्कुल जान्नँ भनेर झगडा गर्थिन् । हजुरआमाले नपढेकाले उनलाई नातिनी पढाउने ठूलो रहर थियो । त्यसैले स्कुल जानुपर्छ भनेर सम्झाउँथिन् । त्यतिबेला उनकी हजुरआमाले ‘भगवान् सबै एउटै हुन्छन्, त्यसैले गिर्जाघरमा गएर पाठ गर्दा केही हुँदैन’ भनेकी थिइन् । उनको मनमा त्यही छाप बस्यो ।
त्यसपछि उनी गिर्जाघर जान थालिन् र हिन्दूका भगवान्लाई सम्झिँदै पाठ गर्न थालिन् । त्यहाँ एसएलसी भन्दैनथे, जुनियर क्याम्ब्रिज भनिन्थ्यो । आईएसम्मको पढाइलाई क्याम्ब्रिज भनिन्थ्यो । स्कुलको पढाइ सकेपछि उनले कालिम्पोङको सेन्ट जोसेफ स्कुलमा पढाइन् । पटना युनिभर्सिटीबाट वाणिज्यशास्त्रमा स्नातक गरेकी श्रेष्ठले थुप्रै पुरस्कार पनि पाएकी छन् । भर्खरैमात्र पर्यटन व्यवसायको ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ पाइन् ।
 
यसरी जन्मियो द्वारिकाज
पुराना वस्तुप्रति द्वारिकादासको मोह साहै्र थियो । पुराना चिजको संरक्षण गर्नुपर्छ भन्ने ठान्थे उनी ।
एकदिन कालिगढले थाम काटिरहेको देखे । किन त्यसो गरेको भनेर सोधे । कालिगढले भने, “बाहिरको काम लाग्दैन । त्यसैले आगो बालेर भित्रको ढोका बनाउन लागेको ।”
उनलाई कालिगढको कुरा चित्त बुझेन । उनले त्यो काठ नै किनिदिए । अम्बिका भन्छिन्, “त्यसपपछि उहाँले काठ किन्न र खोज्न थाल्नुभयो ।”
कुँदेको काठप्रति उनको यति धेरै मोह थियो कि बाटोमा फालेका काठसमेत टिपेर राख्थे । उनको बानी देखेर कतिपयले ‘पागल’ भन्थे । तर, उनका पाइला कहिल्यै पछाडि हटेनन् । परिवारसमेत उनको व्यवहारप्रति अनौठो मान्थ्यो । उनलाई बुझ्ने श्रीमती अम्बिकामात्रै थिइन् । श्रीमतीले उनलाई अन्तिम अवस्थासम्म साथ दिइन् ।
द्वारिकादासले किन काठ बटुलिरहेका छन् भन्ने कसैलाई पनि थाहा थिएन । बत्तीसपुतलीमा काठको थुप्रो भइसकेको थियो । सांस्कृतिक धरोहरको संरक्षण गनुपर्छ भन्ने उनको सोचाइ थियो । पुराना बुट्टा कुँद्ने कालिगढसमेत खोजे तर भेटाएनन् । अर्कैलाई बोलाएर सोही काठमा कुँदिएको अनुसार बुट्टा कुँद्न लगाए । लामो समयपछि उनले खोजेअनुसारको बुट्टे झ्याल तयार भयो । त्यही झ्याल उनले आफ्नो होटलमा प्रयोग गरे । त्यसैले त आज होटल द्वारिकाज हेरिटेज होटलको रूपमा स्थापित भएको छ ।
द्वारिकादासले सन् १९७२ मा आफ्नै नाममा आफ्नै घरमा होटल खोलेका थिए । यो नाम राख्न भने श्रीमती अम्बिकाले सुझाव दिएकी थिइन् । १० वटा कोठाबाट होटल सुरु भयो । १९७७ मा होटल दर्ता गरे । उनीहरूको आफ्नै काठमाडौं ट्राभल एजेन्सी भएकाले पाहुनाको कमी थिएन । एजेन्सीमा आएका पर्यटकलाई आफ्नो कोठा दिएर राखे । आफू बसिरहेको कोठासमेत गरेर होटल सञ्चालन गरे । १० कोठाबाट सुरु भएको होटल अहिले ८६ कोठाको भएको छ । 
१९९२ मा क्यान्सरका कारण द्वारिकादासको मृत्यु भयो । होटललाई निरन्तरता दिन अम्बिकालाई निकै संघर्ष गर्नुपर्‍यो । उनी सम्झिन्छिन्, “हाम्रो जग्गालाई कसैले आँखा लगाइरहेको थियो । हेरौंला कसरी चलाउँदोरहेछ, यो ठाउँमा नांगै हिँडाउँछु भनेर धम्की दिन्थे ।”
उनी पनि कम थिइनन् । नडराई काम गरिरहिन् । चुनौती थुप्रै थिए । महिलाले बिजनेस गर्नु नै अनौठो कुरा थियो । एकल महिलालाई हेर्ने नजर राम्रो थिएन । कसैले विश्वास पनि गदैनथे । ऋण माग्न जाँदा पनि बैंकले उनका योजनालाई पत्याउँदैनथे । रित्तो हात फर्किनुपथ्र्यो । तर, पनि उनले हिम्मत हारिनन् । भएभरको सम्पत्ति धितो राखेर ऋण लिइन् र होटललाई पूर्णता दिएर श्रीमान्को सपना पूरा गरिन् ।
होटल द्वारिकाजमा इँटा कुँदेको पहिलो पिलर बन्यो । श्रीमान् हुँदा नै दुइटा भवन तयार भइसकेका थिए । भवनको नाम लुम्बिनी र राम प्यालेस राखिएको थियो । अम्बिका अझै पनि बिग्रिएका पुराना झ्याल र नयाँ पेन्टिङ किन्न झर्को मान्दिनन् ।
भन्छिन्, “एक–एक इँटामा पसिना मिसिएको छ । पुराना कुरा जोगाउन सकेकोमा गर्व लाग्छ । आज श्रीमान् भइदिएको भए कति खुसी हुनुहुन्थ्यो होला ।”
 
द्वारिकाज होटलमात्र नभएर विश्व सम्पदामा सूचीकृत दरबार स्क्वायरको झझल्को मेट्ने किसिमको छ । नेपाली शैलीको आर्किटेक्ट डिजाइन भएको यो होटल स्वदेशमा मात्र होइन, विदेशमा समेत प्रसिद्ध छ । विदेशी सञ्चारमाध्यममा यो होटलबारे केही न केही कुरा आइरहेकै हुन्छन् । होटलकै बारेमा थुप्रै डकुमेन्ट्री बनिसकेका छन् । फिल्म सुटिङ उत्तिकै हुन्छ । कतिपय पर्यटक त फोटो खिच्नकै लागि पनि आउने गरेको श्रेष्ठ बताउँछिन् । 
अम्बिकाले मात्रै होटल सञ्चालन गरेको ४७ वर्ष भइसकेको छ । कुनै पनि स्टार नलिए पनि फाइभ स्टारभन्दा कम्तीको छैन द्वारिकाज होटल । धेरै जग्गा नभएका कारण उनले स्टार लिन सकिनन् ।
सकेसम्म सबैथोक नेपाली हुनु नै द्वारिकाजको विशेषता हो । यहाँ नेपाली शैलीको एउटा रेस्टुराँ छ, कृष्णार्पण । भोजनअगाडि पातमा देउतालाई चढाएर प्रसादका रूपमा खाने शैली अनि बाँसुरी र सारंगीको लाइभ म्युजिक यहाँका आकर्षण हुन् । यतिमात्र होइन, होटलमा रिएको सजावटमा समेत नेपाली जातजातिका सांस्कृतिक वस्तु राखिएका छन् ।
होटल निर्माण गर्नुअघि त्यहाँ जंगल थियो, स्याल कराउँथे । पियक्कड राणाजीको गाईगोठ थियो त्यो । राणाजीबाट उनीहरूले त्यो गोठसहित जग्गा किनेका थिए । गाईगोठ अझै पनि छ । 
 
क्यान्सरलाई जितिन् 
४ वर्षअघि एकदिन हतारहतार भर्‍याङ उक्लिँदै थिइन् । पछाडिबाट नेहाले ‘म्याम’ भनेको आवाज आयो । बोल्नलाई पछाडि के फर्केकी थिइन्, बल्ड्याङ खाँदै ७ स्टेप तल खसिन् । भर्‍याङमा राखिएका गमलासमेत बाँकी रहेनन् । गमला फुटाउँदै आँगनमा राखेको कारअगाडि ठोक्किन पुगिन् । धन्न ! धेरै चोट भने लागेन ।
एक हप्ता आराम गरेर पुनः काम गर्न थालिन् । सानातिना बिराम पचाइदिने उनको बानी नै रहेछ । त्यही बानीले गर्दा उनले आफूलाई के भएको भन्नेसम्म पत्तो पाइनन् । दुर्घटना भएको एक महिनापछि बल्ल थाहा पाइन्– उनलाई त पेटको क्यान्सर भएको रहेछ ।
यो खबरले पनि उनी आत्तिइनन् ।
त्यही आत्मविश्वासले क्यान्सरलाई जितिन् ।
डक्टरको नियमित परामर्शमा थिइन् । एकदिन ज्वरोले च्यापेपछि अस्पताल गएकी थिइन्, डक्टरले भर्ना गरिहाले । उनको जाँच सुरु गरे, पेटको क्यान्सर देखियो ।
उपचार गरे ठीक हुन्छ भन्नेमा उनी ढुक्क थिइन् । अप्रेसन गरेर उनी अमेरिका गइन् र केमोथेरापी सुरु गरिन् । ७ महिनापछि क्यान्सर निको पारेर नेपाल फर्किइन् । उनको क्यान्सर अझै पूर्ण रूपमा निको भएको छैन । अमेरिका र नेपाल पानीपँधेरो भएको छ अहिले । क्यान्सर परीक्षणका लागि बेलाबेला अमेरिका गइरहनुपर्छ ।
“किमोथेरापी गर्दा एकदमै गाह्रो हुन्थ्यो । दुख्ने, बान्ता हुने, रिंगटा लाग्ने हुन्थ्यो,” उनले सम्झिइन्, “जसोतसो ६ वटासम्म केमो चढाएँ । यो वर्षबाट पूर्ण रूपमा क्यान्सरबाट छुट्कारा पाउँछु ।”
 
परिवारसँग अलग
२२ वर्षको उमेरमा अम्बिकाको मागी विवाह भयो, काठमाडौंको व्यापारिक घरानाका द्वारिकादास श्रेष्ठसँग । श्रीमान् अलि फरक स्वभावका थिए । संयुक्त परिवार थियो । युरोपेली जीवनशैलीमा भिजेकी अम्बिकालाई नेवारी परिवारमा टिक्न साहै्र गाह्रो भयो । आठ दाजुभाइ र एक बहिनीका साथ सगोलको ४० जनाको परिवारकी जेठी बुहारीका रूपमा उनलाई द्वारिकादासले भित्र्याएका थिए ।
ससुरा जनकदास चेम्बर अफ कमर्सका अध्यक्ष भइसकेका रहेछन् । मखनको कुनामा रहेको त्यो घरमा अहिले पनि सपिङ आर्केड छ ।
द्वारिका खुला विचारका थिए । महिला घरभित्रै बस्नुपर्छ भन्ने सोचाइ थिएन उनमा । घरमा कुरा नमिलेपछि उनीहरूले घर छाडे । त्यो पनि सजिलो थिएन । घर छाडेपछि डेराबास भयो । कता जाने, के गर्ने भन्ने भन्ने बाटो तय भएको थिएन ।
साथी पूर्णशंकर गिरीसँग बस्न थाले । द्वारिका सरकारी जागिरे थिए । जागिरबाट आएको पैसाले घरपरिवार चलाउनै मुस्किल थियो । त्यसैले उनले कान्ति ईश्वरी विद्यालय प्याफलमा पढाउन थालिन् । केही समयपछि अमेरिकन लाइब्रेरीमा फस्र्ट कल्चरल अफेयर अफिसरका रूपमा नियुक्त भइन् । तर, सप्तरीमा बडाहाकिम रहेका पति बिरामी भएपछि उनले त्यो जागिर छोड्नुपर्‍यो । छोराछोरीलाई होस्टल राखेर श्रीमान्कै हेरविचारमा व्यस्त भइन् । बाहिर बसे पनि उनले ट्राभल एजेन्सीको काम गरिरहेकी थिइन् । 
 
सौन्दर्य सोख
आफ्नो सौन्दयप्रति उनी एकदमै सचेत छिन् । स्वास्थ्यलाई हानि हुने कुनै खानेकुरा खाँदिनन् । शरीर चाउरी परे पनि सौन्दर्यमा कमी आएको छैन । भन्छिन्, “सुन्दरी त खै ! बोल्डचाहिँ छु ।” 
बिहान छिटो उठ्ने अनि राति ढिलो सुत्ने उनको रुटिन छ । राति अबेरसम्म पत्रिका र पुस्तक पढेर बस्छिन् । बिहान प्राणायाम, योग, ध्यान र पूजापाठमा व्यस्त हुन्छिन् । दुःख र संघर्षसँग पौंठेजोरी खेल्दै जीवनको उत्तराद्र्धमा आइसके पनि जोस र जाँगर उस्तै छ । दौडधूप गर्दा नै मजा लाग्छ उनलाई ।
अहिले उनी आफूजस्तै अरु महिलालाई पनि उद्यमी बनाउन लागिपरेकी छन् । पैसामात्रै ठूलो कुरा होइन, आइडिया मुख्य सम्पत्ति भएको उनको बुझाइ छ । ‘बिजनेस एन्ड प्रोफेसनल्स वुमन’ नामक संस्थामार्फत महिलाको क्षेत्रमा काम गरिरहेकी छन् । आफूले भोगेको दुःख–सुखको कथा अरुलाई सुनाउँछिन् ।
संगीत भनेपछि अम्बिका हुरुक्कै हुन्छिन् । पूर्वी र पश्मिमी शास्त्रीय संगीतकी पारखी उनी पण्डित रविशंकर, हरिप्रसाद चौरसियाका गीत निकै सुन्छिन् । श्रीमान्ले भ्वायलिन बजाउँथे । अहिले उनकी नातिनीले बजाउँछिन् । अहिले उनकी ठूली छोरी संगीताले होटल सम्हालेकी छन् । कान्छी छोरी विनीताको परिवार अमेरिकामा बस्छ ।
 
तस्बिर स्रोत :Business 360
NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ८, २०७३  ०८:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC