site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
बीपी  : न्याय नपाएका महामना

सन्दर्भ यसै साता बीपीको १०५ औँ जन्मजयन्ती । प्रसंग महामनाको । यसपछि न्याय, अन्यायको कुरा । बीपी जन्म वा स्मृस्ति दिवसमा मात्रै किन, जहिले लेख्दा, पढ्दा र बुझ्दा पनि सान्दर्भिक दार्शनिक व्यक्तित्व । बीपी कोइरालालाई जनस्तरबाट जननायक, महामानव र महामनाजस्ता विशेषताले सम्बोधित गरेको सुनिन्छ, पाइन्छ । जननायक, पहिलो जननिर्वाचित प्रधानमन्त्री वा परिणामदायी पहिलो जनआन्दोलनका नेता । महामानव मानवीय विशेष गुण वा क्षमता । र, महामना फराकिलो मन, विचार र विवेक । उहाँलाई प्राप्त स्वःस्पूmर्त सम्बोधनका यी शब्दको अर्थ खोज्ने जिज्ञासामा आफैँ यस्ता अर्थ दिएर बुझियो । अन्तर्राष्ट्रिय क्षेत्रमा पनि युगौंमा जन्मने महान्आत्मालाई जनस्तरबाट यस्तो विशेष उपाधि दिएको देखिन्छ । हाम्रै भूमिपुत्र गौतम बुद्धलाई पनि विभूषित गरिएको छ, जुन अति स्वाभाविक लाग्छ –‘एसियाका ज्योति’ । यस्तो उपाधि खासगरी दुई स्तरबाट दिएको पाइन्छ । जनस्तर र सरकारीस्तर । यहाँ जनस्तरको कुरा हो । 

महामनालाई प्रा.डा.अभी सुवेदीले विशेष व्याख्या दिनुभएको छ । ‘सान्दाजुको महाभारत’ नाटकका सर्जक प्राडा.सुवेदीले एक वर्षभन्दा अघि कान्तिपुर दैनिकमा लेख्दै – नेपालमा प्रायः सबै विषयप्रति पहुँच र आधिकारिक दख्खल राख्ने पहिलो दार्शनिक राजनेता बीपी कोइराला, यस कारण उहाँलाई महामना भन्नुको औचित्य छ, भन्नुभएको छ । यही अर्थ र सन्देश दिने उहाँको लेखका वाक्य थिए । प्रा.डा.सुवेदीको व्याख्यालाई बौद्धिक जनस्तरको समेत समर्थन प्रमाण मानेर महामनालाई थप विशद् अर्थमा ग्रहण गरेँ । 
महामना बीपी कोइरालाले राजनीतिक, साहित्यिक, आर्थिक वा सामाजिक र अन्य ती सबै विषयमा राष्ट्र,जनता र लोकतन्त्रलाई शीर्ष स्थानमा वा केन्द्रीय लक्ष्यमा राख्नुभएको छ । लक्ष्य जनता नै हो । ती विषयमा उहाँको प्रयोग विधि र व्याख्यामा तत्कालीन सान्दर्भिकता छ र केन्दी्रय विन्दु वा मुहानको हैसियतमा ती विषयको सान्दर्भिकता अनन्त वर्तमान भन्नोस् कि मानव सभ्यतासम्म पनि रहन्छ भन्ने देखिन्छ । अहिलेको यथार्थ पनि प्रजातान्त्रिक समाजवाद नै हो । मानवसभ्यतामा राष्ट्र, जनता र लोकतन्त्रभन्दा फरक सोचको राजनीति कल्पना गर्न सकिन्छ तर सुखद परिणाम पाइदैन । यो कुरा २० औँ शताब्दीको उत्तरार्धसम्म आइपुग्दा प्रमाणित भइसकेको छ । 

बीपीको विचारमा केन्द्रमा जनता । राजनीतिमा लोकतन्त्र जनकेन्द्रित उद्देश्य हो । यो सबैले जान्ने विषय भइसक्यो । तर, बीपीको साहित्यमा मनोविज्ञान वा भौतिक मनोविज्ञान र सामाजिक, सांस्कृतिक चेतनासम्बद्ध गहिराइ पढ्दा, बुझ्दा त्यहाँ मानिस अर्थात् जनताको पात्र प्रतिनिधि पात्र छन् । पढ्दा यो हरफ छुट्नु हुँदैन । त्यस्तै राष्ट्र, राष्ट्रियता  । बीपी भूबनोटभन्दा माथि जनतालाई राष्ट्रको प्रतीक मान्नुहुन्छ । हिटलर युगमा विस्थापित यहुदी जहाँ बसे त्यसलाई इजरायल राष्ट्र बनाए । 

Agni Group

बीपीको साहित्य रचनामा मोदीआइन तथा हिटलर र यहुदी उपन्यासको कथापात्र बाहेक अरु सबै कथा, उपन्यासमा नेपाली पात्र छन् । संस्कृति, सभ्यता वा चलन र परम्परा सबै नेपाली छन् । तर, नेपाली परिवेशमा आधुनिक अभिव्यक्ति दिने बीपीको रचनामा जनता नै प्रमुख प्रतीक, पात्र भेटिन्छन् । विषय वा विश्लेषणले साहित्यमा पनि सर्जक बीपीले जनतालाई वा उनीहरूको मनोदशालाई नै केन्द्रविन्दु बनाउनु भएको छ । अर्थात् बीपीको सम्पूर्ण दर्शन मानिस वा जनता केन्द्रित छ । 

उहाँले व्याख्या गर्नुभएको प्रजातान्त्रिक समाजवाद सर्वहारा समाजवाद र निख्खर पुँजीवादभन्दा पृथक लाग्छ । अर्थात्, यी दुवै वादको जनकल्याणकारी पक्ष बीपीले प्रजातान्त्रिक समाजवादको सिद्धान्तमा समावेश र मिश्रण गर्नुभएको छ । सर्वहारा साम्यवादीहरु लोकतन्त्रलाई निषेध गर्ने केन्द्रीकृत समाजवादतिर थिए, कम्युनका कम्युनिस्टहरुले ल्याउने समाजवादतिर । पुँजीवादीहरू समाजवादलाई अस्वीकृत गर्थे, लोकतन्त्रमात्र भन्थे । तर, पुँजीवादले समयमै कल्याणकारी सामाजिक बाटो लिएर आफूलाई दीर्घजीवी बनायो । 
बीपी यी दुई प्रयोगभन्दा पृथक प्रजातान्त्रिक समाजवादलाई  एक अर्काको पूरक वा अन्योन्याश्रित प्रणाली मान्नुहुथ्यो र बनाउन चाहनुहुन्थ्यो । यसैकारण सोसलिस्ट इन्टरनेसनलका नेता बीपी कोइरालाले – साम्यवादमा लोकतन्त्र मिसाइदिए प्रजातान्त्रिक समाजवाद र समाजवादबाट लोकतन्त्र झिकिदिए साम्यवाद हुन्छ भन्ने सरल भाष्य गर्नुभएको हो । असन्तुलित वा  एकले अर्कोलाई निषेध गर्ने प्रणालीबीच बीपीको मध्यमार्गी व्याख्याले गहिरो राजनीतिक दर्शन दिएको छ ।  

Global Ime bank

जनतासँग अप्रत्यक्ष सम्बन्ध तर प्रत्यक्ष प्रभाव राख्ने विदेशनीतिको भूराजनीतिक सन्दर्भमा नेपालको अवस्थितिलाई उहाँले दुई हात्तीबीचको स्थितिसँग तुलना गर्नुभएको छ – भारत र चीन । ती उठे पनि वा बसे पनि बीचको बिरुवा माडिने जोखिमको स्थिति । यस्तै अवस्थाले त्रिदेशीय निकास बनाइनु पर्ने पश्चिम नेपालको लिम्पियाधुरा भारत र चीन मिलेर दुई देशीय बनाउने प्रयत्न गरेका छन्  । बीपीलाई नै अन्यायमा पारेको २०१७ सालको राजनीतिक दुर्घटना वा हालै बिम्स्टेक, सैनिक अभ्यासको उहापोह यही अवस्थितिको दुःख हो । नेपालको विकास राजनीतिमा यी दुई हात्तीको धक्काको लामो फेहरिस्त छ । 

बीपी नेतृत्वको सरकारले १८ महिनामात्रै काम गर्न पायो । राजा महेन्द्रले भारतीय इसारा लिएर निर्वाचित संस्थालाई भंग गरिदिए र जनप्रतिनिधिलाई थुनेर आफ्नो महत्वाकांक्षा पूरा गर्न लागे । तर, त्यति अवधिमै पनि बीपीले सगरमाथा आफ्नो पक्षमा लिई चीनसँग विस्तार गर्नुभएको सम्बन्ध, इजरायल, पाकिस्तानलगायत थप १६ मुलुकसँग कायम दौत्य सम्बन्ध र संयुक्त राष्ट्रसंघलगायत क्षेत्रमा नेपालको कूटनीतिक प्रभावजस्ता अविस्मरणीय काम भएका हुन् । २०१७ को ‘कु’ लाई कतिपयले बीपी र राजा महेन्द्रबीचको टक्कर मानेका छन् । तर, त्यो पूर्ण सत्य होइन । बीपीसँग टक्कर लिएका त भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुले हो । 

चीनसँगको सम्बन्ध विस्तार, आफ्नो उत्तरी सुरक्षा सीमा हिमालय क्षेत्रसम्म भन्ने नेहरुलाई बीपीले दिएको जबाफ र बीपीकै भनाइ स्वीकार गर्दै उनले दिनुपरेको स्पष्टीकरण, नेपालमा भारतीय होइन, नेपाली मुद्रा नै चलाइनुपर्ने निर्णय र नेपालको क्याबिनेटमा भारतीय प्रतिनिधि बस्ने प्रचलनमाथि निषेध, इजरायललाई राष्ट्रको मान्यता दिने पहिलो दक्षिण एसियाली मुलुक नेपाल हुनुजस्ता दर्जनौ स्वतन्त्र निर्णयबाट रुष्ट भारतीय पक्षको प्रहार नेपाली कांग्रेस र यसका नेता बीपीमाथि भएको थियो । भारतको त्यही आगोमा राजा महेन्द्रले आफ्नो महत्त्वाकांक्षा र वंशीय स्वार्थको रोटी सेकेका हुन् । 

आफ्नो सुरक्षा घेराभित्रको सोच्ने भारतीय मानसिकताको सानो मुलुक नेपालका बीपी अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनका उपाध्यक्ष, तत्कालीन अध्यक्ष विली ब्राण्टले विश्व समाजवादी आन्दोलनका अभिभावक मानेका बीपी, चीन र रुसबीच बिग्रिएको त्यसबेलाको सम्बन्धलाई सुधारको दिशा दिनसक्ने मानिएका एसियाली नेता बीपीको उचाइ नेहरुको लागि ईष्र्याको कुरा थियो । त्यतिबेला जबर्जस्त थियो समाजवादी आन्दोलन अहिले जस्तो ओइलाएको होइन । 

बीपीले नेपालको आवश्यकतामा समाजवादलाई प्रायः लघु औजार, लघु उद्योग र स्वआर्जन वा उत्पादनलाई प्राथमिकता दिनुभएको छ । अहिलेको उन्नत भौतिक, प्राविधिक र वैश्विक युगमा उहाँले भन्नुभए जस्तो– प्रत्येक नागरिकलाई घर, गाई, शिक्षा र स्वास्थ्यको प्रस्ताव अक्षरमा मात्र बुझ्नु गलत हुन्छ । यस प्रस्तावमा निहित केन्द्रीय लक्ष्य नागरिकको हित र समृद्धि नै महत्त्वपूर्ण हो ।

जनतालाई नै राष्ट्र ठान्ने बीपीले समृद्ध र सक्षम नागरिक  नै बलियो राष्ट्र हो भन्नुभएको छ । सुमेकरको सानो नै राम्रो भन्ने मान्यताबाट प्रभावितभन्दा पनि बीपीको लघुउद्यम सोचमा भूराजनीतिक कारण छ । आन्तरिक ऊर्जाले सबल जनता राष्ट्रियताको पक्षमा प्रतिरोधक क्षमता राख्छ । त्यसपछि विकासले अर्को चरणमा पाइला सार्छ । ठूला वैदेशिक लगानी दबाब, प्रभाव र निर्देशनका माध्यम हुन्छन् र दुई छिमेकी वेष्टित मुलुक हामीलाई त्यो कठिन भारी हुन्छ, भन्ने बीपीकोे धारणा देखिन्छ । संविधान सभाको निर्वाचन र संविधान निर्माणसम्मका अनुभवलाई सँगाल्दा बीपीको धारणा सत्यको निकै नजिक छ । बीपीले स्वदेशी लगानी, स्वास्थ्य, शिक्षामा राज्यको जिम्मेवारी  र औद्योगीकरणमा भूमिका आदि विषय आफ्नो समाजवादी नीतिमा समावेश गर्नुभएको छ । उहाँले प्रजातान्त्रिक समाजवादलाई मोडेल डेमोक्रेसी (नमूना लोकतन्त्र)भनेर पनि बुझाउन खोज्नुभएको छ । कुनै दार्शनिकले लक्ष्य वा भविष्य देखाउने हो कार्यान्वयन पनि उसैबाट हुने चाहना सम्भव छैन । बीपीलाई पनि यही सूत्र लागू हुन्छ । दर्शनले शाश्वत सन्देश दिने हो,  प्रयोग समयले गर्नुपर्छ ।           प्रा.डा.सुवेदीले चिनाएजस्तै बीपी हरेक विषयमा पहुँच राख्ने राजनेता । तर, तिनै बीपीप्रति जघन्य अन्याय भएको छ । मुख्यतः तीन क्षेत्र उहाँमाथिको अन्यायमा सम्लग्न रहे – राजा, कम्युनिस्ट र भारत । माथि नै भनियो, भारतका नेहरुको बीपीप्रति उब्जिएको डाहा र ठानेको चुनौती । त्यो राजालाई अन्याय गर्ने गतिलो माध्यम बन्यो, अन्यायमा नेहरु पनि लागे । 

कथित कम्युनिस्टहरू राजा, पञ्चायतले सूत्रबद्ध गरेको अराष्ट्रिय बीपीलगायत उहाँ र नेपाली कांग्रेसलाई लाञ्छित गर्ने नाराका संवाहक बने । लोकतन्त्रवादी, राष्ट्रवादी र समाजवादी वा जनवादी बीपीलाई लामो जेलबास, निर्वासन र झुठा आरोप लगाएर यी तीनैथरीको मिलोमतोमा क्रूर अन्याय गरियो । यो अन्याय व्यक्ति बीपीप्रति भयो कि, राष्ट्र, जनता र लोकतन्त्र माथि भयो ? बीपीका कृति पढ्न लुक्नु पथ्र्यो । तर, किम इल सुङको विचार, माओ त्से तुङको ‘रेडबुक’ र तत्कालीन सोभियत रुसका प्रकाशनहरु राजा सञ्चालित पञ्चायती संयन्त्रमार्फत गाउँगाउँका विद्यालयमा पुर्याइन्थे । 

बीपीलाई न्याय दिएर बचाए नेपाली जनता र अभि सुवेदीहरूले । पत्रकारिताले साथ दियो, दिएकै छ । तर, पञ्च पत्रकारिता भिन्न थियो । राजसत्ताका पृष्ठपोषकले फाँसीसम्म माग गरे । विगतमा कम्युनिस्ट समान स्वरका वाचकहरू अहिले राजावादी ‘कोर्स करेक्सन’ गर्दै छन् । पछाडि नै सही फिरेको उनीहरुको बुद्धि, विवेक सकारात्मक छ । महान राष्ट्रवादी नेतालाई न्याय गर्न नसकेका ती दिन राष्ट्रघातमा बिते । बीपी एकल कांग्रेसको मात्रै भन्दा नेपाली जनताको नेता हो । 
  
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २८, २०७५  ०८:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC