विचार
केही समय यता काठमाडौं र आसपासका क्षेत्रमा पार्किन्सन्सका बिरामी बढ्न थालेका छन् । यो रोग पहिले उमेर पुगेका मानिसमा मात्र लाग्छ भन्ने भ्रम थियो । यसलाई मानिसहरूले प्यारालाइसिससँग समेत दाँज्ने गर्थे । तर, पछिल्लो समय यो रोग युवामा पनि देखिन थालेको छ । केहीवर्ष यता यो रोग विशेषगरी ३५ वर्ष देखि ५० वर्ष उमेर समूहका मानिसमा बढेको छ । यो रोग कलिलै उमेरमा पनि देखिने गर्छ । दिमागले डोपामिनको उत्पादन गर्न नसकेपछि मानिसमा यो रोग देखिन थाल्छ । केही मानिसमा भने यो रोग वंशाणुगत पनि हुन्छ ।
पार्किन्सन्स रोग विशेषगरी डोपामिन भन्ने तत्त्वको कमीले लाग्ने गर्छ । दिमागको एउटा कोषिकाले डोपामिन नामक तत्त्व बनाउने गर्छ । यसले शरीरमा लचकता ल्याउनुका साथै शरीरलाई चुस्त राख्न मद्दत गर्छ । त्यसैले यसलाई मोटर डिजिज पनि भनिन्छ । यो दस लाख मानिसमा एक जनालाई लाग्छ । विश्वमा यस रोगका बिरामी पाँच लाखको हाराहारीमा रहेका छन् ।
हातखुट्टा काँप्ने, दिमाग सुस्त हुँदै जाने, बोली लर्बरिने, शरीरले काम नगर्ने पार्किन्सन्सका प्रमुख लक्षण हुन् । पार्किन्सन्स एकपटक लागेमा निको हुन गाह्रो पर्छ । यो साधारणतया दिमागका कोषिकाले डोपामिन बनाउन नसक्दा ५०/६० वर्ष उमेरका मानिसमा देखापर्ने रोग हो । यसले शरीरलाई निस्क्रिय बनाउँदै लैजान्छ । शरीरले राम्ररी काम गर्न सक्दैन । दिमाग सुस्त हुँदै जान्छ । बोली लर्बरिन्छ । अनुहारको चमक कम हुँदै जान्छ । शरीरका अंगहरूले बिस्तारै काम गर्न छोड्छन् । शरीरको मांसपेशी कडा भएर जान्छ । आठदस वर्षमा शरीर पूर्णरुपमा अशक्त हुन्छ ।
पार्किन्सन्स दुई प्रकारका हुन्छन् । एउटा बिस्तारै बितारै असर गर्ने र अर्को छिट्टै असर गर्ने । बिस्तारै असर गर्नेका हकमा यो रोग लागेको व्यक्तिलाई सुरुमा हातखुट्टा काँप्ने, छट्पटाहट हुने गर्छ । बिस्तारै स्डिमेन्सिया हुँदैहुँदै यसले असर गर्न थाल्छ । अन्य रोगका कारण पार्किन्सन्स हुने बिरामीको हकमा भने यसले छिट्टै असर गर्छ । यतिसम्म कि रोग पत्ता लागेको दुई/तीन वर्षभित्रमा शरीरले पूर्णतया काम गर्न छोड्छ ।
यो रोग कीटनाशक औषधिको प्रयोग गर्नेहरूमा पनि बढी देखिने गरेको छ । त्यसबाहेक बक्सिङ्ग खेलाडीहरूमा पनि यो रोग बढी मात्रामा देखिन्छ । बारम्बार टाउकोमा मुक्का हान्दा दिमागका कोषिका मर्न थाल्छन् । फलस्वरूप त्यसले उक्त तत्त्व बनाउन सक्दैन र मान्छेमा यसको लक्षण देखा पर्छ ।
त्यसो त यो रोग मानिसलाई पहिले पनि लाग्ने गर्थ्यो तर यो के हो भन्ने थाहा थिएन । अहिले नयाँ नयाँ उपचार पद्धति आए । मानिसले यसबारे जानकारी पाउन थाले । सजिलै रोग पत्ता लाग्न थाल्यो । उपचार छिटो हुन थाल्यो । नियमित औषधिको प्रयोगले शरीरलाई चुस्त राख्न त मद्दत गर्छ तर यस रोगको दीर्घकालीन उपचार भने खासै छैन । यत्ति हो कि छिटो उपचार भएको खण्डमा मानिसले स्वस्थ जीवन बाच्न पाउँछ ।
पछिल्लो समय नेपालमा डिपब्रेन स्टिमुलेसन्स् (डीबीएस्) प्रविधि भित्रिएको छ । पार्किन्सन्स रोगको औषधिले काम गर्न छोडेमा अथवा औषधिले काम नगरेको अवस्थामा यस प्रविधिको प्रयोग बिरामीमा गरिन्छ । यो मुटुमा राखिने पेसमेकरजस्तै हो । दिमागले काम गर्न छोडेको अवस्थामा मानिसको दिमागमा यो प्रविधि जडान गरिन्छ । यसले दिमागलाई पुनः सक्रिय बनाई पहिले जसरी नै काम गर्न मद्दत गर्छ ।
कन्सल्ट्यान्ट न्युरोलोजिस्ट, ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल, धापासी, काठमाडौं ।
प्रकाशित मिति: बुधबार, असोज ५, २०७३ ०९:३०
प्रतिक्रिया दिनुहोस्