site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नांगो नाच
Ghorahi CementGhorahi Cement

— परशु प्रधान


रातले पखेटा राम्ररी फैलाएका अँधेरीभित्र गोरेको सुक्सुकाउँदो स्वर मन्दमन्द आइरह्यो, “अपराधीहरू ! मानवताको मखुण्डो भिरेका पशुहरू !”

उसलाई पाता कसेर लडाइएको थियो । ऊ नांगो थियो । हावाको एक लहर आयो अनि उसका सारा जिउभरि काँडा उमारेर गयो । यो नयाँ बस्ती उसका लागि नयाँ थियो । उसले एकपल्ट शून्य आँखाले आकाश नियाल्यो– केवल बादलका थुम्काथुम्कीमात्र । त्यहाँ उसका लागि हेर्ने बस्तु केही थिएनन् । फेरि उसका आँखा पर घरमा बलेको बत्तीमा गएर अडियो । गाढा आँखाले उसले हेरिरह्यो बत्ती । बत्तीको सानो उज्यालोमा उसको हृदयमा एउटा लहर चल्यो— सम्झनाको, जुन सम्झना अहिले यति नमीठो विपनामा परिणत भएको थियो ।

Agni Group

उसका गाउँका नागबेली डाँडाहरू यसरी नै रातमा आफूलाई अँध्यारोभित्र घुम्टो हाल्थे । डाँडापारि उज्यालो झर्न थालेपछि आफ्नो प्रणयको कथा शुरू गथ्र्यो– गोरे ।

गोरेको जीवन–कथाको प्रमुख पात्र थिई– माहिली । गोरेको भरिलो अँगालोमा माहिली आफ्नो जीवन उक्सेको, हृदयमा मीठो थपथाप गरेको अनुभव गर्थी, अनि एउटा नौलो अनुभूतिले उसलाई सलक्क निल्थ्यो । गाउँघरका आरिसे आँखाहरूबाट आफूहरूलाई सदाका लागि ओझेल पार्ने प्रण गरे प्रेमले भिजेका ती मुटुहरूले । यही प्रण–पूर्तिका लागि हिँडेको गोरेको यो दोस्रो बास थियो ।

Global Ime bank

यही बासमा—

चार–पाँच जना तन्नेरी मानिसहरू ठिंग गोरेको अगाडि उभिए ।

“को हौ तिमीहरू ?” यो तिनीहरूको सामूहिक गर्जना थियो । लाज र भयले सन्तप्त माहिली गोरेको पछाडि लुक्न पुगी । गोरेले केही विनम्रता र केही धाकिलो स्वरले जवाफ दियो, “हामी लोग्ने–स्वास्नी !”

“कि बहिनी लिएर हिँडिस् ए मोरा ?” एकजनाको हाँसो फुट्यो ।

“भागेर आएका हौ, हामी कहाँ छाड्छौं तिमीहरूलाई ?” अर्को कालो–कालो पुड्केले हकारेजस्तो गरेर भन्यो ।

गोरेले चुप लागेर ती मानिसहरूका आँखा नियाल्यो अनि सहारा खोजेजस्तो वरिपरि आँखा लायो । गाउँ निकै टाढा थियो । उसले आफूलाई सहाय पायो । सबैका आँखा रसिला थिए अनि उनीहरूको नाकबाट एउटा अनौठो गन्ध निस्कइरहेको थियो– ह्वास्स । गोरेको आत्मपराजयमाथि उनीहरूले आफ्नो आत्मविजयको शंख फुके ।

“बाँध यसलाई !” कट्क्यो यो स्वर— वरिपरिका दुई–चार छाप्राहरूालाई चिरेर । गोरेको आँखामा एउटा रिसको ज्वाला दन्कियो, “भन्नुस्, किन बाँध्ने हामीलाई ?”

“तँलाई मात्र पो त, तेरी मायालुलाई त हामी...!”

नभन्दै बलियाबलिया हातहरूले गोरेका हात–खुट्टा बाँधिए । कराउला भनेर मुखमा रुमाल खाँदियो । माहिली झम्टी गोरेको बन्धन चुँडाल्न, एउटी सिँहिनीझैं ।

“के चाल तपार्ईंहरूको यो सुनसान ठाउँमा ? भन्नुस्, जे चाहिन्छ दिन्छौं हामी तपाईंहरूलाई,” माहिलीको चीत्कार निस्क्यो ।

गोरे जुरुक्क उठ्न चाह्यो । अनि सारा बल थुपारेर कराउने चेष्टा गर्‍यो । तर, उसमाथि गठिला हातहरूले पूरा काबु गरिसकेका थिए ।

“कान्छी यता आऊ !” एउटाले ट्याप्प माहिलीको हात समात्यो ।

“छोड् मलाई !” उसले हात फुकाउने प्रयत्न गरी तर उसको शरीर कसैले बोकेर कताकता अँध्यारोमा कुदाइरहेथ्यो । रात्रिको शून्यतामा ऊ कराई, रोई, “मेरी आमा... गोरेदाइ, मारो !”

उसको चीत्कार त्यसैत्यसै बिलायो । १०–१५ पाइला पर एउटा खाली कटेरोमा माहिली पुगी, अर्ध चेतनालाई अँगालेर । उसलाई पल्टाइयो गुन्द्रीमा । ऊ जुरुक्क उठी भाग्नलाई तर दो’टा धम्मरधुस मान्छले अरू जोडले समाते । उसका चोली, साया, सारी सबै फुकालियो । ऊ साँच्चै नांगै थिई ।

उसलाई जाडो–जाडो लाग्न थाल्यो । रिसले दाह्रा किटी तर जबर्जस्ती कसैले उसलाई टाढाटाढा गहिरो–गहिरो खाडलमा धकेलिरहेथ्यो । आफ्नो सतीत्व, आफ्नो यौवन, आफ्नो गोरे । माहिलीले सम्झी, मनमनै भक्कानो छोडी । सारा चेतनाको रक्सी पिएर ऊ धेरैबेर लठ्ठ परी । एकपछि अर्को–अर्को गरेर तन्नेरी शरीरहरूले थिचे–थिचेजस्तो माहिलीलाई लागिरह्यो । तर, त्यो अनुभव सूक्ष्म तथा नमीठो र अमिलो थियो । ऊ होश र बेहोशको दोसाँधमा थिई अनि अशक्त बल निकालेर लामो सास तानिरही । विवश...।

गोरेको रुवाइ प्रत्येक क्षणसँगै रातमा बिलाउँदै आइरह्यो । अहिले ऊ एक्लै थियो । रातले आफ्नो पखेंटा राम्ररी नै फैलाइसकेको थियो । उसका विचारका तरंगहरू यसरी नै खेल्दै आइरहे— एउटी युवतीको सतीत्वमाथि कस्तो कुठाराघात ! माहिलीले के सोचिहोली ? कहाँ बसेको कल्पना गर्दै होली ! त्यो मुस्कानमा खेलिरहेको अनुहार !

च्व..च्व.. ! आफ्नो हृदयकी वीणा आफ्नो सामु चुँडिएको, फालिएको, अफालिएको... योभन्दा असह्य कुरो एउटा युवक मान्छेको लागि के हुन सक्छ ?

भावुकताको धेरै लहरहरूले गोरेको कमलो मस्तिष्क भिजाउन लागे । आखिर पशुभन्दा मान्छे कत्ति पो बढी उठ्न सकेको छ र ! मान्छे अँध्यारोभित्रै अलमलिएको छ, उज्यालो टाढा–टाढा, धेरै टाढा छ । भगवान् ! मान्छेलाई मान्छे बनाइदेऊ ! सुँक्सुकाउँदा सुँक्सुकाउँदै कलिलो निद्रामा गोरे पुग्छ । उसले सपना खोतल्छ— माहिलीबाट माला पाएर विवाह भएको ! दुवैको नयाँ संसारको बस्ती बसाएको ! हँसिलो, रसिलो जीवन बनाएको । माहिली हाँस्दै भनिरहेकी थिई, “गोरे दाजु ! हामी हाम्रो प्रेमका लागि अमर छौं । तपाईंको हृदय–मन्दिरमा मेरो स्थान रहोस् !”

भोलिपल्ट सधैंको झैं बिहान भो । हावाका चिसा झोंक्काहरू आएर गोरेका कानमा ठोक्किरहे । ऊ ब्युँझियो । बल्लतल्ल हातका डोरी फुकाएर बन्धन–मुक्त भएपछि अचानक मायालु स्वर उसको मुखबाट निस्क्यो, “माहिली !”

उसको स्वरले प्रत्युत्तर पाउन सकेन । घामका दुई–एक किरणहरू उसको गालामा आएर खेलिरहे । हिजोका सारा घटना उसले सम्झियो । माहिली त्यहाँ थिइन । उसले आँखा अगाडि केवल अँध्यारो देख्यो ।

ऊ जुरुक्क उठ्यो । हिजो रातिको माहिलीको स्वर पछ्याउँदै ऊ गयो लुरुलुरु । पर कटेरो स्वाँस्वाँ सास लिइरहेको थियो, “मेरी माहिलीलाई एउटा मीठो अँगालोमा बाँध्छु... मेरी जीवनलाई... माहिली !”

गोरे कटेरोमा पुग्यो । कटेरोको वल्लो कुनामा उसले देख्यो । माहिलीका सारा लुगाहरू फालिएका थिए । डरैडर ऊ भित्र पस्यो । अचानक ऊ करायो, “माहिली...माहिली !”

भित्रबाट आवाज आएन । गोरेलाई रिँगटा लाग्यो– माहिली !

उसको विश्वास खल्बलियो । उसका धमिला आँखाले धोका दिएनन् । केवल यति ठम्याउन सक्यो उसले— कटेरोभित्रको झिसमिसे उज्यालोमा एउटा नारीको नांगो शरीर उत्तानो पारेर पल्टाइएको थियो । प्वालबाट छिरेको घामको टक आँखामा परिरहेको थियो ।

उसका गोलागोला स्तन लत्रिएका थिए । अनि रगतको भलले उसका सुडौल र गठिला तिघ्राहरू रातै भएका थिए । उसको अस्तव्यस्त केशराशी लहरिएको थियो र उसका आँखाहरू क्वारक्वार्ती नचिनेझैं गोरेलाई हेरिरहेथे ।

गोरेलाई केही पनि आश्चर्य लागेन । त्यस रगतको टीको लाएर उसले माहिलीको सुकेको गालामा म्वाइँ खान चाह्यो तर ऊ अशक्त भो । उसका नसाहरू लुला भए । ऊ ढल्मलियो । मानवताको नांगो नाच उसले हेरिरह्यो र हेरिह्यो ।

(प्रस्तुत कथा डिकुरा प्रकाशनले छापेको प्रधानको नवीनतम् सङ्ग्रह ‘धनिया’बाट लिइएको हो ।)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ३०, २०७५  १०:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC