विचार

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल: पश्चिम नेपालको समृद्दि द्वार 

प्रदीप अर्याल “पृथक”

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल: पश्चिम नेपालको समृद्दि द्वार 

केही दिन अगाडी राष्ट्रिय छापा माध्यममा एउटा समाचार सकारात्मक उर्जा दिनेगरी  छापिएको पाइयो। त्यो समाचार  हाल पश्चिम नेपालको रुपन्देहीमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी पौषभित्रै परिक्षण उडान गरिने भन्ने सम्बन्धमा थियो । मनमा केहि सन्देह भए पनि त्यो समाचारले पश्चिम नेपाल अझ समग्र नेपालकै जनतामा एउटा खुसी र आशाको संचार गराएको छ। केहि महिना अगाडी नै सम्बन्धित मन्त्रालयको मन्त्रीले एक वर्षभित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउने जानकारी गराउनु भएको थियो । र, यसै कारणले एकातर्फ सरोकारवाला निकायहरुलाई एक किसिमको नैतिक दवाव महसुस भएर कामले गति थालेको छ भने अर्कोतर्फ भैरहवा लगायत पश्चिम क्षेत्रमा पर्यटन र त्यससँग सम्बन्धित अन्य उद्दम व्यावसायमा लगानी झनै बढेको छ र आर्थिक गतिविधिले तीब्रता पाएको छ। यससँगै यस क्षेत्रका बासिन्दामा अनि ब्यबसायीमा थप उत्साह र उर्जा थपेको छ। काठमाडौँमा अवस्थित नेपालको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रुपमा हेरिएको यस विमानस्थलको निर्माण पश्चात् विमानस्थल पूर्ण संचालनमा आउदा यसले नेपालको अर्थतन्त्रलाई निकै टेवा पुर्याउनेछ।

सम्भावना:
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण संचालनमा आएमा यसले नेपालको पर्यटन क्षेत्रका विभिन्न सम्भावनालाई उजागर गर्नेछ र पर्यटनमार्फत आर्थिक समृद्धिको मार्ग प्रशस्त गर्नेछ। नेपालको दक्षिणी क्षेत्र र गौतम बुद्धको जन्मस्थलको सामिप्यमा रहनुले यसको महत्व र सम्भावना अझ विस्तृत भएको छ। विश्वका उदीयमान अर्थतन्त्र मध्येको एक भारतको समिपमा हुनु यस विमानस्थलको सम्भावना र चुनौती दुवै हो। बीस करोड भन्दा बढी जनसंख्या भएको भारतको उत्तर प्रदेश राज्यको सीमा नजिकै रहनु यस विमानस्थलको बजार सम्भावना धेरै हुनु हो।
     
भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी नजिकै रहेको हुनाले बौद्ध धर्मावलम्बी बहुल देशहरुका नागरिकहरु लुम्बिनी लगायत बौद्ध तीर्थस्थलको भ्रमणमा आउँदा यहि विमानस्थलमा सिधा उत्रनेछन्। यसर्थ, ती बौद्ध धर्मावलम्बीले यहि विमानस्थललाई प्राथमिकतामा राखेर प्रयोग गर्नेछन्। साथसाथै, लुम्बिनीबाट थाईल्याण्ड, म्यान्मार, कम्बोडिया, लाओस, भियतनाम,जापान, कोरिया लगायत एशियाली बौद्ध राष्ट्रहरुमा सिधा उडान गर्न सकियो भने ती राष्ट्रहरुबाट लुम्बिनी आउने पर्यटकहरुको संख्यामा वृद्धि हुने निश्चित छ। साथै, हाल बनारसमा उत्रिरहेका पर्यटक र त्यहाको पर्यटकीय व्यावसाय धेरै हदसम्म यता सर्नेछ। काठमाडौँको आर्थिक गतिबिधि पनि यहाँ सर्नेछ। 
              
हाल नेपालका थुप्रै युवाहरु खाडी र पूर्वी एशियाली राष्ट्र मलेसिया लगायतका देशहरुमा रोजगारीको सिलसिलामा गइरहेका छन् । ती युवकहरुमध्ये नेपालको पश्चिम क्षेत्र बिशेषत: तराईबाट पनि उल्लेख्य सङ्ख्यामा छन्। यसर्थ, नेपालको पश्चिम क्षेत्रबाट रोजगारी र अध्ययन सिलसिलामा विदेश जाने युवाहरुको पनि पहिलो रोजाइमा यो विमानस्थल पर्नेछ। त्यसैगरी, भारतको सीमावर्ती क्षेत्रमा अवस्थित भएको हुनाले भारतका विभिन्न सहरहरुमा यहाँबाट सर्वसुलभ ढङ्गले क्षेत्रीय उडानहरु संचालन गर्न सकियो भने  उत्तर प्रदेशका सिमावर्ती बासिन्दाले पनि यो विमानस्थलको प्रयोग गर्नेछन्। भारत बाहेक अन्य राष्ट्रहरुमा हुने उडानको लागि पनि सीमावर्ती सहर गोरखपुर, वांसी, नौगढ़, मोऊ सम्मका भारतीयहरुले यो विमानस्थल नै प्रयोग गर्नेछन्। हालैका वर्षहरुमा भारतीयहरुको आयमा वृद्धि भएबाट हवाइमार्ग प्रयोग गर्ने भारतीयहरुको पनि तिब्र वृद्धि भएको विभिन्न अध्ययनहरुले देखाएका छन्। यसर्थ, भारतीयहरु पनि यो विमानस्थलको सम्भावित ग्राहक हुने कुरामा कुनै द्विविधा छैन तर यसको निम्ति यहाँबाट हुने उडानको शुल्क सुपथ हुनु जरुरी छ। उडान शुल्क कम हुनको लागि आवश्यक छोटो रुट, अनावश्यक करहरुबाट वायुसेवा र यात्रीहरुलाई छुट दिनुपर्छ र सरकारको विशेष ध्यान यसमै केन्द्रित हुनु अत्यन्त जरुरी छ।

चुनौती:
यो विमानस्थलका असिमित सम्भावनाहरु रहे पनि यसका केहि जटीलता र चुनौतीहरु रहेका छन्। समयमै उचित ध्यान दिने हो भने ती चुनौतीहरु सामाधान गर्नै नसकिने खालका वा पार पाउनै नसकिने खालका भने होइनन्। केहि चुनौतीहरुको चर्चा तल गरिएको छ:

१. प्रवेश विन्दु र दक्षिणी आकाशको प्रयोग:

भारतको सीमावर्ती क्षेत्रमा यो विमानस्थल रहनु यो विमानस्थलको बजार सम्भावना फैलनु भएपनि चुनौती पनि बढ्नु हो। स्मरण रहोस्, नेपालमा हालसम्म भारत भएर आउने (भुटान बाट बाहेक) विमानहरुको प्रवेश विन्दु सिमरा आसपासको आकाशमा मात्र रहेका छन्। यदि यहि अवस्थामा वा थप प्रवेश विन्दुहरु नपाइकनै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आयो भने यहाँ उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवाहरु विशेषत: पश्चिमी देशहरुबाट उडान भर्ने वायुसेवाहरुलाई सुपथ र सुलभ उडान संचालन गर्न निकै कठीन हुनसक्छ र उडान महङ्गो हुनेछ। जसको प्रत्यक्ष भार महङ्गो टिकट मार्फत यात्रुहरुमा पर्नेछ र यसले गर्दा यो विमानस्थल प्रयोग गर्ने यात्रुको सङ्ख्यामा कमी  आउनेछ र समग्र विमानस्थलको आर्थिक गतिबिधि र राजस्वमा कमी आउनेछ। यसले गर्दा विमानस्थल घाटामा संचालन गर्नु पर्ने अवस्था पनि नआउला भन्न सकिन्न। यदि यो अवस्था रह्योभने पर्यटक अवागमन घटेर लुम्बिनी क्षेत्रको पर्यटकिय गतिबिधीमा ह्रास आई समग्र पर्यटन उद्योगमै धक्का लाग्नेछ र जुन उद्देश्यका साथ यो विमानस्थलको निर्माण सुरुवात गरिएको हो त्यो उद्देश्य पुरा हुने छैन। यसर्थ, यो विषयमा सम्बन्धित निकायको उचित अग्रसरताको अपेक्षा गरिन्छ।
           
नेपालको प्रवेश मार्ग प्राप्तिको निम्ति आगामी दिनमा राम्रो लबिंग रह्योभने सो प्राप्त हुनसक्छ। गौतम बुद्ध विमानस्थलको सन्चालनको निम्ति यो अत्यावश्यक रहेको छ। साथै, गौतम बुद्ध विमानस्थलको दक्षिणपट्टिको भारतीय क्षेत्राधिकारको आकाश प्रयोगको निम्ति नेपाललाई अनुमति रह्यो भने मात्र गौतम बुद्ध विमानस्थलमा उडान र अवतरण गर्ने जहाजलाई निकै सहज हुनेछ। यदि दक्षिणी क्षेत्रको आकाशलाई प्रयोग गर्ने अनुमति भएन भने सो क्षेत्रको आकाश प्रयोग विहिन हुनेछ र यस विमानस्थलको क्षमतामा स्वत: कमी हुनेछ। जसले गर्दा खराब मौसमको समयमा वा उच्च हवाई ट्राफिकको सिजनमा हवाई ट्राफिक व्यवस्थापनमा चुनौती थपिनेछ। यसर्थ, दक्षिणी क्षेत्रको भारतीय भूभाग माथिको आकाशको प्रयोग आफैमा एउटा चुनौती हो।

२. सुरक्षा चुनौती: 
 

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अर्को प्रमुख चुनौती भनेको सुरक्षा चुनौती हो। भारतीय सीमाबाट अत्यन्त नजिक रहनुले यस विमानस्थलको सुरक्षा चुनौती बढाएको छ। भारतीय भूमिमा अपराध गरी नेपाली भूमीमा आउने र नेपाली भूमीमा अपराध गरी भारतीय भूमिमा लुक्ने खालका अपराधीहरुले यो विमानस्थल प्रयोग गर्न सक्ने चुनौती र जोखिम देखिन्छ। साथै, यो विमानस्थलको सुरक्षा व्यवस्था अलि कमजोर भयो भने अन्तर्राष्ट्रिय आतंकवादी संगठन, मानव तथा लागु औषध तस्करले ‘ट्रान्जिट हब’ बनाउन सक्ने जोखिम पनि उत्तिकै देखिन्छ। यसर्थ, यो विमानस्थलको सुरक्षा सम्बेदनशीलता पनि बढी नै रहेको देखिन्छ।

३. बाढीजन्य प्राकृतिक प्रकोप र अन्य चुनौती:
यो विमानस्थलको अर्को चुनौती भनेको बाढीको जोखिम पनि हो। बाढीको जोखिम न्यूनीकरण गर्नु आफैमा चुनौतीपूर्ण कार्य देखिन्छ। यो विमानस्थल समथर भूभागमा रहनु र रुपन्देहीका नदीहरु: घाघरा, तिनाउ र डण्डा नदीको जोखिम यस विमानस्थलको संचालनको निम्ति चुनौती हो। हुन त बाढी सधै आउदैन तर आएपछि क्षति निम्त्याउने गरि एक्कासी आउँछ। यसर्थ, यसको न्युनिकरणको निम्ति उचित योजना र समन्वयको अवाश्यकता पर्छ। गत वर्ष बिराटनगर विमानस्थलमा भएको डुबान र क्षतिले यस सम्बन्धमा धेरै पाठ सिकाइसकेको छ। यसको निम्ति विमानस्थलको संचालन र बिकास गर्ने निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण मात्र एक्लै जिम्मेवार नरहेर अन्य सरोकारवाला निकायको पनि उत्तिकै जिम्मेवारी रहन्छ। यसर्थ, बाढी नियन्त्रणको लागि सम्बन्धित स्थानिय तह (नगरपालिका व गाउँपालिका), जल उत्पन्न प्रकोप नियन्त्रण बिभाग, भूसंरक्षण कार्यालय लगायतका सरोकारवाला निकायसँगको उचित समन्वय र सहकार्यको निम्ति नेपाल नागरिक उड्डयन प्राधिकरणको भविष्यमा अग्रसरताको जरुरी देखिन्छ र यसमा उचित पहलकदमी पक्कै लिइनेछ।

समृद्दी द्वार 
यस विमानस्थलका विविध चुनौतीहरु बर्तमान र भविष्यमा रहने भएपनि यो विमानस्थलले पश्चिम नेपालको समृद्दिको आधार तयार गर्नेमा कसैको पनि दुई मत छैन। यो विमानस्थल पूर्णरुपमा संचालन हुन सकेको खण्डमा पर्यटकीय, आर्थिक गतिबिधी बढ्नुकासाथै अन्य क्षेत्र जस्तै कृषिमा आधुनिकीकरण, ब्यापार वृद्धि, औद्योगिक उत्पादन वृद्धि र यसले यो क्षेत्रमा सृजना गर्ने लाखौं रोजगारीले कालान्तरमा दिगो आर्थिक वृद्धि हासिल गर्न मद्दत गर्नेछ। यसले गरिवी निवारण गर्ने सरकारको लक्ष्य प्राप्त गर्ने मार्ग प्रशस्त गर्नेछ। यसर्थ, यस विमानस्थल सन्चालन गर्दा आइपर्नसक्ने माथि चर्चा गरिएका विविध चुनौतीहरू सामना गर्न अहिलेबाट गहन योजना र सो योजनाको कार्यान्वयनको जरुरत देखिन्छ। चुनौतिहरु जे जस्तो भएपनि कुशल योजना भयो भने चुनौतीको सजिलै व्यवस्थापन गर्न सकिन्छ र विमानस्थलको भरपुर लाभ लिन सकिन्छ।यसले आर्थिक क्षेत्रका विविध पाटोमा सकारात्मक परिवर्तन ल्याउन सहयोग गर्ने हुनाले यो विमानस्थल पश्चिम क्षेत्रको समृद्दीको द्वार हुने निश्चितप्राय: छ।          
 

तपाईंको मत