स्पष्ट बहुमत नपाए पनि तहरिक ए इन्साफ पार्टीले पाकिस्तानको संसद्मा सबैभन्दा धेरै स्थानमा विजय हासिल गरेको छ । पाकिस्तानको संसद्को २७५ स्थानमध्ये तहरिक ए इन्साफले ११७ स्थानमा विजय हासिल गरेको छ छिटै नै पार्टीका नेता पूर्व क्रिकेटर इमरान खान प्रधानमन्त्री हुने बताइएको छ । पाकिस्तानको निर्माण नै अनुदार धार्मिक कट्टरताको जगमा भएको छ । यसैले लोकतन्त्र पाकिस्तानमा भारतमा जस्तो संस्थागत हुन पाएन । यद्यपि, भारतमै पनि लोकतन्त्रको मूल्य मान्यता संकटमा परेको देखिन थालेको छ । धर्म राष्ट्र निर्माणको आधार बन्न सक्तोरहेनछ भन्ने त बंगलादेशको स्वतन्त्रताबाटै पुष्टि भइसकेको छ । दुर्भाग्य, अझै पनि पाकिस्तानमात्र हैन भारतमा समेत धार्मिक प्रभुत्व राजनीतिको मूल प्रवाह बनिरहेको छ र छरछिमेकमा समेत कुनै न कुनै प्रकारको साम्प्रदायिक राजनीतिको संक्रमण फैलने जोखिम बढेको छ ।
पाकिस्तानको चुनाव अपेक्षाकृत बढी नै हिंसात्मक हुनेगरेको छ । यसपटक पनि अपवाद भएन । पहिलेका ठूला दलहरू पाकिस्तान पिपुल्स पार्टी र मुस्लिम लिग (एन) क्रिकेटबाट राजनीतिमा आएका र सेना तथा कट्टरपन्थीहरूको समर्थनमा राजनीतिमा अगाडि बढेका ६५ वर्षीय इमरान अहमद खान निजाइको नेतृत्वको पाकिस्तान तहरिक ए इन्साफ पार्टी सबैभन्दा ठूलो पार्टी हुन पुग्यो । केही महिना पहिले तत्कालीन प्रधानमन्त्री नवाज सरिफमाथि भ्रष्टाचारको मुद्दा लागेपछि अदालतले उनलाई पदमुक्त गरेको थियो । अन्तर्राष्ट्रिय स्तरमा भएको भ्रष्टाचारको खुलासामा सरिफ र उनको परिवारका सदस्यहरुको नाम मुछिएपछि इमरान खानले आन्दोलन पनि गरेका थिए । अदालत र जनता दुवैको आदेश सरिफका विरुद्धमा प्रकट भयो । सरिफ र यनकी छोरी अहिले भ्रष्टाचारकै कसुरमा थुनामा छन् । बिलावल भुट्टो जर्दारीको पिपुल्स पार्टी त यसै खुम्चिँदै गएकै थियो । बिलावलका बाबुलाई उनको पार्टी सत्तामा हुँदा भ्रष्टाचार गरेको आरोप छ । अहिलेसम्म सत्तामा नपुगेका इमरानको छवि भ्रष्टाचार विरोधीका रूपमा स्थापित भएको छ ।
प्रत्यक्ष अप्रत्यक्ष इमरानलाई पाकिस्तानको स्थायी सत्ता र पञ्जाबी प्रभुत्वको संस्थापनको प्रतिनिधि मानिने सेनाको समर्थन र सहयोग पक्कै थियो । पाकिस्तानका जनता पनि सायद पारिवारिक सत्ताबाट मुक्ति चाहन्थे । यसैले इमरानको उदय अपेक्षाकृत सहज भयो । तर, अब सेना अझ बढी प्रभावशाली हुने सन्देह राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चार माध्यममा प्रकट हुन थालेको छ । पाकिस्तानको प्रसिद्ध अंग्रेजी अखवार डनको सम्पादकीयमा समेत सन्देह प्रकट गरिएको छ । अर्कातिर, युरोपियन युनियनको निर्वाचन पर्यवेक्षकहरूले मुस्लिम लिगविरुद्ध नियोजित षड्यन्त्र गरिएको आरोप लगाएको छ । यसले निर्वाचनमा धाँधली गरियो भन्ने राजनीतिक दलहरूको आरोपलाई थप बलियो बनाएो छ ।
सेना प्रभावशाली भयो भने भारत र अफगानिस्तानसँग तनाव बढ्न सक्छ । देशभित्रै दमनको शृंखला सुरु हुनसक्छ । पाकिस्तानको इतिहासमा सन् १९४७ पछि अहिले लगातार दोस्रोपटक निर्वाचित सरकारले सत्ता हस्तान्तरण गर्दैछ । इमरान सेनाको कठपुतली नभईकन पूरै कार्यकाल सत्तामा टिक्न वा अर्को चुनाव गराउन सक्छन् कि सक्तैनन् प्रतीक्षाको विषय बनेको छ । रह्यो भ्रष्टाचार, पार्टी ठूलो बनाउने महत्त्वाकांक्षा भ्रष्टाचारको जरो हुन पुगेको देखिएको छ । यसैले अर्को चुनाव आउँदा नआउँदै इमरानमाथि पनि भ्रष्टाचारको आरोप त पक्कै लाग्छ । पाकिस्तानको समस्या धार्मिक कट्टरता हो । तर, धर्मको आधारमा बनेको मुलुकमा यो समस्या औँल्याउने आँट सायद सकैको पनि हुँदैन ।
संसद्मा इमरानको पार्टीको बहुमत छैन । उनले पीपीपी वा मुस्लिम लिगको सहयोग लिन वा पाउन सहज नहोला । यस्तो अवस्थामा साना पार्टी र स्वतन्त्र सांसदहरूको समर्थनमा सरकार बनाउनुपर्छ । त्यस अवस्थामा सेनाले चाहेको बेलामा उनको सरकार गिराउन सक्छ । रक्तपात नगरी सत्ता हातमा लिन थालेको पाकिस्तानी सेनाले अब संसदबाट खेल्न पनि सक्ने लक्षण देखियो । हुनसक्छ, अबको पाकिस्तानी सरकार त्यहाँको ‘कठपुतली’ बन्नेछ । लोकतन्त्र सेनाको निगाहमा चल्नेछ । पाकिस्तान रक्तपातपूर्ण सैनिक विद्रोहको इतिहासबाट सेनाले लोकतान्त्रिक संस्थाको इज्जत राख्ने अवस्थामा आइपुगेको छ । कुनै दिन लोकतन्त्र कठपुतली नहुने अवस्थामा पुग्ने आशा गर्नु अन्यथा नहोला ।
इमरान खानलाई पाकिस्तान सरकारको कप्तानीमा पनि सफलता प्राप्त होस् । बधाई र शुभकामना !