site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पत्रकारलाई दापभित्रको खुकुरी

पत्रकारितालाई विविध आभूषणले मण्डित गरिएको छ । बेलायतबाट शुरु भएको चौथो अंगको विशेषण कुनै कानूनी आधिकारिताभन्दा पनि विश्वव्यापी सर्व स्वीकार्यतामा आधारित छ । अहिले सामान्य जनदेखि उच्च तहसम्मले चौथो अंग भनेर सञ्चार जगतलाई फुक्र्याउने गरेकै छन् । तर पत्रकारिता भन्नोस् कि सञ्चारजगत्, यसप्रति अन्तर्राष्ट्रिय क्षेत्रसमेत अनुदार बन्दै गएका लक्षणहरु प्रशस्त देखिएका छन् ।

लोकतन्त्र बाहेकका मुलुक यसप्रति अनुदार वा एकपक्षीय थिए । लोकतन्त्र भनिएको महाशक्ति मुलुकका राष्ट्रपति डोनाल्ड ट्रम्पसमेत प्रेसप्रति अनुदार भएको टिप्पणी स्वयं अमेरिकी मिडियाहरुले गरेका छन् । हालैमात्र त्यहाँका तीनसय सञ्चारमाध्यमले ट्रम्पको पत्रकारिता विरोधी रबैयाका विरुद्ध सम्पादकीय प्रकाशित गरेको जानकारी सार्वजनिक भएको छ । यसमा बेलायतबाट प्रकाशित हुने द गार्जिएनले समेत साथ दिएको थियो ।  नेपालमा पनि पत्रकारिता माथि अनुदार प्रक्रिया शुरु हुने चिन्ता यतिबेला व्यापक छ । 

फौजदारी संहिता, देवानी संहिता र गोपनीयताको हक सम्बन्धी कानूनका केही प्रावधानले स्वतन्त्र र खोजमूलक पत्रकारितालाई कुण्ठित गर्ने चिन्ता राजनीतिक, बौद्धिक जगत् तथा पत्रकारबीच फैलिएको छ । यस्तो चिन्तालाई फगत बौद्धिक विलास मान्ने हो कि, सरोकारवालाहरुले औँल्याएको सम्भावित जोखिमलाई सरकारी पक्ष वा संसदले गम्भीर रुपमा सुन्ने र चिन्ता निवारण गर्ने ? सरकारले सोचोस् लोकतान्त्रिक सभ्य समाजमा हुन्छ के र गर्नुपर्ने के हो ?

Prabhu Bank
Agni Group
NIC Asia

सरकार दुई तिहाई सांसद लिएर शासन गरिरहेछ । सरकारको प्रतिपक्षी नेपाली कांग्रेस हो । तर, कम्युनिष्ट सरकार पनि प्रतिपक्षीको रुपमा देखिएको छ, नागरिक समाजको प्रतिपक्ष वा भनौं प्रतिवादी । नागरिक समाजबाट उठाइएका कुनै पनि विचार वा मागप्रति यो सरकार प्रतिवादी शैलीमा प्रस्तुत भएको छ । पाँच, छ महिनाको अवधिमा सरकारले नागरिक आवाजलाई सकारात्मक रुपमा लिएको पटक्कै भेटिएको छैन, प्रतिवादी शैलीमा सधैं नकारात्मक प्रत्युत्तर दिँदै आएको छ । यस्तो शैलीको नेतृत्व पनि प्रधानमन्त्रीले नै गरेका छन् । कम्युनिष्ट सांसद पत्रकारहरुले राखेको उल्लिखित ऐनमा सुधारको मागप्रति जुहारी शैलीमा उत्तर दिँदैछन् । 

संसदमा विचार प्रस्तुतिका हिसाबले हेर्दा कुनै वैचारिक वा यथार्थपरक बहसको थलोभन्दा दोहोरी खेल्ने रंगमञ्च बनाइएको जस्तो लाग्छ । प्रतिपक्षबाट जतिसुकै राम्रो कुरा आओस् वा नागरिक समाजका तर्फबाट आएका स्वतन्त्र विचारलाई दुत्कार्ने शैलीमा कम्युनिष्ट सांसदहरु प्रस्तुत भएको सुनिन्छ । जनतामाथि थोपरिएको करको बोझका विषयमा प्रतिपक्ष, जनस्तर र पत्रकारितामार्फत् आएको यथार्थलाई प्रधानमन्त्रीदेखि उहाँका सांसदहरु अनर्गल प्रचारबाजी भन्न थालेका छन् । 

Global Ime bank

पत्रकार र चिकित्सक लगायत विभिन्न व्यवसायीले ऐनका माध्यमबाट जिम्मेवारी निर्वाहमा ल्याइनसक्ने व्यवधानप्रति दिएको सजग आवाजलाई सत्तापक्षले दुत्कारेको सुन्दा कम्युनिष्ट सरकार र सांसदहरु जनता वा नागरिक समाजका प्रतिवादी र प्रतिपक्षी हुन् जस्तो देखिएको छ । उनीहरु धैर्यपूर्वक वस्तुनिष्ठ हुन चाहँदैनन् र विवेक प्रयोग गर्ने हैसियत गुमाइसकेका पात्र जस्ता लाग्छन् ।

प्रधानमन्त्री केपी ओली प्रेस स्वतन्त्रताप्रति आफ्नो प्रतिबद्धता जाहेर गर्छन् र भन्छन्– यो सरकार प्रेस स्वतन्त्रताप्रति सबैभन्दा उदार छ । तर पत्रकारले प्रधानमन्त्रीको प्रतिबद्धता र मौखिक उदारताभन्दा त्यस्तो व्यवस्था कानूनमा रहनुपर्छ भन्ने स्वाभाविक माग गरेका हुन् । स्वतन्त्र पत्रकारितामा ती कानूनका प्रावधानले ल्याउने सम्भावित जोखिमलाई निवारण गरौँ भनेका हुन् । कसैको मौखिक प्रतिबद्धता र आश्वासनभन्दा माथि कानून रहन्छ, रहनुपर्छ । दावी गरेजस्तो उदार र प्रतिबद्ध भए –स्वतन्त्र एवं मर्यादित पत्रकारिताका लागि कानूनमा सुधार  गर्न सरकार किन तत्पर देखिँदैन ? कानूनी वाधा फुकाउने तत्परताभन्दा मुखाले जवाफ दिने शैलीमा सरकारी सांसद र नेतृत्व किन प्रस्तुत भएका हुन् ? 

कानूनका राम्रा प्रावधानको कसैले विरोध वा सुधारको माग गरेको छ र ? पीडितमुखी भनिएको कानूनी व्यवस्थालाई त सबैले समर्थन गरेकै छन् । अनि सरोकारवाला कतैबाट केही विषयमा सुधारको माग गरिएको छ ? किन त ? यति पनि बुझ्न नसक्ने र नखोज्ने सरकार समर्थितहरुको मानसिकता कुन स्तरको हो ? पत्रकार महासंघले रहरले वा सरकारलाई असफल पारौँ भनेर आन्दोलनको घोषणा गरेको हो र ? यसमा के कारण छ खोज्न र निवारण गर्न किन तयार छैन सरकारी पक्ष ? 

