बाह्रखरी
भर्खरै
sticky  ncell
ब्लग प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
ब्लग  बालबालिकामा ‘डिप्रेसन’ : उपेक्षा गरिएको विषय सजीना ढुंगाना 
बाह्रखरी - बुधबार, भदौ २७, २०७५
Laxmi Bank
Laxmi Bank

एउटा प्रसंगले सोच्न बाध्य बनायो । त्यही सोच यो आलेखमा रुपान्तरित भएको हो ।  दस वर्षका कर्मा (नाम परिवर्तन) कुर्सी मै हराउने गरी बसेका थिए । पूरै टाउको निहुरिएको । कसैले नबोलाए हुन्थ्यो भन्ने भाव उनको अनुहारमा पढ्दै थिएँ । छेउमै लगभग ३५ वर्षकी उनकी आमा उनका बारेमा बताउँदै थिइन् — ’’आजकाल पढ्दैन । कि चुप लागेर बस्छ  नत्र झगडा गर्छ । स्कुलका मिसहरू पनि त्यसै भन्छन् । के भा’को हो यसलाई, हेर्दिनु पर्‍यो ।’’

उनको अत्यास देखेर लाग्थ्यो उनी सेवन गर्नासाथ च्वाट्टै निको हुने कुनै औषधिको खोजीमा छिन् । यद्यपि, केही गर्नसक्ने अवस्था थिएन । अरू पनि आवश्यक जानकारी बटुलेर उनको सहमतिमा कर्मासँगै कुरा गर्न थालेँ । यसरी मात्रै मूल समस्यामा छिर्न सकिन्थ्यो  । कर्मासित कुरा गर्न खोजेँ तर कर्मा बोल्दै बोलेनन् । त्यस दिनको सेसनको बाँकी रहेको पन्ध्र मिनेट पनि त्यत्तिकै सकियो । 

दोस्रो सेसनमा कर्मासँग मात्रै बस्ने योजना थियो । उनकी आमाले कर्मालाई मसँग एक्लै छोडेर जाँदा पनि कर्मामा कुनै परिवर्तन देखिएन । कर्मा पहिला जस्तै टाउको निहुराएर बसिरहे । अब के गर्ने ? प्रश्न उब्जियो मेरो मनमा । कर्माका बारेमा जानकारी लिने क्रममा कर्माकी आमाले भनेकी थिइन् — “मेरो छोरालाई चित्र बनाउन मन पर्छ ।’’ त्यही सम्झिएँ मैले । कर्मालाई भनेँ — ’’कर्मा, आज हामी चित्र बनाउने है ! मलाई त्यती राम्रो चित्र बनाउन त आउँदैन तैपनि केही बनाउने कोसिस गर्छु । मभन्दा त तिमीले राम्रो चित्र कोर्लाऊ ।’’ 

Rohto Landing

Agani Group

उनले पहिलोपटक मेरो अगाडि टाउको उठाए । अनि छक्क पर्दै मलाई हेरे । मैले उनलाई चित्र बनाउन प्रेरित गर्दै भने — “म पनि बनाउने कोसिस गर्छु ।’’ उनलाई साथ दिन मैले पनि चित्र कोर्न सुरु गरे । उनको अगाडि क्रेयोन्स र कागज राखिदिएँ । सुरुमा त उनी मौन बसे । मैले केही भनिन । झन्डै १० मिनटपछि उनले बिस्तारै कागज आफूतिर ताने । म मनमनै मुस्कुराएँ । मेरो जुक्तीले काम गरेको थियो । बेलाबेला उनको हाउभाउ, अनुहारमा आएको परिवर्तन हेर्दै गएँ । उनी चित्र बनाउनमा तल्लीन भए । बीस मिनेटपछि उनले आफूले कोरेको चित्र देखाए । 

त्यो आर्ट थेरापीले कर्मा र मेरोबीचमा सम्बन्धको एउटा मिहिन सूत्र खिच्यो । बिस्तारै उनी बोल्न थाले । हिच्किचाउँदै, अन्कनाउँदै उनले कुराकानी थाले । कर्माले आफ्ना मनका कुरा बताउन थाले । यसरी हाम्रा सेसनहरूमा कर्मासँगको कुराकानी बाक्लिँदै गयो । 
कर्माकी आमासँग पनि आवश्यकताअनुसार कुरा हुन्थ्यो । कुराकानीकै क्रममा उनको परिवारका बारेमा धेरै कुरा थाहा भयोे । यो पनि थाहा भयो — कर्माले आफ्नो बाबु नभेटेको एक वर्ष भइसकेछ । 

sarbottam cement

उनका आमा बाबु छुट्टै बसेपछि यो सबै परिवर्तन उनमा बिस्तारै सुरु हुँदैगएको रहेछ । यो कुरा कर्माकी आमाले पनि स्वीकारिन् । समयसमयमा कर्माकी आमासँग हुने कुराकानीबाट निष्कर्ष निकालेँ —कर्मामा आएको परिवर्तन सिधै उनको आमा र बाबुबीचको सम्बन्ध र तनावसँगै सुरु भएको हो । कर्माका बाबुसँग उनकी आमा छुट्टिएर बस्नु र उनको आफ्नो बाबुसँगको भेट पूर्णरूपमा बन्द हुनुले पनि कर्मालाई  मानसिक तनावको गहिरो खाडलमा डुबाएको रहेछ । 

बाबुसँग भेट्ने अवसर नपाउनु १० वर्षे कर्माका लागि नितान्त नौलो अवस्था थियो । “बाबा र आमा किन सँगै नबसेका होलान् ?, मैले किन बाबुलाई भेट्न नपाएको होला ?, यस्तो किन भएको ?’’ जस्ता अनगिन्ती प्रश्नमा रुमल्लिए कर्मा । उनको सानो मस्तिष्कले यसको उत्तर खोज्न पनि सकेन । अरू कसैबाट पनि सही जबाफ पाउन सकेनन् । 

उनले कहिले काँही आमा र हजुरआमासँग यस्ता प्रश्न गरे पनि ’’केटाकेटीले यस्तो कुरा गर्नु हुँदैन !, पछि भन्छु, ठूलो भएपछि आफैँ बुझ्ने छस्, जा तेरै बाउलाई सोध्’’, जस्ता ठाडा र अमूर्त जवाफमात्रै  कर्माको भागमा प¥यो । 

“किन कसैले केही भन्दैनन् ?, किन यस्तो भयो ?, मेरो दोष के हो ?’’ किन हजुरआमा र आमा, उसका बाबुको बारेमा नराम्रो मात्रै बोल्छन् ?’’ उनी यस्तै प्रश्नमा अल्झिनु अन्यथा पनि थिएन । 

सुरुमा कर्मा यसै विषयलाई लिएर अन्योलग्रस्त भएकोतर्फ परिवारका सदस्य कसैको ध्यान गएन । कसैले यतातिर सोचेनन् पनि । अथवा सोच्न भ्याएनन् । सबै आआफ्नै धुनमा अल्झिए । बालक कर्माको मनमा के छ ? उनी के सोचिरहेका छन् ? उनी के चाहिरहेका छन्? भन्ने विषयमा सोच्ने फुर्सद कसैले पनि देखाएनन् । 

कर्माको बाबुको तर्फबाट पनि उनले केही जान्न सुन्न र बुझ्न पाएनन् । बच्चालाई के भन्नु भनेर आमा चुप लागिन् । कर्माका बाबु, उनकी आमाले भेट्न दिइनन् भनेर बसिरहे । 

अन्ततः कर्मा आफैँमा हराउन थाले । कर्मामा बिस्तारै आएको परिवर्तनलाई प्रारम्भमा सामान्य मानियो । “ठीक भैहाल्छ नि दुई चार दिनमा’’ भनेर बेवास्ता गरियो । कर्माको बानी र व्यवहारमा आएको परिवर्तनतर्फ कसैले ध्यान दिएनन् । फलतः कर्मा मानसिकरूपमा कमजोर बन्दै गए । 

कर्मा आजको समाजको एउटा प्रतिनिधि बालक हुन् । जो बाल्यावस्थाको अवसाद (चाइल्डहुड डिप्रेसन)को सिकार हुन पुगेका छन् । पतिपत्नी छुट्टिनु, दुवैको सम्बन्धमा फाटो आउनु, दुवैमा दैनिक बाझाबाझ हुनु, घरेलु वातावरण तनावग्रस्त रहनुजस्ता अवस्था  हेर्दा सामान्य लागे पनि यसको दूरगामी असर नराम्रो हुनसक्छ भन्नेतर्फ आमा, बाबु वा परिवारका अन्य सदस्यले कहिल्यै सोचेकै हुँदैनन् । साना बालबालिकामा यसले कुन खालको संवेग (इमोसन) पैदा गर्छ र त्यस्को बेलैमा सम्बोधन नहुँदा बालबालिकाको मस्तिष्क र मनोविज्ञानमा कस्तो असर पुग्न सक्छ भन्ने विषयको ज्ञान नहुनु र ध्यान नपुग्नु नै कर्मा र उनकी आमाको लागि अभिशाप भयो । 

हाम्रो समाजमा पीडामा   कर्माजस्ता अनेकाैं बच्चा यस्ता नदेखिने नसुनिने होलान् । बढ्दो सहरीकरण, पारिवारिक झैझगडा, भौतिकवादी सोच, कामको प्रकृतिमा आएको परिवर्तन, टेलिभिजन र सामाजिक सञ्जालबाट प्रभावित जीवनशैली जस्ता विषयले यस्लाई धेरै हदसम्म निर्देशित गरेको मान्न सकिन्छ । तर, गहिरिएर खोज्ने हो भने यस्तो सामाजिक परिवेशबाट गुज्रिरहेका बालबालिकाको हुर्काइको सम्बन्धमा बाबुआमा र अन्य अभिभावकको सीमित ज्ञान, परम्परागत सोच र समय अनुरुप चेतनाको स्तरमा वृद्धि नहुनु जस्ता कारण पनि हुनसक्छ । अझै जरो खोतल्दै जाने हो भने त्यसका हरेक पत्रपत्रमा लुकेको सामाजिक सांस्कृतिक संरचना, शैक्षिक स्तर र आर्थिक अवस्थाले धेरै कोणलाई स्पष्टतः खोल्न सक्छ । 

बालमनोविज्ञानसम्बन्धी थुप्रै अनुसन्धानमा बाल्यकालमा विभिन्न कारणले मानसिक दबाबमा हुर्किएका बच्चामा वयस्क भइसकेपछि अरूमाथि विश्वास गर्न नसक्ने, निराश हुने, अत्यधिक तनाव, व्यक्तिगत सम्बन्धमा अनेकौं समस्या, जाँडरक्सीको अत्यधिक सेवन, असामाजिक तथा आपराधिक क्रियाकलापमा संलग्नताजस्ता व्यवहारकोे सम्भावना बढी देखिएको छ । 

यसको अर्थ राम्रो पारिवारिक वातावरणमा हुर्केका किशोर वा वयस्कमा यस्ता समस्या आउँदै नआउने भन्ने होइन तर अनुपात हेर्दा असफल पारिवारिक पृष्ठभूमिमा हुर्केकाहरूमा यस्तो समस्या बढी देखिन्छ भन्ने हो ।
सामान्यतः बालबालिका उदास देखिनु सामान्य मानिन्छ तर त्यो ‘चाइल्डहुड डीप्रेसन’ पनि हुनसक्छ जुन एउटा चिन्ताजनक अवस्था हो । यसका कारण बालकालिकाको उमेरअनुसारको सम्पूर्ण क्रियाकलापमा असर पुर्‍याउँछ । यसले निर्विवादरूपमा बालबालिकाको  मानसिक स्वास्थ्यमा असर पुर्‍याउँछ । साथीभाइ र परिवारका सदस्यसँग बोलचाल कम गर्दै जानु, आफूले गर्दैआएको काम गर्न छोड्नु वा त्यसप्रति रुचि नदेखाउनुु, थकित देखिनु, आफ्ना कुरा भन्न छोड्नु, एक्लै बस्न मनपराउनु, बालसुलभ चञ्चलता हराउनु ‘चाइल्डहुड डीप्रेसन’का सामान्य लक्षण हुन् । 

यसका साथै मर्ने विचार आउनु वा अरूलाई चोट पुर्‍याउने कुरा गर्नु वा यस किसिमका सोचाइ बढ्दै जानु भने गम्भीर अवस्थाको संकेत हो । यस्तो अवस्थामा तुरुन्तै मनोचिकित्सकको सहयोगको आवश्यकता हुन्छ । 
अभिभावकले समयमा नै आवश्यक समझदारी र व्यवहार देखाएमा यो समस्या निराकरण हुन सक्छ । यसका निमित्त उपचारको क्रममा र त्यस पछिको अवस्थामा बच्चा वा किशोरका आमाबाबुलगायत परिवारका सम्पूर्ण सदस्यको उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ । 
पारिवारिक समस्या, स्कुलमा हुने ‘बुलिङ्ग’ जस्ता समस्या, शारीरिक, मानसिक, संवेदनात्मक प्रताडना र चोट, अनि केही अवस्थामा वंशाणुगत समस्याजस्ता कारणबाट देखिने ‘चाइल्डहुड डिप्रेसन’को समाधान नभएको होइन । यसका लागि मनोविमर्श (काउन्सिलिङ), मनोचिकित्सा (साइकोथेरापी) र  कुनै कुनै अवस्थामा मनोचिकित्सकको सहयोगबाट औषधि सेवन गर्न सकिने अवस्था रहन्छ । 

केही चिकित्सीय अवस्थाबाहेक धेरैजसो मानसिक समस्याको उपचार लामो हुन्छ । यो कुरा ‘चाइल्डहुड डिप्रेसन’मा पनि लागुहुन्छ । मनोविमर्श र साइकोथेरापीबाट बालबालिकालाई आफ्नो समस्या के हो?, यसबाट कसरी बाहिर आउन सकिन्छ ?  त्यस्तो अवस्था फेरि आइहाले कसरी त्यसबाट आफूलाई जोगाउने भन्ने विषयमा सिकाउनु सकिन्छ । यसका साथै अहिलेको समस्याबाट बाहिर कसरी निस्किने र फेरि कसरी सामान्य जीवनयापन गर्ने भन्नेजस्ता विभिन्न विषयमा जानकारी दिएर पीडित व्यक्तिलाई अगाडि बढ्न मद्दत गर्न सकिन्छ । 

बालबालिकामा देखिएको यो समस्याबाट मुक्ति दिलाउन घर परिवारको सबैभन्दा महत्त्वपूर्ण भूमिका रहन्छ । यसका लागि मनोविमर्शकर्ताको सहयोग लिएर पारिवारिक वातावरणमा आवश्यक परिवर्तन र सुधार गर्ने, आफ्नो बच्चासँग गरिने बोली र व्यवहारमा परिवर्तन ल्याउनु र बालबालिका मैत्री जीवनयापनमा ध्यान दिनु, बालबालिकालाई यस समस्याबाट बाहिर निकाल्न सहयोगी हुने निश्चित छ । 

सँगसँगै, आफ्नो व्यक्तिगत जीवनशैलीमा परिवर्तन ल्याउने, घरको खानपान र जिम्मेवारीप्रति उत्तरदायी व्यवहारपनि धेरै सहयोगी हुन्छ । यदि आमा बुवालगायत परिवारका अरू सदस्यलाई पनि  मनोविमर्श र मानसिक समस्याको उपचारको आवश्यकता भए दम्पती (कपल) मनोविमर्श, पारिवारिक मनोविमर्श पनि लिन सकिन्छ ।  

हुनत, नेपालमा मानसिक समस्यालाई सामाजिक प्रतिष्ठाको विषयसँग जोडेर हेर्ने गरिन्छ ।  यसै कारण धेरै व्यक्ति यो समस्या लुकाएर नै राख्न चाहन्छन् । बालबालिकामा रहेको यस्तो वा अरू पनि कुनै किसिमको मानसिक समस्या देखिएको छ भने खोक्रो सामाजिक प्रतिष्ठामा हैन बच्चाको हितमा ध्यान दिनु आवश्यक हुन्छ । साथै समस्यामा परेपछि अपनाउने उपायभन्दा पनि बच्चालाई यो समस्यामा पर्न नदिनु सबैभन्दा उत्तम हुन्छ । केही गरी यस्तो अवस्था आयो भने यस विषयमा कुराकानी गर्नुको साथै अरू आवश्यक उपचार विधि तुरुन्त अपनाउनु आवश्यक छ ।

(चैतन्य इन्टिग्रेटिभ थेरापी सेन्टरमा मनोविमर्शकर्ताको रूपमा कार्यरत) 

 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बुधबार, भदौ २७, २०७५ मा प्रकाशित
TATA Landing
Dishhome
TATA Landing
Dishhome
प्रतिक्रिया दिनुहोस्