बाह्रखरी
sticky  ncell
ब्लग प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
ब्लग गुरूआमा गुरूबा
राजेश केसी
बाह्रखरी - राजेश केसी शुक्रबार, साउन ११, २०७५
Laxmi Bank
Laxmi Bank

गुरुआमा

म मेरी गुरुआमालाई सँधै सम्झन्छु । आज ‘सेयर’ गर्छु । विसं २०३५ साल, शान्ति विद्या गृह, लैनचौर । मेरो सात कक्षाको फाइनल परीक्षा । सामाजिक शिक्षा विषय । 

पढाइमा साह्रै कमजोर त होइन तर पहिलो प्रश्नको उत्तर भने आएन । दोस्रो सकिहालौँ भनेको त्यसको नि आएन... । फेरि कोसिस गरेँ, सकिन ।  आत्तिन थालेँ । आत्तिँदा त झन् कुनै पनि प्रश्नको राम्रो उत्तर आएन । साथीहरु पाना भरी भरी लेख्दै थिए । मेरो भने नामबाहेक एक अक्षर कोरिएको छैन । ध्यान फेल हुने निश्चिततामा पो गयो । साथीहरु आठमा, म सातमै हुने भएँ । पीडा, डाहा, छटपट । के गर्ने के गर्ने !

Rohto Landing

Agani Group

आमा सम्झेर रुनै मन लाग्यो । किनभने म असल र ज्ञानी हुँ भनेर उनमा निकै गर्व थियो । सबै माया गर्ने आफन्त सम्झेँ । आफूलाई सम्हालेँ । साथीको सार्ने वा सोध्ने बानी छैन । खाली कागज बुझाएर हिंड्ने आँट आएन । त्यसरी बुझाउनु आत्मसमर्पण हो, सातमै रहने ।

मनमनै शुभचिन्तकसँग माफी मागेँ, मनमनै आमालाई आइन्दा राम्रो गर्ने वचन दिएँ । अझै एक घन्टा बाँकी छ, कपी कसरी भर्ने । सोचेँ गुरुआमासँग माफी माग्छु । भटाभट लेख्न थालेः यही दुई घन्टा लामो तनावपूर्ण पल । अनि पुछारमा थपेँ म कमजोर होइन तर यी प्रश्नको उत्तर अहिले आएन, माफी चाहन्छु । सामाजिक शिक्षाकी गुरुआमालाई पनि वचन दिएँ आइन्दा यसो हुँदैन । पेज भरिएछ । कपी बुझाएँ । अन्य सबै विषय भने राम्रै गरेँ । तैपनि, म सातकै लागि तयार भएँ । जाडोको बिदा सुरु भयो । हरेक वर्ष झैं गाउँ गएँ, नवलपरासी । हरेक वर्ष, परीक्षाको नतिजा चिठीमार्फत मामा घरका बाजेले पठाउँथे । यसपाली चिठी आएन । फेल भएको समाचारको लागि पनि व्यग्रता । मैले कसैलाई सुनाएको थिइन मेरो कर्तुत । आत्मविश्वास त सँधै रहन्छ । तर, पनि मेरो तयारी अनुत्तीर्णकै लागि थियो ।

sarbottam cement

दिदी आइन् काठमाडौंबाट । समाचार पक्कै ल्याइन् । सबैको पर्खाइ मेरै नतिजामा केन्द्रित थियो । म नजिकै परिन, लुकेँ । केही बेरमै आमाले डाकिन् र सुरूमा हजुरआमालाई ढोग्न भनिन्, अनि बालाई, अनि आफूलाई । हरेक वर्ष झैँं सबैलाई मिठाइ बाँडिन् । म अताल्लिएँ । डराएँ । दिदीलाई सोधेँ । फेरि सोधेँ । नजिस्कन पनि भनेँ । कसम ख्वाएँ पटक पटक । दिदी छक्क परिन् । अनि म रोएँ । धरतीमा घोप्टो परेँ । गुरुआमाको मुहारबाहेक केही देखिएन । 
धन्यवाद, गुरुआमा, मलाई बुझ्यौ, विश्वास गर्‍यौ । म तिमीलाई बदलामा सफल भएर देखाउँछु भने । धन्यवाद, शान्ति मिस – मलाई किताबभन्दा बाहिर राखेर पनि हेरिदिनु भयो ! 

गुरुबा

दस वर्षअघि बैशाख महिना स्थान : नागरिक दैनिकको कार्यालय ।

साथीहरु छलफलमा व्यस्त थिए – नागरिक दैनिकको वार्षिकीमा ‘नागरिक हिरो’हरुको छनोट परिचय आदि । ‘‘को को चुनिए त नागरिक हिरो?’’ मैले सोधेँ । सुरुमै एउटा कहिल्यै नामै नसुनेका डाक्टरको नाम आयो ।
‘‘के रहेछ र समाजमा यिनको योगदान ?”

‘‘टिचिङका हड्डीका डाक्टर । यिनी आफ्नै तलबको पैसाले औषधि किनेर नेपालको विकट विकट जिल्लामा जाँदा रहेछन् । अनि गरिबको उपचार गर्ने यिनको नियमित काम रहेछ । कसैलाई नभनीकन जाँदा रहेछन् फुर्सद निकालेर । अनि संसारको कुनैपनि कुनामा महामारी या प्रकोप परे सकेसम्म जाँदा रहेछन् उपचार सहयोगको लागि । त्यो पनि आफ्नै खर्चमा ।”

सुन्दा अचम्म लाग्यो। वार्षिकीको दिन सोल्टी होटेलमा सबै भीभीआईपीलगायत आमन्त्रित तल बस्यौँं माथि मञ्चमा बसेका ‘नागरिक हिरो’ हरूलाई सुन्न । पाँच छ जना हिरोहरुमध्ये थिए यी डाक्टर पनि । मेरो ध्यान विषेश उनैमा थियो । ती कुनै पनि हिरोहरु भाषणमा निपुण थिएनन् । त्यसैले सम्पादकहरुले ‘मोडरेट’ गर्दै थिए । यी डाक्टर त झनै ठाडो । सुरुमै भने – ‘‘खै तपाईंहरुले यहाँ किन यसरी गर्नु भा’हो मलाई यहाँ बोलाएर । मलाई खासमा यस्तो हिरो बनाएको, मिडियामा आउन मन पर्दैन। मेरा आफ्नै प्राथमिकता छन् ।” उनले नचाहेको नसोचेको तालीको गडगडाहट आयो । ती यिनै डाक्टर थिए अहिलेका सत्याग्रही गोविन्द केसी ।

विसं २०७१ साल चैत्र : डा.केसी भर्खरको अनशनपछि अस्पतालमा उपचाररत थिए। हामी उनलाई भेट्न गयौँ । अस्ति अस्तिभन्दा निकै तंग्रेका रहेछन् । उनलाई टिचिङकै एनेक्सको भीभीआईपी क्याबिनमा राखिएको रहेछ । जहाँ सोफा सेट, टिभीलगायत अलि ठूलो कोठा थियो । हामी गफ गर्दै थियौँ, एउटी सिनियर देखिने सिस्टर छिरिन् र भनिन् ‘‘डाक्टरसाप !  आज पनि यही क्याबिनमै बस्न पर्ने भयो ।” हाँसी रहेका डाक्टरको अनुहार एक्कासि निन्याउरो भो । सानो स्वरमा भने ‘‘तपाईंहरूको मलाई नसार्ने नै सहमति भएको छ कि क्या हो ? ”

सिस्टरले सम्झाउन खोजिन् – ‘‘ त्यसो होइन डाक्टरसाप । आज तपाईँलाई सार्ने नै भन्या‘ हो, तर उताको कुनै ठाउँ खाली नै भएन । आज एउटा खाली हुने भनेको पनि एउटाले आफ्नी बिरामी आमालाई राख्न रोइकराई गरे । बुक गरेर सामान पनि सारिसकेको रहेछ । हजुरलाई कसरी के भन्ने भनेर कसैले आँट गरेनन्, अनि मैले नै जे भएको हो त्यही गएर भन्छु भनेर भन्न आएको ।”

‘‘अब पेसेन्टले नै त्यस्तो (रोइकराइ) गरेपछि मैले के भनूँ । भोलि चैं जसरी हुन्छ मलाई त्यतै मिलाउनु होला ”, डाक्टरले भने ।

’हस् डाक्टरसाप, थ्याङ्क् यु’ भन्दै सिस्टर बाहिरिइन् । मलाई खुल्दुली भएर जिज्ञासा राखेँ, ‘‘उता भनेको कता हो, डाक्टरसाप ? ह्याँ के भो र, के फरक छ ?”

उनले भने – ‘‘यो भीभीआईपी क्याबिन हो । म भीभीआईपी होइन । मलाई उकुसमुकुस हुन्छ यहाँ । हुन त यहीँको डाक्टर हुनाले डिस्काउन्ट हुन्छ, तर पनि यहाँ बस्ने मेरो औकात छैन । मलाई उतै (साधारण) क्याबिनमा ठीक लाग्छ । अस्तिदेखि भनेको, सार्दिँदैनन् !”
 ‘‘सादा जीवन उच्च विचार !”

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
शुक्रबार, साउन ११, २०७५ मा प्रकाशित
TATA Landing
Dishhome
TATA Landing
Dishhome
प्रतिक्रिया दिनुहोस्