ल मानाैं, सरकार त सधैं केपी ओलीजीको प्रतिबद्धता, उदारता र लोकतन्त्रका लागि चौध वर्षे जेल जवानीको लगानीको भरमा चल्छ रे । तर कानून कसरी चल्छ ? अहिलेका ऐन, प्रायः अदालतमुखी रहेका टिप्पणी भएको छ । 

गोपनीयता र निजी जीवनका कुरा प्रवाहित गरियो भन्ने उजुरी सञ्चारमाध्यम विरुद्ध अदालतमा पुग्ने क्रम यी ऐनले बढाउने सम्भावना छ । मानाैं, सरकार सहयोगी होला । तर ऐनको आडमा दूराचार सार्वजनिक गरिदिने पत्रकारविरुद्ध दूराचारीहरु अदालत जाने र पत्रकारितालाई सताउने जुन बाटो ऐनले देखाएको छ, त्यो खतरनाक छ ।  ऐनको प्रयोग गर्न सरकारले रोक्नसक्छ ? पत्रकार आफ्नो कर्म छोडेर सफाइ माग्न अदालत धाइरहने ? यस्तो सम्भावनालाई सरकारी पक्षले समर्थन गर्नुको तात्पर्य के हुन्छ ? 

सरकारको पनि भर हुँदैन, लोकतन्त्रको जपनाभित्र तानाशाहीको सपना देख्नेहरु पनि राजनीतिमा छन् । अदालततिर दौडाइरहने ऐन, अदालतमा राजनीतिकरण र त्यहाँ पनि न्यायभन्दा आस्थाको फैसला आउने संकेतात्मक परिदृश्य देखिएको अवस्थामा अहिलेका ऐनका प्रावधान पत्रकार वा स्वतन्त्र पत्रकारिताका लागि दापभित्रको खुकुरी हो । जतिबेला काट्न मनलाग्छ, त्यो खुकुरी सरकारले सहजै झिक्नसक्छ । सार्वजनिक भनिएको व्यक्तिका लागि त ती ऐनका उपाय निजी खुकुरी जस्तै भए । उज्याउँदै अदालत गयो, पत्रकारितालाई घिसारी रह्यो, परे सेरिदियो ।       

पत्रकारिताको आफ्नो सीमा पक्कै छ । यसको अनुगमन, मूल्यांकन पाठकले गर्छन् । नियमन स्वतन्त्र हैसियतका प्रेस काउन्सिल जस्ता निकायबाट हुन्छ वा हुनुपर्छ । पत्रकार स्वयंले आफ्नो समुदायको प्रस्तुतिप्रति औपचारिक, अनौपचारिक बहस, समीक्षा र सुधारका पक्षमा छलफल र टिप्पणी गरिरहेका हुन्छन् । आफ्नो मूल्यांकन अरुसँग दाँजेर पनि हुने गरेको छ । ब्रेकिङ न्युजको लोभमा अपुष्ट वा असत्य समाचार दिएका प्रभावशाली माध्यमहरु विगतमा सार्वजनिक आलोचनाको तारो भएका छन् । तिनले गल्ती स्वीकार्नु परेको छ, क्षमा माग्नु परेको छ । इज्जतदार पत्रकार र पत्रकारिताका लागि योभन्दा ठूलो सजाय र लज्जा अरु के हुन्छ ? पत्रकारलाई ऐनको डण्डा देखाउनु लोकतन्त्र होइन । 

मर्यादित पत्रकारिताको कुरा गरिन्छ । सरकारको मर्यादित र पत्रकारले सोच्ने मर्यादित नेपालको सन्दर्भमा नदीका दुई किनारा जस्ता छन् । सरकार आफ्नो पक्षपोषण गर्ने वा आलोचना नगर्नेलाई मर्यादित भन्न रुचाउँछ र ऐनको लाठी देखाएर मर्यादाको कुरा गर्छ । पत्रकार स्वतन्त्र र सम्मानित तहमा आफ्नो हैसियत रहोस् वा पुगोस् भन्ने चाहन्छ । सरकारले चाहने हो भने व्यावसायिक, स्तरीय र विश्वसनीय माध्यम र पत्रकारलाई पुरस्कृत, सम्मानित र उच्च अवसर दिएर मर्यादित पत्रकारितालाई प्रोत्साहित गर्नसक्छ । कानूनको डण्डा उज्याउनै पर्दैन । 

पत्रकारितामा विकृति नै छैनन्, होइन । छन् विकृति । अरु पेशामा जस्तै पत्रकारिताका नाममा यसको धर्मलाई विकृत पार्ने छन् । तर मूल पत्रकारिता त्यो होइन । यसको भेद सरकार, समाज र व्यक्तिले समेत छुट्याउने विवेक विकास गर्नुपर्छ । मूल पत्रकारिताले पत्रकारितालाई नै प्राथमिकतामा राखेको छ । मन पर्नेले वाहवाही र नपर्नेले छिःछिः गर्नु पत्रकारिताको मूल्यांकन होइन । 

पत्रकार उच्च आस्थाको मान्छे हो । ऊ राजनीतिक आस्था शून्य हुँदैन, त्यस्तो कल्पना गर्न पनि मिल्दैन । तर पत्रकारिता आस्थाभन्दा माथि व्यावसायिक हुन्छ । आन्तरिक आस्थालाई जोगाइ व्यावसायिक प्रस्तुति दिनु पत्रकार र पत्रकारिताको खास पहिचान हो । समाचारमा तटस्थता राख्ने यो व्यवसाय स्तुतिभन्दा बढी आलोचक नै हुन्छ, हुनुपर्छ । चेतनाको यो स्तर वा वसुधैव कुटुम्बकम् भन्नोस् कि ग्लोबल भिलेजलाई अर्थपूर्ण बनाउने कर्म मुख्यतः पत्रकारिताले नै गरेको छ । यस्तै विशेषताका कारण पत्रकारितालाई समाजको ऐना, लोकतन्त्रको मानक र सभ्यताको चिनारी जस्ता विशेषण दिइएको हो । यी विशेषण निरर्थक दिइएका होइनन् ।  

अहिले नेपालका पत्रकारहरुले आफ्नो अधिकार खोजेका होइनन् । आफ्नो अधिकार  नागरिक सरह नै हो भन्ने उनीहरुले बुझेका छन् । पत्रकारले खोजेको प्रेस स्वतन्त्रताको सुरक्षा हो । यो स्वतन्त्रता जान्ने वा थाहा पाउने नागरिकको मौलिक अधिकारसँग सम्बन्धित छ । स्वतन्त्र पत्रकारिता नागरिकको हक हो । अहिले त्यो हकमाथि कानूनी खुकुरी ताकिएको  छ । 

गोपनीयताको हकविरुद्ध निजी जीवनमा फोटो, कार्टुन वा समाचारमार्फत् हानी पुर्याएको उजुरी सार्वजनिक पदाधिकारिले पनि दिन सक्ने व्यवस्था ऐनले गर्यो । गोपनीयता र निजी जीवनको आड लिएर । अहिले त अनर्गल वा भ्रम फैलाएको अभियोगका पात्र पनि पत्रकारलाई बनाउन सकिने भएछ । सार्वजनिक कार्यक्रममा लिइएका तस्वीरको प्रयोग गर्नसमेत अब सञ्चारमाध्यमले धेरैपटक सोच्नुपर्ने छ ।

सार्वजनिक पदाधिकारी करबाट सुविधा लिने वा सामाजिक कार्यमा अवैतनिक भूमिका दिने सबै होलान् । अख्तियार दुरुपयोग तिनैबाट बढी हुने हो । त्यस्तो दुरुपयोगलाई सार्वजनिक गर्दा गोपनीयता र निजी जीवनसँग जोड्न थालियो भने– वन्यजन्तु भालुको के रौँ, के आँखीभौँ, जस्तो हुने भयो । पत्रकारिताले गलत प्रचार गरेको आरोप लगाइरहेको सरकारी पक्ष स्वतन्त्र प्रेसविरुद्ध प्रयोग गर्नसकिने यस्तो कानूनी प्रावधानको जोगाडमा किन लिप्त भएको हो ?   
  
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ७, २०७५  १३:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC