हाम्रा पुराना ग्रन्थहरुले काललाई चार भागमा बाँडेका छन् — सत्ययुग, द्वापरयुग, त्रेतायुग र कलियुग । तिनीहरुको विश्वास अनुसार हामीहरु अहिले कलियुगमा छौं । कलियुग सबभन्दा कमसल मानिन्छ । यसलाई छलियुग पनि भनिन्छ । सबभन्दा बढिया सत्ययुगलाई मानिन्छ । त्यसबेला मानिसहरु ४०० वर्षसम्म बाँच्न सक्थे । त्यसपछिको युगमा मानिसको उमेर घट्दै गएको विश्वास गरिन्छ । हरेक युगमा १०० वर्ष घट्दै गएकोले द्वापरमा ३०० वर्ष, त्रेतामा २०० वर्ष र कलियुगमा १०० वर्ष मानिसको उमेर हुने गरेको बताइएको छ । हुन पनि आजकल हाम्रो समाजमा १०० वर्ष बाँच्नु भनेको बिरलै देखिन्छ । बाँचेकालाई शताब्दी पुरुष भनेर सम्मान पनि गरिएको छ । त्यस्ता दीर्घजीविहरुबाट मानिसहरुले आशिर्वाद लिने गर्दछन् । त्यो उमेरसम्म बाँच्न सक्नुलाई एउटा ठूलै उपलब्धि मानिन्छ । सरकारले पनि वृद्धवृद्धाहरुलाई दिने गरेको नगद भत्ताबापत गर्व गर्ने गर्दछ । १०० वर्षको दीर्घजीवि हुन सक्नुलाई यो एक किसिमको सम्मानित प्रतीक हो ।
तर, सत्ययुग र त्यसपछिको तुलनामा कलियुगको उमेर सारै कम हो । भागवत पुराणअनुसार यसको मुख्य कारण कलियुगमा धर्म, सत्य र इमान्दारीको ह्रास हुने हुनाले यस्तो हुने भनिएको छ । जस्तो नेपालमा अहिले स्थानीय निकायहरुबाट अत्यधिक कर लगाउने र अचाक्लि कर बढाउने गरेकोले जनआक्रोस पोखिएको छ । यस्तो स्थिति कलियुगमा आउने उक्त भागवत पुराणमा भविष्यवाणी गरिएको छ । मानिसहरु अचाक्लि करबाट कष्ट भोग्ने छन् । उनीहरु अस्वस्थकर अनाज, सागसब्जी, फलफूल आदि खाएर बाँच्नु पर्ने छ । शासक र सत्ताधारीहरु प्रायः डकैत हुने छन् । यी तथ्यहरुको खुलासा हाम्रा अखबारका केही शिर्षक मात्र हेरे पनि पुग्ने छ । जस्तो— ‘करमा मनपरी, पोहोर १५०, यसपालि ३८ सय ५०’, ‘जनताको करमा जनप्रतिनिधि सरर’, ‘कानूनले दिएको सुबिधा छिन्दै स्थानीय सरकार, सेवा लिन अग्रिम सम्पत्ति कर तिर्नु पर्ने’, ‘करको कसीमा नागरिक’ । अब सवाल उठ्छ कि के यस्ता अनुचित कर लगाउने सत्ताधारी र अधिकारीहरु क्षम्य हुन्छन् ? यदि हुँदैनन् भने उनीहरुमाथि के कारबाही भएको छ ? कलियुग भन्दैमा के जसले जे पनि गर्न पाउने ?
अत्यधिक कर भारबाट प्रताडित, भूकम्प, सुखा, बाढी, संक्रमण रोगहरुबाट पीडित मानिसहरु खाने, बस्ने, बाँच्ने कष्ट भोग्ने छन् र उनीहरु मनुष्य भन्दा भूत प्रेत जस्तो देखिने छन् । फलस्वरुप गरिबी र निराशामा डुबेका मानिसहरु पनि चोर, फटाहा र हत्यारा बन्नेछन् । मानिसहरु पशुवत र विछृञ्खल बन्नेछन् । उनीहरु कन्जुस, निर्दयी, लोभी, र ससानो कुरामा पनि बदला लिन थाल्ने छन् । जो बलियो र जबर्जस्ती गर्न सक्ने छ ऊ नै शासक बन्ने छ । उनले लोभ लालच र व्यभिचारका साथ शासन गर्ने छ । उनले आफ्ना जनताको दोहन र शोषण गर्ने छ । हत्या हिंसा बढ्ने छ । त्यसबाट प्रताडित भएर मानिसहरु आफ्नो बस्ती छाडेर यताउति लाग्ने छन् । उदाहरण स्वरुप समाजमा भइरहेका यस्तै गतिविधिहरुको विवरण दिन सकिन्छ —‘डेढ महिनामा ३३ बलात्कृत’, ‘निर्दोषलाई अपराध सकार्न दबाब’, ‘सप्तरीमा सामूहिक बलात्कार, पाँच पक्राउ’, ‘अपहरणपछि बालकको हत्या, इन्काउन्टरमा दुई अपहरणकारी मारिए’, ‘दोषीलाई कारवाही माग गर्दै सयौं महिला सडकमा’ ‘बिहेको निहुँमा दलितमाथि आक्रमण’ आदि । के यी पनि क्षम्य हुन् ?
कलियुगमा मानिसहरुको गुणहरुमा ठूलो ह्रास आउने छ । ईमान्दारी, सहनशिलता, दया, दान जस्ता असल गुणहरु हराउँदै जाने छन् । पैसाको वर्चस्व कायम हुने छ । त्यसले मानिसको राम्रो जन्म, चरित्र र व्यवहारलाई एकातिर पन्छाइदिने छ । शक्तिको नै बोलबाला हुने छ । सम्मान, धर्म, न्याय, अधिकार सबै पैसाले किन्न पाइने छ । समाजमा घमन्डी, जाली, धोकाधडी, बेईमानी, आलस्यपन, निर्दयी, भ्रम, आतंक र छोटोपना फैलिने छ । भ्रष्टाचारी र व्यभिचारीहरुको राज हुनेछ । शासकहरु अधिनायकवादी हुने छन् । उनीहरुको कारणले मानिसहरु पनि लोभी, पापी, ठग, र व्यभिचारी बन्दै जाने छन् । व्यापार र ठगी एउटै मानिने छ । जस्तो यहाँ भइरहेका गतिविधिहरुले नै व्याख्या गर्न सक्छ — ‘चिकित्सकको लापरबाहीले सुत्केरीको ज्यान जोखिममा’, ‘थेरापी सेन्टरका नाममा मानव स्वास्थ्यमा खेलवाड’, ‘ठेकेदार जोगाउन आयोजनाको चलखेल’, ‘थरीथरीका ठगी धन्दा मौलाउँदै’, ‘व्यापारी पोस्ने कानून’ । के यिनीहरुको लागि पनि कलियुगलाई दोष दिएर पुग्ने ?
कलियुगमा मानिसहरुले आफ्नो आमाबाबुको हेरबिचार गर्न छाड्ने छन् । उनीहरुले आफ्नै केटाकेटीहरुको पनि हेलचक्राई गर्नेछन् । उनीहरुको लागि आफ्नै जीवनमात्र प्यारो लाग्नेछ । सामाजिक सम्बन्धको अवमूल्यन हुने छ । चाहे बाबुआमा र छोराछोरीको सम्बन्धमा होस्, चाहे भाइ बहिनी बीचमा होस्, चाहे साथीभाइ र अरु सम्बन्धित होस् कसैले कसैको वास्ता गर्ने छैनन् । ससानो कुरामा परिवारिक सम्बन्ध भएका मानिसहरु झगडा गर्न थाल्ने छन् । उनीहरु नमरिञ्जेल यस्ता दुष्कार्यमा लाग्ने छन् । मानौं, यसैको परिणाम स्वरुप यस्तो देख्नु परेको छ —‘बलात्कारका घटना बढे, अधिकांश पीडक आफन्त र चिनजानका’, ‘पितासहित परिवारकै चार सदस्य पक्राउ,’ ‘अझै पक्राउ परेनन् बलात्कारी मामा, पीडित किशोरीका बाबु भन्छन्, न्याय पाउन कहाँ कहाँ धाउनु पर्ने हो?’ के यसले हाम्रो आँखा नखोलिदिने ?
कानूनले धनीलाई मात्र सघाउने छ । त्यहाँ न्यायको कुनै महत्व रहने छैन । कानूनको नजरमा गरिबी नै एक किसिमको अपराध मानिने छ । धनी र बडप्पनलाई उच्च चरित्रको विशेषता मानिने छ । जो सबभन्दा अधम मानिएका छन्, उनीहरु नै सबभन्दा ठूला व्यापारी बन्नेछन् । बिचौलियाको खेल, ठगी र चोरीबाट बजार चल्ने छ । उनीहरुले गैरकानूनी र अवान्छित तरिकाले पैसा कमाउने छन् र त्यसैमा गर्व पनि गर्नेछन् । तर तिनीहरुलाई रोक्ने र सजाय दिन सक्ने कोही निस्कने छैनन् । उदाहरणार्थ— ‘पूर्व मन्त्री देखि करोडपतिसम्म गरिबको सूचिमा’, ‘हत्याका अभियुक्त राज्यमन्त्री शर्मा साधारण तारेखमा रिहा’, ‘हत्या आरोपित मिश्र र पाण्डेय साधारण तारिखमा रिहा’, ‘निर्माण सामग्री परीक्षण ठेकेदारकै ल्याबमा, ’, ‘पप्पु कन्स्ट्रकसनको बदमासी ’, ‘गुठी जग्गा हडप्नेको दबाबमा सिडियो सरुवा’, ‘हरिसिद्धिको जग्गा हडप्न प्रपञ्च’, ‘निजी विद्यालय पोस्न समायोजनमा शैक्षिक माफिया’, ‘अमेरिका पठाइदिने भन्दै ठगी गर्ने पक्राउ’, ‘आयोजना प्रमुख नै गैरजिम्मेवार’, ‘साँवा ब्याज समयमा तिर्दैनन् ठूला ऋणी’, ‘प्रधानमन्त्रीको दोहोरो चरित्रले न्यायालयको अस्तित्व समाप्त’, ‘वर्षाको वितण्डा’, ‘जेब्राक्रसमै पैदलयात्रु असुरक्षित’ आदि । के कलियुगको नाउँमा यी सबै सहेर बस्ने ?
धर्मकै बारेमा भनिएको छ कि बोलीमा खरोपना र रुखोपना धर्मको विशेषता हुने छ । धर्म खालि देखावटी र ढोंगी हुने छ । जसले आफ्नो परिवारको परिपोषण अपवित्र आम्दानीबाट गर्दछ, उनै समाजमा सबैभन्दा धेरै आदरणीय मानिनेछ । पुराना कहलिएका गुरुहरुको नाउँमा नयाँ धार्मिक व्यक्तित्वहरुले सर्वसाधारण जनतालाई आफ्नो वशमा पार्ने छन् र शोषण गर्ने छन् । जसले कडा शब्दमा गाली गर्न सक्छ र छिनछिनमा किरिया खान सक्छ उसलाई सबभन्दा जान्ने विद्वान मानिने छ । अब हाम्रो अगाडि ठूलो चुनौति छ कसरी कलियुगका दुर्गुणहरुसित भिड्ने ? के कलियुगले यी अवस्थाहरु ल्याउँछ भनेर चुप लागेर बस्ने ?