हालैको निर्वाचनमा इमरान खानको विजयमा सेवा सुविधामा सुधार र भ्रष्टाचार नियन्त्रणको चाहना राख्ने युवाको मुख्य योगदान रह्यो । परन्तु, के यी महान् क्रिकेटरले आफ्ना वाचा पूरा गर्न सक्लान् त ?
क्रिकेटबाट राजनीतिमा आएका इमरान खान पाकिस्तानका नयाँ प्रधानमन्त्री हुनेछन् । यही जुलाई २५ मा भएको निर्वाचनको मतगणना तीन दिनमा सकियो र खानको नेतृत्वको ‘पाकिस्तान तहरि ए इन्साफ (पीटीआई) विजयोन्मुख भयो । सरकार गठनका लागि कुनै दल वा दलहरूको गठबन्धनले पाकिस्तानको संसद् नेसानल एसेम्बलीका १३७ सदस्यको समर्थन हासिल गर्नुपर्छ । खान यो संख्याको नजिकै पुगेका छन् । निर्वाचनमा १ सय १५ स्थानमा विजयी भएको पीटीआईले अरू आधा दर्जन साना पार्टी र स्वतन्त्र सांसदहरूको समर्थन हासिल गर्नुपर्छ । सम्भवतः पाकिस्तानको ७१ औं स्थापना दिवस १४ अगस्टभन्दा पहिले नै खानले शपथ ग्रहण गर्नेछन् ।
आफ्ना निकट सल्लाहकारहरूसँगको कुराकानीमा र जनसभाहरूमा सम्बोधन गर्दा पनि नवनिर्वाचित प्रधानमन्त्री खानले भन्ने गरेका छन् – क्रिकेट खेलाडी भएका नाताले उनले अन्तिम बलभन्दा पहिले खेल समाप्त हुँदैन भन्ने बुझेका छन् । अर्कातिर भने उनी राष्ट्रिय टेलिभिजनमा नयाँ पाकिस्तान निर्माण गर्ने वाचा पनि गरिरहेका छन् ।
पाकिस्तानले संसारकै ठूलो लोकतान्त्रिक अभ्यासमध्येको एउटा प्रक्रिया पूरा गरेको छ । नेसनल एसेम्बली र ४ वटा प्रान्तीय सभाहरूको निर्वाचनका लागि १० करोड ६० लाख मतदाताहरू सूचीकृत गरिएका थिए । यीमध्ये ५ करोड ६० लाख अर्थात् ५३ प्रतिशत जतिले मतदान गरे । मतदाताहरूले नेसनल एसेम्बलीका २ सय ७० सदस्य निर्वाचित गरे । निर्वाचनका क्रममा भएको हिंसामा २ जना उमेदवार मारिएकाले ती दुवै स्थानमा निर्वाचन स्थगित भएको थियो । संसद्मा ६० महिला र १० जना अल्पसंख्यक समुदायका प्रतिनिधि प्रादेशिक सभाबाट छानिएपछि संसद्मा ३ सय ४२ सदस्य हुन्छन् ।
नेसनल एसेम्बलीको प्रत्यक्ष निर्वाचन हुने २७२ स्थानमा ३ हजार ६०० भन्दा बढी अर्थात् एक स्थानका लागि सरदर १३ जना उमेदवारले प्रतिस्र्धा गरे । राजनीतिक अवस्थाको मापनका लागि यो एउटा उपयुक्त मानक हो । लोकतन्त्रको अपेक्षाकृत कम विकास भएको राजनीतिक प्रणालीमा दलगत अनुशासन कमजोर हुने हुनाले निर्वाचनमा उमेदवारको संख्या नियन्त्रण गर्न कठिन हुन्छ ।
पाकिस्तानी राजनीति पार्टीहरूको संख्याकै भिड पनि बढी नै छ । यो अविकसित राजनीतिक व्यवस्थाको अर्को लक्षण हो । सन् १९९६ मा खानले स्थापना गरेको पीटीआईबाहेक अरू दुईवटा दलले पनि ठूलो जन समर्थन पाएका छन् । सन् १९०६ देखिको इतिहास जोडिएको पाकिस्तान मुस्लिम लिग (नवाज) सबैभन्दा पुरानो पार्टी हो । अविभाजित भारतमा बेलायती शासनमा मुसलमानहरूको आर्थिक र राजनीतिक हितको रक्षाका लागि यसको स्थापना गरिएको थियो । पाकिस्तानका संस्थापक मुहम्मद अली जिन्नाको नेतृत्वमा मुस्लिम लिगले मुसमानहरूका लागि छुट्टै राष्ट्रका रूपमा पाकिस्तानको स्थापनाका लागि अभियान चलाएको थियो । सन् १९४७ मा स्वतन्त्र पाकिस्तानको स्थापनापछि भने मुस्लिम लिगका अनेकौं अवतार देखा परे । मुस्लिम लिगको सबैभन्दा पछिल्लो अवतार पूर्व प्रधानमन्त्री नवाज सरिफको नेतृत्वको पार्टी हो । यही पार्टीको अहिले नवाजका भाइ सहबाजले नेतृत्व गर्छन् ।
पाकिस्तानको अर्को प्रमुख राजनीतिक शक्ति पाकिस्तान पिपुल्स पार्टी (पीपीपी)को स्थापना सन् १९६७ मा जुल्फीकर अली भुट्टोले गरेका हुन् । पाकिस्तानका प्रथम सैनिक शासक जेनरल अयुब खानसँग चीन, भारत र अमेरिकालाई हेर्ने दृष्टिकोणमा मतभेद भएपछि भुट्टोले आफ्ना राजनीतिक गुरु खानको मन्त्रिपरिषद्बाट राजीनामा गरेर पीपीपी बनाएका थिए ।
हालै सम्पन्न आमनिर्वाचन पाकिस्तानको ११ औं चुनाव हो । अहिलेसम्म सन् २००८ र २०१३ को निर्वाचनमात्र खुला र लोकतान्त्रिक वातावरणमा भएका छन् । यी दुवै निर्वाचनमात्र शान्तिपूर्ण र व्यवस्थितरूपमा सत्ता हस्तान्तरण भएको थियो । सन् २००७ को डिसेम्बरमा निर्वाचन अभियानका क्रममा मारिएकी पूर्व प्रधानमन्त्री बेनजिर भुट्टोका पति आसिफ अली जर्दारीको नेतृत्वमा सन् २००८ को चुनाव पीपीपीले जितेको थियो । सन् २०१३ को निर्वाचन पाकिस्तान मुस्लिम लिग (नवाज)ले जित्यो र नवाज सरिफ प्रधानमन्त्री भए । सन् २०१७ पनामा पेपर्समा सरिफ थुप्रै आर्थिक घोटालामा संलग्न भएको खुलासापछि उनलाई मुद्दा चलाइयो र पदमुक्त गरियो । यसै वर्षको सुरुतिर पाकिस्तानको सर्वोच्च अदालतले उनलाई आजीवन सार्वजनिक पदधारण गर्न प्रतिबन्ध लगायो भने अगिल्लो महिना उनलाई १० वर्षको कैद सजाय तोकिएको छ ।
यसपटकको चुनाव मूलतः ३ लाख ७० हजार सैनिक मतदान केन्द्रमा तैनाथ गरिएका कारण अपेक्षाकृत शान्त वातावरणमा भयो । हुनत, मतदानमा धाँधली रोक्नका लागि पनि सेना तैनाथ गरिएको थियो । खान र उनका समर्थकहरूले सरिफको सरकारको वैधतामा चुनावमा धाँधली गरेको आरोप लगाएर सधैँ प्रश्न गर्ने गरेका थिए । अहिले पनि निर्वाचनमा पराजित दलहरूले चुनावमा धाँधी गरिएको दाबी गरिरहेका छन् ।
पीटीआईको सफलतमा केही पक्षको योगदान रहेको छ । सुरुमा पार्टीले पाकिस्तानका सहरी युवामा आफ्नो उपस्थिति बढायो । एक त सरदर २५ वर्ष उमेर भएका कारण पाकिस्तानको युवा जनसंख्या विश्वकै ठूला मध्येमा पर्छ भने अर्कातिर युवकहरूको सहरतर्फ बसाइँसराइका कारण लाहोर र कराँचीमा युवा जनसंख्याको अनुापत ७० – ७५ प्रतिशत पुगेको छ । यी युवामध्ये अधिकांशको आकांक्षा मुस्लिम लिग वा पीपीपी कुनैले पनि पूरा गरेनन् । खानले भने राम्रो कमाइ हुने रोजगारी, शिक्षा, स्वास्थ्य र सहरी यातायात सुविधा उपलब्ध गराउने प्रतिज्ञा गरे । कराँची महानगरमा पीटीआईका उमेदवारले पुराना दलहरूलाई पछारेर विजय यात्रा सुनिश्चित गरे ।
खानको भ्रष्टाचारविरुद्धको अथक आन्दोलनले पनि युवा मतदाताको समर्थन हासिल ग¥यो । उच्च स्तरको अनियमितता र भ्रष्टाचारमा निगरानी राख्न पाकिस्तानका चौथा सैनिक शासक राष्ट्रपति परवेज मुसर्रफका पालामा स्थापना गरिएको न्यायिक अधिकारसहितको निकाय नेसनल एकाउन्ट्याबिलिटी ब्युरोले जर्दारी र सरिफ दुवैमाथि भ्रष्टाचारको आरोप लगाएको थियो । यस निर्वाचनमा सरकारी भ्रष्टाचार र युवाहरूले चाहेको सेवा र वस्तुको आपूर्तिको विफलताबीच सम्बन्ध स्थापना गर्न खान सफल भए ।
निर्वाचनले अरू दुई विषय पनि उजागर गरेको छ । पहिलो, धेरैले विश्वास गरेजस्तै जेनरललाई मनपर्ने अहिलेको निर्वाचन परिणाम हासिल गर्न सेनाको संलग्नता कति छ ? दोस्रो, राज्य सञ्चालनमा न्यायपालिकाको आक्रामक सक्रियताको दीर्घकालीन असर के के हुनेछन् ? यी दुवै प्रश्नको उत्तर आउन समय लाग्नेछ । तर, खानलाई सेनाको मन पराएको छ भन्नेमा सबै सबैको सहमति देखिएको छ । विदेशी सञ्चार माध्यममा यही अवधारणा स्वीकार्य भइसकेकाले खानको सरकारप्रति अन्तर्राष्ट्रिय धारणा पनि यसैले तय गर्नेछ ।
(पाकिस्तानका पूर्व विदेशमन्त्री)
(बाह्रखरी र प्रोजेक्ट सिन्डिकेटको सहकार्य)
Copy Rights : Project Syndocate, 2018