सम्पादकीय
महाभारतको अन्त्यतिर एउटा प्रसंग छ । सशरीर स्वर्ग जान विमानमा चढेका युधिष्ठीरलाई नर्कको बाटो लगियो । पाप गर्ने सबैले कर्मअनुसार नर्क र स्वर्ग भोग गर्नुपर्ने बताइएपछि उनले सोधे - मैले के पाप गरेको थिएँ र मलाई नर्क आउनु परेको हो ? अश्वत्थामाको मृत्युको समाचार सुनाउँदा जानीजानी संशय उत्पन्न गरेको पाप भोग्न त्यहाँ ल्याइएको उत्तर पाए । अर्थात् सशरीर स्वर्ग जाने धर्म गरेका भए पनि युधिष्ठीरले पापको फल पनि भोग्नै पर्यो । अहिले पाप र धर्मको प्रसंग त्यसमा पनि सत्ताधारीका सामु गर्नु मूर्खतामात्रै हुन्छ । तैपनि, लोकतन्त्रमा शासकहरूबाट नैतिक मर्यादाको अपेक्षा भने जनताले राखेका हुन्छन् । धर्म र पाप पनि त प्रकारान्तरले सम्बन्धित युगको नैतिक मर्यादाको मापदण्डअनुसार निर्धारण गरिएका अभ्यास न हुन् । यसैले अहिलेको सरकारका मन्त्रीहरूले सम्पत्ति विवरण नबुझाएको सन्दर्भलाई कानुनीभन्दा पनि नैतिक मर्यादाको दृष्टिबाट हेर्नु उपयुक्त हुनेछ ।
मन्त्रिपरिषद्का सबै सदस्यले नियुक्त भएको १५ दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्ने चलन सम्भवतः २०४८ सालमा गठन भएको सरकारबाट थालिएर निरन्तर रहेको थियो । हुनत, यस्तो विवरणलाई 'श्राद्धमा बिरालो बाँध्ने' चलनभन्दा खासै फरकरूपमा लिइएको पाइँदैन थियो तैपनि कताकता विवरण बुझाउनेमाथि नैतिक दबाब भने पुगेको भान हुन्थ्यो । लुकाइएको वा ढाँटिएकै भए पनि मन्त्रीहरूको सम्पत्तिका बारेमा जनताले थाहा पाउँथे । सम्पत्ति विवरण सम्बन्धमा कानुनले पनि व्यवस्था गरेको छ । भ्रष्टाचार निवारण ऐनको दफा ५० को उपदफा (१) "सार्वजनिक पद धारण गरेको व्यक्तिले त्यस्तो पद धारण गरेको मितिले र यो दफा प्रारम्भ हुँदाका बखत सार्वजनिक पदमा बहाल रहेका व्यक्तिले यो ऐन प्रारम्भ भएको मितिले साठी दिनभित्र र त्यसपछि हरेक आर्थिक वर्ष समाप्त भएको मितिले साठी दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सा सहितको अद्यावधिक विवरण नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको निकाय वा अधिकारी समक्ष पेस गर्नु पर्नेछ ।" भन्ने उल्लेख भएको छ । मन्त्रीहरूले पनि यो प्रावधानको पालना गर्नुपर्छ तर यसभन्दा पनि पहिले नै स्वेच्छाले सम्पत्ति विवरण सार्वजनिक गर्ने चलन नैतिक बन्धन र आत्मानुशासन हो । तर, अहिलेका मन्त्रीहरूले त्यस बन्धनलाई उपेक्षा गरे । यसैले यो नैतिक मर्यादाको विषय हुनपुगेको हो ।
मुल्ला नसरुद्दिनको एउटा कथा यस प्रकारको छ - मुल्लासँग कुनै एक सेखले छोराले मयखानामै बसेर सराब खान थालेको गुनासो गरेछन् । मुल्ला सेखसँगै छोरालाई मयखानामै पुगेछन् । बाबु र मुल्ला आएको देखेर छोरालाई केही संकोच भएछ र उसले दाँत कोट्याउने छेस्काले आँखा ओझेलमा पारेजस्तो गरेछ । केही नबोली सेखलाई लिएर बाहिर निस्केपछि मुल्लाले भनेछन् - सुध्रने आशा अझै बाँकी छ । किनभने ऊभित्र अझै छेस्काले ढाकिनेजति भए पनि संकोच बाँकी रहेछ । हाम्रा राजनीतिक नेताहरूमा पनि छेस्काले ढाकिने जति भए पनि कतै न कतै लोकलाज त बाँकी हुनुपर्ने हो । सम्पत्ति विवरण सार्वजनिक गर्दैमा राज्यले खोसी पनि हाल्दैन । जनताले पनि भाग माग्दैनन् । यसैले तत्काल सम्पत्ति विवरण सार्वजनिक गरेर चलनचल्तीको समयावधि नाघे पनि कानुनले दिएको अवधि नगुजार्नु बुद्धिमानी हुनेछ । मन्त्रीहरूको सम्पत्ति विवरण माग्नैका लागि अदालत वा राज्यका अरू निकायको ढोका घचघच्याउन बाध्य बनाउनु प्रत्युत्पादक हुनेछ । मन्त्रीहरूमा लोकलाज ढाक्ने छेस्को बाँकी भए नभएको छिटै थाहा हुनेछ ।
प्रकाशित मिति: बिहीबार, असोज ६, २०७३ १८:३९
प्रतिक्रिया दिनुहोस्