site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
ममा हजारभन्दा लाखको लोभ छ
Sarbottam CementSarbottam Cement

— बद्री अधिकारी


हिन्दी सिनेमाले बद्री अधिकारीमा अभिनयतर्फ लाग्ने रुचि जागृत गराए । विराटनगरका बद्री त्यसबेला प्रदर्शनमा आएका श्यामश्वेत र रंगीन हिन्दी सिनेमा हेर्न हलमा खुबै जान्थे । यसरी सिनेमाबाट प्रभावित बद्रीको रुचिलाई मलजल गरे— स्कुलमा हुने विभिन्न सांस्कृतिक कार्यक्रमहरूले । ९ कक्षामा पढ्दा प्रहसनबाट रंगकर्म थाले । उमेर उक्लिँदै गएपछि उनलाई लाग्यो— प्रहशन होइन, रंगमञ्चमा गम्भीर काम गर्नुपर्छ । त्यसपछि उनी नाटकतर्फ सक्रिय भए । तर, अचेल उनी नाटकभन्दा सानो पर्दा र ठूलो पर्दाका चलचित्रमा व्यस्त छन् । जबकि, कुनै बेला उनको व्यस्तता नाट्य क्षेत्रमा मात्रै थियो । ३० को दशक प्रारम्भदेखि नाट्यकर्ममा लागेका बद्रीले अभिनयमात्रै गरेनन्, नाटक लेखन तथा निर्देशन पनि गरे । यतिबेला ‘मानव’ टेलिफिल्मको सम्पादनमा व्यस्त बद्रीसँग उनको नाट्यकर्मलाई लिएर ‘बाह्रखरी’का राजेश खनालले लामो कुराकानी गरेका छन्ः

तपाईंले केही थाहा नभएरै नाटक गर्न शुरु गर्नुभएको हो ?

Prabhu Bank
Agni Group
NIC Asia

हो । नाटकका विषयमा केही थाहै थिएन । जसोतसो गरिन्थ्यो । किनभने, नाटक कस्तो हुन्छ, कसरी लेखिन्छ, कसरी त्यसको निर्देशन गरिन्छ, आफूले गरेको नाटक अब्बल छ कि छैन— यी सारा विषयको यथार्थ निर्णय गरिदिएर हामीलाई सिकाइदिने मानिसै थिएनन् । हामी त अनुमानको भरमै नाटकमा सक्रिय भएका थियौं । जे जति जान्यौं, आफ्नै बुता र मेहनेतले जान्यौं ।

लामो समय रंगमञ्चका लागि खर्चनुभयो । अचेलचाहिँ रंगमञ्चमा त्यति देखिनुहुन्न । किन ?

Global Ime bank

हैन, कुनै न कुनै रूपमा म रंगमञ्चसित जोडिएकै छु । मात्रै यति हो कि अहिलेको समयअनुसार केही समय चलचित्रमा दिएको हुँ । वास्तवमा मजस्तो सर्जकले आफ्नो सिर्जना एक हजारले भन्दा एक लाखले हेरून् भन्ने चाहन्छ । ममा पनि त्यही लोभ हो । हजार भन्दा लाखको काखमा जाने प्रयास हो मेरो । यो खास किसिमको लोभ त्याग्न सकेको छैन ।
 
उसो भए रंगकर्मसँगको दूरी बढेकै हो ?

मैले भनें नि, अलि ग्याप भएको हो । तर, रंगकर्ममा मेरो सक्रियता उस्तै छ । त्यसको उदाहरण के हो भने, अहिले म ‘मानव’ टेलिफिल्ममा काम गरिरहेको छु । त्यसमा पनि रंगकलालाई सानो पर्दामा प्रस्तुत गरिरहेको छु । रंगमञ्चकै क्यानभासलाई पर्दामा उतार्ने प्रयासमा छु । अहिले पनि स्टेज सम्झिएर मैले टेलिफिल्म र फिचर फिल्म निर्देशन गरिरहेको छु । बस्— टेलिभिजनमा हेर्ने दर्शक धेरै हुन्छन्, त्यत्ति हो । मलाई लाग्छ— मैले मञ्चमा नै काम गरिरहेको छु ।

तर पनि बद्री अधिकारी यतिबेला रंगमञ्चमा सक्रिय छैनन् भन्ने त देखिन्छ नि ! तपाईंले स्टेजमा काम गरिहनुभएको पनि त छैन !

यो नै यथार्थ भने होइन । मलाई लाग्छ— बितेका ४३–४४ वर्षदेखि म रंगकर्ममै छु । विभिन्न कारणले कहिलेकाहीँ ग्याप भइहाल्छ । कहिलेकाहीँ तीन–चार वर्षको नै ग्याप भयो होला । तर, यसो भन्दैमा बद्री अधिकारीले स्टेज छोड्यो भन्न सकिन्न । विदेशतिर अभिनय गर्नेले नै पनि चार–पाँच वर्षमा एउटा फिल्ममात्रै गरिरहेको पनि त पाइन्छ नि ! ग्याप हुँदा पनि कुनै न कुनै काममा हात हालिरहन्थें म । ०६२–६३ को जनआन्दोलनताका गुरुकुलमा भेला भएको बेला एकल अभिनय गरेको थिएँ । ‘लोकतन्त्र’ शीर्षकको एकल प्रस्तुति थियो त्यो । त्यसमा १०–१५ जनाको चरित्र म एक्लैले गरेको थिएँ । केही समयअघि मात्रै पनि ‘महर्षि याज्ञवल्क्य’ नाटक मञ्चन गरेको थिएँ, नाचघरमा ।

यो बीचमा तपाईं अलि सुस्त देखिनुमा कतै गुरुकुल र आरोहण नभएको कारण त होइन ?

त्यसो पनि हुन सक्छ । म यसलाई सिधै नकार्दिनँ । साथीहरू वसन्त, समन्त, सूर्यमालाहरू रंगमञ्चमै सक्रिय भइरहेको भए म पनि त्यता सक्रिय हुन्थें कि ! कसैले नाटक गर्ने आग्रह गर्दा आरोहण वा गुरुकुलमा गइन्थ्यो होला । तर, कोही पनि नभएपछि कसैले बोलाएनन् पनि । आफू पनि लागिएन । आज म मिडियामा बोल्दै छु, अब मैले रंगकर्ममा समय दिनेछु । नाटकहरू गर्नेछु । यो मेरो बचन भयो । त्यसो त यो बीचमा मैले चलचित्र र टेलीसिरियल गरिरहेको छु । केही समय लिन्छ त्यसले । त्यसपछिको समय ‘महर्षि याज्ञवल्क्य’ र ‘अमरसिंह’का लागि दिनेछु ।

४० को दशकलाई नाट्य क्षेत्रमा स्वर्ण युग मानिन्छ । त्यो युगको अभिनेता, लेखक, निर्देशक हो तपार्इं । तपाईहरूको नाट्य सक्रियतामा आएको ह्रासले अहिलेको नाट्यकर्मलाई पनि त असर पार्ला नि !

केही हदसम्म पार्न सक्छ किनभने नयाँ पिँढीलाई हामीले ऊ बेला गरेका काम तथा हाम्रो प्रस्तुतिका बारेमा थाहा हुँदैन । तिनले हाम्रो नाम मात्रै सुनेका हुन सक्छन् । त्यो समयमा कस्ता नाटक हुन्थे, कसरी हुन्थे, तत्कालीन परिस्थितिमा हामीले नाटक गर्दा के–कस्ता समस्या भोग्नुपरेको थियो, यी यावत् कुरा तिनले सोचेका हुँदैनन् पनि । तर, नयाँ पिँढीले त्यो पनि बुझ्नुपर्छ भन्ने मलाई लाग्छ । नयाँलाई त लाग्न सक्छ— पुरानाले अशक्त भएर काम छाडे वा पलायन भए । तर, त्यसो होइन । केही नाट्यकर्मी अहिले पनि सक्रिय छन् । हो, त्यसबेलाका ५०–६० जनाको रंगकर्मीहरूको समूहमा अहिले सक्रिय भनेका तीन–चार जनामात्रै होलान् । यसरी ‘काउन्ट’ गर्दा मेरो पनि गणना हुन्छ । म खुशी छु । तर, यो खुशीले मात्रै पनि काम गर्दैन ।

त्यसैको परिणाम हो नाटक ‘महर्षि याज्ञवल्क्य’ ?

निश्चय पनि । मैले करिब वर्ष दिनअघि वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी दाइको नाटक ‘महर्षि याज्ञवल्क्य’को निर्देशन जिम्मा लिएको थिएँ । त्यसबेला मलाई सांस्कृतिक संस्थानबाट बोलाइएको थियो यो नाटक निर्देशन गर्नका लागि । म बहुत खुशी पनि भएँ । मलाई सम्झेर बोलाउनुभयो । त्यसमाथि सत्यमोहन दाइको नाटक गर्न पाउनु मेरा लागि आफैंमा महत्वपूर्ण काम थियो । यो नाटकको रिहर्सल करिब साढे तीन महिना लगाएर पूरा गरें । कति कलाकार त बीचमै भागे पनि । इच्छाशक्ति बलियो भएकाहरू मात्रै यस नाटकमा थिए ।

वास्तवमा सत्यमोहन दाइको यो नाटक निकै लामो थियो । मैले सत्यमोहन दाइसँग नाटक छोट्याउने अनुमति लिएँ, त्यसको मर्म नमर्ने गरी प्रस्तुत गर्ने शर्तमा । उहाँले पनि हुन्छ भन्नुभयो । उहाँले नै भन्नुभयो, “नाटक भनेको निर्देशकको माध्यम हो । त्यसैले नाटकलाई काँटछाँट गर्न सक्नुहुन्छ । मेरा लागि नाटकको मञ्चीय प्रस्तुतिले नाटकलाई सार्थक तुल्याउँछ ।” सत्यमोहन दाइको यो भनाइले मलाई अत्यधिक प्रेरणा दियो र मैले नाटकमा केही परिमार्जन गरेर यसको रिहर्सल थालें ।

यति मेहनत गरेको यो नाटक जम्मा दुई दिनमात्रै प्रदर्शन भयो । किन ?

हो । दुःखद कुरो के भयो भने नाटकको तेस्रो दिन नै यसका प्रमुख कलाकार अभिनेता विष्णुभक्त फुयाँलको स्टेजमै निधन भयो । त्यसपछि यो नाटक केही दिनलाई बन्द गरियो । त्यसपछि नाटक मञ्चनै भएन ।

अब फेरि नगर्ने यो नाटक ? महिनौंको मेहनत खेर गएन र ?

यो तयार नाटक हो । फेरि मञ्चन गर्न सक्ने अवस्था यथावत् छ । तत्कालीन अवस्थामा स्थिति नै त्यस्तै भयो । सबै स्तब्ध थिए । त्यसैले बन्द गरिएको थियो । अब भने मैले सांस्कृतिक संस्थानका जीएम राजेश थापाजीसँग यस विषयमा कुरा गर्छु । किनभने त्यसमा मैले मात्रै होइन, कलाकारहरूले पनि अत्यधिक मेहनत गरेका थिए । भाइबहिनीहरूको अभिनय पनि उत्साहप्रद थियो । पुरानो कालखण्डको नाटकलाई अहिलेको समयानुसार प्रस्तुत गर्नु आफैंमा चुनौतीपूर्ण कार्य पनि थियो ।

नौटंकी शैलीमा प्रस्तुत भएको थियो नाटक, हैन ?

हो । यसमा नौटंकी शैली प्रयोग गरेको थिएँ । नौटंकी शैलीमा जनकपुरतिर कसैले नाटक गरको भए म भन्न सक्दिनँ । मैले काठमाडौंमा त्यो शैलीमै यो नाटक प्रस्तुत गरें । बीचमा गीत पनि राखें । हार्मोनियम र ढोलक प्रयोग गर्दै लाइभ गीत–संगीतका माध्यमबाट दृश्य परिवर्तन गराउने र जानकारी दिने सूत्रधार प्रयोग गरें । तराईतिर मेला (जात्रा)हरूमा कपडाको घोडा कुदाउने प्रचलन छ । मैले नाटकमा त्यसको पनि प्रयोग गरें ।

कत्तिको गाह्रो भयो ?

गाह्रो हुन्थ्यो होला तर नाचघरबाटै यो नाटक भइरहेकोले सजिलो के भइदियो भने वाद्यवादन र वाद्यवादक पनि त्यहीँ थिए । गायक–गायिका पनि त्यहीँ थिए । नृत्य गर्ने कलाकार पनि त्यहीँ थिए । त्यसैले मैले यो नाटकलाई अलिक पृथक रूपका साथ प्रस्तुत गर्ने प्रयास गर्ने अवसर पनि पाएँ ।

तर, मजस्ता धेरै दर्शकले त्यो नाटक हेर्न पाएनन् ।

तपाईंले झक्झकाउनु भयो मलाई । के गर्ने, त्यसबेलाको अवस्था नै त्यस्तै थियो । मलाई लाग्छ– अब मैले फेरि पनि राजेश थापाजीसँग कुरा गर्नुपर्छ । ढुक्क हुनुस्, अब दर्शकहरूले ‘महर्षि याज्ञवल्क्य’ हेर्न पाउनुहुन्छ ।

त्यसपछि के गर्ने सोच्नुभएको छ ?

म नाट्यकर्मप्रति गम्भीर छु । म वरिष्ठ नाटककार बालकृष्ण समद्वारा लिखित ‘अमरसिंह’ नाटक मञ्चन गर्ने तयारीमा पनि छु । केही समयअघि मनमैजू सांस्कृतिक समूहका साथीहरूले नाटक ‘अमरसिंह’को निर्देशन गरिदिन भन्नुभएको थियो । कसैले मेरो नाम लिएका रहेछन् । मेरा लागि ‘अमरसिंह’ नाटकको निर्देशन गर्न पाउनु भनेको गर्वको विषय हो ।

समजीका नाटकमा पनि त केही परिवर्तन गरिएलान् नि ?

बालकृष्ण समका नाटकले इतिहास र दर्शन बोकेका हुन्छन् । त्यसैले उहाँका नाटक गर्न कठिन छ । त्यो नाटकलाई आजको वातावरण र समयसुहाउँदो प्रस्तुतिमा त निर्देशकले नै ढाल्ने हो । मेरा लागि यो पनि चुनौतीपूर्ण कार्य हो । त्यसैले पनि मैले यो काम स्वीकार गरेको हुँ । यसका लागि आर्मीसँग सामानहरू माग्नुपर्ला । सांस्कृतिक संस्थानले पनि सहयोग गर्छ होला । अरूले पनि आवश्यक सहयोग गर्ने नै छन् किनभने ‘अमरसिंह’को क्यानभास नै ठूलो छ । अर्को कुरा— मैले यो नाटक कहाँ मञ्चन गर्छु भन्ने विषयलाई पनि गोप्य राखेको छु । यसको खुलासा पछिमात्रै हुनेछ । किनभने, यो मेरो सिर्जनासँग गाँसिएको विषय हो ।

पुराना रंगकर्मीहरू किन हराएका होलान् ?

एक समयका सक्रिय रंगकर्मी यसरी हराउनु ठीक होइन । रंगकर्मीहरू रंगकर्ममा नलाग्नु भनेको बेइमानी हो । नाट्यकर्मीहरूले पनि आफ्नो आस्थालाई जीवित राख्नुपर्ने हो ।

नेपाली नाटकको अभावका विषयमा के भन्नुहुन्छ ?

नाटकको अभाव मैले पनि भोगेको छु । आज विजय मल्ल वा बालकृष्ण समका नाटक गरिँदैनन् । त्यसैले नाटक लेखनमा कलम चलाउने व्यक्तिलाई अगाडि ल्याउनु जरुरी देखिएको छ ।

तपाईंले ३५ वर्षअघि लेखेको ‘प्रतिभा आकाश माग्छे’, ‘अनि यसकारण रिसाउँछ कुमार’, ‘मान्छेभित्रको मान्छे’, ‘भीडमा हराएको मान्छे’हरू पनि त मञ्चन गर्न सकिन्छ होला नि अहिले !

त्यसबेला मैले १७–१८ वटा नाटक लेखें हुँला । त्यसबेला उल्लिखित नाटकहरूले तत्कालीन समाजलाई प्रतिनिधित्व गर्थे । ती नाटक त्यसै बेलाका लागि लेखिएका थिए । तथापि अहिले पनि ती नाटक मञ्चन हुन सक्छन् । बस्, त्यसका लागि निर्देशकले मेहनत धेरै गर्नुपर्ने हुन्छ । अर्को कुरा के भने— नाटकका दुइटा पाटा हुन्छन् । एउटा साहित्य र अर्को मञ्चीय । मञ्चमा प्रस्तुत गर्न योग्य छैन भनेर साहित्यले भरिएको नाटकलाई पन्छाउनु ठीक होइन । त्यसका लागि निर्देशकले मेहनत गर्नैपर्र्छ । हामीले उहिले नाटक लेख्दा साहित्यमा बढी जोड दियौं । अनि मञ्चमा निर्देशकीय क्षमता प्रस्तुत ग¥यौं ।

ती नाटकका किताब छन् त ?

मेरा धेरै नाटक हराए । नाटक गर्नुपर्छ, छपाउनु हुन्न भन्ने मानसिकताले पनि नाटकको किताब छाप्नेतिर खासै ध्यान दिइएन । ती नाटक किताबमा आएका भए अहिलेका रंगकर्मीहरूले पनि मञ्चन गर्ने थिए होलान् । अब म मेरा पुराना नाटक खोज्नतर्फ पनि लाग्छु । भेटिए त्यसको प्रकाशन गर्नेतर्फ पनि मेरो जोड रहनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २३, २०७५  ०९:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC