site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
रातो भ्रमको खेती : पहाडदेखि मधेससम्म 

यही भदौ २ गते प्रदेश नम्बर दुईको प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले मधेसी जनता सामु एउटा झूठो र भ्रामक सपना बाँडे । ओलीले मधेसका अन्य तमाम समस्या र कष्ट देखेनन्, उनले मधेसमा फल्ने आँप देखे । अनि आँपको विम्बमा आफ्नो स्वैर कल्पना घोल्दै भने – ‘‘क्यानडामा आँप फल्छ ? अमेरिका र जापानमा आँप फल्छ ? उनीहरूलाई हामीले नै आँप पठाइदिनुपर्छ, अनिमात्र उनीहरुले आँप खान पाउँछन् ।’’

प्रधानमन्त्रीको यस कथनमा रत्तीभर सत्यता छैन । अमेरिका, जापान र क्यानडामा आँपको वैज्ञानिक खेती गरिन्छ । अमेरिकाको क्यालीफोर्नियामा त एउटै बगैँचामा विभिन्न जातका आँप फलाइन्छ । जापानमा सँसारकै महँगो गुणस्तरको आँप फलाइन्छ । मधेसका बहुसंख्यक जनता अशिक्षित, गरीब र उत्पीडित छन् भन्दैमा तिनलाई हेपेर जे पायो त्यही हुँदै नभएको गफ दिन प्रधानमन्त्रीलाई सुहाउने कुरा थिएन । तर, यो पनि ‘रातो भ्रम’कै सिलसिलाको एउटा कडी थियो । नैतिक, राजनीतिक र जनउत्तरदायित्वको कसीमा इमानदार हुन नसक्ने शासकहरूको मुख्य आधार भनेकै भ्रम हो । त्यसमा पनि रातो भ्रम झन् गाढा हुँदोरहेछ । 

जापानका प्रधानमन्त्रीले त्यहाँको संसद् या कुनै सरकारी बैठकमा ‘नेपालमा स्याउ फल्दैन’ भनेको भए काठमाडौंस्थित जापानी दूतावास सामु धर्ना बस्नेको ताँती लागिसक्थ्यो । ती विकसीत देश भएकाले नेपालका प्रधानमन्त्रीको भनाइले त्यहाँ खासै महत्त्व पाएन होला । आफ्नो देशको कृषि प्रणाली र फलफूल खेतीका बारेमा नेपालका प्रधानमन्त्रीले भ्रम फैलाइरहेको सुनेर तत्तत् मुलुकले आपत्ति जनाएको पनि सुनिएन । नेपालका प्रधानमन्त्रीको बोलीलाई उनीहरुले गम्भीरताका साथ नलिएको पनि हुनसक्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

आँप नै मधेसको एक मात्र विम्ब हैन । मधेसका अन्य धेरै ज्वलन्त समस्या छन् । यो उखरमाउलो गर्मीमा मधेसमा निम्न वर्गका किसान र मजदुरका लागि जीवन बिताउनु कम्ती कष्टकर हुँदैन । भैरहवामा बाल्यकाल र स्कुलवय बिताएकाले यो पंक्तिकार गर्मी यामको त्यो प्राकृतिक यातनाको समबोध  गर्नसक्छ । यो भदौमा जब केहीबेर पानी पर्न बन्द हुन्छ तब हावा पटक्कै चल्दैन । गुम्म वातावरणमा जब साँझ पर्छ, तब प्रचण्ड गर्मी, लामखुट्टेको आक्रमण अनि कोबरा र करेतको बिगबिगी । त्यसमाथि बाढी र नदी कटानको पिरलो । मधेसवासीको निद हराम हुन्छ !  

प्रधानमन्त्री ओलीले मधेसका प्राथमिक समस्याबारे कुनै शब्द बोलेनन् । ओली तिनै हुन् जसले संविधान निर्माणको बेला मधेसीलाई ‘युपी विहारतिरबाट आएका’ भनेर हेपेका थिए । संविधान जारी हुनु केही दिनअघि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले ‘थप केही दिन कुरौँ र मधेसका एजेन्डालाई समेत सहमतिका आधारमा समेटेर जारी  गरौँ’ भन्ने प्रस्ताव राख्दा यिनै ओली हुन् जो मधेसका मागलाई कुनै हालतमा सम्बोधन गर्न नहुने भन्दै संविधान जारी गर्न हतारिएका थिए । र, मधेसप्रति ओलीको नकारात्मक रुझानलाई मधेसवादी नेताले त्यसबेला ‘खोक्रो पहाडे राष्ट्रवाद’को संज्ञा दिएका थिए । 

Global Ime bank


खोक्रै रहेछ ‘राष्ट्रवाद’

निकट अतीतका राजनीतिक परिदृश्य हामी सहजै बिर्सन्छौँं । संविधान जारी हुनुअघिको परिदृश्य सम्झने हो भने ओलीले त्यसबेला सिंगो नेपालीलाई भ्रममा राखेको अहिले आएर स्पष्ट भएको छ । त्यसबेला मधेसी नेता राजेन्द्र महतो आफ्ना हरेक अन्तर्वार्तामा ओलीको उछित्तो काढेर बोल्थे । मधेसको एकमात्र शत्रुकै रूपमा ओलीलाई चित्रित गरिएको थियो । ओली पनि मधेसका माग पटक्कै सुन्न चाहँदैनथे । 

ओलीकै कारण मधेसका मागको सम्बोधन नगरी संविधान जारी भयो । अर्थात्, नेपाली राजनीतिमा एउटा खिचखिच बाँकी नै रह्यो । त्यही निहुँमा मधेसवादी दलहरु आन्दोलनमा उत्रिए । र, सोही निहुँमा भारतले अघोषित नाकाबन्दी पनि थोप¥यो । ओलीले मधेसका माग सम्बोधन हुन नदिने, मधेसवादीलाई भड्काउने, भारतले नाकाबन्दी गर्ने, ओलीले त्यसको विरोध गरेर ‘राष्ट्रवाद’को नक्कली अभिनय गर्ने, त्यही नक्कली राष्ट्रवादको आडमा चुनाव जित्ने र ‘राज नेता’को माकफुईँ झार्ने ! 

यो सबै घटनाक्रमको कडी एउटै हो भन्ने कुरा त्यतिखेर स्पष्ट भयो जब धनुषाबाट खडा भएका राजेन्द्र महतोलाई जिताउन र विमलेन्द्र निधिलाई हराउन स्वयं ओलीले भित्रीरूपमा खेले । अचेल हामी देख्छौँ, ओली र मधेसवादी शक्तिहरुबीचको हिमचिम निकै बढेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दनदेखि हालसम्मका गतिविधि हेर्दा चुनावताका दिइएको राष्ट्रवादी नारा एउटा रातो भ्रमबाहेक केही रहेनछ भन्ने स्पष्ट भएको छ । वाम गठबन्धन, स्थिर सरकार, राष्ट्रियता र आर्थिक समृद्धिलगायतका भ्रम फैलाइएको रहेछ भन्ने आज आएर स्पष्ट भइसकेको छ । र, मधेसवादी नेताहरुले भने झैँ ओलीको राष्ट्रवाद पनि ‘खोक्रै’ रहेछ । 

रातो भ्रमको खेती

यो देशमा लाल सरकार छ । केन्द्रदेखि प्रदेशसम्मको शासनमा कमरेडहरूकै रजगज छ । आम नेपाली जनता भने रातो भ्रमको तन्ना ओढेर झुटा आश्वासनको भुसे कनिका चपाउन विवश छन् । विकास र समृद्धि प्रेमी जनताको संवेदनामाथि खेलबाड गर्दै कमरेडहरू भ्रमको बिखालु हावा फैलाइरहेका छन् । र, यसको अग्रपंक्तिमा छन् – वर्तमान प्रधानमन्त्री कमरेड केपी ओली । 

प्रधानमन्त्री ओलीको बोलीमा अचेल पुरानो ओज घट्दै गइरहेको छ । बोली कता कता बरालिएजस्तो ध्वनित हुन्छ । संसदको दुई तिहाइ आवधिक गणितको दम्भमा चुलिएको उनको उत्साह र उत्तेजना कहिलेकाँही त अतिरञ्जनापूर्ण अभिव्यक्तिमा गएर स्खलित हुनेगरेको छ । उच्च सपना देख्ने र देखाउने नाममा ओली स्वैर कल्पनाको उडान गर्न पनि पछि पर्दैनन् । 

भ्रमको खेती अचेल उनको कर्म भएको छ । ओलीले मधेसवासीलाई मात्र भ्रममा राखेका हैनन् । मधेसको भावनामा मात्र खेलेका छैनन् । उनले नाकाबन्दीका बेला हिमाल र पहाडबासीको संवेदनामा पनि खेलबाड गरेकै हुन् । सेतो हिमालमा भ्रमको रातो पोतेकै हुन् । 

नेपालीको रगतमा एकखालको राष्ट्रवादी आवेग छ । यो आवेग राष्ट्रिय अस्मिताको रक्षासँग जोडिएको छ । तर, ओलीजस्ता चतुर नेताहरूले जनताको राष्ट्रवादी आवेगलाई भारतको विरोधमा या भारतसँगको मोलमोलाइका खातिर दुरुपयोग गर्दै आएका छन् । भारतसँग सुरुङ युद्धको नारा दिने पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कालान्तरमा ‘रअ’का प्रतिनिधिसँग हिमचिम बढाएको जगजाहेर भयो । ओलीले पनि राष्ट्रियताको नारालाई सत्ता स्वार्थको गणितसँग जोडेर हेरे । सत्तामा पुग्नुअघि राष्ट्रियताको जन संवेदनालाई भोट तान्न उपयोग गरे, सत्तामा पुगेपछि मोदी सामु लम्पसार पारेर उनले आफ्नो असली स्वरूप देखाए । आज आएर उनको यो भ्रमको पहाडमा पहिरो जान थालेको छ । 

आर्थिक समृद्धि र विकास जनताको अर्को संवेदना हो । युगौंदेखि पछौटेपनमा बाँचेका नेपाली कुनै धूर्त नेताले आएर विकासका तिलस्मी कुरा गरिदियो भने मख्ख परीहाल्छन् । अहो, चीनबाट रेल आउने, भारतबाट तेल आउने, कोसीमा पानी जहाज चल्ने, पानी जहाज चढेरै गँगासम्म पुग्न सकिने । काठमाडौंमा दुई वर्षमै मोनो रेल चल्ने । यस्ता अनेक झुटा सपना बाँडेर नेकपा (नेकपा)ले जनतालाई गुमराहमा राख्यो । हावाबाट बिजुली निकाल्ने, घरघरमा पाइपबाट ग्याँस लगिदिने, नेपालमै तेल उत्पादन गरिदिनेजस्ता हौवा फैलाएर जनताको समृद्धि संवेदनालाई बिथोल्ने काम गरियो । या त्यसमाथि खेलबाड गरियो । 

सबैभन्दा ठूलो भ्रम ‘समाजवाद’को छर्न खोजिँदैछ । नेकपाका नेता घनश्याम भुषाल स्वयं भनिरहेका छन् – अहिलेको नेकपा र अहिलेको नेतृत्वबाट समाजवादतर्फ संक्रमण सम्भव छैन । नैतिक, आर्थिक र राजनीतिक आचरणमा पूर्णरूपमा परिशुद्ध दल र इमानदार नेतृत्व सत्तामा नभएसम्म मुलुकमा सुशासन, भ्रष्टाचार निर्मूलीकरण र विकास असम्भव छ भनेर भुषालले भनेका छन् । 

नेकपाले भन्ने गरेको समाजवाद अहिलेकै अवस्थामा किन पनि सम्भव छैन भने अहिलेको सरकारमा समाजवादी आचरण पटक्कै देखिँदैन । समाजवादतर्फ संक्रमण हुनका लागि पुँजीको विकास भएरमात्र हुँदैन, राज्य लोक कल्याणकारी र सामाजिक न्यायमूलक हुनुपर्छ । शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा राज्यको कल्याणकारी सहभागिता हुनुपर्छ । तर, अहिलेको ओली सरकार यसको ठीकविपरीत दिशामा अग्रसर देखिन्छ । 

शिक्षा र स्वास्थ्य माफियाको चंगुलमा परेको कसैबाट छिपेको छैन । राज्यलाई लोक कल्याणकारी बनाउनकै लागि डा. गोविन्द केसीले अनसन बस्दा सरकार २६ दिनसम्म मौन रहन्छ, कसको स्वार्थमा ? सडक निर्माणका कामहरू द्रूत गतिमा हुन नसक्नुमा शासक र निर्माण व्यवसायीको आपसी गठजोड जिम्मेवार छ भन्ने सहजै बुझ्न सकिन्छ । सत्तारुढ दलका नेता नै सडक निर्माणमा अनियमितता गर्ने ठेकेदारको घरमा डेरा जमाइरहेका छन् भने यो सरकारबाट सुशासनको अपेक्षा कसरी गर्न सकिएला ? घोषणा गरिसकिएको सिन्डिकेट तोड्ने कार्य लागु गर्नसक्ने ल्याकत सरकार देखाइरहेको छैन । 

