आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सवारीसाधन खरिद–बिक्रीको कूम्भमेला ‘१३औं नाडा अटो शो’ सुरू भएको छ । कूल १ सय ३४ वटा स्टल रहेको नाडा अटो शोमा माग हुँदाहुँदै पनि स्थान अभावका कारण थप ४० स्टल राख्न नसकिएको नाडाका अध्यक्ष शम्भु दाहाल बताउँछन् ।
बैंक तथा वित्तीय संस्था, बिमा कम्पनीलाई छुट्टै स्टल उपलब्ध गराउन नसके पनि सवारीसाधनको ब्रान्डका कम्पनीसँग उनीहरूले स्टल सेयर गर्नेछन् । आजबाट सुरु हुने नाडा अटो शो २०१८ भदौ ३१ सम्म सञ्चालन हुने छ । शोमा १९ ब्रान्डका चार पांग्रे तथा २० ब्रान्डका २ पांग्रे सवारीसाधन प्रदर्शनीमा राखिने छ । यसै गरी आयातकर्ता, डिलर, उत्पादक तथा बिक्रेता गरी यसपालि ७६ ब्रान्डको सहभागिता रहने छ । नाडा अटो शो, नेपालमा सवारीसाधन बजारको वर्तमान अवस्था, सम्भावना, चुनौती, सरकारी सहयोग, कम्पनीबीचको प्रतिस्पर्धा लगायतबारे अटोमोबाइल क्षेत्रमा आफ्नो जीवनको २४ वर्ष बिताएका नाडा अध्यक्ष दाहालसँग बाह्रखरीका सुशील भट्टराई र रोबिन पौडेलले गरेको कुराकानीः
नाडा अटो शोको १३ औं संस्करणसम्म आइपुग्दा अटोमोबाइल क्षेत्रको विकास कसरी नियाल्नुभएको छ ?
नाडा अटो शोको १३औं संस्करणसम्मको इतिहासमा ६ वटामा मेरो संलग्नता प्रत्यक्ष भएको छ । पाँच वर्ष म संयोजक भएको थिएँ । एक वर्ष म अध्यक्ष भएँ, अर्को एक वर्ष पनि म नै हुनेछु । मैले ५० प्रतिशत नाडा अटो शोको बजार, यसको उतारचढाव देखेको रहेछु ।
मैले नाकाबन्दी, तरलता अभाव तथा फन्डिङ कम भएजस्तो विशेष परिस्थितिबाहेक अटो क्षेत्रको बजार कहिल्यै नराम्रो देखिनँ । सन् २००६ मा हामीले नाडा अटो शो गर्दा बैंकबाट लगानी नै आउँदैन थियो । त्यसबेला क्यास डाउन पेमेन्ट गर्ने चलन थियो । बैंकबाट फाइनान्स गर्नु भनेको कमैमात्र हुन्थ्यो । समय बित्दै जाँदा बैंकबाट फाइनान्स हुँदै गयो । सुरुमा हामीले गाडी एक हजारथान बेच्न सक्यौं भने पनि आश्चर्यको कुरा हुन्थ्यो । अहिले वार्षिक २० देखि ३० प्रतिशतको वृद्धि दर आत्मसात गरिएको छ । यो चारैतिरबाट भएको वृद्धि हो । सवारीसाधन प्रयोग र व्यापार बढ्दा व्यवसायीले गरेको नाफा पनि सोही अनुपातमा रहेको छ ।
मलाई याद छ , एउटा प्रोडक्ट १५ देखि २० वर्षसम्म उपयोग गरिन्थ्यो । एउटै मोडल चलिरहन्थ्यो । अहिले हेर्दा अर्थतन्त्र अगाडि बढेको छ, च्वाइस बढेकाले दुई–दुई वर्षमा नयाँ प्रोडक्ट ल्याउन थालियो । एउटा ट्रकको कुरा गर्दा हामी लुक, कम्फर्टमा ध्यान दिन थालेका छौं । एउटा ट्रककै क्याबिन हेर्दा महँगो गाडीको इन्टेरियर जस्तो लाग्छ । त्यो जमाना र अहिले हेर्दा अचम्म लाग्छ । त्यो बेला यस्तो अवस्था आउला भनेर सोचिएको थिएन । गत वर्षको कुरा गर्दा पनि भलै अन्त्यमा गएर होस् राम्रो ग्रोथ भएको छ । समग्रमा भन्नुपर्दा मार्केट फास्ट मुभिङ छ । आउँदा दिनमा अझै प्रगति हुने अपेक्षा छ । अन्य मुलुकको स्ट्यान्डर्डको प्रोडक्ट हामीले दिन नसके पनि यो क्षेत्रमा म आफैं लागेको २४ वर्ष बित्दा सोच्नै नसक्ने प्रगति नियालेको छु ।
नेपालीको रोजाइमा कस्ता सवारीसाधन परेको देख्नुभएको छ ?
नेपालीको रोजाइ मिडियम खालका सवारी हुन् । हामीले बजारमा सस्तो नानो कार ल्यायौं तर चल्न सकेन । महँगो गाडीको पनि माग धेरै छैन । केही छन् त्यस्ता ।
तर, २६ लाखको मोटरसाइकल चढ्ने नेपालीलाई ७ लाखको कार सस्तो भयो रे । नेपाली एकदमै सौखिन छन् । नेपालीले सस्तो हैन हल्का ‘कन्टेपोररी’, ‘सेन्स अफ एचिभमेन्ट’ र ‘एक्चुअलाइजेसन’ देखिने र आफ्नो ‘एचिभमेन्ट’ प्रति गर्व गर्न मिल्ने किसिमका सवारी चढ्न रुचाउँछन् । समग्रमा भन्नुपर्दा नेपालीले नयाँ ‘इन्ट्री लेभल’ का २० देखि ३० लाखसम्मको गाडी तथा सेकेन्ड ह्यान्डमा १० लाखसम्मको गाडी चढ्न रुचाउँछन् । तर, यो रेन्ज बढ्दो छ । म साइकलबाट इन्ट्री गरेको हुँ । अहिले गाडी चढ्छु । यसको अर्थ आफ्नो आयको स्तर बढेसँगै नेपाली महँगो सवारी चढ्न रुचाउँछन् ।
नेपालमा पाइने महँगा गाडी कति मूल्यसम्मका छन् ?
नेपालमा ३ देखि ४ करोड रुपैयाँसम्म पर्ने गाडी उपलब्ध छन् । तर, यहाँको सडकको अवस्था हेर्दा त्यस्ता गाडी यहाँको लागि बनेका हैनन् भन्ने अवस्था छ ।
अहिले नेपाली अटो क्षेत्रको अवस्था कस्तो छ ?
नेपालमा मोटरसाइकल बाहेक प्रतिवर्ष १७ देखि १८ हजारथान गाडी बिक्री हुने गरेको छ । समग्रमा हेर्दा सवारीसाधन बजार दिनहुँ बढिरहेको छ, उपभोक्ताको रोजाइ पनि बढ्दै गएको छ । यो सकारात्मक कुरा हो ।
बैंक तथा वित्तीय संस्थाका कारण अटो क्षेत्रले समस्या पायो भन्ने गरिन्छ । ती समस्या के–के हुन् ?
गत वर्ष तरलता अभावले समस्या भयो । यो दुईदेखि तीन वर्षमा आइरहेको चक्र हो । बैंकहरू पनि आक्रमक भएर लाग्नुपर्ने बाध्यता छ । गत वर्ष केही समस्या भएको हो । अहिले केही सहज महसुस भएको छ ।
बैंकको ब्याज दर परिवर्तन हुँदा उपभोक्ताले फाइनान्सिङ गर्दाको भन्दा बढेर किस्ता तिर्नुपर्ने अवस्था कत्तिको आउने गरेको छ ? यस्तो अवस्थामा उपभोक्ताको कस्तो गुनासो हुन्छ ?
हामीले किस्ताको ब्याज दर बढाउनै मिल्दैन किनकि अहिले ‘कस्टमर इज अल्वेज राइट’ भन्ने गरिन्छ । आज १० प्रतिशत भनेर फाइनान्स गर्ने अनि भोलि १२ प्रतिशत भन्यो भने त ग्राहक अर्को कम्पनीतर्फ मोडिइहाल्छन् । फाइनान्सको चक्करमा हामी ग्राहक घटाउन चाहन्नौं । यस्तो काम बैंकले मात्र गर्छन् ।
सरकारले वर्षेनि यस क्षेत्रमा ब्याज दर बढाउँदै आएको छ । यसमा सर्वसाधारणले गाडी चढ्न पाउनुपर्छ भनेर तपाईंहरूको पहल कस्तो हुन्छ ?
हामीले जहिले पनि सबै नेपालीले आफ्नै गाडी चढ्न सक्न पाउने वातावरण सिर्जना गरियोस् भन्ने माग राख्दै आएका छौं । तर, यहाँ लबिङ भन्दा एन्टिलबिङ बढी हुने गर्छ किनकि सरकार हामी कस्तो माग राख्छौं र त्यसलाई कसरी सम्बोधन गर्ने भनेर पूर्वतयारी गरेर बसेको हुन्छ । हाम्रो लबिङको प्रभाव देखिँदैन ।
एक त कर बढाइसकेपछि यसबाट कर राजस्व असुली हुन्छ भन्ने सरकारले बुझिसकेको छ । बरु कर बढेको बढ्यै छ, घटाएको त मैले मेरो २४ वर्षको अनुभवमा कहिल्यै देखेको छैन ।
गाडी आयात गर्दा लाग्ने कर उच्च भएका कारण भारतमा भन्दा यहाँको मूल्य चार गुणासम्म बढी हुने गर्छ । सर्वसाधारणले यो करको भारीबाट कहिले मुक्ति पाउलान् ?
अन्य देशमा पनि कर महँगो हुने गर्छ । भारतमा पनि आयात गरिएका सवारीसाधन महँगा नै छन् नि । जताजतै यस्तै हो । हामी पूर्णरूपमा आयात गर्ने भएकाले यस्तो समस्या भोगेका हौं । करै नलगाए त अति नै राम्रो हुने थियो तर सरकारले जो सक्षम छ, उसबाट कर उठाउनुपर्छ भन्ने सोच राख्दछ । उद्योगधन्दा नफस्टाएकोमा यस क्षेत्रबाट कर उठाउन सरकार तल्लिन छ । तर, आफ्ना जनता सवारी नचढुन् भन्ने सरकारको उद्देय होइन । सरकारले देश चलाउन कर लगाएको हो ।
यो न्यूनीकरण गर्न के गर्ने त ?
गाडीको मूल्य कम गराउन हामी आफैं उत्पादनतिर लाग्नुपर्छ । उत्पादन गर्दा पनि सरकार र व्यवसायीमा भिन्नता हुनु हँदैन । सरकार र व्यवसायी दुवैले एउटै रूपमा सोच्नुपर्छ । व्यवसायीमाथि अंकुश लगाउनु हुँदैन । विकसित देशमा सरकारका उच्च ओहोदाका व्यक्तिले व्यवसाय गर्छन् । तसर्थ सरकार र व्यवसायीबीच एउटा राम्रो तालमेल कायम भएको छ । नेपालको हकमा, सरकार र निजी क्षेत्र दुवै मिलेर उत्पादनको लागत कम गराउनुपर्छ र हामी व्यवसायी निर्यात गर्न उत्प्रेरित हुनुपर्छ । निर्यात गर्नसक्ने अवस्था बन्न व्यवसायी र सरकारबीच स्वच्छ वातावरण र विश्वास सिर्जना हुनुपर्छ ।
गाडी बिक्री गर्दा नाफा उच्च राखिएको आरोप लाग्ने गरेको छ । के भन्नुहुन्छ ?
यो क्षेत्रमा विभिन्न खेलाडी तथा प्रतिस्पर्धी छन् । यसकारण यहाँ प्रतिस्पर्धा हुन्छ । नाफा उच्च हुँदा बिजनेस फेल हुने डर हुन्छ । प्रतिस्पर्धा नभए त ठिकै, तर एउटाको मूल्य बढ्यो भने सोही फिचरको गाडी अर्कोले सस्तोमा बेचिहाल्छ ।
तर, गाडीको मूल्य हेर्दा एक–दुई प्रतिशत नाफा लिएर बेच्यो भने नै व्यवसायीका लागि काफी हुन्छ । २० प्रतिशत नाफा त सोच्नै सकिन्नँ र, यो व्यवसाय पनि जोखिमपूर्ण छ । तपाईंले गाडीको स्टक दुइै महिनामा बेच्नु भएन भने यहाँ अर्को मोडल आइसक्छ । यस्तो अवस्थामा हामीले भारी छुट दिएरै भए पनि बेच्नुपर्ने हुन्छ, उच्च दरको नाफा लिने सोच्नै सकिँदैन । अमेरिकामा मैले ६० प्रतिशत छुट दिएर गाडी बेचेको पनि देखेँ । त्यसैकारण स्टकमा त गाडी राख्नै हुन्नँ । प्रतिस्पर्धा हेरेर व्यवसायीले नाफाको मार्जिन राख्ने हो ।
तेह्रौं नाडा अटो शोको कुरा गरौं । यसको उद्देश्य के हो ? कत्रो परिमाणको व्यवसाय तथा आगन्तुकको अपेक्षा राख्नुभएको छ ?
नाडा अटो शोको मुख्य उद्देश्य ब्रान्डिङ नै हो । यहाँ विश्वस्तरीय सवारीसाधन उपलब्ध हुन्छन् । यसपालिको शोमा ३ सय करोड रुपैयाँको सवारीसाधन बुकिङ हुने अपेक्षा गरेका छौं । अवलोकनकर्ताको संख्याको कुरा गर्दा ६० हजार हाम्रो लक्ष्य छ किनकि ६० हजार भन्दा यो प्रदर्शनीस्थलको क्षमता पनि छैन । यहाँ न त आवश्यक पूर्वाधार नै छ । पार्किङ नै पुग्दैन, ठूलो लक्ष्य त्यही कारण लिइएको छैन । दास्रो उद्देश्य व्यवसाय पनि हो ।
शोमा के–कस्ता स्किम उपलब्ध छन् ? उपभोक्ता कसरी लाभान्वित हुन सक्छन् ?
दशैंको मुखमा नाडा अटो शो आयोजना हुने भएकाले यहाँ स्किमको प्रतिस्पर्धा हुन्छ । सेवाग्राहीले प्रतिस्पर्धाका आधारमा बेस्ट डिल गर्न पाउँछन् । बैंकले पनि फाइनान्सिङको ब्याज दर घटाउँछन् । स्पेयर पाटर््स व्यवसायीले पनि भरपर्दो र उचित मूल्यमा दिन्छन् । स्किमका बारेमा थप जानकारी स्टल भिजिटबाट पाउन सकिन्छ ।
३ अर्बको बुकिङ हुने लक्ष्य राख्नुभएको छ । बुकिङ भएका सबै सवारी बिक्री हुन्छन् त ?
दशैंको मुखमा मेला आयोजना हुन भएकाले सबैलाई नयाँ गाडी चढौं भन्ने हुन्छ । तसर्थ हाम्रो अनुभवअनुसार बुकिङ भएका ९० प्रतिशत सवारी बिक्री हुने गरेको छ । फाइनान्सिङ रेट, इच्छा सबै म्याच भएपछि मात्र सवारी बिक्री हुन्छ । हाम्रो ३० प्रतिशत व्यवसाय वा कारोबार नाडा अटो शोसमेत गरी दशैं अवसरको तीन महिनामा हुने गरेको छ ।
शोको मुख्य विशेषता के हुन् ?
टाटा, हुडाइ, रेनो, महिन्द्रा, किया आदि विभिन्न ब्रान्डले यो वर्षको नाडा अटो शोमा विद्युतीय सवारी प्रदर्शनीमा राखेका छन् । यो शो जनमानसलाई सूचित गराउने माध्यम हो । हामीले ल्याउने बित्तीकै तुरुन्तै बिक्री हुन्छ भन्ने पक्का हुँदैन । प्रदर्शनीको काम सरकारले पनि यी सवारीलाई प्राथमिकतामा राखेको कुरा जानकारी गराउने हो । सबै कम्पनीले आवश्यक पूर्वाधार विकास नगरे पनि प्रदर्शनीमा विद्युतीय सवारी राख्दैछन् । यसको अर्थ आउने दिनमा विद्युतीय सवारी बिक्री हुँदैछ भन्ने जानकारी गराउनु हो ।
१३ औं संस्करणसम्म आइपुग्दा नाडा आफैंमा कत्तिको सन्तुष्ट छ ?
पहिलो ६ संस्करणसम्म हामीले दुई वर्षमा एकचोटि नाडा अटो शो गरेका थियौं । म नाडामा संलग्न भएयता वार्षिक रूपमा शो आयोजना गर्ने निर्णय गरेका हौं । त्यसयता मेलामा क्रमशः सुधार पनि भइरहेको छ । पर्याप्त स्थान अभाव हुँदाहुँदै हामी आकार छाडेर विश्वको जुनसुकै अटो शोको तुलनामा कम छैनौं भन्ने हाम्रो दाबी हो । कामको गति, शोमा गरिने सजावट, सामानको गुणस्तरमा कुनै कसर बाँकी राखेका छैनौं । त्यसकारण हामी पूर्णरूपमा सन्तुष्ट छौं ।