बाह्रखरी
sticky  ncell
ब्लग प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
फाफुरा २०  बेठेगान बल र बोली
ब्रजेश खनाल
बाह्रखरी - ब्रजेश खनाल मंगलबार, साउन १, २०७५
Laxmi Bank
Laxmi Bank

हुन त हेर्नुस्, मानिसका विश्वास, मूल्य र मान्यता भन्या समयअनुसार फरक हुँदै जान्छन् । जुन काल र परिवेशमा मानिस बाँचेको छ, जेजस्ता उसका अनुभव छन्, त्यहीअनुसार सबै निर्धारण र परिवर्तन हुने हो । फाफुरा र ऊजस्ता तपाईँ हामी आम नेपालीको कुरा गर्दा अहिले सबैभन्दा बेठेगानको वस्तु दुइटा छन् – बल र बोली । बोली भनेको नि हजुर फेरि वोली भनेको पढ्नुहोला र फाफुराले बालुवाटारको चिया खान पर्ला । 

भर्खर भकुण्डोको विश्वकप मारामारी सकिएको छ ।  हामी नेपाली जनतालाई भकुण्डोसँग अगाध स्नेह छ । किनभने सदियौंदेखि हामी आफैँ पनि भकुण्डो नै बनिरहेका छौँ । परिवर्तनको नाममा नयाँ नयाँ खेलाडीहरु आउँछन् । टिमको नाम फेरिन्छ । उनीहरुले लगाउने जर्सी कट्टु र जुत्ता पनि समयसमयमा परिवर्तन भइरहन्छ । तर हाम्रो नियति कहिले पनि फेरिँदैन । हामीलाई उनीहरु यताबाट उता गुडाउँछन्, न्वारान देखिको बल लगाएर लात्ताले उडाउँछन्, थचार्छन्, थिच्छन् अनि हामीलाई जालीभित्र छिराएर खुसी हुन्छन्, मुठ्ठी कस्दै कराउँछन्,

“गो..........ल ।”

Rohto Landing

Agani Group

रमितेहरु दंग पर्छन् । थपडी बजाएर उफ्रिन्छन् । हामी आफ्नो चोटबाट तङ्ग्रिन पनि पाएका हुन्नौ, टप्प टिपेर मैदानको बीचमा लगिन्छौँ । फुटबलमा रेफ्री कहिले कुन देशको हुन्छ, कहिले कुन देशको । उसले पिर्र पारेर सिठ्ठी फुक्छ । हामी फेरि मैदानभरि गुडाइन थाल्छौँ । भूपिले पनि भन्थे, “हामी क्यारेमका गोटी हौँ ।” फाफुरा भन्छ, “हो कविज्यू ! आजकल त हामी क्यारेमका गोटीमात्रै नभै फुटबलको भकुण्डो पनि हौँ ।”

हाम्रो आफ्नो पनि त्यही नियति भएको हुनाले होला भकुण्डो हामीलाई प्रिय छ । त्यसैले अरुबेला फुटबल नहेर्नेहरु पनि विश्वकप भनेपछि त्यसलाई छुटाउँदैनौ । भलै गोलकिपरको एलबीडब्ल्यू भएको पनि अम्पायरले दिएन भनेर उफ्रिँदै भए पनि हामी रातबिरात निन्द्रा बिगारेर भकुण्डो हेर्छौँ । 

sarbottam cement

विश्वकप चलुन्जेल केही सातादेखि फाफुराको टोलको चिया पसलमा पनि लात्ते भकुण्डाको सानोतिनो सत्ता बजार चल्ने गरेको थियो । एक कप चिया, चिया र डोनट, फुल चिया सेट (जसमा चनाको तरकारी समेत हुन्छ) देखि लिएर नगदमा पचासदेखि एक हजारसम्मको बाजी त्यहाँ लाग्ने गथ्र्यो । फाफुरा पनि मौकामा चौका हान्दै आफ्नो गच्छेअनुसारको बाजी लगाउन पल्केको थियो । तर, यसपटक उसको ग्रहदशा खराब भएर हुनुपर्छ उसले जसजसको पक्षमा बाजी लगायो, ती सबै चुनावको कांग्रेस हुन थाले । हुँदाहुँदा क्वार्टर फाइनलसम्म आइपुग्दा त फाफुरा अरु सत्ताखोरहरुको लागि वरदान बन्न पुग्यो । चलाख खेलाडीहरु फाफुराले जुन टिम छान्यो त्यसको विपक्षमा बाजी थाप्न र जित्न थाले । एक जना उदारमना महापुरुषले त फाफुरालाई यतिसम्म भने,
“तिमी मैले छानेको टिमको विरोधी टिम छानेर त्यसलाई बिछुक लगाऊ फाफुरा । म विश्वकप चलुन्जेल हरेक बिहान तिमीलाई सित्तैमा चिया र डोनट खुवाउँछु ।” 

फाफुराले उसको त्यो प्रस्ताव सहर्ष स्वीकार गर्‍यो । ढाँटेको होइन, फाफुराको यो गौरवशाली परम्परा अस्ति रातिको फाइनल खेलसम्म पनि टुटेन । त्यही खुसीमा हिजो बिहान त ती मानिसले फाफुरालाई चिया र डोनटसँगै बोनस भनेर आलुको तरकारी पनि खुवाए । यसरी प्राकृतिक विपत्ति आइपरेको बेला पनि सक्नेहरुले त्यसैलाई ‘भजाएर’ आफ्नो दूनो सोझ्याए जसरी फाफुराले पनि आफ्नो बिछुकको फाइदा उठाएको थियो । हुन त खासमा भन्ने हो भने यसपटकको विश्वकपमा फफुरालाई विपरीत लाग्छ भन्ने कुराको संकेत त सुरुदेखि नै देखिएको थियो । 

विश्वकप सुरु हुनुअघि फाफुराले टोलका खम्बाहरुमा निकै दिनदेखि एउटा आकर्षक विज्ञापन टाँसिएको देखेको थियो । ‘मात्र सय रुपैँयामा घरघरमै आएर कलर टिभी बनाइन्छ ।’ विश्वकप लात्ती भकुण्डो सुरु हुन लागेको बेला त्यो विज्ञापनले फाफुराको आँखा तानेको थियो । यस्तो बेलामा मानिसहरु ऋण गरीगरी विश्वकपका लागि नयाँ टिभी किन्छन् भन्ने पनि उसले सुनेको थियो । फाफुरालाई पनि त्यसको रहर त नलागेको कहाँ हो र ? रहर लाग्दैमा कहाँ हुन्छ र ?  नेपाल वायुसेवा निगमले स्थूल शरीर भएको चीलगाडी किनेजस्तो फाफुराले नयाँ टिभी किन्न सक्ने कुरा भएन । तर, टोलको खम्बामा टाँसिएको विज्ञापनले फाफुरालाई आशावादी बनाइदियो । उसले त्यसमा दिइएको नम्बरमा लगातार पाँच पटक मिस् कल गर्‍यो । आजित भएर त्यो मानिसले कल ब्याक गरेर हकार्‍यो,

“यो कहाँ पर्‍यो ?”

मोबाइलमा फोन गरेर कहाँ पर्‍यो भनेर सोध्ने पनि हामी नेपालीहरुको विशिष्ट पहिचानमध्येको एक हो । अरुबेला त यस्तो प्रश्नको उत्तरमा फाफुरासँग अर धेरै उरन्ठेउला उत्तरहरु हुन्थे । तर, यो त आफैले मिस कलको जाल हानेर पारेको माछो थियो । त्यसैले उसले मीठो स्वरमा भन्यो,

“माफ गर्नुहोला, काटिया काटियै गर्छ भन्या । अहिले बल्ल तपाईको बोली सुनियो ।”

“किन तारन्तार मिस् कल हानिरा ?”

“घरमै आएर कलर टिभी बनाइदिने भने विज्ञापन तपाईँले टाँस्नुभा हो ?”

उताबाट हो भन्ने जानकारी प्राप्त भएपछि फाफुराले त्यस मानिससँग कुरा मिलायो । त्यहीअनुसार ऊ साँझ चार बजे टोलको माइक्रो बसपार्कमा आउने भयो । आजकल विदेश भ्रमणमा जाने हाम्रा प्रधानमन्त्री र राष्ट्रपतिज्यूहरुलाई त्यहाँका फाफुराकै औकातका प्युसा मन्त्रीले गर्ने जस्तै भव्य स्वागत गर्दै फाफुराले कलर टिभी बनाउने मानिसको सवारी आफ्नो डेरासम्म चलायो । अलिकति पर मेलम्ची निर्मित सानोतिनो समुन्द्र तर्न पर्ने थियो । त्यो मानिसले भन्यो,

“तपाईको कोठा पुग्न त ‘नाम लियो भने कारवाही हुने’ वस्तु पो चाहिने रहेछ त ।”

फाफुरा खिस्स हाँस्यो । बाधा अड्चन पार गरेर कोठामा पुग्नासाथ उसले सोध्यो, “खोई तपाईको टिभी ?”

फाफुराले कुनै नयाँ भवनको उद्घाटन गरेजसरी आफ्नो जीउ पुछ्ने मैलो रुमालले छोपेको टिभीको अनावरण ग¥यो । त्यो मानिसले जिल्ल परेर हालका टेलिभिजनहरुको रामापिथेकसलाई हेर्‍यो । अनि सोध्यो,

“के बिग्रेको छ ?”

फाफुराले हाँस्दै गर्वका साथ भन्यो,

“सतको धनले किनेको टिभी हो । यसको खरीदमा कुनै अनियमितता वा छ्याकनको प्रावधान थिएन । वायु सेवा निगमको जहाज वा सडकको पिच हो र किन्न नपाई वा बन्न नपाई बिग्रिनलाई ? किनेको बेलादेखि अहिलेसम्म केही दुःख दिएको छैन यसले भाइ ।”
त्यो मानिसले खाउँलाजस्तो आँखाले हेर्दै सोध्यो,

“बिग्रेको छैन भने मलाई किन बोलाएको त ?”

”सय रुप्याँमा घरैमा आएर कलर टिभी बनाइन्छ भन्या हैन त ?”

अझ जिल्ल पर्दै उसले भन्यो,

“त्यो त हो नि । तर .....”

फाफुराले उसको कुरा काट्दै भन्यो,

“बनाइदिनुस् न त कलर टिभी । यो ब्ल्याक एन्ड ह्वाइट टिभी हो । नत्र वल्र्ड कप हेर्दा कहिलेकहीँ दुइटा टिमै छुट्याउन सकिँदैन ।”

हेर्नुस्, त्यसपछि त्यो मानिसले उल्टै फाफुरालाई यति गाली गरेर गयो, जति गाली त विपक्षमा बसेको पार्टीले सरकारमा भएकाहरुलाई पनि गर्दैन होला । फाफुरा सोच्न थाल्यो, नसक्ने भए किन विज्ञापन गरेको होला ?

कुनै बेला थियो जब मान्छे भन्ने गर्थे सबैभन्दा ठूलो कुरा मान्छेको बोली हो । नसक्ने कुरा बोल्नै हुँदैन, बोलेको कुरा नसक्नै हुँदैन । तर, त्यसपछि नेता र राजनीतिज्ञहरु भन्ने प्राणीहरुको उत्पत्ति भयो । उनीहरुले यो प्रथालाई ठ्याक्कै उल्ट्याइदिए । अब हुँदाहुँदा आजकल यस्तो अवस्था आइसक्यो, सबै मानिसहरु गफैले मात्र बम्बै कलकत्ता हाँक्ने भए । कसैको बोलीलाई कसैले गम्भीरतापूर्वक नलिने भइसक्यो । बोलेको कुरा पुर्‍याउन नपर्ने भएपछि मानिसहरु ठूलाभन्दा ठूला गफहरु ठोक्न थाले । त्यसैले आजकल कसैको पनि बोलीको ठेगान हुन छाड्यो हेर्नुस् त । भन्ने बेला एक थोक भन्छन् तर गर्ने बेला केही नि गर्दैनन् । अथवा अर्कै थोक गर्छन् । अगुवाहरु नै ठगुवा अनि बाटो हगुवा हुन थालेपछि त्यसैको सिको गरेर माथिदेखि तलसम्मकाहरु घैँटे हान्न ओस्ताद हुन थाले । हामी हरेक ठाउँमा यस्तै भ्रामक नारा, वाचा र विज्ञापनले ठगिएका छौँ । फाफुराले कलर टिभी बनाउनेको उदाहरण त एउटा रमाइलोको लागि मात्र दिएको हो । उसको विज्ञापनको भाषाको कुरामा मात्र रमाइलो गरेको हो । तर, सवारी चालकको अनुमतिपत्र नवीकरण गर्न एक वर्ष लाग्ने देशमा सय दिनको समय–सीमा राखेर गँजडीले पनि गर्न नसक्ने गफ गरेर चुनाप जित्न सकिने देश हो यो । त्यो कुरो त आफ्नै ठाउँमा छ नि कसो ?

अब विश्वकप सकिएको छ । फाफुरालाई पीर परेको छ । परिवार र साथीभाइ त भै हाले, सामाजिक सञ्जालमा समेत नचिनेका मानिसहरूसँग बाझाबाझ गर्दै हामी भकुण्डोको आनन्द लिइरहेका थियौँ । अब नियास्रो लाग्ने भयो हामीलाई । अब हामी कोसँग निहुँ खोज्ने ? के कुरामा खण्डित हुने होला लौ ? यो कुराको उत्तर पाइएला कि भनेर फाफुरा उही भरपर्दो रत्नपार्कमा पुग्यो र टोपीले मुख छोपेर सुत्यो । नभन्दै एकै छिनमा उसको मगजमा झिलिक्क आयो, हामीलाई जुट्ने कारण खोज्न पो गाह्रो हो त । किनभने त्यो आफैँले खोज्नुपर्छ । फुट्ने कारण त नाथे जति पनि पाइन्छ । किनभने त्यो त अरुले पनि खोजीखोजी हाम्रो अगाडि ल्याइदिन्छन् । दुखै गर्नु पर्दैन । कुनै न कुनै विषयमा हामी भर्खर हेरेको भकुण्डोको जोसमा विभिन्न समूहमा विभाजित हुन्छौँ, एकले अर्काको घुँडो र पिँडुला ताक्न थाल्छौँ । अनि सामाजिक भनिने सञ्जालमा हामी असामाजिकरुपमा प्रस्तुत हुन थालिहाल्छौँ । 
 
 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, साउन १, २०७५ मा प्रकाशित
TATA Landing
Dishhome
TATA Landing
Dishhome
प्रतिक्रिया दिनुहोस्