जनतालाई हरेक क्षेत्रमा सह्लियत दिनुपर्नेमा सरकार राणाकालीन या बाइसे चौबीसे राज्यमा लगाइने खालका कर थोपरेर जनताको ढाड सेकिरहेको छ । एउटा भिखारीले बाँच्नका लागि भिख मागेर खाँदासमेत एक हजार रुपैयाँ जरीवाना लगाउनेजस्तो लज्जाजनक प्रावधानका साथ नयाँ मुलुकी ऐन आएको छ र यसको सर्वत्र विरोध भइरहेको छ । प्रेसविरोधी ऐनकै भएकै कारण रुष्ट पत्रकार महासंघले आन्दोलनमा उत्रने उद्घोष गरिसकेको छ । राज्यको चौथो अंगलाई चिढ्याउने सरकार कसरी लोक कल्याणकारी हुनसक्छ ? राज्य लोक कल्याणकारी हैन, झन् झन् लोकमारा हुँदैछ । यस्तो बेला प्रचण्ड या ओलीले भन्ने गरेको समाजवाद पनि अर्को एउटा रातो भ्रम सिवाय केही हैन । 


‘निषेध’को अस्त्र

जब जब रातो भ्रमको पहाडमा पहिरो जान्छ तब तब जनतामा दुई तिहाइको दम्भको पनि ओज घट्दैछ । सरकार गठन भएको आठ महिना नबित्दै जनतामा आफूले दिएको भोटप्रति बिस्तारै पछुतो लाग्न थालेको छ । आफूहरु भ्रम जालमा परेको बोध उनीहरूलाई हुँदैछ । 

पंक्तिकार सानैदेखि कम्युनिस्ट परिवार र पृष्ठभूमिमा हुर्कियो । लामो समयसम्म यो पंक्तिकार पनि के भ्रममा थियो भने कम्युनिस्ट शासन आएमा सबै समस्या समाधान हुन्छन् । केही भ्रमहरू त्यसबेला तोडिए जब बुझियो कि आजको युगमा ‘हार्डकोर कम्युनिस्ट’को शासन सम्भव छैन । आवधिक निर्वाचन, मौलिक हक, स्वतन्त्र न्यायालय, सम्पत्तिमाथिको अधिकार, प्रेस स्वतन्त्रतामात्र हैन, लोक कल्याणकारी र सामाजिक न्यायमूलक लोकतन्त्र भएमा आजको युगमा कुनै पनि देश र त्यसका नागरिकको उन्नति हुन्छ भन्ने बुझेपछि यो पंक्तिकार अचेल क्रान्तिका उत्तेजक नारा या दक्षिणपन्थी पश्चगामी दिशा दुवैको भ्रममा छैन । 

तर, अस्ती चुनावसम्म पनि धेरै नेपालीलाई रातो भ्रमले गाँजेको रहेछ । र, खुसीको कुरा, पंचायती व्यवस्थाको महेन्द्रपन्थीय भ्रम टुट्न तीस वर्ष लागेको थियो, आजको रातो भ्रम तोडिन सात आठ महिना पनि लागेन । आगामी दिनमा यो भ्रम झन् झन छिटो तोडिँदै जानेछ । भ्रम तोडिएपछि जनतामा भ्रामक शक्तिप्रति वितृष्णा जाग्नेछ ।  वितृष्णाले विस्तारै विरोधको रूप लिनेछ र त्यो विरोधको आवेग बढ्दै जानेछ । 

यो कुरा अहिलेका शासकहरुले नबुझेका हैनन् । अतः कसरी हुन्छ, सम्भावित विरोध या विद्रोहलाई निषेध गर्ने दिशामा उनीहरू अग्रसर देखिन्छन् । माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषित गर्नु त्यसकै प्रारम्भिक संकेत हो । राज्यका विविध क्षेत्रलाई अनेक नीति नियम ल्याएर कस्दै जानु अर्को कडी हो । फेसबुकमा सरकारको विरोध गर्नेहरुलाई साइबर क्राइममा थुन्ने धम्की दिनु त्यसकै सिलसिला हो । विदेश जान लागेका संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई अपहरण शैलीमा समातेर प्रधानमन्त्री कार्यालयका गाडी चालकहरूको प्रतिक्षालयमा थुन्नु धाक, धम्की र निषेधकै ज्वलन्त उदाहरण हो । अपहरणकारीलाई कानुनी उपचारको मौका नै नदिई ‘इन्काउन्टर’का नाममा मार्नु राज्यको क्रूर रवैया हो । 

निषेधको राजनीति र भ्रमको खेतीले संसारका कुनै पनि तानाशाहको शासन त टिकेन, आजको साइबर र उत्तर आधुनिक चेतनाको युगमा जटिल भूराजनीतिले गाँजेको नेपालमा दुई तिहाइको दम्भ कहिलेसम्म टिक्ला ? 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ६, २०७५  ०८:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC