site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नाकाबन्दीबाट भारतले के पायो ?
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
वर्ष दिनअघि नेपालको संविधान, २०७२ जारी भएको पर्सिपल्टदेखि भारतले नेपालका सबै नाकाबाट सामान र इन्धन आपूर्तिमा रोक लगायो । हजारौं ट्रक र ट्यांकरको रक्सौल, भैरहवा, जोगवनी, काकडभिट्टा, रुपैडिहाका सीमा नाकामा लाम लगाइयो । सुरुमै सामान छिर्न नदिने भनिएन, सामानको चेकजाँच पछिमात्र प्रवेश दिइने भनियो । तर, दिनमा सयौं ट्रक लादिएका सामान आउने ठाउँबाट एक दुईवटा ट्रकमात्र पास गरियो । एक दुई दिनपछि भारतबाट नेपालका लागि विक्रीमा आएका कुहिने फलफूल, तरकारीजस्ता सामानमात्रै बिस्तारै छाडियो । नेपालले किनेको सामान भरिएका ट्रकलाई कहिले जोगवनीबाट छाड्ने भनेर रक्सौलमा अड्किएका सामान उता ‘डाइभर्ट’ गराइयो । कहिले नेपालगंजको रुपैडिहा नाकाबाट मात्र छाड्ने भनेर अर्कोतिर पठाइयो । इन्धन आपूर्तिमा त करिब करिब शतप्रतिशत रोक लगाइयो । 
काठमाडौंबासीले एक सिलिन्डर ग्यास पाउँदा आफुलार्इ साह्रै भाग्यमानी ठान्न थाले । कतिले छतमा चुल्हो बनाएर दाउरामा भात पकाए । कतिपय परिवार त एक छाक तातो खान पनि नसक्ने अवस्थामा पुगे । घरमा बच्चा र बूढाबुढी हुनेको पीडा भोग्नेले मात्र थाहा पाए । अरूले त अन्दाज पनि गर्न सकेनन् । एक सिलिन्डर ग्यास उपलब्ध गराउनसक्ने व्यक्ति सबैभन्दा शक्तिशाली र प्रभावशाली मानिन थाले ।
हरेक परिचित र अपिरिचत व्यक्ति आपसमा भेट हुँदा खाना पकाउने ग्याँस कहाँ पाइन्छ र कहाँ डिजल तथा पेट्रोल पाइन्छ भनेर कुरा गर्न थाले । एक लिटर मट्टितेल लिन कोका कोलाका पेट बोटलको लाइन एक किलोमिटरभन्दा लामो हुन थाल्यो । कहीँ कतै मोटरमा पेट्रोल पाइन्छ भन्ने थाहा हुँदा तीन दिनदेखि मोटर लाइनमा राख्न थालियो । काठमाडौंको भद्रकाली, पुल्चोक र नक्साल पेट्रोल पम्पबाट अलि अलि झर्ने तेल लिन दुई तीन किलोमिटर लामो लाइन लाग्यो । 
आज सकिन्छ, भोली सकिन्छ भन्दाभन्दै नाकाबन्दी ठ्याक्कै पाँच महिना लम्मियो । पछिल्ला दिनमा भारतीय व्यापारीले आफैँ सरकारको आदेशको उल्लघंन गर्दै विभिन्न स्थानबाट भन्सार छलेर नेपालीलाई इन्धन बेच्न थाले । यसले गर्दा तीनचार गुना बढी मूल्य तिरेर पनि जरुरी पर्नेले घरको आगो बाले, मोटर चलाए । ग्यासको मूल्य प्रतिसिलिण्डर आठ हजारसम्म पुग्यो, पेट्रोल र डिजलका लागि प्रतिलिटर पाँच छ सयसम्म पनि तिरियो । 
भारतले लगाएको नाकाबन्दीले कसलाई फाइदा भयो ? 
वास्तवमा भारतले लगाएको नाकाबन्दीले केही तस्कर, कलाबजारिया र भ्रष्टहरूबाहेक अरू कसैलाई पनि फाइदा भएन । नेपालको आर्थिक अवस्था डाँवाडोल भयो । यहाँका व्यापार, व्यवसाय कुनै चलेनन् । विदेशबाट आउने पर्यटक पनि नेपाल आउन हच्किए । नयाँ उद्योग व्यवसायमा लगानी आएन । कुनै ठूला काम हुन सकेनन् । नेपाललाई आर्थिकरूपले वर्षौंसम्म नपुरिने घाउ लाग्यो । 
तर, नेपालीमा एक प्रकारको आत्मविश्वास जाग्यो । भारतले सिमानामा रोक लगाए नेपाल दुई दिन पनि टिक्दैन भन्नेहरूको मुखमा बुजो लाग्यो । नेपालको सार्वभौम अधिकार भारतमा बुझाउनु पर्छ भनेर भारतमा बसेर कुर्लिने भारतीय र नेपाली हुँ भनेर भुक्ने तर सधैँ नेपालको विरोधमा लेख्ने बुख्याँचाहरूलाई एउटा शिक्षा भयो । नेपालले उत्तरतिर पनि हेर्नुपर्छ भन्ने सोच बलियो भयो । 
यस नाकाबन्दीले भारतीय जनतालाई भने कुनै प्रकारले पनि खुसी बनाएन । दुई देशको जनस्तरमा रहेको सम्बन्धले गर्दा भारतीय पक्षलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा अप्ठेरो र लज्जाजनक बनायो । कुनै पनि भारतीयले नेपालको विषयमा कुरा उठ्दा ‘थाहा छैन’, ‘भएको छैन’, ‘भारतले लगाएको नाकाबन्दी होइन’ जस्ता बहाना बनाएर पन्छनुको विकल्प भएन । किनभने, एउटा भूपरिवेष्ठित देशलाई भारतजस्तो संसारकै सबैभन्दा ठूलो लोकतन्त्र भनिने देशले यस्तो व्यवहार गर्नु अन्तर्राष्ट्रिय मञ्चमै लज्जास्पद उदाहरण थियो । 
आन्तरिकरूपमा पनि नेपालसँग सिधै आर्थिक सम्बन्ध भएका जनतालाई निकै समस्या गरायो । अहिले नेपाल र भारतबीचको औपचारिक व्यापार करिब साढे पाँच अर्ब डलर छ । यसमध्ये करिब ४ अर्ब भारतको पक्षमा छ । अर्थात् नेपालले त्यति डलर बराबरको सामान भारतसँग किन्छ । गत वर्षको पाँच महिनामा करिब २ अर्ब डलरको भारतीय सामान नेपालतर्फ विक्री हुन पाएन । भारतीय सरकारलाई इन्धनबाट र अन्य व्यापारीलाई विभिन्न सामानबाट भएको त्यो घाटाको जिम्मेवारी कसले लिन्छ ?
त्यतिमात्र होइन, गएको वर्ष अलिअलि बुझ्ने उमेरका केटाकेटीेको मनमा समेत भारतले जस्तोसुकै विषयमा पनि नेपाललाई हदैसम्मको कठोर व्यवहार गर्नसक्छ भन्ने धारणा बलियोसँग बस्न पुग्यो । भारत र नेपालका कति पुस्ताले गरेको त्याग, सद्व्यवहार र आपसी विश्वासबाट बनेको सम्बन्धलाई पाँचै महिनाको नाकाबन्दीले नराम्ररी तोडेको छ । त्यसको हिसाब के हुने ?
नेपालका केही मधेसवादी दलमा अहिले पनि भारतको नाकाबन्दीले उनीहरूको आवाज बलियो बनायो भन्ने भ्रम छ । तर, त्यो पटक्कै सही होइन । काठमाडौं र पहाडमा बस्ने जनताले मात्र नाकाबन्दीबाट दुःख पाएका होइनन्, मधेसमा बस्ने जनताले पनि उत्तिकै दुःख पाए । सम्पूर्ण नेपालको अर्थतन्त्रमा जसरी असर पर्यो तराई क्षेत्रको अर्थतन्त्रमा उत्तिकै असर पर्यो । सबैभन्दा महत्वपूर्ण, संविधान संशोधन नेपालका जनताको हितका लागि गर्नुपर्ने कि भारतको अहंकार तुष्टिका लागि भन्ने प्रश्न झन् मुखरित भयो । मधेसको अधिकारको लडाइँ मधेसी जनताले बारम्बार लड्दैआएका छन् र धेरै सन्तोषजनक नभएता पनि अधिकार प्राप्ति र सामाजिक प्रतिष्ठा पनि बिस्तारै आर्जन गर्दैआएका छन् । तर, भारतले नाकाबन्दी लगाइदिएर पाएको उपलब्धिबाट कुनै पनि सच्चा नेपालीलाई गर्वको अनुभूति पक्कै हुँदैन । 
विसं २०४६ सालमा भारतले लगाएको नाकाबन्दीले नेपालको लोकतन्त्रको लडाइँमा बल पुग्यो भन्ने एक प्रकारको भ्रम पनि २०७२ साल असोजदेखि फागुनसम्मको नाकाबन्दीले तोडेको छ । सामानको अभावसँगै जनताले सरकारको साथ छोड्लान् भन्ने भारतीय नाकाबन्दीको समर्थकका धारणाविपरीत जनता झनै सरकारको पक्षमा आए । सडकमा कुनै एक दिन पनि सरकारलाई सामग्री आपूर्ति गराउन दबाब दिन भन्ने जुलुस आएन । उल्टै ‘भारतसँग नझुक सरकार, बरु इन्धन चाहिदैन’ भन्ने नारा सहितका राष्ट्रियताका पक्षमा निस्केका जुलुसले धेरै समर्थक पाए । नाकाबन्दीको उद्देश्य पूरा नभई प्रधानमन्त्री ओलीलाई भारत भ्रमणमा बोलाएर भारतले नाकाबन्दी फिर्ता लिनुप¥यो । 
अहिले भारतलाई कस्मिरमा पाकिस्तान र लद्दाखमा चीनसँग ठूलै समस्या परिरहेको छ । कस्मिरमा त लडाइँकै अवस्था उत्पन्न भएको छ । यस्तो अवस्थामा नेपालीको समर्थन र सहयोग भारतजस्तो ठूलो देशलाई पनि धेरै महत्वपूर्ण हुन्छ । अन्तर्राष्ट्रिय मञ्चमा नेपालले भारतलाई गरेको समर्थनले भारतको नैतिक बल बढ्छ । नेपाल सानै होला, सैनिक सहयोग गर्न नसक्ला तर नैतिक समर्थन ठूलो हुन्छ । अझ नेपालको नैतिक समर्थन भएमा भारतका लागि रगत बगाउन तयार भएर सिमानामा बन्दुक बोक्न पुगेका गोर्खा रेजिमेन्टका नेपाली सैनिकहरूको समेत मनोबल बढ्छ । 
त्यसैले भारतले नेपालमा नाकाबन्दी लगाएको एक वर्ष एवं नाकाबन्दी सकिएको सात महिनामा अब उप्रान्त नेपाल र भारतका जनताले कुनै एक देशको सरकारको अहंकारको सिकार हुनु नपरोस् भन्ने कामनाबाहेक सायद अरू केही गर्न सकिन्न । एक्काइसौं शताब्दीमा जन्मिएका नेपाली कसैले अर्को नाकाबन्दीको सामना गर्नु नपरोस् । नेपाली र भारतीय सर्वसाधारणको एक अर्काप्रतिको सद्भाव र सम्मानमा बढोत्तरी होस् र अब यसलाई अहित गर्ने कर्म नहोस् भन्ने कामना सहित !
 
 
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ६, २०७३  १४:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC