बाह्रखरी
भर्खरै
sticky  ncell
ब्लग प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
फाफुरा २४ गौरवगाथा
ब्रजेश खनाल
बाह्रखरी - ब्रजेश खनाल मंगलबार, साउन २९, २०७५
Laxmi Bank
Laxmi Bank

तपाईंँहरुलाई झरी र बर्खा कस्तो लाग्छ ? फाफुरालाई त वर्षातको समय र यो झरीको मौसम भनेपछि कन्सिरीदेखिका रौंहरु ठाडा भएर आउँछन् । ‘पानी परेको पनि मन नपराउने तँ फाफुरा कस्तो साइँदुवा होस्’ भनेर तपाईँहरु कुर्लिनु होला । खासमा झरी भनेको कारवाला, कवि, किसान र प्रेमीप्रेमिकाका लागिमात्रै रमाइलो कुरो हो । उनीहरुका लागिमात्र यो मौसम प्रेरणदायी, ऊर्वर र उपलब्धिमूलक हो । फाफुराको लागि त वर्षा असाध्यै प्रत्युत्पादक हुन्छ । किनभने यो मौसममा रत्नपार्कको चौरमा टोपीले मुख छोपेर सुत्न सम्भव हुँदैन । 

आँपको रुखमा केरा फल्न सम्भव हुनसक्छ, गुगल ब्वाइलाई गुगलले पेटेन्ट अधिकारका लागि करोडौं डलर तिर्‍यो भन्ने सम्भव होला । सगुन डटकमले फेसबुकलाई विस्थापित गर्न सम्भव होला । यो देश समृद्ध हुनेछ भन्ने कुरा सम्भव होला । पानी जहाज र रेल चल्ने कुरा सम्भव होला । राष्ट्रपति सवारी हुँदा काठमाडौंका सडक जाम हुन छाड्ने पनि सम्भव होला । अरु त अरु, बरु केपी ओलीले कांगे्रस प्रवेश गर्ने कुरा पनि सम्भव होला । तर, रत्नपार्कमा टोपीले मुख छोपेर नसुती फाफुराको मगजमा कुनै फाईँफुट्टी फुर्ने सम्भव हुँदैन । त्यसैले फाफुरा यसपटक हाम्रो दैनिक आवतजावत र सवारीसँग सम्बन्धित काठमाडौं  नरकपालिकाका केही विशिष्टताका बारेमा भलाकुसारी गर्ने मुडमा छ । हाम्रो हिँडडुलको गौरवगाथा ! 

काठमाडौं एउटा प्रजातान्त्रिक सहर हो । प्रजातन्त्रमा सबैलाई समान छुट हुनुपर्छ । त्यसैले यस नरकपालिकामा  बाटोमा हिँड्ने र गुड्नेहरुबीच कुनै पनि भेदभाव हुँदैन । यहाँ फुटपाथबाट भटभटे गुडाउन पाइन्छ । त्यसको साटो फुटपाथ भएको वा नभएको ठाउँमा पनि पैदल यात्रुलाई सडकको बीचमा मस्तसँग हिँड्न खुला छुट प्रदान गरिएको छ । विदेशीहरुको हामी उच्च सम्मान गर्छाैं । त्यसैले दूतावासहरुलाई फुटपाथ ढाकेर पर्खाल लगाउन छुट दिइएको छ । सडक छेउमा पसल हुनेहरुले फुटपाथलाई आफ्नै बाउको बिर्तासरह उपभोग गर्दै सामान फिँजाउन छुट दिइएको छ । सडकमा हिँड्दा दुई, तीन या चारजना पनि सँगै हिँडेको भए बाटोतिर तेर्सो परेर हिँड्न पाइन्छ । सैद्धान्तिक रुपमा हर्न बजाउन निषेध गरिएको भए पनि यस्तो अवस्थामा व्यावहारिकरुपमा कुनै बन्देज छैन । मन लागिन्जेल प्वाँ प्वाँ गर्न पाइन्छ । त्यसको बदलामा बाटो ढाकेर हिँडिरहेका यात्रुहरुले सुनेको नसुन्यै गरेर हिँडिरहने,  फर्केर हेर्दै चालकलाई आँखा तर्ने,  माझी औँला देखाउने, आमाचकारी गाली गर्ने वा अवस्था हेरेर प्वाङपुङ बक्सिङ हान्नेसम्मका कारबाही गर्न पाउनेछन् ।
 
यहाँ सबै सवारी चालकहरुले नबिराइकन पालना गर्ने एउटै नियम छ – त्यसलाई ‘पपुटा’ नियम भनिन्छ । ‘पपुटा’ अर्थात् ‘पल्याक–पुलुक टाप’ । यहाँ कुनै पनि नियम भनेको ट्राफिक प्रहरीले देख्ने ठाममा मात्र पालना गर्ने कुरा हो । सजायको डर नहुने ठाउँमा कसैले कुनै नियम मान्नुपर्ने कर छैन । सवारी चालकहरुले ‘पपुटा’ मान्छन् भने ट्राफिकहरु पनि अर्को नियम पालना गर्छन् भन्ने चाहिँ हेक्का राख्नुपर्छ । त्यसलाई ‘बपनि माजा’ भन्छन् । अर्थात ‘बल्ल पर्‍यो निरमाया माकुरी जालैमा’ । यो उनीहरुको प्रिय लोकगीतबाट लिइएको हो । उनीहरु पनि चालकहरुलाई नियम पालना गराउनभन्दा तिनीहरुलाई समात्न पाउनुमा बढी रमाइलो मान्छन् । त्यसैले उनीहरु बेलाबेलामा मौसमअनुसार फरकफरक कुरामा कडाइ गर्नेमा विश्वास गर्छन् । एउटा कुरामा कडाइ गर्ने अवधिमा अरु कुरामा मतलब गरिन्न । नम्बर प्लेटको अवस्था, सिट बेल्ट लगाए नलगाएको, लेन पेलेको, प्रदूषण पास गरेको नगरेको बारे जाँच गर्ने इत्यादि यो प्रवृत्तिको गौरवशाली उदाहरण हो । ‘बपनि माजा’ अन्तर्गत उनीहरु मोडमा, झाडीमा, अँध्यारो कुनामा, एकतर्फी बाटोको अन्तिम छेउमा माकुरीका लागि जाल बुनेर लुकेर बसेका हुन्छन् । हातमा चिटको प्याड र कलम हमेसा तयार अवस्थामा हुन्छ । यता जालमा सिकार पर्‍यो, उता उनीहरु बुर्लुक्क उफ्रेर चटक गरेजसरी उत्पत्ति भै हाल्छन् । त्यति थाहा पाएर पनि पुराना खेलाडीहरु ‘आज त म फेला पर्दिनँ’ होला भनेर ‘पपुटा–पपुटा’ खेलिहाल्छन् । बग्गीखाना जानुभयो भने त्यहाँ हरेक दिन जरिवाना तिरेर अनुमतिपत्र छुटाउन आउनेहरुको अपार भिड देख्नुहुन्छ । तीमध्ये कुनै महेन्द्र बाहुबली छाती फुलाएर भन्दै हुन्छ –  “यही महीनामा लेन पेलेर यहाँ आएको मेरो तेस्रो पटक हो ।” 

Rohto Landing

Agani Group

लेन पेल्नेकोभन्दा बढी इज्जत मापसेवालाको हुन्छ । मापसे कारबाहीमा परेर अनुमतिपत्रमा प्वाल पर्नु भनेको साथीभाइको बीचमा पौरखको बयान गर्ने कुरा हो । जसरी प्रहरीको काँधमा लाग्ने फुलीमा जति धेरै तारा लाग्दा ऊ त्यति नै ठूलो अधिकारी मानिन्छ त्यसरी नै सवारी चालकहरुको अनुमतिपत्रमा जति धेरै प्वाल भयो, ऊ त्यति नै ठूलो ‘मर्द’ मानिन्छ । कुनै अमरेन्द्र बाहुबली अर्को सुरापानको पारखीलाई इख्याउँदै भनिरहेको हुनसक्छ,
– “तपाईँको लाइसेन्समा जम्मा दुइटा प्वाल ? मेरोमा त चारवटा भैसक्यो ।”
सार्वजनिक यातानायातका सवारी चालकहरुको हकमा त यो सहर झनै बढी उदार र प्रजातान्त्रिक छ । अधिकांश त्यस्ता सिन्डिकेट ठूला नेता, तिनका आसेपासे वा तिनले पालेका डन भनिने गुण्डाहरुको हातमा हुने भएकाले तिनलाई जे गर्ने पनि छुट हुन्छ । त्यसैले सडकमा हिँड्दा वा सवारी चलाउँदा त्यस्ता सार्वजनिक सवारी साधनहरुसँग मानिस गोविन्द केसीको अनशनसँग सरकार डराएभन्दा बढी डराउनुपर्छ । 

यो सहरमा जेब्रा क्रस र योग्य नेता दुवै उत्तिकै दुर्लभ वस्तु हुन् । हरेक स्थानमा बाटो काट्न जेब्रा क्रस बनाइदिन सम्बन्धित सरकारी निकाय कसैको बाबुको नोकर हैन । आवश्यकता हेरेर होइन, सडक विभागका कर्मचारीहरुले आफ्नो मुडअनुसार जनी गरेर कतैकतै त्यस्ता जेब्रा क्रस बनाइदिन सक्छन् । हुँदाहुँदा कतिसम्म त भने बाटोको दुवैतिर पर्खाल भएको ठाउँमा बनाइएका जेब्रा क्रसहरुका बारेसमेत कसैले प्रश्न उठाउन पाउँदैन । कुनै दिन आकाशतिर फर्केको जेब्रा क्रस बनेछ भने पनि त्यसमा अचम्म नमाने हुन्छ । तपाईँलाई हरेक बाटो काट्ने स्थानमा जेब्रा क्रसजन्य विलासिताको सोख छ भने बीस मिटरको कालो कपडामा सेतो धर्का पोतेर आफैँ काखी च्यापेर हिँड्नुहोला । जहाँ बाटो काट्नु छ त्यहीँ फुकाएर पारीसम्म फैलाउनुस्, बाटो काट्नुस्, पारी पुगेर फेरि बेर्नुस् । आफ्नो जेब्रा क्रसको सुरक्षा आफैँ गर्नुहोला । जेब्रा क्रस भएको स्थानमा पनि त्यहीँबाट बाटो काट्नुपर्छ भन्ने तानाशाही व्यवस्थाको काठमाडांै घोर भत्र्सना गर्छ । तपाईँको कारमा पो ब्रेक हुन्छ । ब्रम्हाले अझैसम्म ब्रेक हालेर मान्छे बनाएका छैनन् । मानिस अरु ठाउँबाट बाटो काट्न स्वतन्त्र छन् । त्यसैगरी सवारी चालकहरु पनि जेब्रा क्रसमा झनै गति बढाउन र बाटो काटिरहेकाहरुलाई पेल्न स्वतन्त्र छन् । 

sarbottam cement

कतैकतै जनी गरेर बनाइएका आकाशे पुलको सम्बन्धमा पनि लोकतान्त्रिक नियम लागु हुन्छ । तपाईँ हामीलाई अरु काम छैन र ? हाम्रो अमूल्य समय बीसौं खुड्किला चढ्न, पुल तर्न र फेरि त्यति नै खुड्किला ओर्लनमा खर्च गर्न थाल्यौँ भने देश चाहिँ कसले बनाउँछ ? कहिले बनाउँछ ?  कसरी आउँछ समृद्धि ? त्यसैले वटुवाहरु त्यस्ता पुललाई बहिष्कार गरेर सडकबाटै बाटो काट्न स्वतन्त्र छन् । हो, फुर्सद भएको बेला माथि चढेर तल गुडिरहेका गाडी हेर्न हामी त्यसको प्रयोग गर्न सक्छौँ । नत्र, त्यस्ता पुलहरु भनेको सामान फिँजाएर बेच्न बस्ने व्यापारीहरुका लागि सुरक्षित गरिएको मान्नुपर्छ । महानगरमा अर्को दुइटा कुराको पनि अभाव स्पष्ट अनुभव हुन्छ । एक, यहाँका मेयर । दुई सार्वजनिक शौचालय । त्यसैले आकाशे पुलका कुना च्यापेर लघुशंका गर्ने छुट पनि नागरिकहरुलाई दिइएको छ । साँझ बिहान घरका फोहोरहरु लगेर मिल्क्याउनका लागि पनि काठमाडौंका सडक तथा खोला उपयुक्त स्थान हुन् । मन खोलेर यो सुविधाको उपयोग गर्न सकिनेछ ।

यहाँ गाडी किन्ने मानिसहरुले मात्र दुइवटा कुरा जाँच गर्ने चलन छ । हर्न बज्छ कि बज्दैन, अनि झ्यालको ऐना सजिलोसँग खुल्छ कि खुल्दैन । किनभने हाम्रो सबैभन्दा ठूलो आवश्यकता भनेको तारन्तार छिनछिनमा थुक्नु हो । पाँच या दश मिनेटमा एक पटक थुक्न पाएन भने हाम्रो गाथमा आराम हुँदैन । आफ्नो स्वास्थ्यको हेरचाह गर्नु हाम्रो अधिकार हो । त्यसैले पैदल यात्रु, मोटरसाइकल चालक वा चारपाँग्रे चालक सबैले कुनै पनि बेला दायाँ बायाँ नहेरी पिच्च पार्न सक्नेछन् । अगाडि गइरहेकोले त्यसरी थुक्दा तपाईँलाई पर्‍यो भने त्यो तपाईँको दोष मानिनेछ । किनभने त्यसलाई छल्ने पूर्वतयारी गर्न नसक्नु थुक्ने मानिसको दोष हैन । तपाईँलाई त भगवानले अगाडि आँखा दिएकै छन् नि ! उसको पछाडि आँखा छ र ? यसैगरी तपाईँ आफूले पनि थुकेर पछाडिको मानिसलाई पार्न सक्नुभयो भने हिसाबकिताब फच्या भएको मानिनेछ । सक्नु भएन भने तपाईँको आफ्नो नालायकी हो । तसर्थ चाँडै नै ड्राइभिङ सिकाउने स्थानहरुमा थुक कसरी छल्ने भनेर पनि अभ्यास गराइने व्यवस्था हुँदै छ । भटभटे चलाउँदा चलाउँदै खल्तीबाट मोबाइल फोन निकाल्ने, गति कम नगरी चिम्सा आँखाले नम्बर हेर्ने र फोनलाई हेलमेटको चेपमा अडाएर आफ्नो अति महत्त्वपूर्ण वार्तालाप गर्ने अद्भूत कलाका लागि ओलम्पिकमा प्रतिस्पर्धा हुने हो भने स्वर्ण पदक नेपालीबाहेक अरुले चिहाउनै पर्दैन । 

राति सवारी चलाउँदा हाइ बिममै चलाउनु पर्छ । जसले जति माथि फर्काएको जति चहकिलो हेडलाइटल प्रयोग गर्न सक्यो, त्यो त्यति नै बहादुर मानिनेछ । उताबाट आउनेको आँखा तिरमिर पार्न सक्नु वीरताको द्योतक मानिनेछ । यसलाई नियन्त्रण गर्न खोज्दा वीर बत्ती बालकहरुको तर्क हुने गर्छ – ‘हरेक बाटोमा खम्बामा उज्यालो  बत्ती हाल्न सक्नुप¥यो नि त सरकारले ।’ यसलाई नजिर मानेर भोलिदेखि चोर र लुटेराहरुले प्रहरीले गस्ती नगरेका हरेक गल्लीमा चोरी र लुटपाट गर्न पाउने आफ्नो अधिकार पनि सुरक्षित गर्न सक्नेछन् ।

महानरकपालिकाका यी र यस्तै अरु विशिष्ट पहिचानहरुको बारे मनमनै गम्दै हिँडिरहेको फाफुराले मेलम्चीले खनेर छोडेको एउटा खाल्डो हेक्का गर्न सकेन । झरीको पानीले भरिएको खाल्टोमा च्युँडोसम्म डुबेको फाफुरा सोच्दै थियो, संसारमा अरु कहाँ यस्तो प्राकृतिक ज्याकुज्जीको व्यवस्था भएको सहर होला र ? उसले मनको गहिराइदेखि यहाँका नीतिनिर्माता, सम्बन्धित निकायहरु र विशेषगरी यस नरकपालिकाका सबैभन्दा ठूला पदाधिकारीलाई मुरीमुरी धन्यवाद दियो । 
 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, साउन २९, २०७५ मा प्रकाशित
TATA Landing
Dishhome
TATA Landing
Dishhome
प्रतिक्रिया दिनुहोस्