site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
निर्मलाको हत्या उँखुबारीमै भएको थियो कि अन्य स्थानमा ? दिलिपलाई फसाउन चाहन्थ्यो प्रहरी !
Sarbottam CementSarbottam Cement

काठमाडौं । साउन १० गते घरबाट साथी रोशनी बमको घरमा जान हिँडेकी कञ्चनपुरकी निर्मला पन्त ११ गते उँखुबारीमा मृत अवस्थामा फेला परिन् । कञ्चनपुरको भीमदत्तरपालिका २ कि निर्मला पन्त भीमदत्तनगर १८ मा रहेको साथी रोशनी बमको घरमा जान्छु भन्दै गएकी थिइन् । निर्मलाको बत्कारपछि हत्या भएको पुष्टि भइसकेको छ । तर निर्मलाको हत्यारा को हो ? हत्या कहाँ र कसरी भएको थियो ? भन्ने बारेमा २ महिना बित्न लाग्दासमेत पुष्टि हुन सकेको छैन ।
पटक पटक गरिएका अनुसन्धान पनि विफल भएका छन् । पछिल्लो अनुसन्धान प्रहरीतर्फनै मोडिएको छ । 

निर्मलाको हत्या उँखुबारीमै भएको थियो वा कुनै घरको कोठाभित्र या  अन्य स्थानमै ? यो विषयमा पनि प्रहरी अनुसन्धान जारी छ । घटनाक्रम र घटनास्थल हेर्दा निर्मलाको हत्या उँखुबारीभन्दा बाहिर भएको हुन सक्ने आधार फेला पर्ने अनुसन्धानमा रहेकाहरु नै बताउँछन् ।
रोशनी बमको भनाइलाई आधार मान्ने हो भने निर्मला १० गते दिउसो २ बजेनै उनको घरबाट अम्बा र उत्तरपुस्तिका बोकेर निस्किएकी थिइन् । साउन १० गते साँझबाट कञ्चनपुरमा निकै ठूलो पानी परेको थियो । त्यो साँझ निर्मलाकी आमा दुर्गाले प्रहरीलाई छोरी हराएको भन्दै खोजी गर्न हार गुहार गरिन् । तर प्रहरीले चासो दिएन । रोशनी र बबिता बम  (दिदीबहिनी) ले निर्मलाकी आमालाई घरभित्र पनि प्रवेश दिएनन् ।

प्रहरीले समयमै घटनाको ‘रेस्पोन्स’ गरेको भए निर्मलाको हत्या नहुन पनि सक्थ्यो या हत्यारा पत्ता लाग्न सक्थ्यो । साउन ११ गते बम परिवारको घरमा गाउँलेहरु जम्मा भए । निर्मलाको जानकारी माग्दामाग्दै एकाएक खबर आयो । नजिकै रहेको खोलाछेउमा निर्मलाले चढ्ने साइकल भेटियो । 

Prabhu Bank
Agni Group
NIC Asia

साइकल भेटियो भन्नेबित्तिकै रोशनीकी दिदी बबिताले ‘त्यसो भए लाश पनि त्यत्तै होला’ भन्ने जवाफ फर्काएको निर्मलाकी आमा नै बताउँछिन् । नभन्दै साइकल भेटिएको स्थानलाई आधार मानेर उँखुबारीमा जाँदा निर्मलाको शव फेला पर्यो ।
कम्मरमुनीको कपडा खोलेको अवस्थामा निर्मला मृत अवस्थामा फेला परिन् । शव भेटिएको वरपर साइकल, चप्पल, उत्तरपुस्तिका–किताब भेटिए । निर्मलाको शव पानीमै थियो ।

तर रहस्यको विषय के हो भने घटनास्थलमा भेटिएको किताब भने रातभर पानी पर्दा पनि भिजेको थिएन । यसबाट निर्मला हत्या उँखुबारीमा नभएर अन्त कतै भएको हुन सक्ने आशंका गरिएको छ ।

Global Ime bank

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी कृष्ण ओझा घटनास्थलका बारेमा अहिले त्यसै भन्न नसकिने बताउँछन् । ‘‘सबै कोणबाट अनुसन्धान जारी छ । अनुसन्धान पहिलेभन्दा साँघुरिँदैछ,” डीएसपी ओझाले बाह्रखरीसँग कुरा गर्दै भने ।

निर्मलाको हत्या उखुबारीमै भएको हो त ? भन्ने प्रश्नमा डिएसपी ओझाले भने, “केही भन्न सकिने अवस्था छैन । सबै कुरा अनुसन्धानबाट मात्रै खुल्छ ।’’  प्रहरी पनि हत्या उँखुबारी या अन्त कतै भएको थियो भन्नेमा विश्वस्त हुन सकेको छैन ।  तत्कालीन प्रहरी नेतृत्वले घटनास्थलको बारेमा फरक–फरक टिप्पणी गर्दै आएको थियो । अनौपचारिक कुराकानीमा कञ्चनपुरका तत्कालीन  एसपी डिल्लीराज विष्टले उँखुबारीमै नभएपनि त्यसकै वरपर घटना भएको हुनसक्ने बताएका थिए । 
अर्को आशंकाको विषय भनेको निर्मला रोशनीको घरबाट निस्केकी थिइन् या थिइनन् भन्ने हो । 

दिलिपलाई किन फसाउन चाहन्थ्यो त प्रहरी  ?

साउन १० गते अर्थात निर्मला हराएकै दिन प्रहरीमा उजुरी गर्न गएकी आमालाई चासो दिएन । ‘‘प्रहरीलाई सूचना पुग्दा पनि खोजीमा संग्लन नहुनु र उल्टै भोलि खोजौँला भनेर टार्नु गम्भीर गल्ती हो,’’ एक प्रहरी अधिकारी भन्छन् ।  प्रहरीले भदौ ४ मा निर्मला हत्यामा संग्लन भनेर भीमदत्तरपालिका १९ का दिलिप विष्टलाई सार्वजनिक गर्यो । सीआइबीको टोलीको नेतृत्व गरेका डीएसपी अंगुर जिसी र कञ्चनपुर प्रहरीका एसपीले दिलिप नै हत्यारा भएको जिकिर गरे । 

तर डीएनए परीक्षण गर्दा नमिलेपछि उनी मंगलबार रिहा भएका छन् । उनीसँगै पक्राउ परेका बम दिदीबहिनी पनि रिहा भएका छन् ।  दिलिपलाई पक्राउ गर्नुअघि प्रहरीले उनको घरबाट सर्टको गोजी च्यातेर ल्याएका थिए । घटना भएको २४ दिनपछि त्यही सर्टको गोजीलाई प्रहरीले प्रमाणको रुपमा प्रस्तुत गर्यो । साइकलको चेन बिग्रिएको र निर्मलाले बनाउन आग्रह गरेपछि चेन बनाएर उँखुबारीमा लगेर बलात्कार गरेर मारेको हुँ भनेर दिलिपलाई भन्न लगाइयो । तर कसले र किन दिलिपलाई त्यो भन्न लगाएर हत्याजस्तो अपराध स्वीकार गर्न लगाए त्यो रहस्यमै छ । 

पारिवारिक अवस्था निकै नाजुक भएपछि पैसाको लोभमा दिलिपले अभियोग स्वीकार गर्ने प्रहरीको निष्कर्ष थियो ।  त्यसैले प्रहरीले दिलिपलाई छानेको थियो । तर दिलिपलाई नक्कली अभियुक्त बनाउँदा प्रहरी अनुसन्धानमाथी नै इतिहासकै ठूलो नकारात्मक छाप पर्न गएको छ । 

दिलिपलाई प्रहरीले दिएको त्यो चुरोट ..

निर्मला हत्याको अनुसन्धानका लागि भन्दै सीआईबीले डीएसपी अंगुर जिसी, इन्स्पेक्टर गणेश सापकोटा र सई धर्मेन्द्र राईको टोली कञ्चनपुर पठायो । सीआईबीले गरेको अनुसन्धान विश्वसनीय हुन्छ भन्ने आमविश्वास विपरीत सीआईबीको टोली नै दिलिपलाई नक्कली अभियुक्त बनाएर प्रस्तुत गर्ने कार्यमा लाग्यो । 

जुन नेपाल प्रहरीको इतिहासमै कालो दाग भएको एक प्रहरी अधिकृत बताउँछन् ।

नाम नबताउने सर्तमा एक स्थानीय भन्छन्–‘‘दिलिपलाई पक्राउ गर्नुभन्दा ८–९ दिन पहिलेदेखि नै अंगुर जिसीलगायत उनको टिम जिप्रका कञ्चनपुरका एक हवल्दार नियमित भेट्दै आएका थिए । बेलाबेला चुरोट समेत किनेर दिएका थिए ।’’ 
स्रोतका अनुसार पछि दिलिपलाई ५ लाख रुपैयाँ दिने र निर्मला हत्याको जिम्मा कबुल गर्न आश्वासन दिइएको थियो ।

तर प्रहरीले पक्राउ गरेपछि यातना दिन थाल्यो । त्यसपछि दिलिपले आफु निर्दोष भएको बताउँदै आएका थिए । दिलिपलाई पक्राउ गरेपछि महेन्द्रनगरमा आन्दोलन चर्किएको थियो । प्रहरीले नक्कली अभियुक्त खडा गरेको आरोप स्थानीयको थियो । 

त्यही आन्दोलन दबाउने क्रममा प्रहरीको गोली लागि शनि खुनाको ज्यान गयो भने कयौं घाइते छन् । निर्मलाका आमाबुवाले भने अहिले पनि बम दिदीबहिनी र कञ्चनपुर प्रहरीका तत्कालीन एसपी डिल्लीराज विष्टलाई घटनाबारे सबै जानकारी भएको आरोप लगाउँदै आएका छन् । 

तर केन्द्रबाट अनुसन्धान गर्न गएको सीआईबीको टोलीले किन अनुसन्धान गर्नतिर लागेन भन्ने प्रश्न यतिबेला उब्जिएको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार पनि यसको जवाफ खोजी भइरहेको छ । प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले भने,‘‘दिलिपको डीएनए नमिलेपछि घटनामा टिव्स्ट आएकै हो । यस्तो अनुसन्धान गर्न क–कसले भूमिका खेले छानबिन हुँदैछ ।’’ 

एसपीकै डीएनए परीक्षण
 

निर्मला पन्त हत्या प्रकरणमा अनुसन्धानका लागि निलम्बित अवस्थामा रहेका एसपी डिल्लीराज विष्ट, उनका छोरा र भीमदत्त नगरपालिकाका मेयरका भतिजाको डीएनए परीक्षणका लागि नमूना संकलन गरिएको छ । प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीका अनुसार नमुना मेल खान्छ वा खान्न भन्नका लागि उनीहरुको रगत लिइएको छ । 

‘‘डीएनए परीक्षण व्यक्तिको अनुमतिमा मात्र गर्न मिल्छ । उहाँ एसपी विष्टले आवश्यक परे मेरो पनि डीएनए परीक्षण गर्नुहोला भन्नुभएको थियो,’’ एसएसपी क्षेत्रीले भने । 

एसपी विष्टसँगै भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुस विष्ट, एसपी डिल्लीराज विष्टका छोरा किरणको समेत डीएनए परीक्षणका लागि ‘स्याम्पल’ लिइएको छ । निर्मलाको भेजिनल स्वाबबाट निकालिएको नमुना परीक्षण गर्दा शुक्रकिटको अवशेष भेटिएको थियो । निर्मलाका बुवाआमा र कञ्चनपुरका स्थानीयले उनीहरुलाई अनुसन्धानको दायरामा ल्याउन आग्रह गर्दै आन्दोलन गरेका थिए । 

प्रमाण मेटाउन प्रहरीकै हात
प्रहरीले निर्मलाका बुवा आमालाई हत्यारा पत्ता लाग्ने भन्दै आश्वासन दिइरहेको भए पनि परिवार र आफन्त भने प्रहरीकै गतिविधिप्रति विश्वस्त देखिन्नन् । निर्मला पन्तको बलात्कारपछि हत्या भएको भनिएको स्थानमा रगत लतपतिएको कपडा प्रहरीले नै पखाल्नु, निर्मला गएको भनिएको घरको कम्पाउन्डमा रहेको अम्बाको रुख काटिनु, निर्मला हराएको भनिएको दिनमै प्रहरी कार्यालय पुग्दा प्रहरीले देखाएको व्यवहारलगायतले पनि पन्त परिवार प्रहरीको अनुसन्धानप्रति नै आश्वस्त हुन सकेको छैन । निर्मलाको रगत लतपतिएको कपडा प्रहरीले पखालिदिएको भिडियो सार्वजनिक भएपछि स्थानीयले प्रहरीले मुख्य दोषी लुकाउन खोजेको आरोप लगाउँदै आएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०७५  ०५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC