ए सखी !
तिमी मलाई यसै प्रिय छौ,
राम्री छौ, सुन्दर मनकारी पनि छौ
तर पटक–पटक फेरिरहेको सारी
र टल्किएका बहुमूल्य गहनाहरूले
किन–किन तिम्रो सुन्दरता
देख्नै मनलागेन र
एउटा तरङ्गले झ्याप्पै छोप्यो
अनि क¥यापकुरूप पारेर भएको केही सारी
जामा बनाउन दिएँ
माइथानकी कलघरे काइलीलाई
कति सिलाओस् त काइँलीले
ब्लाउज, कुर्ता, पाइजामा र कमीजहरू
कति टालिदियोस् त
उध्रेको सुरूवालको जाङ
अनि कति लाइरहून् त तिनका छोरीहरू
टालाटुली बटुली जामाहरू ।
सेलो नाच्दा लाउँथे कहिलेकाहीँ पाते बुलाकी
झुम्का चुँडाएर बखतेका बुहारीलाई
फूली बनाउन दिएँ
कति बनाओस् त बखतेले बर
बुबाको लागि कोदालो, आमालाई हँसिया
र मलाई मासको दाल कालो हुने कराही
तरकारी ताछ्न सजिलो चुप्पी !
कम्ता आनन्द भयो र
बखतेका बुहारीको नाकमा फूली टल्कँदा
काइँलीका छोरीहरूको आङमा सग्ला जामा देखिँदा ।
ओ प्रिय साथी !
तिमी साँच्चै सुन्दर छ्यौ
तिम्रो सुन्दरताको तरङ्गले बगाउँदै
मलाई कोसीपारि गाउँकी काइँली दमिनीहरू
र बखते विष्टका बुहारीहरू बीच पुर्यायौ
तिमीलाई साधुवाद !
तिमी साँच्चै मनकारी छ्यौ साथी
मेरो बहावमा पौडनुपर्दा तिमी झोक्किनौ
बाल मतलब स्वार्थ पोखिनौं
र गर्यौ एउटा शालीन शाहस –
अर्कोपाली महिनादिनभरि खाइरहने
प्रत्येक छाकको दरहरू
जीउले फेरिरहने फरक–फरक सारीहरू
भोकाहरूका खाना
र नाङ्गाहरूका नाना बनाइदिने तिम्रो घोषणा
वाह साथी आज तीज
सुतीको यो सादगी फरिया
तिमीलाई कति सुहाएको !
ह्याप्पी तीज !!