ठेक्काको अवधि धेरैपटक गुज्रिँदा पनि ठेकेदारले सडक निर्माण कार्य सम्पन्न गर्न आलटाल गरेपछि आजित भएका कलंकी–नागढुंगा सडक खण्डका निवासी स्थानीयले ‘सडक बनाउन’ तम्सेर सरकारलाई कटाक्ष गरेका छन् । ‘कलंकी–नागढुंगा बाटो निर्माण दबाब समूह, चन्द्राागिरी’का तर्फबाट स्थानीय जनताले आइतबार बिहान सडकका खाल्डा पुरेर सरकारको ध्यानाकर्षण गरेका छन् । ठेकेदारले सडक खनेर अस्तव्यस्त बनाएकै कारण सवारी जाम, दुर्घटना, धुलोधुवाँजस्ता समस्या स्थानीयले भोग्नु परेको छ । उनीहरूले हेलचेक्य्राइँ गर्ने ठेकेदारलाई कारबाहीको पनि माग गरेका छन् । सरकारको ध्यानाकर्षण गर्ने क्रममा स्थानीयले ‘हाम्रो सडक, हामी बनाउँछौं’ लेखिएका प्लेकार्ड लिएर दुई घन्टा सडक बन्द गरी नारा लगाएका थिए। कलंकी नागढुंगा सडक निर्धारित अवधिमा बन्न नसक्दा स्थानीयहरूका साथै राजधानी आवतजावत गर्ने लाखौं यात्रुले दिनहुँ सास्ती भोग्नुपर्छ । हुन त सडक बनाउन ध्यानाकर्षण गर्दा पनि सास्ती भोग्ने त यात्रुले नै हाे ।
हुन पनि अचेल ठेकेदारहरू बाटो खन्छन् तर बनाउँदैनन् । हुन त बाटो खन्नु र बनाउनु दुवै शब्दको प्रयोग एउटै अर्थमा गरिन्छ । परन्तु, अहिले ‘बाटो खन्नु’ र ‘बाटो बनाउनु’को सान्दर्भिक अर्थ फरक हुन पुगेको छ । ठेकेदारहरू प्रायः बाटो खनेर अलपत्र छाड्छन् र बिरलै बनाउँछन् । गाउँगाउँमा स्थानीय तहको बजेटमा पनि बाटो खन्ने काम हुन्छ । यसरी खनेको बाटामा हिउँदमा मोटर चल्छ बर्खा लागेपछि पहिरो चल्छ । अर्को वर्ष मर्मत सम्भारका लागि बजेट छुट्टिन्छ । चैत लागेपछि ठेक्कापट्टाको सुरसार हुन्छ । यही क्रम बर्सेनि चलिरहन्छ । ठूला सडकका कुरै ठूला हुन्छन् । ठूला ठेकेदारको गिरोहले मिलेमतोमा सकेसम्म धेरै सडक भागबन्डा गरेर कब्जा गर्छन् । अनि पेस्की लिएपछि अर्को काममा लगानी गर्छन् । बिस्तारै फुर्सदमा ठेक्का लिएको काम पनि गर्छन् । तीमध्ये धेरै कि त स्वयं राजनीतिक नेताको आवरणमा पनि छन् नभए तिनले नेता पालेका छन् । अनि कसरी बन्छ त तोकिएको अवधिमा सडक ?
गृहमन्त्रीले सरकार गठन हुनेबित्तिकै ‘कामचोर’ ठेकेदारलाई थुनेर भए पनि तह लगाउने चेतावनी दिएका थिए । जनता न हुन् साँच्चै पो हो कि भनेर पत्याएका पनि थिए । जिल्लाबाट काम नगर्ने ठेकेदारको नामावली संकलन भएको समाचार दिनहुँ आउथ्यो । तर, रहँदाबस्दा सबै सेलायो । भएछ के भने कलंकी–नागढुंगा सडकका ठेकेदार उनैको पार्टीका अध्यक्षका घर धनी परेछन् । तिनलाई कारबाही नगरी भारेभुरेलाई मात्र सताएर काम त हुने भएन । यसैले नागढुंगा–कलंकी सडक खण्डका बासिन्दाले सडक आफैँ बनाउन अगाडि सरेर सरकारलाई कुरीकुरी गरेको हुनुपर्छ । जनताप्रति उत्तरदायी हुनुपर्छ भन्ने लाग्छ भने सरकारले तत्काल काम गर्न लगाउने वा ठेकेदारले आलटाल गरे नियमअनुसार जरिवाना गरी ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाउनुपर्छ । मझौला स्तरका ठेकेदारलाई खण्डखण्डको जिम्मा दिने हो भने कथित ठूला ठेकेदारले भन्दा उच्चगुणस्तरको सडक छिटै नै निर्माण गर्नेछन् । सरकारले केही कृपापात्रहरूकै स्वार्थमात्र पूरा गर्ने हो भने अहिले खाडल पुरेर सडक बनाउन अगाडि सरेको जनता आजित भएपछि सडक खनेर खाल्टो बनाउन पनि अग्रसर हुनसक्छन् भन्ने हेक्का रहोस् !