site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भाषा हाम्रो पहिचान होइन र !

अन्योल र दम्भ
एकजना कक्षा आठमा अध्ययनरत विद्यार्थीसँग उनले आफ्नो नाममा ’पुजा’ लेखेकाले ’पूजा’ शब्द शुद्ध हुन्छ भने । उनले आफ्नो जन्मदर्ता देखाएर भनिन्, ‘मेरो नाम यही सही हो ।’ मान्छेकै नाममा ह्रस्व ’सिता’ लेख्ने त्रुटि विद्यार्थीमा पाइन्छ । अर्थका हिसाबले ‘सिता’ को अर्थ भातको सिता हुन्छ भने ‘सीता’ को अर्थ स्त्रीबोधक नाम हुन्छ । जिज्ञासाकै क्रममा अर्का विद्यार्थीले त्यसै गरी भने – ‘मेरो जन्मदर्तामा बिकास छ त्यसैले म मेरो नाममा विकास सही हो भन्ने जान्दाजान्दै पनि बिकास नै लेख्ने गर्छु ।’ आजभोलि जन्मदर्तामै आधिकारिकरूपमा अशुद्ध नाम लेखिएका प्रशस्तै भेटिन्छन् । सम्बधित निकायलाई सायद कुनै ज्ञानै हुन्न । वास्तवमा पुजा, आशिर्वाद, गिता, दिपक, नबिनजस्ता कैयौँ नाम अशुद्ध लेखिँदा रहेछन् जुन नामहरू क्रमशः पूजा, आशीर्वाद, गीता, दीपक, नवीन हुनुपर्ने हुन् । भाषिक प्रयोगमा एकरूपता नै हराउँदा नेपाली भाषाले आज पनि अन्योलमै विभिन्न जटिलतासँग पौँठाजोरी गरेर अघि बढ्दै छ । 

एकातिर आधिकारिक प्रमाणमै अशुद्धता हुन्छ अर्कातिर नेपाली शुद्धताका विषयलाई ठूलो समस्या मानेको पाइँदैन । ‘नेपाली त हो नि मलाई आउँछ’ भन्ने दम्भ बोकेर विद्यालयमा नेपालीबाहेकका शिक्षकले अध्यापन गर्ने हेलचेक््रयाइँ छँदै छ । अंग्रेजी माध्यममा पढाइने विद्यालयले त आफ्नै देशको प्यारो माध्यम भाषा प्रयोग गर्दा सजाय शुल्क असुल गरिरहेको हुन्छ । यो कस्तो देश हो जहाँ आफ्नो देशको भाषा बोल्दा जरिवाना तिर्नुपर्ने अनि अर्काको देशको भाषा बोले पुरस्कार पाइने ? यसको अर्थ अंग्रेजी भाषा ज्ञानको विरोध होइन तर देश र स्वाभिमानका विषयलाई भुल्ने पद्धति कुनै राष्ट्रिय स्वाभिमानको रक्षाको आधार हुनसक्ला त भन्ने हो । 

मातृभाषा शिक्षाका लागि केही प्रोत्साहनका कार्यक्रम गर्न सरकार जागरुक त छ तर प्रभावकारी बनाउने स्पष्टता छैन । नेपाली भाषामा शुद्ध र ढङ्ग मिलाएर एउटा निवेदन लेख्न नजान्ने विज्ञहरू राष्ट्रियताको गफ चुट्छन् । भाषण गरिन्छ तर आफ्नोपनाको गुदी केही हुँदैन । चाणक्यले भनेका छन्– ‘साहित्य, सङ्गीत र कला नभएको मानिस सिङ र पुच्छर नभएको चेतनाहीन पशु जस्तै हो ।’ कक्षा १० को मेधावी विद्यार्थीले पनि अक्षर फुटाएर वाचन गर्न सक्दैन । के त भाषाको प्रयोगमा कामचलाउ गरेरै देशले राष्ट्रियतासँग नाता गाँस्ला ? 

Prabhu Bank
Agni Group
NIC Asia

बिहानदेखि अतिरिक्त कक्षामा बेलुकासम्म राखेर मूलतः अंग्रेजी, गणित र विज्ञानकै विषयमा रटाइराखिन्छ तर नेपाली नजान्दा उस्तो पीडाबोध लाग्नै छोड्यो । नेपाली त पासैमात्र हुने स्तर आए पनि ठीकै छ । ‘जसोतसो कोरे पनि पास भइहालिन्छ । अलिअलि व्याकरण पढ्ने बाँकी अनुच्छेद, अरू लेख्ने, कामचलाउ सरकार गर्ने’– एकजना विद्यार्थीले मलाई यही जवाफ दिए । म नाजवाफ भएँ । 

संविधानमा भाषा
 

Global Ime bank

२००४ सालको संविधानमा नेपालको राष्ट्रभाषाका रूपमा नेपाली भाषालाई व्याख्या गरिएको छ । २०१५ सालमा आइपुग्दा ‘देवनागरी लिपिमा लेखिएको नेपाली भाषालाई नेपालको राष्ट्रभाषा’ भनी व्यवस्था गरियो । २०१९ सालको संविधानले नेपाली भाषालाई राष्ट्रभाषा भन्नुका साथै विदेशीका हकमा नेपाली नागरिकता लिन नेपाली भाषा जान्नुपर्ने बाध्यकारी नियम ल्याइयो । २०४७ सालको संविधानमार्फत् नेपालका भाषाहरूमध्ये नेपाली भाषालाई राष्ट्रभाषा र अन्य मातृभाषालाई राष्ट्रिय भाषा भनेर नेपाली भाषालाई सरकारी कामकाजको भाषा नेपाली हुने नीति ल्याइयो । प्रजातन्त्रको पुनस्र्थापनापछि नेपालको भाषिक अध्ययनको जटिलतालाई नियालेर २०५० सालमा राष्ट्रिय भाषानीति सुझाव आयोग गठन भयो । 

अन्तरिम संविधान २०६३ मा नेपालका सबै भाषालाई राष्ट्रभाषा हुन् भनी उल्लेख गरियो । अहिलेसम्म आइपुग्दा मुलुक संघीय संरचनामा मोडिएको छ । २०७२ को संविधानको भाग १ दफा ६ अनुसार “नेपालमा बोलिने सबै मातृभाषाहरू नेपालका राष्ट्रभाषा हुन् ।” त्यस्तै गरेर दफा ७ मा भनिएअनुसार “(१) देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ । (२) नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्रभाषालाई प्रदेश कानून बमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्नेछ । (३) भाषासम्बन्धी अन्य कुरा भाषा आयोगको सिफारिसमा नेपाल सरकारले निर्णय गरे अनुसार हुनेछ ।” यसरी हेर्दा वर्तमान भाषानीतिलाई नेपालमा रहेका बहुभाषिक स्थितिले प्रत्यक्ष प्रभाव पारेको पाइन्छ ।

कार्यालयका आधिकारिक कागजातमा भाषा
 

आजभोलि हामी हेरौँ, धेरैजसो सरकारी कार्यालयका आधिकारिक कागजातमा नेपाली भाषा अपूर्ण लाग्छन् । ‘भाषा भनेको त भाव बुझे भइहाल्यो नि’ भन्ने पन्छिन चाहनेको संख्या धेरै हुँदा नेपाली भाषा साँच्चै कुरूप बन्दै छ । विडम्बना, नेपालकै सरकारी कर्मचारीले अप्ठ्यारो नमानी भन्ने गर्छन् ‘मलाई नेपाली आउँदैन ।’ सबैले भाषा नजान्लान् तर भाषिक प्रेमकै अवमूल्यन हुनु पीडादायी विषय हो । यसर्थ अब त कमसेकम कार्यालयमा नेपालीमा शुद्ध लेख्न सक्ने नेपाली भाषी कर्मचारी भएमा राम्रो हुन्थ्यो कि ? 

कुन फन्ट आधिकारिक हो त ?    
 

नेपाली भाषालाई शुद्ध र मानक प्रयोग गर्नका लागि प्रविधिको ज्ञान आवश्यक छ । बहुसंख्यकले प्रयोग गर्ने फन्ट प्रिति नै हो तर सबैतिर यही फन्ट प्रयोगमा नहुँदा समस्या भएका उदाहरण भेटिन्छन् । आजको वैज्ञानिक विद्युतीय सामग्रीलाई समुचित प्रयोग गर्न कुन फन्ट अर्थात् कुन लेखन लिपि शैलीको प्रयोगलाई सरकारी मान्यता दिने भन्ने विषयमा चर्चा, छलफल र बहस भएको पाइँदैन । कतिपय प्राविधिक पक्षको अभाव त्यहाँ छ जहाँ सिम्बोलमा गएर खोज्दा पनि खोजेको वर्ण, चिन्ह पाइँदैनन् । मूलतः त्रिवितिर शोधअध्ययन तयार पार्न या अन्य कार्यविधिमा प्रिति फन्टको प्रयोग गर्नुपर्ने मान्यता रहेको पाइन्छ । धेरै कार्यालयमा आआफ्नै तरिकाका फन्ट प्रयोग गरिन्छन् । कतिपयले कुनै एउटा फन्टलाई मान्यता दिएर आफ्नो कार्यालयमा एउटै फन्टको सिन्डिकेट चलाएका हुन्छन् । यसको अर्थ अन्य फन्टले त्यहाँ मान्यता पाउँदैन । अतः अब आधिकारिक रूपमा बहुसंख्यकले प्रयोगमा ल्याएको प्रिति फन्ट प्रयोग गर्ने नीतिका साथमा यसभित्रका अभावलाई पूरा गर्ने गरी प्राविधिक व्यवस्थापन पो गर्ने हो कि ?

के देशको पहिचानभित्र भाषा पर्दैन ?
 

भाषाको कुरा देशको आत्मस्वाभिमानभित्र परेको लाग्दैन । राजनीतिका कुनै तुक नै नभएका कतिपय विषयले अग्र स्थान पाउँछ तर सञ्चार, शिक्षा क्षेत्रका दैनिक प्रयोगमा आउने भाषाको चर्चाले चासोको रूपमा स्थान नपाउनु दुखद् विषय हो । देशको पहिचान हो नेपाली भाषा । नेपाली भाषाको सहायताबाट यहाँका १२२ बढी अन्य मातृभाषाको जगेर्ना गर्नु उत्तिकै आवश्यक छ । भाषासँग संस्कृति, पहिचान, राष्ट्रियता, स्वाभिमान लगायतका सामाजिक, सांस्कृतिक, आत्मीय गौरवको प्रगाढ तादात्म्य हुन्छ । 

नेपाली भाषा वैज्ञानिक कोणमा सबल छ, व्यावहारिक जीवनका लागि प्रायोगिक छ । यसको उपादेयतामा विचार फरक होलान् तर भावनात्मक एकताको आधारबाट हेर्दा यो अनुसन्धेय विषय बन्छ । आज समाजमा पैmलिँदै गएको भाषिक अपक्षयीकरणको मानसिकताले एउटा प्रश्नलाई उब्जाउँछ – के नेपाली भाषा प्राविधिक विकासको आवश्यकताको सूचीमा दर्ता हुन सक्तैन त ? यस्तो पनि लाग्छ, नेपाली भाषा किन यति धेरै अनावश्यक लाग्न थाल्यो– यो समाजलाई ? लाजमर्दो कुरा आफ्नै देशको माध्यम भाषा बचाउनुपर्छ भन्दै देशमा माग राख्नुपर्ने रे । भाषा बचाउ आन्दोलन मच्चाउनुपर्ने कस्तो विडम्बना ? 

राष्ट्रिय जनगणना २०६८ ले सिङ्गो नेपालभरि ४४.६३ प्रतिशत नेपालीहरूको मातृभाषा नेपाली रहेको तथ्य पेस गरेको छ । यसको अर्थ नेपालका १२३ बढी भाषाहरू मध्ये १२२ भन्दा बढी भाषाहरूको संरक्षण, संवर्धन र विकासको सेतुका रूपमा भूमिका निर्वाह गर्ने दायित्व पनि यही भाषाकै काँधमा छ ! किनभने, १३ वटा भाषामा मात्र कुल जनसङ्ख्याको १ प्रतिशतभन्दा बढी वक्ता सङ्ख्या छन् भने ११० वटा भाषाका वक्ता  १ प्रतिशतभन्दा कम छन् । नेपाली भाषा त सबै नेपालीको साझा सम्पत्ति हो । चाहे भाषिक मजबुती, विकास या विस्तारका दष्टिले होस् या नेपालीको आत्मीय बोधगम्यता तथा विचार विनिमयका आधारले नै पनि । यो कुनै निश्चित वर्गमा सीमित छ भन्ने सोच जाग्नु दुःखद् हो  । आफ्नो लिपि, वर्ण, व्याकरण, वाङ्मय, शब्दकोश जस्ता भाषाका अपरिहार्य आधारभूत पक्षमा कमजोर नेपालका सबै मातृभाषाको विकास, विस्तार र जगेर्ना गर्ने आधार पनि नेपाली भाषा नै हो । यसर्थ हाम्रो बहुभाषिक मुलुकलाई सबै मातृभाषाको रक्षा गर्ने एउटा आधार यही भाषा बन्छ ।

भाषिक लापरबाहीको चरम सीमामा सरकारले के गर्ने ?
 

अहिले भाषाको प्रयोग जथाभावी हुन्छ । सञ्चारमा अंग्रेजी मिश्रित जथाभावी भाषाको बाहुल्य छ । आफ्नोपनामा निर्लज्ज मिश्रण हुँदा आधा अंग्रेजी आधा नेपाली मिसाएर बोल्ने खिचडी शैली पाइन्छ । न आफ्नो जान्यो न अर्को पूर्ण भयो । आखिर यसरी मिश्रित शैलीको बडप्पन देखाउनुभन्दा कमसेकम एउटा भाषा, अर्को भाषा जुन प्रयोग गरिन्छ त्यो सबल र स्पष्ट भए राम्रो होइन त ? 

नेपाली माध्यमको शिक्षामा निरुत्साहित गर्ने शिक्षालाई बोकेर सरकार स्वयम् पनि ‘नेपाली जानेर के काम’ भन्ने सोचमा प्रोत्साहन त गर्दै छैन ? सञ्चारमा कुनै एउटा भाषा प्रयोग गरौँ जुन शुद्ध र स्पष्ट होस् । अंगे्रजी हो भने शुद्ध अंग्रेजी या त शुद्ध नेपाली भाषाको प्रयोग होस् । यसको अर्थ भाषा अपरिवर्तनशील हुन्छ भन्ने गलत अर्थबोध नहोस् । परिवर्तन हुँदै भाषा समयअनुसार अघि बढ्छ तर भाषाको अप्रत्याशित अपशरणशीलता बढ्दा आज अपक्षयीकरण भइरहेको छ । 

सक्षम नेपाली भाषा कुरूप र बेढङ्गको बन्दै छ । यसको मूल कारण सरकारको भाषानीति र भाषायोजनासँग गएर जोडिन्छ । सञ्चार, शिक्षाको माध्यम, अनलाइन सूचना प्रविधि, लेख्य मानकीकरण र आधुनिकीकरणको व्यवस्थापन लगायतका क्षेत्र र विषयमा सरोकारवाला के गर्दै छन् ? यहाँ त उल्टो वर्णविन्यासमा नयाँ र पुरानो शैली अपनाउनेको खेमाबन्दी छ । नेपाली भाषाको वर्णविन्यासका विषयमा दुई धारका विचारकहरूका कारण सर्वसाधारणले सास्ती पाउनुपरेको छ । संकीर्णतालाई देख्दा जरो नै किराले खाइसक्यो हाँगो समातेर लडाइँ गर्नुको के अर्थ रहला भन्न मन लाग्छ । 

होर्डिङ बोर्डमा शुद्ध लेखे के बिग्रन्छ ?
 

हुन त होर्डिङ बोर्डमा नेपाली शुद्ध लेखे हुन्थ्यो भन्ने आशा गरिरहँदा कमसेकम नेपालीमा पनि लेखिदिए अलिकति आफ्नो भाषाप्रति प्रेम रहेछ भन्ने अवस्था छ । होडिङ बोर्ड भन्ने शब्द नै अंग्रेजी हो । सर्वसाधारण जनताले बुझ्नेसम्मका विषयमा हामीले लचिलो पनि बन्नै पर्ने रहेछ । यद्यपि जानाजान लाद्ने शैलीलाई बदल्न त यो अभियान पनि एउटा राम्रो आन्दोलन नै बन्न सक्ला । अतः सबै टाँगिएका पसलका विज्ञापन र नामलाई शुद्ध लेख्ने अभियान चलोस् न । अंग्रेजीमा लेख्ने हो भने रोमन लिपिमै लेखियोस् । नेपाली र अंग्रजी आआफ्नै लिपिमा लेखियून् । 

बरु दुबै भाषाको प्रयोग एउटै बोर्डमा भए ठीकै होला । अंग्रेजीलाई कोष्ठकभित्र प्रयोग गरौँ । गाडीमा प्रयोग भएका भनाइ शुद्ध लेखियून् । मुलुकले उर्दी जारी गरोस् । अंग्रेजी प्रयोग गर्छ शुद्ध प्रयोग गरोस् । नेपालीको प्रयोग गर्ने हो भने शुद्ध होस् । अंग्रेजी शब्दलाई सबैमा ह्रस्व र पातलो ‘स’ को प्रयोग गरे राम्रो हुन्थ्यो । 

निष्कर्ष
 

नेपालको संविधानको धारा २८७ बमोजिम वि.सं. २०७३ भदौ २३ गते को नेपाल सरकारको निर्णयअनुसार भाषा आयोगको गठन त भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, गोरखापत्र संस्थान, नेपाली भाषा लगायत नेपालका भाषासँग सम्बद्ध रहेर अघि बढिरहेका इतिहास हामी सामु छन् । अब त बरु हरेक कार्यालयमा नेपाली भाषाका जानकार विज्ञको कोटा अनिवार्य हुनुपर्ने हो । नेपाली भाषाको संरक्षण गर्ने जिम्मेवारीभित्र नेपाली भाषा शिक्षकमात्र उत्तरदायी हुनुपर्ने हो र ? सरकारी तथा निजी कार्यालयबाट प्रकाशन हुने विज्ञापन, चिठी, प्रस्तावनामा नेपाली भाषा शुद्ध हुनुपर्ने होइन र ? नेपालीले नेपाली भाषामा निवेदन लेख्न, भाव पोख्न, शुद्ध लेख्न र पढ्न जान्नु पर्दैन ? 

लोकसेवा आयोगमा सोधिने प्रश्नको उत्तर नेपालीमा पढेर नेपालीमा लेख्नुपर्दैन ? दैनिक पत्रपत्रिकाका समाचारलाई अक्षर फुटाएर पढ्नु व्यावहारिक शिक्षा होइन ? नेपाली विषय त नेपालीका लागि जीवन मरणको साथी हो । आधार हुनुपर्ने हो । 
    
 
bhattarairamesh353@gmail.com
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ११, २०७५  ०९:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC