प्रवास

इराकबाट फर्काइएकी चेलीको वेदना– खोले खान्छु तर त्यहाँ जान्नँ

इराकबाट फर्काइएकी चेलीको वेदना– खोले खान्छु तर त्यहाँ जान्नँ

“कति दिक्क मान्छेस्.... खोले खाने भाग्य लिएर जन्मिएपछि भात सम्झिएर हुन्छ... !,”

अझै सम्झना छ, आमाले खोले खान दिगमिग मान्दा गाली गरेको । तर मलाई के थाहा– सिस्नो–फाँडो–खोले नै अमृत हो ।

पेटभरी भात खाने खुसी खोज्दा नर्ककुण्ड पुगेँ । अमानुषिक ताडनाको पोल्टामा परेँ । बत्तीको पुतलीझैँ झन्डै युद्धको मोहोरीमा परेँ ।

चलचित्रको सम्वादझैँ लाग्नै सिन्धुपाल्चोक बाह्रबिसेकी कान्छीमाया तामाङले यी वाक्यहरू सुनाइरहँदा अनुहारको कान्ति निभेको थियो । आँखाका छेउकुना रसाएका थिए ।
आठ वर्षअघि–

कोपिलाझैँ फक्रँदै थिए– सपना ।

बाबु बाथको दीर्घरोगी । आमा डाँडामाथिको घामजस्तै । गरिबीले कोपर्दा–कोपर्दा जीर्ण तुल्याएको थियो उनलाई । सन्तानको रेखदेख र लालनपालनले जिन्दगी बन्धक बनाएको थियो । सारा खुसी धितो राख्दा पनि परिवार नउकासिँदा बडो प्रताडित थिइन् आमा ।

तीन छोरीको बिहे भइहाल्यो । बाँकी रहेकी उनै थिइन्– कान्छीमाया । रोलक्रमले उनी साइँली हुन् तर आमाबाबु, दिदीहरूको लाडप्यार पाइन् र ‘कान्छी’को उपमा पाइन् ।
भर्खरै आठ कक्षाको जाँच दिएकी थिइन् । कक्षा ९ को खुट्किलो उक्लने तय हुँदै थियो ।

एकाबिहानै आमाले दुईवटा बाटा देखाइन् । पहिलो, सहरमा गएर कमाउने र दोस्रो दिदीहरूझैँ बिहे गरेर आफ्नो घरजम गर्ने ।

उनलाई दुवै शर्त मञ्जुर थिएनन् । उनलाई त आमाले नदेखाएको तेस्रो बाटो हिँड्ने रहर थियो– कक्षा नौको सिँडी । र, त्यही बाटो पुग्नुथियो– जिन्दगीको सुदूर गन्तव्य ।
तर, नियति निर्मम भइदियो ।

कुम्लो–कुटुरो च्यापेर उनी सहरतिर हानिनुपर्ने भयो ।

पढ्ने रहरलाई भोटेकोसीमा बगाएर उनी १४ वर्षको कलकलाउँदो उमेरमा सहर हान्निइन् र काठमाडौँको जोरपाटीमा आएर गलैँचा बुन्न थालिन् । तिनताक जोरपाटी गलैँचाको राजधानी थियो । सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काभ्रेलगायत ग्राम्य क्षेत्रका बालख–किशोरीहरू गलैँचा बुन्थे र घर धान्थे ।

उनको नित्यनिरत पनि त्यही भयो ।

जिन्दगी भन्नु त्यही गलैँचाको तान थियो । यस्तो लाग्थ्यो– सूर्य पनि त्यही गलैँचाको तानबाट उदाउँछ र गलैँचाकै तानमा अस्ताउँछ ।

सहरको रमझम, झिलिमिली सबै त्यही गलैँचाको तान थियो । बिहान उदयाचलदेखि गलैँचाको तानमा धागो भर, हथौडाले सम्याउ, वान्किला बुट्टा कुँद । मिटरको हिसाब गरेर पैसा बुझ । अबेर रातिसम्म त्यही गलैँचासँग पौठेजोरी खेल । मानौं न, जिन्दगीको मूर्त परिभाषा नै यही हो ।

तर, यही परिभाषको चौघेराभित्रमात्रै अल्झिइरहन मन लागेन उनलाई । जीवनमा अनगिन्ती सपना थिए– जसको रसस्वादन गलैँचा बुनाइबाटमात्रै सम्भव थिएन । 
मन–मथिङ्गलमा अनेकानेक सपना थिए । तिनले रातविरात सताउन थाले । भररात ऐँठन दिन थाले ।

तिनताक विदेश जाने लहरै थियो । दसैँमा घर गइन् र त्यही मेसोमा राहदानी बनाइन् । राहदानी समातेको दिन, जीवनकै तन्नेरी समय थियो । क्षितिजमा चम्किरहेको घाम हेर्दैै उनले कल्पनाको उडान भरेकी थिइन्, “अब त म पनि विदेश जान्छु र परिवारको दुख्ख दूर गर्छु । बाको बाथ निको बनाउँछु र अनुहारमा हाँसो जगाउँछु ।”
फर्किएर काठमाडौँ आइन् । विदेश जाने सपनाले झन् ठूलो ताडना दिन थाल्यो ।

गाउँको नोर्बु तामाङ चिनिएका एजेन्ट थिए । उनले थुप्रै चेलीहरूलाई भारतको बाटो हुँदै किर्गिस्तान पुर्याएको हल्ला गाउँमा व्याप्त थियो । मध्य–एसियामा अवस्थित किर्गिस्तान रोजगारीका लागि योग्य हो कि होइन ? सरकारले श्रम इजाजत दिएको छ कि छैन, सुरक्षित र भरपर्दो गन्तव्य हो कि होइन, किर्गिस्तान भनेर मध्यस्थकर्ताले अन्तै पुर्याउने पो हुन् कि ? यस्ता प्रश्न निकै गौण बनेका थिए । 

रोजगारीको खोजीमा विदेश जाने । बस् यति सोचे, बुझे भइहाल्यो । मानौँ, त्योभन्दा बढी जान्ने–बुझ्ने फुर्सद नै कसलाई छ र ? “दलालले नेपाली चेलीहरूलाई विदेशी भूमिमा अलपत्र पारेको, घरको न घाटको तुल्याएको, अमानवीय यातना भोग्न बाध्य बनाएको, पशु–पन्छी सहर किनबेचको साधन बनाएको आदि–इत्यादि समाचार आइरहेकै थिए, आफूले पनि त्यस्तै भोग्नुपर्ला भनेर कहाँ सोचियो र ?,” उनी अहिले थकथकी मान्छिन् र भन्छिन्, “गावैँका दाइले त्यसो गर्लान् भनेर अपराध चिताउनु कसरी ?”

कान्छीको परिवार पनि एजेन्ट नोर्बुको सम्पर्कमा पुगिहाल्यो र पासपोर्ट बुझायो ।

“कान्छीलाई राम्रो देश पठाउँछु, सुर्ता गर्नुपर्दैन, पैसा पनि लाग्दैन !” एजेन्टले पनि फकाइहाले ।

गरिबीको आहालमा घाँटीसम्म जाकिएको परिवार, एक पैसा नलाग्ने, अझ बाटोखर्चसमेत एजेन्टले नै बेहोर्ने भनेपछि परिवारको कान ठाडो भइहाल्यो र विदेश पठाउन राजी भयो ।

०७२ को भूकम्पले आहत थियो परिवार । भुइँचालोले थिल्थिल्याएको घर तङ्ग्रिएको थिएन । बाथले कुँजिएका बाबु पनि बौरिने छाँट थिएन । २०७४ फागुन १४ गतेको चिसो बिहान उनी किर्गिस्तानतर्फ प्रस्थान गरिन् ।

श्रम स्वीकृति नपाएको देश । नेपालबाट भिसा लागेर त्यहाँ पुग्ने सम्भावना नै थिएन ।  “भारतबाट भिसा लगाउनुपर्छ,” एजेन्टले भनेका थिए । सोझी उनले पत्याइन् र एजेन्टले जेजे भन्थे, पत्याउँदै गइन् ।

“गरिबीले किलकिले अँठ्याइरहेको थियो, नपत्याउँ कसरी ?,” अहिले पनि विस्मय मान्छिन् ।

भैरहवा नाका हुँदै भारतसम्म पुगेको उनलाई थाहा छ ।

दिल्लीको होटलमा पाँच दिन राखे । त्यहाँ पुगेपछि थाहा भयो, किर्गिस्तान जान हिँडेका उनीजस्तै पाँच जना महिला रहेछन् । सबैका अनुहारमा कौतूहल मडारिइरहे पनि कोही आपसमा बोल्दैनथे । एजेन्टले नबोल्नु भनेको हुँदो हो, शायद ।

पाँचौँ दिनको साँझपख उनीहरू जहाज चढे । फारम भर्नेदेखि भिसा लगाउने प्रक्रिया सबै एजेन्टले गरे । उनीहरूको काम खानेबस्नेमात्रै भयो ।

“त्यतिबेलासम्म त नोर्बु दाइ भगवान् पो लाग्थ्यो । मेरो दुःख देखेर उहाँको हृदय पग्लिएझैँ लाग्थ्यो,” उनी अहिले सम्झिन्छिन् । जब जहाजले भुइँ छाड्यो । उनी हावामा कावा खान थालिन् । सपनाले पनि जमिन छाड्यो र दुःखका दिन सकिएझैँ लाग्यो ।

जहाज कतार हुँदै मध्यपूर्वतर्फ मोडियो र अवतरण भयो । सबैतिर अरबी अक्षरमात्र लेखिएका छन् । उनी चित खाइन् । अरबी अक्षरको ‘क’जस्तो वर्ण देखिन् भने आह्लादित हुन्थिन र सोच्थिन्, “किर्गिस्तान आइपुगेँ, अब त दुःख पनि कुलेलम ठोकिसक्यो होला !”

विमानस्थलमा धेरै कुर्नुपरेन । त्यस्तै आधा घन्टामा कान्छीकै फोटो बोकेर अरबी युवक आइपुग्यो र उनलाई लिएर गयो । कार्यालयजस्तो घरमा पुर्यायो । त्यहाँ उनीजस्तै अरू नेपाली महिलाहरू पनि थिए ।

उनी छाँगाबाट खसेजस्ती भइन् । ती दिदीबहिनीहरू आँखाभरि आँसु लिएर घर फर्काइदिन अनुनयविनय गर्दै थिए । कसैका अनुहारमा नीलडाम हुँदाहुन् । तर उनले खासै वास्ता गरिनन् ।

तीमध्ये एउटी महिला त बाझ्दै थिइन्, “यस्तो नर्कमा ल्याउने ? छिटो घर पठाइदेऊ !”

रुँदारुँदै थाकेका आँखा एकदम सुन्निएका थिए । ओठ उस्तै कालो, कलेटी परेको थियो ।

ती महिला कान्छीतिर फर्किइन् भन्न थालिन्, “किन आएका होलान् यिनीहरू ? हामीलाई त यहाँबाट कहिले फर्कनुजस्तो भएको छ !”

भर्खर आएको छु, पैसा कमाउने सपना बोकेर । उनी फर्किइहाल् भन्छिन् । कान्छीले केही बुझ्न सकिनन् ।

कान्छीलाई बुझ्न मन लागेको थियो– किर्गिस्तानको कुन ठाउँमा छु ! तर थाहा पाउन सकिनन् । ती महिलाले पनि केही भनिनन् ।

त्यस्तै चार–पाँच दिन राखे होलान् त्यहाँ । एउटा साँघुरो कोठामा बिहान बेलुका मोटामोटा चामलको भात ल्याएर दिन्थे । अरबको उष्ण दाल, स्वाद न ब्यादको । दिगमिग मान्दै खान्थिन् उनी । 

बेलाबखत अरबी केटाहरू आउँथे र एकएक गर्दै बोलाउँथे ।

उनीहरू नेपाली युवती–महिलाहरूलाई बाख्रा–खसी छानेझैँ छान्थे । आकर्षक जीउडालका, बलिष्ठ हातपाखुरा भएका देखे भने लैजान राजी हुन्थे । देखेनन् भने नाक खुम्च्याउँदै फर्कन्थे ।

आठौँ दिनको दिन उनी छानिइन् । एउटा अरबी केटो आएर लिएर गयो उनलाई ।

त्यस्तै एक घन्टामा उनलाई तीन तल्ले घरमा पुर्यायो । घर एकदम निर्जन, निःशङ्ख थियो ।

पाँच जनाको परिवार । ल्याउने युवकचाहिँ त्यो घरको ड्राइभर रहेछ ।

घरमा पुर्याउनेबित्तिकै मालिकले पासपोर्ट नियन्त्रणमा लिइहाले । “यो हामी नै राख्छौँ, तँ घरको काम गर्,” अरबी भाषामा आधा अंग्रेजी मिसाएर बोल्यो, मालिकले ।

पाँच–सात दिन त राम्रैसँग बित्यो । छैटौँ दिनदेखि उनको दुर्दिन शुरू भयो । बिहान जुरुक्क उठेर घरधन्दा शुरू गर्नुपर्ने । दिउँसो ३ बजेसम्म जीउ ठाडो पार्न नपाइने ।
तीन बजेतिर गाँस च्याप्यो र अर्कै ठाउँमा काम गर्न गयो । फर्कंदा रातको बाह्र बजिसकेको हुन्थ्यो । घरमा दलाएर नपुगेर अफिसमा समेत काम गर्न लैजान्थे, मालिक ।

दुःखको छिनोमा कुँदिएको ज्यान, यतिको दुःख सहनु पनि हुन्थ्यो । क्रमशः यातना पनि बढ्न थाल्यो । एउटा सानो बालख थियो, अत्यन्त झगडालू । फगत रोइमात्रै रहन्थ्यो ।
घर–मालिकले चाहिँ त्यो बालख रोएको सुन्न नहुने । बाघले झैँ झम्टन्थे र चुल्ठो बटार्न आइहाल्थे ।

घरको दुःखबाट आहत भएर दुई महिनासम्म त जसोतसो सहिन् । तेस्रो महिना लागेपछि उनले घर फर्काइदिन याचना गर्न थालिन् ।
त्यसपछि पो रहस्य पर्दाफास भयो– उनी बेचिएकी पो रहिछन् । आठ हजार पाँच सय डलरमा । 

“तँलाई हामीले आठ हजार पाँच सय डलरमा किनेका हौँ, त्यो पैसा फिर्ता गर अनिमात्रै घर जान पाउँछेस् !” चिसो भयो उनको मुटु । भुइँमा हत्केला बजार्न थालिन् । निरूपाय भएर रुन थालिन् । शुरूशुरूमा फेसबुकमार्फत् आफन्तलाई भनेर पैसाको जुगाड गर्न नखोजेकी पनि होइनन् तर तेत्रो पैसा कहाँबाट पाउनु !

त्यहीबेला थाहा भयो– उनी त इराकमा पो रहिछन् ।

इराक भन्नेबित्तिकै उनको शरीरमा काँडा उम्रियो । ०६१ साल भदौ १५ गतेको घटना आँखा अगाडि झल्झली आयो । १२ जना नेपाली मारिएको समाचार उनले घुर्मैलो सुनेकी थिइन् । 
नेपालबाट जाँदा मोबाइल पनि लगेकी थिइन् । सिम नपाए पनि घरका जहान–परिवारले वाइफाइ चलाउन दिएका थिए ।

त्यसैको सहायताले नेपालमा सम्पर्क गर्न थालिन् । सहयोगको याचना गरिन् । नेपालबाट प्रकाशन हुने अनलाइन पत्रिकामा उनको फोटोसहितको समाचार छापियो । त्यो कुरा एजेन्टले थाहा पाइहाले ।

एउटी नेपाली महिला इराकमै रहेर एजेन्टको काम गर्थिन् । उनैलाई लगाएर एजेन्टले धम्की दिनमात्रै लगाएनन्, परिवारलाई मोबाइल जफत गर्नसमेत लगाए । परिवारले धम्क्यायो पनि, “आइन्दा मोबाइल चलाइस् र घरमा खबर पठाइस् भने यहीँ गोली हानेर मार्दिन्छु ।”

“त्यस्तो धम्की त दिनहुँ सामना गर्नुपथ्र्यो, यत्रो कष्ट सहनुभन्दा मार्दिए पनि हुन्थ्योजस्तो लाग्थ्यो कहिलेकाहीँ,” इराकको पीडा सुनाउँछिन् उनी ।
मासिक पाँच सय डलर दिने लोभ देखाइएको थियो तर उनले मासिक ३ सय डलर पाइन् । त्यो पनि ६ महिनामात्र ।

छोरी इराक पुगेर बन्धक बनेको । यातना सहन नसकेर घर फर्काइदिन गुहार मागेको खबर सुनेपछि बाबुको रोग झन् बढ्यो । शरीरले व्यथा थेग्न नसकेपछि उनको चोला उठ्यो ।
बाबु बितेको खबर मुस्किलले थाहा पाइन् । घरमालिकले मोबाइल लुकाएको ठाउँ देखेकी थिइन् र लुकिछिपी मोबाइल चलाउँथिन् । त्यही क्रममा बाबु बितेको खबर थाहा पाएकी हुन् उनले । फेसबुकको इनबक्समा खबर छाडेको पाँच दिन भइसकेको रहेछ ।

“मर्नेबेलामा बाबुको मुखसमेत हेर्न पाइनँ,” बडो पश्चाताप भयो उनलाई ।

त्यसपछि उनलाई एकमिनेट पनि बस्न मन लागेन ।

अमानुषिक यातना र कुटपीट सहेर मर्नुभन्दा गाउँ फर्कनु निको ठानेर उनले फर्कने अनेक यत्न गर्न थालिन् । जतिपटक यत्न गर्थिन् उतिपटक दलालले थाहा पाउँथे र उल्टो यातना सहनुपथ्र्यो ।

१३ महिनापछि यो क्रमले विश्राम पायो । बाबु बितेपछि घरमालिकले बेलाबेला मोबाइल चलाउन दिएका थिए । तर फेसबुकको पासवर्ड उनैले राखेका थिए । घरमालिक नभएको मौका पारेर उनले पासपोर्ट र कागजात दराजबाट सुटुक्क झिकिन् र गोप्य ठाउँमा राखिन् ।

त्यतिञ्जेल यता उद्धारका लागि नेपालबाट पहल शुरू भइसकेको थियो । वर्क फर नेपाल, गैर सरकारी संस्थाको सम्पर्कसूत्रबाट उनको उद्धारको थालनी भइसकेको थियो ।
०७४ को चैतको अन्तिम साता उनको उद्धारको समय बन्यो । वैशाख १ गतेको झुल्के घामसँगै उनी नेपाल आइन् ।

‘नर्ककुण्ड’बाट उम्कन उनले सानो यत्न गर्न परेन । उता नेपाल फर्काइने सम्पूर्ण तयारी पूरा भइसकेको छ, उता घरमालिकले बाहिर निस्कनै दिँदैन ।

संयोग नै मान्नुपर्छ, इराकको सरकारी कार्यालयमा नोकरी गर्ने ती घरमालिक बिदा सदुपयोग गर्न बेलायत जाने तयारी गर्दै थिए । पत्नी केही समयअघि नै बेलायत गइसकेकी थिइन् भने पतिचाहिँ दुई–चारदिन पछि गए ।

घर आफन्तको जिम्मा लगाएका थिए । आफन्त मालिकभन्दा कडा थिए । बाहिरफेर हेर्नसमेत दिँदैनथे । काममा यन्त्रवत् घोटिनुपथ्र्यो । उनले बिरामी भएको अभिनय गरिन् र घर कुर्न आएका पाहुनालाई औषधि किन्न पठाइन् । त्यही मौकामा बुर्काजस्तो कपडाले टाउको छोपेर उनी त्यहाँबाट सुइँकुच्चा ठोकिन् ।

घरको कम्पाउन्ड वरिवरि सीसीटीभी राखिएको थियो । त्यसको पर्वाह नगरी उनी निस्किइन् र मूल सडकमा आइन् । १३ महिनाको अवधिमा एकपटक पनि बाहिर ननिस्किएकी उनलाई इराकको सडकबारे केही थाहा थिएन । इराकको राजधानी बग्दाद नजिकै भएकाले उनको उद्धारका लागि आएका ड्राइभरले चिनिहाले र विमानस्थल पुर्याए । 

घर छाडेर भाग्दा पासपोर्ट पानीले पूरै गलेको थियो । तर, उद्धारकर्ताले पहिल्यै कागजात तयार पारिसकेकाले नेपाल फर्कन बाधा पुगेन । सग्लै र सहजै नेपाल फर्किइन् उनी ।

“म त कुन भाग्यले नेपाल फर्किएँ । अझै कति दिदीबहिनी हुनुहुन्छ, उहाँहरू नेपाल फर्किन सक्नुभएको छैन, कतिले उतै आत्महत्या गर्नुभएको छ, उहाँको लाससमेत नेपाल फर्कन सक्ने अवस्था छैन,” दुःखमनाउ गर्छिन् उनी ।

“बरु खोले खान्छु तर विदेश जान्न,” अन्तिममा इराकको दुःख बिट मारिन् उनले ।

तपाईंको मत