site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
शिव प्रकाशलाई फोटो पत्रकारको जवाफ
Agni Group
Global Ime bank
हालैमात्र नेपालका अनलाइन मिडिया र सामाजिक सञ्जालहरूमा फोटोसम्बन्धी बहस चलिरहेको छ । एक जना पत्रकारले खिचेको तस्बिर विनाअनुमति अर्को सञ्चारमाध्यमले प्रयोग गरेको विषयमा व्यापक चर्चा भइरहेको छ । २०६२/६३ को जनआन्दोलनका समयमा कलंकीमा एक प्रहरी अधिकृतले गोली चलाइरहेको तस्बिर बिना अनुमति अन्य सञ्चारमाध्यमहरूले प्रयोग गरेको भन्ने विषयमा अदालतमा मुद्दा नै चलेको विषयलाई यहाँनेर बिर्सन मिल्दैन ।
विगत केही वर्षदेखि म अमेरिकामा बसेर फोटोपत्रकारिता अभ्यास गर्दै आइरहेको छु । पछिल्लो प्रसंग म स्वयंले खिचेको फोटो र त्यसको प्रतिलिपि अधिकार अर्थात कपीराइटसँग सम्बन्धित भएकाले यस विषयमा केही लेख्नैपर्ने ठानेको छु ।
फोटोग्राफी र फोटो पत्रकारिता मेरो एकमात्र पेशा हो, आम्दानीका अन्य स्रोत छैनन, तैपनि यसबाट नै औसत अमेरिकीहरूभन्दा राम्रो जीवन जीउन सकेको छु । अमेरिकामा रहेका नेपाली समुदायले मेरो कामलाई बुझेर उत्साह थपेका नै छन् । तर हालै मात्र मेरो एक तस्बिरमा विवाद चुलिएको छ । आफूलाई लेखकका रूपमा परिचय दिलाउँदै आएका शिव प्रकाशले मैले कमर्सियलरूपमा खिचेको तर मिडियालाई प्रकासन गर्ने कुनै पूर्वअनुमति नदिएको उनको तस्बिर बाह्रखरी अनलाईनमा प्रकाशित गरे, तर मेरो अनुमति बेगर । 
मैले यस विषयमा प्रतिवाद गरी गल्ती गरी सच्याउँ भन्दा यसमा समाधान खोज्नुका सट्टा मेरो व्यावसायिक छविमा नै आँच आउने गरी बाह्रखरीमै ब्लग लेखेर मलाई केही प्रश्न गरेका छन् । सोही विषयमा प्रष्ट पार्न यो लेख लेखेको छु । 
गत भदौ २५ गते बाह्रखरी अनलाइन पत्रिकामा सन्तोष रिमालले लिएको एउटा अन्तर्वार्ता थियो ‘लेखक’ शिव प्रकाशको । अन्तर्वार्ताको साथमा एउटा आकर्षक, रातो पृष्ठभूमिको फोटोसमेत प्रकासित थियो । 
त्यो फोटो देखेर म झसंग भएँ, किनभने सो फोटो मैले खिचेको थिएँ । उक्त तस्बिर मिडियाका लागि मैले ‘रिलिज’ गरेको थिइन । उक्त तस्बिर लेखक शिव प्रकाशको आगामी पुस्तक धिक्कारको कभरका लागि कमर्सियल सुट गरिएको थियो । फोटो विशेष तयारीका साथ खिचिएको थियो । फोटो प्रकासनका विषयमा मसँग अनुमति पनि लिइएको थिएन ।
यस विषयमा मलाई चित्त दुख्यो र त्यसै अन्तर्वार्तालाई लिंक बनाई मेरो फेसबुक स्ट्याटसमा लेखेँ, “आफूले खिचेको फोटो बिना क्रेडिट प्रकाशित हुँदा चसक्क हुँदो रहेछ । मिडियाले फोटोलाई माया र फोटोग्राफरलाई हेला गर्नु खेदपूर्ण । वाटरमार्क (मेरो नाम) पनि मेट्नु अनैतिक काम । अनुमति नलिई कसरी प्रकासित गर्न सकेको होला?”
म विगत २२ वर्षदेखि नेपाली र अमेरिकन मिडियामा कार्यरत छु, मिडियाको उत्तरदायित्व र काम गर्ने परिपाटीप्रति सचेत छु । कुनै पनि मिडियाले लेखकको स्वीकृतिबिना लेख र फोटोग्राफरको स्वीकृतिबिना फोटो छाप्न पाउँदैन/मिल्दैन । तर यहाँ यो कसरी भयो खुल्दुली भयो । 
दोस्रो कुरा जसरी मिडियामा लेखक, रिपोर्टर र अन्तर्वार्ताकारको नामबिना उसको सामग्री प्रकासित हुन्न (दी इकोनोमिष्टबाहेक), त्यसैगरी फोटोग्राफरको नामबिना फोटो छापिएको मलाई थाह छैन । तर, बाह्रखरीमा यस्तो अचम्म भयो कि अनुमति नभएको फोटो बिना क्रेडिट अर्थात फोटोग्राफरको नामबिना प्रकासित भयो, मानौ त्यो फोटो लेखक शिव प्रकाश आफैले सेल्फी खिचेका हुन ।
मैले यस विषयमा सो अनलाइनका सम्पादकलाई तत्कालै सम्पर्क गरेँ, र उनीहरूले गल्ती महसुस गर्दै अन्तर्वार्तामा फोटोको तल लेखेः फोटो सौजन्य– विमल नेपाल । यहाँनेर बुझ्नै पर्ने कुरा, फोटो मैले कसैलाई प्रकासनको उद्देश्यसहित सौजन्यस्वरुप उपलब्ध गराएकै होइन भने कसरी सौजन्य भयो? यो त कसैको व्यक्तिगत सम्पत्ति जबर्जस्ती उपहारमा लिएजस्तो भएन र ? सोही कारण मैले भनेकै हुँ– फोटो छाप्ने अनुमति मैले कसैलाई नदिएको हुनाले प्रकाशित अन्तर्वार्ताबाट त्यो हटाऊ । तर लेखकको त्यो फोटो बकाइदा लेखक शिव प्रकाशको इमेलबाट ‘सौजन्य’ भएको रहेछ । जुन सत्यलाई पछि शिव प्रकाशले ममाथि आफ्नो लेखमा पनि स्वीकार गरेका छन् ।
 
शिव प्रकासले कसरी पाए ?
शिव प्रकाश र मेरो कार्यथलो बोष्टन हो । हरेक भेटमा उनी राम्रो फोटो चाहियो, ल न मेरो आउँदो पुस्तकका लागि कभर सुट गरौं भनिरहन्थे । गत फेब्रुअरीको एक साँझ उनी फर्मल ड्रेसमा एउटा पार्टीमा आए र उनैले एउटा राम्रो फोटोका लागि अनुरोध गरे । मैले कार्यक्रम सकिएपछि एउटा कुनामा उनको १०–१५ वटा फोटोसुट गरेँ । अर्को दिन ती फोटो सम्पादन गरी फोटोमा मेरो वाटरमार्क ©BimalNepal.com   राखेर हेर्न मिल्ने, प्रयोग गर्न नमिल्ने गरी इमेलमा प्रिभ्यूका लागि पठाएँ । तीमध्ये कुनै फोटो मन परेमा यो पेशामा वाटरमार्क हटाइ ठूलो फाइल पठाउने चलन हुन्छ । इमेल क्लाइन्टलाई फोटो देखाउने माध्यममात्र हो । 
करिब ७ महिनासम्म उनले कुन फोटो चाहिन्छ भनेर कुनै उत्तर दिएनन, प्रयोग अनुमतिको कुरै भएन । त्यहीमध्येको एउटा फोटो, जसमा वाटरमार्क अर्थात प्रयोग गर्न नमिल्ने ‘टाँचा’ लगाइएको थियो, फोटोसप गरी मेरो नाम खुर्केर फाली मिडियालाई पठाइनुलाई मैले मेरो पेशामाथि नै धावा बोलिएको महसुस गरेको छु । पहिला सक्रिय पत्रकार र विगत ५ वर्षदेखि फोटो पत्रकारका रूपमा सक्रिय मेरा लागि यो निकै ठूलो पेशागत चुनौती नै थियो । फोटो जर्नालिस्टले लेखक, कलाकार र सेलिब्रेटीको फोटो खिची मिडियालाई बेची आफ्नो जीविका चलाउने हो । मिडियालाई मैले खिचेको फोटो बिना अनुमति प्रयोग गर्नदिनु भनेको मेरो पेशामाथिको चुनौती हो । फोटो किन्ने चाहना थिएन भने शायद मागेको भए निःशुल्क पनि दिइन्थ्यो होला, त्यो प्रक्रियामा शिव प्रकाश गएनन, उल्टै मेरो नाम मेटाइ फोटो प्रयोग गर्ने ‘धुत्र्याइँ’ गरे । मेरो आपत्ति यसैमा हो । यस अवस्थामा उनलाई कानुनीरूपमा उनलाई फोटो चोरीको आरोप पनि लगाउन मिल्छ ।
मैले शिवलाई फेसबुकको म्यासेन्जरमा आफ्ना कुरा राखेँ,  विषयवस्तुप्रति कति पनि संवेदनशीलता नदेखाइ उनले लेखे, “मैले क्रेडिटका लागि सम्पादकलाई इमेल लेखेँ । फोटोका लागि धन्यवाद ।”
मैले जवाफ फर्काएँ, “हामी प्रोफेसनल बनौं । मैले तपाईंलाई कुनै पनि फोटो मिडियामा प्रकाशनका लागि दिएको छैन, उल्टै मेरो ‘टाँचा’ मेटाएर नामबिना छापियो, यो राम्रो भएन, अब यसलाई ‘सेटल’ अर्थात समाधान गरौं ।”
मैले दुईटा प्रस्ताव राखेँ, “तपाईंसँग दुई वटा विकल्प छन् १) मिडियाबाट फोटो झिकौं र गल्ती भएकोमा क्षमा मागौं । तपाईंको एक पैसा पनि खर्च भएन । २) फोटोको पैसा तिर्नुस् र आफ्नो बनाउनुस, नाम र कपीराइटको झन्झटै भएन  । फोटो तपाईंको भएपछि जहाँ प्रयोग गरे पनि मलाई आपत्ती छैन ।”
उनी दोस्रो उपायप्रति आकर्षित हुँदै लेखे, “पैसा तिर्छु, तर मलाई थाह छैन मैले ‘अफोर्ड’ गर्न सकुला कि नसकुला?”
मैले भनेँ, “मैले सबैलाई एउटै रेट भन्ने हो भने तपार्ईंलाई फरक गरेको छैन । यस किसिमको फोटाको ५०० डलर पर्छ । यसबापत तपाईंलाई यो फोटो ठूलो साइजमा प्रिन्ट गरे पनि हुन्छ, जुनसुकै मिडियामा दिए पनि हुन्छ । पैसा तिर्ने कि फोटो मेटाउने तपाईंको विचार ।”
एक घण्टापछि उनले लेखे– मिडियाले फोटोमा क्रेडिट दियो, यो च्याप्टर बन्द भयो, यस प्रकरणमा मैले कहिल्यै माफी माग्ने छैन ।
फेरि नरम भएर लेखे, “तिमीलाई पैसा चाहिएको हो? मैले सकेको गरुँला, तपाईको ठेगाना पाएँ धन्यवाद ।”
मैले केही लेखिँन । पाँच घण्टापछि रातको १० बज्न लाग्दा फेरि टेक्स्ट पठाए, “मैले ‘जीरो’ पैसा पठाउँछु, तिमीले यो इस्यूलाई साह्रै गलत रुपमा लियौ । यदि यस विषयमा थप कुरा गरे, कानुनी बाटोमात्र हुनेछ । धन्यवाद मित्र ।”
व्यवहारिक समाधानको बाटोलाई चुनौती दिँदै मलाई कानुनी बाटोको धम्की लेखे । त्यसपछि हाम्रो कुरा भएको छैन । मेरो रेट सुनेपछि उनी आफै चम्किए अनि बम्किए । अमेरिकामा बुक कभरका लागि फोटोसुट र त्यसको इडिटिङ ५ सय डलर रेट निकै कम हो । मैले एउटा फोटो १३५० अमेरिकी डलरसम्म बेचेको छु, त्यो पनि कपीराइट मेरै रहने गरी । 
उनले २०–२५ डलर सोचेका रहेछन । मैले रेट दिएपछि त्यो मूल्यमा नेगोसिएसन पनि हुनसक्थ्यो, दुई पक्षिय कुरा थियो । त्यसपछ भदौ २९, २०७३ (सेप्टेम्बर १४) बुधबारको १२खरी अनलाइनमा उनले मलाई प्रोफेसनल ब्ल्याकमेलरको संज्ञा दिँदै १५ वटा ‘बचकना’ र ‘रुन्चे’ प्रश्नहरू सोधेका छन, जसले उनको बौद्धिक दिवालियापनको पाटो राम्रोसँग उघारेको छ ।
 
अब के गर्न सकिन्छ ?
शिवप्रकासले मेरो अनुमतिबिना पत्रिकालाई मैले खिचेको फोटो पठाइएको स्वीकार गरेका छन् । अब शिव प्रकाशले वाटरमार्क मेटाएर पत्रिकालाई पठाएको वा ‘मिसयुज’ गरेकोमा प्रतिलिपि अधिकार उल्लंघन वा बौद्धिक सम्पत्तिको अतिक्रमण र चोरी गरेको आरोप लाग्छ । यस विषयमा नेपालको प्रतिलिपि अधिकार कानुन केही फितलो भए पनि अमेरिकी कानुन कडा छ । उनलाई गल्ति सच्याउन दिएका दुईटा उपाय उनले अस्वीकार गरिसकेको अवस्थामा उनलाई फोटो चोरीको आरोप लगाउन सकिने कानुनी आधारहरू प्रशस्त छन् ।
अब उनले फोटोग्राफरसँग बसेर आपसी छलफलबाट सम्झौतामा पुग्नुपर्दछ नत्र अमेरिकी कानुनको सामना गर्दै अदालती पुर्जीअनुसार आफ्नो प्रतिरक्षाका लागि वकिलसहित पुग्नुको अर्को विकल्प छैन ।
अब शिव प्रकासले उठाएका प्रश्नहरूको एक मुष्ट जवाफ दिन चाहन्छु । 
मैले उनलाई दिएको फोटो कुनै उपहार वा सौजन्य थिएन, मैले मेरो व्यावसायको सिलसिलामा पठाएका स्याम्पल फोटोहरू थिए । जसमा मेरो वाटरमार्क सुरक्षित छ । मैले कुनै व्यक्तिको विनास्वीकृति फोटो खिचेर कुनै धन्धा गरेको थिइन र छैन पनि । उनको आफ्नै अनुरोध र स्वीकृतिमा गरिएका फोटोसुट थियो । फोटोमा व्यक्तिको अनुहारको हाउभाउले नै त्यो फोटोसुट हो कि होइन भन्ने प्रष्ट पार्छ ।
फोटोग्राफीमा व्यक्तिगत विषयवस्तु (अब्जेक्ट) पनि व्यापारका विषय हुन् । व्यावसायिकरूपमा चलेका अन्तर्रा्ष्ट्रियरूपमा नाम चलेका फोटोसंग्रह वेबसाइटले व्यक्तिगत फोटो, जो प्रोफेसनल फोटोसुट गरिएको हुन्छ, तिनको खुलेआम अक्सन मूल्य राखेको तथ्य एक पटक गुगलमा सर्च गर्ने हो भने निकै भेटिन्छन् ।
कुनै व्यक्तिले आफूलाई सेलिब्रेटी (लेखक, कलाकार वा अन्य क्षेत्रका) भनेर चिनाउँछ भने त्यस्ता व्यक्तिका फोटो, फोटोग्राफरले बिक्री गर्न सक्छ, पाउँछ । 
फोटो कुनै समारोहमा खिचिएको भए पनि व्यक्ति विशेषको अनुरोधमा फोटोसुट नै गरिएको हो भन्ने कुरा दोहो¥याइरहनु परेन । जब भुक्तानी र नैतिकताका प्रश्न उब्जियो अनि मेरो फोटो किन खिचिस् भन्नु अर्को नैतिकहीन काम हो ।
शिव प्रकाशले पहिलो अनाधिकृतरूपमा मेरो फोटोग्राफ प्रयोग गरे । यस विषयमा मैले आपत्ति जनाएपछि, मेरो स्वीकृतिबेगर किन फोटो खिचेको भनेर उल्टै खोचें थापे । यसमा पनि पार नलागेपछि एउटा समारोहमा खिचेको फोटोलाई जसबाट तिमीलाई पैसा लिइसकेका छौ, त्यसमा कसरी कपीराइट दाबी गर्न सक्छौ भनेर प्रश्न राखेका छन् । यसले केही भ्रम सिर्जना गर्न सक्छ । यस विषयमा यहाँहरूको ध्यान आकृष्ट गर्न चाहन्छु ।
हालै साउथ एसियन आर्ट काउन्सिलले मलाई एउटा फोटो एसाइन्मेन्ट दियो, जुन भारतका होनहार संगीतकार तथा गायक दाजुभाइ सलीम–सुलेमानको कार्यक्रम थियो । मैले खिचेको फोटो आर्ट काउन्सिललाई प्रयोग गर्ने अधिकार छ, तर ती गायक दाजुभाइलाई छैन । त्यो उनीहरूको कार्यक्रम थियो, तर उनीहरूले मलाई काममा लगाएका थिएनन । अब उनीहरूलाई ती फोटा चाहियो भने मसँग किन्नुपर्ने हुन्छ । आर्ट काउन्सिले पनि उनीहरू वा तेस्रोपक्षलाई फोटो दिने अधिकार छैन । जति फोटो आर्ट काउन्सिलले अपेक्षा गरेको थियो, सबै पायो । बाँकी फोटो मैले आफ्नो अनुकूल राख्न, बेच्न, प्रदर्शनी वा प्रकाशन गर्न पाउँछु । जुन फोटो काउन्सिललाई दिएँ, त्यसमा मात्र उसको अधिकार हुन्छ ।
त्यस्तै गत जुलाई ४ मा मलाई एउटा पत्रिकाले उत्सव र आतिशबाजीको फोटो लिने जिम्मा दियो । मुख्य पृष्ठमा एउटा र भित्र ५ वटा गरी मेरा ६ वटा फोटो प्रकासित गर्यो । ती फोटोमा सो पत्रिकाको सर्वाधिकार छ भने मैले उक्त उत्सवमा खिचेका करिब २०० फोटोहरूमा मेरो स्वामित्व कायम छ । पत्रिकाको खर्चमा खिचेका अन्य फोटोको व्यापार गर्न म स्वतन्त्र छु ।
तसर्थ, कुनै एउटा समारोहमा मैले फोटो खिचेँ भने मेरो क्लाइन्टलाई दिएको फोटोमा मेरो र क्लाइन्टको मात्र अधिकार हुन्छ । शिव प्रकाशको अधिकार हुन्न । क्लाइन्टले पनि व्यावसायिक प्रयोजनका लागि तेस्रो पक्षलाई फोटो दिन पाउँदैन, आफ्नो प्रयोजनका लागि मात्र प्रयोग गर्न पाउँछ । कार्यक्रमको अतिथि (गेस्ट)लाई फोटोमा अधिकार हुँदैन ।
 
(तस्बिरमा कसैको पनि वाटरमार्क नराखी सम्बन्धित फोटोग्राफर वा संस्थाको नाम राख्ने बाह्रखरीको नीति हो । शिव प्रकाशको अन्तर्वार्तामा भूलवश विमल नेपालको नाम छुटे पनि हामीले तत्काल सच्याएर नाम राखेका हौं । साथै, यस ब्लगका लेखक नेपाल र अर्का लेखक शिव प्रकाशसम्बद्ध वाद–विवादको शृंखलामा यो लेख अन्तिम हुने जानकारी गराउँछौं — सम्पादक) 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७३  १७:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC