काठमाडौं । रातो साडी, रातो ब्लाउज अनि गलामा छड्के तिलहरी । बुधबारको मध्यान्ह महिलाहरुको भीडमा यस्तै देखिइन् पिंकी गुरुङ । लाजिम्पाटको एक घरमा उनी जस्ता थुप्रै महिला तीजको रमझममा ब्यस्त थिए । कोही तीज गीतमा नाचिरहेका थिए भने केही आआफ्नै झुण्ड बनाएर गफिरहेका देखिन्थे । तर उनीहरु न कसैको दीर्घायुको कामना गर्दै ब्रत बसेका थिए न त असल पतिदेव पाउने आस नै थियो । बरु उनीहरुमा आक्रोश थियो । राज्यप्रति असन्तुष्टि थियो ।
उनीहरु विपरितलिंगी महिला नभएर तेस्रोलिंगी महिला थिए । तेस्रोलिंगी महिला भनेको जन्मिदा पुरुष तथा हुर्किदैँ बढ्दै जाने क्रममा महिलाको हाउभाउ भएका व्यक्ति हुन् । जो ‘क्रस ड्रेस’ गरेर हिँड्छन् ।
“हामीलाई राज्यले पतीदेवको दीर्घायुको कामना गर्दै ब्रत बस्न पनि दिएन,” तेस्रोलिंगी अधिकारकर्मी पिंकी गुरुङले भनिन्, “हामीलाई त राज्यले पतिदेवको दीर्घायुको कामना गर्दै ब्रत बस्ने अधिकार पनि दिएन ।”
उनले आफूहरुले एक दशकदेखि तीज मनाउँदै आए पनि महिलाहरुले जस्तो श्रीमान्को आयु लामो होस् भनेर ब्रत बस्ने दिन आओस भनेर कामना गर्दै आएको सुनाइन् ।
भदौ एक गतेबाट लागु भएको संहिताले आफूहरुको अधिकार सुरक्षित गर्नेमा उनीहरु आशाबादी थिए । तर उनीहरुको अधिकार नयाँ संहिताले पनि तेस्रोलिंगीहरुकोे अधिकार सुरक्षित गरेन ।
“हामी पनि महिला पुरुष सरह हामीले पनि विवाह गर्ने अधिकार पाउँ भनेर माग गर्दै आएका छौं । यसका लागि सन् २००१ बाट निल हिरा समाजको स्थापना गरेर अधिकारका लागि संघर्ष गर्यौं,” गुरुङले भनिन्, “तेस्रोलिंगी भनेको के हो नबुझेकालाई बुझायौं । हामीलाई पनि विवाह गर्ने अधिकार चाहियो भनेर माग्यौं तर आजसम्म पनि हाम्रो माग संबोधन भएन ।”
तेस्रोलिंगीहरुले गाईजात्रा होस् या तीज अधिकारसँगै जोडेर मनाउँदै आएका छन् । १८ वर्षको अवधीमा उनीहरुले नागरिकता पाए, राहदानी पनि पाउन थाले । नयाँ संविधानले उनीहरुलाई नेपालकै इतिहासमा पहिलोपटक संबोधन पनि गर्यो । अहिले उनीहरु महिला पुरुषबीच मात्रै होइन विवाह दुई ब्यक्तिबीच हुनुपर्छ भनेर कानुनमा उल्लेख गरिनुपर्छ भन्ने माग गरिरहेका छन् ।
नेपालमा सन् २००१ बाट संगठित हुन थालेका समलिगी तेस्रोलिंगीहरु आफूहरुको संख्या कुल जनसंख्याको ८ देखि १० प्रतिशत रहेको बताउँदै आएका छन् ।