site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सच्चिएला नेपाली कांग्रेस ?

नेपाली कांग्रेस सच्चिएला ? यो प्रश्न सबैभन्दा पहिले सभापति शेरबहादुर देउवालाई सोध्नुपर्छ । उनले पनि जवाफ व्यवहारमा नै दिनुपर्छ । त्यसपछि वरिष्ठ नेता र अन्य पदाधिकारीलाई क्रमशः प्रश्न जान्छ । कांग्रेस नसच्चिए हुन्छ के ? यो जिज्ञासामा भने कांग्रेसजनबाहेक राजनयिक र नागरिक समाजले सोच्न जरुरी छ । कसरी सँच्चिने हो कार्यकर्ताले हेक्का राख्नुपर्छ । तर, सबैभन्दा पहिले कांग्रेस  कहाँ चुक्यो र बिग्रियो भन्ने समस्या पहिचान गर्नु जरुरी हुन्छ । पार्टीभित्र इच्छाशक्ति भएमात्र सच्चिने उपाय खोज्न सकिएला । 

अहिले कांग्रेस नेताहरूले दुईवटा थेगो प्रत्येक कार्यक्रममा दोहोर्याइ, तेहेर्याइ भन्न थालेका छन् । एउटा पार्टी एकता, अर्को कम्युनिस्ट सरकारको अधिनायकवादी व्यबहार । यिनै विचारको सेरोफेरोमा ती नेताको भाषण तानिएका र लम्बिएका हुन्छन् । ‘पार्टी एकता’ वा ‘गुटबन्दी अन्त्य’को आग्रह पार्टी सभापतिदेखि सबैले आआफ्नो अनुकूल उपयोग गरिएको शब्द हो । गुटबन्दी कार्यकर्ताको तल्लो पंक्तिसम्म पुर्याइएको भए पनि केही पदाधिकारी र सदस्यसमेत कार्यकर्ताको ठूलो समूह गुटबन्दी चाहँदैनन् । नचाहनेहरू गुट,  उपगुटको दबदबा छिचोल्न नसक्ने अवस्थाले थिचिएका छन् । गुटबन्दीको सहउत्पादन तेरोमेरोबाट हुने गरेको पक्षपातले वाक्कदिक्क कार्यकर्ताको जत्था पनि ठूलै भइसकेको छ । गुटबन्दी कार्यकर्ताको होइन नेताहरूकै उपज हो । निष्ठावानभन्दा स्वार्थी समूहले गुटउपगुटलाई मलजल गर्ने नै भयो । 

पहिलो, गुटबन्दी पीडित कांग्रेस नेताको एकता आग्रह, अनि अधिनायकवादी प्रवृत्ति । कांग्रेसमा आन्तरिक प्रजातन्त्रको कमी लामो समयदेखि बहसको विषय हो । यसलाई कांग्रेसकै नेता, कार्यकर्ताले उजागर गरेका हुन् । आन्तरिक प्रजातन्त्र खस्केको र गुटबन्दी मौलाएको कारण के हो ? नेतृत्वको कौशलहीन अनुदार कार्यशैली यसको कारण हो । अहिलेको नेतृत्वसँग कतै सच्चिने इच्छा वा सम्भावना छ भने त्यही हानीकारक कार्यशैली सच्चिनु पर्ने पहिलो आवश्यकता हो । सच्चिएको उदार छविसँगै आदर्श एवं कार्यकर्ताको रक्षक हुने प्रत्याभूति दिएमात्र नेताहरूको एकता अनुरोधले काम गर्नेछ । जो सच्चिएको बाटो हिँड्न खोज्छ कांग्रेसको भावी नेता उही हुन्छ । आफू नसुध्रिई अरूलाई वा अर्काको भय देखाएर गरिने एकताको आग्रह क्षणिक होला तर दूरगामी परिणामको हुनेछैन । 

Prabhu Bank
Agni Group
NIC Asia

स्थानीयदेखि प्रादेशिक र संघीय चुनावको पराजयलाई गम्भीर समीक्षा गरेको जानकारी बौद्धिक समुदायलाई समेत दिन नसकेको कांग्रेसले अहिलेसम्म कुनै रणनीति र नयाँ एजेन्डा तय गरेको पनि देखिएको छैन । चुनावको बेला आफ्ना भातृ संस्थासमेतलाई प्रभावकारी परिचालन गर्न नसकेको परिणाम कम्युनिस्ट एकतालाई मात्रै देखाएर पुग्दैन । न पराजयको दोष पार्टीभित्रको अन्तर्घातलाई दिएर नै नेतृत्व पन्छन मिल्छ । अन्तर्घातभन्दा टिकट वितरणमा खोट थियो कि ?

विगतका कमजोरीलाई पन्छाएर कांग्रेस सच्चिनै पर्छ । सच्चिने अवसर पनि छ । सरकारबाट फुर्सद पाएको कांग्रेसले जतिसक्दो चाँडो आफ्नो विधान र नियमलाई समयानुकूल बनाएर संगठन सुदृढीकरणमा जुट्नु पर्ने हो । सबैलाई समेटेर गुट उपगुटको व्यवस्थापन गर्ने बेला पनि जुरेको छ । कुनै पनि राजनीतिक दलभित्र समूह हुन्छन् । विचार वा व्यवहार मिल्ने कारण कुनै नेताकार्यकर्ता कोही नेताकार्यकर्तासँग नजिक हुन पुग्छन् । स्थानीय, क्षेत्रीय अथवा भौगोलिक  कारण कतिपयको सामिप्य हुनसक्छ । तर, त्यस्तो निकटता स्वार्थी समूहको गुटबन्दीमा फैलनु हुँदैन । नेताले दल र कार्यकर्ताप्रति, कार्यकर्ताले नेता र दलप्रति समभाव राख्ने अवस्था बन्नु र बनाइनु पर्छ । नेताले बनाएको गुट नेताले नै तोड्न सक्छन् । गुटको कित्तामा टाँसेर पार्टीप्रति इमानदार कार्यकर्तालाई भित्तामा पुर्याउनु भएन । कार्यकर्ताले पनि कुनै नेताको अनावश्यक ताबेदारी नगर्नु नै बेस !  यस दिशातर्फको कदम नै कांग्रेस सच्चिनुको पाटो र बाटो दुवै हो । 

Global Ime bank

नेपाली कांग्रेस नसच्चिए हुन्छ के ? यसका दुई सम्भावनामध्ये पहिलो अधिनायकवादको प्रभुत्व कायम हुन्छ । दोस्रो नेतृत्वको वा कांग्रेसकै विकल्प खोजिनेछ । कांग्रेसमा आन्तरिक प्रजातन्त्र जेजस्तो अवस्थामा होस् तर मुलुकको राजनीतिमा प्रजातन्त्र र नागरिक स्वतन्त्रताको पक्षमा ऊ दृढ छ । कांग्रेसको आदर्श नै यही हो । कमजोर जुनसुकै कारणले भए पनि प्रतिपक्ष कमजोर हुँदा नै प्रजातान्त्रिक व्यवस्था भएका मुलुकमा तानाशाही शासन लादिएका छन्  । यतिबेला नेपालमा विचार र प्रशिक्षणले कम्युनिस्ट नाम र संस्कारको सरकार छ । जसको सैद्धान्तिक धरातल एक दलीय अधिनायकवाद नै हो । संविधानमा बहुलवाद लेख्न यही एक दलीय सिद्धान्तले यिनलाई गाह्रो परेको थियो । 

एक दलीय विचारको ज्यादै बलियो सरकार र बहुलवादी विचारको कमजोर प्रतिपक्ष नेपालको प्रजातान्त्रिक प्रणाली भन्नोस् वा लोकतान्त्रिक नागरिकलाई कडा चुनौती र जोखिम हो । यस्तो चुनौतीको सामनाका लागि रणनीतिक योजनासहित गतिशील संगठनको तयारी गरेन भने कांग्रेसले लोकतान्त्रिक जनमतको रक्षा गर्न सक्तैन । परिणाम, पार्टीभित्रै नेतृत्वको र देशमा लोकतन्त्रको रक्षाका लागि कांग्रेसकै विकल्प खोजिन बेर लाग्दैन । कांग्रेसजन सजग हुन आवश्यक छ । 

अहिले नै संघर्ष गनुपर्ने होइन । कांग्रेसको प्राथमिकता जनमत निर्माण र संगठन व्यवस्थापन नै हुनुपर्ने थियो । तर, सरकारले केही अलोकतान्त्रिक कदम चालेका कारण कांग्रेसलाई संघर्ष बाध्यता भइदियो । सबैको साझा हुन प्रयत्न गर्नुपर्ने सरकारले उल्टै अनेक क्षेत्रमा राजनीतिकरणमात्रै होइन, थप कम्युनिस्टीकरण गर्न थाल्यो । प्रधानमन्त्रीको मोह एकल वा केन्द्रीकृत शक्ति आर्जनतर्फ देखियो  । निर्वाचनको मतलाई प्रतिपक्ष वा भिन्न मतप्रति उपेक्षा गर्न पाउने हतियार बनाइयो । सुध्रिने बेला छ तर यस्तो सरकारी रबैया नसुध्रिए कांग्रेसले दोहोरो भूमिका – सडक संघर्ष र संगठन कार्यलाई सँगसँगै गर्नुपर्ने भयो ।     विचार नै संगठन हो, संगठन विचारको संवाहक । नेपाली राजनीतिमा मौलाएको विचारहीनताले कांग्रेस पनि ग्रसित हुँदैछ । सत्ताले संगठन चुसेको भुत्ते कांग्रेसलाई यतिबेला वैचारिक धार उद्याउने वा उजिल्याउने समय छ । आन्तरिक बहस, प्रशिक्षण र प्रकाशन जिरोबाट दोहोरो, तेहोरो अंकमा बढाउने अवसर छ । 

नेपाली कांग्रेसले जरुरी तयारी नगरे लोकतान्त्रिक संविधानमाथि दुई तिहाइको डन्डा बर्सिने सन्देश आइसकेको छ । संविधान उल्लंघनको सुरु सरकारले आरम्भदेखि नै गर्यो । प्रतिनिधि सभा सदस्यको शपथ  नै नलिई तत्कालीन नेकपा (एमाले) अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पदको शपथ लिनु संविधान र नियमको उल्लंघन थियो । पार्टी दबाब अथवा बाध्यता वा दलीय संमोहन किन हो ? संविधानको संरक्षक राष्ट्रपतिले पनि विधि सच्याउन उनलाई निर्देश गर्नुभएन । संविधानको उल्लंघन भएको विषयमा त राष्ट्रपतिलाई निर्देशन दिने अधिकार हुनुपर्ने हो ।  

सरकारी स्वेच्छाचारिता सबै निकाय वा पेसा व्यवसायको स्वतन्त्रतामाथि दुई तिहाइको ग्रहण साबित हँुदैछ । आरम्भबाटै संविधानको उल्लंघनको निरन्तरताले अन्ततः प्रजातन्त्र र राष्ट्रियता दुवै जोखिममा पर्नेछन् । त्यसपछि मौलिक नागरिक अधिकारमात्रै कसरी जिउँदो बच्ला र ? यसकारण कांग्रेस सच्चिनै पर्छ । बढ्दो जोखिम रोकेर देश, लोकतन्त्र र नागरिक सम्प्रभूता जोगाउन कांग्रेस सच्चिनुको विकल्प यतिबेला छैन ।                
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १७, २०७५  ०८:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC