बाह्रखरी
sticky  ncell
ब्लग प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
फाफुरा १९ भिखारी भत्ता
ब्रजेश खनाल
बाह्रखरी - ब्रजेश खनाल मंगलबार, असार २६, २०७५
Laxmi Bank
Laxmi Bank

यो देशमा रत्नपार्कमा टोपीले मुख छोपेर सुत्ने त वातावरण नै छैन । 

यत्तिका लामो समयसम्म फाइँफुट्टीराजको फाइँफुट्टी पढिसकेपछि त तपाईँहरुलाई फाफुरा र रत्नपार्कको सम्बन्ध भनेको डन र नेताहरुको सम्बन्धजस्तै हो भन्ने थाहा भइसकेको हुनुपर्छ । हाम्रा देशका जनप्रतिनिधिहरु जनताप्रति उत्तरदायी, इमानदार र भ्रष्टाचार विरोधी छन् भन्ने कुरामा जस्तै यो कुरामा पनि तपार्इँहरु शतप्रतिशत आश्वस्त हुनुहुन्छ । त्यसैले यहाँहरुलाई भनिरहनै परेन – रत्नपार्कमा टोपीले मुख छोपेर नसुतुन्जेल फाफुरालाई कुनै फाईँफुट्टी फुर्दैन । 

आजकल मनसुनले गर्दा दिनदिनभर पानी पर्छ । रत्नपार्कको घाँस भिजेको र त्यहाँको भूइँ हिलाम्य हुन्छ । त्यही भएर उसलाई कतै यो साता मौनव्रत लिनुपर्ने त हैन भन्ने पीर परिसकेको थियो । तर, मनसुनको बीचमा एक दिन बिदो भैदियो । आजकल फाफुरीको सल्लाहमा फाफुराले ट्विटर खेल्न सिकेको छ । त्यहाँ एकजना चर्चित मौसमविद्को जगजगी हुन्छ । बिहान उनको ट्विट भविष्यवाणी हेरेर त्यहीअनुसार दिनको योजना बनाउँदा फरकै पर्दैन । उनले पानी पर्छ भनेको दिन छाता घरमा छोडेर हिँड्ने र घाम लाग्छ भनेको दिन नबिर्सी छाता रेनकोट बोक्ने गरे हुन्छ । त्यति भरपर्दो त कुनै सरकारी निकाय, नासा अथवा फेसबुक पनि हुँदैन । त्यसदिन उनले आज दिनभर पानी पर्छ भनेको हुँदा फाफुरा रत्नपार्कमा सुत्न पाइने भो भनेर विश्वस्त भएर गयो । नभन्दै झलमल्ल घाम लागिसकेको थियो र ऊ त्यहाँ पुग्दा चौर पनि सुकिसकेका थियो । आधा चौथाइ बदामको नियमित खुराक लिएर फाफुरा आफ्नो प्रिय कुनामा गयो । अखबार च्यातेर बनाएको सोली फिँजाएर ऊ कुहिएका बदामहरु छुट्याउँदै थियो । अचानक उसका आँखा च्यातिएको अखवारमा छापिएको एउटा मानिसको फोटोमा पर्यो । त्यो मानिस त उसले चिनेको थियो । 

Rohto Landing

Agani Group

फाफुराले पछिल्लो एक वर्षदेखि रत्नपार्क वरिपरि त्यो मानिसलाई देख्थ्यो । ऊ कहिले ढोकामै, कहिले पार्कभित्र त कहिले आकाशे पुलको छेउछाउ माग्दै गरेको देखिन्थ्यो । उसको माग्ने कला गज्जबको थियो । खासमा पछि गएर ऊ के बन्छ भन्ने कुरा फाफुराले त्यतिबेला नै बुझ्नु पर्ने हो । जम्काभेट भएको बेला फाफुरा सँधै उसलाई दश रुप्याँ दिने गथ्र्यो । यही क्रममा उसको र फाफुराको मित्रता भएको थियो । एक पटक फाफुरासँग सुक्कोदाम नभएको बेला उसैले फाफुरालाई आधा चौथाइ बदाम पनि खुवाएको थियो । नियमित ग्राहकहरुलाई बेलाबेला उपहार योजनाले फकाएर चंगुलमा राख्न उसले जानेको थियो । त्यस दिन कुरैकुरामा उसले फाफुरालाई भनेको थियो – 

“बुझ्नुभो मिष्टर फाफुरा, यो रत्नपार्क ‘एरिया’ खासमा पहिले मेरो ससुराको भागमा थियो । सम्पत्ति विवरण भर्ने बेलामा पनि उनले यही रत्नपार्कमात्र लेखेका थिए । उनकी छोरीसँग मेरो बिहे हुँदा दाइजोमा दिनका लागि उनीसँग तोलाका तोला सुन थिएन । त्यसैले ससुराबाले यही कमाउ क्षेत्र आफ्नो ज्वाइँलाई दाइजोमा दिएर आफू अन्तै माग्न जान थालेका हुन् ।” 

sarbottam cement

त्यसको केही दिनपछि पाफुराले उसलाई पाँच रुपियाँमात्र दिन थाल्यो । दुई तीन पटक पाँच रुपियाँमात्र पाएपछि एकदिन उसले फाफुरालाई अलि ठाडो पारामा सोध्यो, 

“मैले खाइपाइ आएको सुविधा अचानक किन घटाउन थालेको ?”

उसको कुरा र स्वरको भाव सुनेर फाफुरालाई पनि खपिनसक्नु भयो । उसले रिसाउँदै भन्यो, 

“भाइ, तपाईँ बढ्ता बोल्दै हुनुहुन्छ । मैले कति दिने भन्ने त मेरो इच्छाको कुरो हो नि । तपाईँलाई दिने भिख भन्या सांसदको भत्ता, पूर्व विशिष्टको सुविधा, आयकर, पेट्रोलको भाउ, मेलम्ची आउने दिन, ठेकेदारहरुको काम टुँग्याउने मिति, राजनीतिज्ञहरुको लालच र नेपालको भ्रष्टाचार जस्तो सँधै बढ्नैपर्छ भन्ने कहीँ लेख्या छ ?”

फाफुरा सन्केको देखेर भिखारी अलिकति हच्कियो र भन्यो,

“लेख्या त छैन । तै पनि, लोकतन्त्रमा प्रश्न सोध्ने अधिकार त छ नि मलाई पनि । कारण जान्न पनि नपाउनू ?”

फाफुराले पनि अलि मत्थर भएर भन्यो,

“कारण नै मात्र जानेर हुन्छ भने ल सुन्नुस् भिखारी भाइ ! पहिले हरिकंगालै भए पनि म एक्लो थिएँ । खर्च कम थियो । तपार्इँलाई दस रुपियाँ दिन सक्थेँ । केही समयअघि मेरो जीवनमा फाफुरी आई । मेरो बिहे भयो । जिम्मेवारी बढ्यो । त्यसैले पाँच रुपियाँमात्र दिन थालेँ । बुझ्नुभयो ?”

भिखारी गम्भीर भयो र केही सोचेर फेरि प्रश्न गर्‍यो,

“यसको मतलब अर्को वर्ष तपाईँको घरमा फुच्चे फाफुरा वा फुच्ची फाफुरीको आगमन भयो भने तपाईँ मलाई पाँचबाट पनि घटाएर दुई रुप्याँ दिन थाल्नुहुन्छ ?”

फाफुराले स्वीकार गर्‍यो । अचानक भिखारी दाह्रा किट्दै बोल्यो,

“तपार्ईँलाई मैले अलि गतिलै मान्छे ठान्या थिएँ । तर, तपाईँ पनि हाम्रो सरकारजस्तै हुनुहुँदो रहेछ । लाज सरम केही छैन ? आफ्नो भरमा केही गरुँला भन्ने ह्याउ छैन ? आर्काको आम्दानी मारेर आफ्नो गर्जो टार्ने ? मेरो पैसाले स्वास्नी छोराछोरी पाल्ने योजना बनाउने ?”
फाफुराले केही भन्नु अघि भिखारी रिसले चुर भएर फन्केर गयो । 

फाफुराले उसलाई रत्नपार्कतिर नदेखेको केही समय भइसकेको थियो । तर, त्यस दिन अचानक अखवारमा उसको फोटो छापिएको देख्दा फाफुराले उदेक खायो । फाफुराले अखवारको टुक्रा सम्याएर उसको बारे पढ्न थाल्यो । भिखारी त ठूलो मान्छे भइसकेको रहेछ । ऊजस्तै अरु भिखारीहरु पनि एकै ठाउँमा भेला भएर एउटा ठूलै समूह बनेको रहेछ । तालुमा आलु फल्ने भनेको त साधारण कुरा भयो, उनीहरुको तालुमा त रुबी रोमन भन्ने प्रजातिको अँगुर फलेको रहेछ, जसको छब्बीस दानाको झुप्पाको झन्डै नेपाली दस लाख पर्छ । त्यो अँगुर फलेको कारण उनीहरुले आफ्नो फाइदा हुने नीति नियम र ऐन कानुन बनाउने अधिकार पनि प्राप्त गरेका रहेछन् । उनीहरुले केही भत्ता स्वीकृत गराएका रहेछन् । अखवारमा त्यसलाई ‘भिखारी भत्ता’ भनिएको थियो । अखवारको टुक्रामा त्योभन्दा बढी पढ्न सकिएन । फाफुरालाई खुल्दुली भयो । त्यही बेला कसैले उसलाई पछाडिबाट ढाडै खुस्केला जसरी धाप मा¥यो । उसले फर्केर हे¥यो, उही पुराना परिचित भिखारी मित्र रहेछन् । ती भिखारीको हुलिया नै अर्कै भइसकेको रहेछ ।

“के छ फाफुराजी ? मलाई चिन्नुभो ?” 

“किन नचिन्नु ? म भर्खर तपार्इँकै फोटो हेर्दै थिएँ अखवारमा । कस्तो अनौठो संयोग ।”

उनले कुम उचाल्दै लापरवाहीका साथ भने,

“ठाउँमा पुगेपछि हेर्नुस्, यस्ता फोटो त छापिइरहन्छन् अखवारमा ।”

फाफुरालाई भिखारी भत्ताको बारे खुल्दुली भइरहेको थियो । मिटरमा बदमासी गरेको जाँच गर्नासाथ यातनायात व्यवसायीहरुले सडकमा ट्याक्सी तेस्र्याए जसरी उसले प्रश्न तेस्र्याउन भ्याइहाल्यो,

“कृपया यो भिखारी भत्ताको बारे केही प्रकाश पारिदिनुहुन्छ कि ?”

उनले हाँस्दै भने,

“अरु सबैले जस्तै आफू पावरमा भएको बेला हामीले पनि हाम्रो हक र हितका लागि केही सुविधाहरु पास गराएका हौँ । हामीभन्दा अघिकाहरुले पनि गरिआएकै कुरा हो । नजिर त्यसैलाई मानेर हामीले पनि त्यस्तै गरेका हौँ । त्यसैलाई यी आरिसे पत्रकारहरुले ती सुविधाहरुलाई भिखारी भत्ता नाम दिएका हुन् ।”

“कस्ता सुविधाहरु ?” 

उसले घाँटी खकार्दै भन्यो, 

“डाडु पन्यूँ आफ्नै हातमा हुनासाथ हामीले सबैभन्दा पहिले त प्लाष्टिक, ट्वाक र सिलावरको कुच्चिएको कचौराको साटो सबैका लागि एकएक वटा चाँदीको कचौराका लागि भत्ता पास गरेका छौँ । चाँदीको कचौरामा भिख थापे हामीहरुकोे इज्जत बढ्छ ।”
ऊ धाराप्रवाह बोल्न थाल्यो । उनीहरुले सबै भिखारीको लागि एकएकवटा क्रेडिट कार्ड र एटिएम कार्ड घोट्ने मेशिन पनि पास गराएछन् । उसले भन्यो,

“आजकल मानिसहरु चलाख भइसके । पैसा बोकेर हिँड्दैनन् । कार्डमात्र छ भन्छन् । यसरी हाम्रो व्यवसायमा परिरहेको घाटालाई नियन्त्रण गर्न यो अत्यावश्यक भइसकेको थियो । अब त्यति भएपछि हरपल इन्टरनेटसँग आबद्ध हुन असीमित डेटा पनि चाहियो । हामीले हरेकलाई स्मार्टफोन र म्याकबुकको लागि पनि बन्दोबस्त गरेका छौँ ।”

“त्यो सब किन नि ?” 

“हरेक दिनको आम्दानीको हिसाब राख्न र भोलिका एजेन्डाहरुमा छलफलको तयारी गर्न । हामी विदेशी मुद्रासँग नेपाली रुपियाँको विनिमय दर अनि सेयर मार्केटको आधारमा हरेक दिन हामीलाई न्यूनतम कति भिख दिनुपर्ने भन्ने तय गर्छौँ । त्यसभन्दा कम दिएमा आन्दोलन शुरु गर्छौँ । बैंकमा हरेक घन्टा डलरको भाउ बढ्न सक्छ भने हामीमात्र किन मुर्गा बन्ने ? त्यसमाथि फोन र इन्टरनेट भएपछि एउटा मोडबाट भिख दिएर जाने मानिसको बारे अरु मोडमा भएका साथीहरुलाई जानकारी दिन सकिन्छ । कुनै ‘मख्खीचुस’ र ‘किरनटोकी’ रहेछ भने त्यस्तासँग समय खेर नफाल्नका लागि हामी हाम्रा साथीहरुलाई बेलैमा सचेत गराउन सक्छौँ । भिखारी भत्ता अन्तर्गत हामीले हाम्रा केन्द्रीय अध्यक्ष, उपाध्यक्षलगायत हरेक प्रदेशका प्रमुखहरुलाई आजीवन घरभाडा, गाडी, मसलन्द, मर्मतसम्भार जस्ता विधाहरुमा पनि निश्चित रकम उपलब्ध हुने व्यवस्था मिलाएका छौँ । यो स्मार्ट देशको स्मार्ट सहरमा शौचालय समेत स्मार्ट बन्न थालिसकेको हुनाले यहाँका हामीजस्ता भिखारीहरुलाई पनि स्मार्ट भिखारी बनाउन हामीले यी सब सुविधा पास गराएका हौँ ।”

फाफुराले केही सोच्दै भन्यो,

“यसरी पूर्ण रुपमा परिवर्तित भएपछि त तपाईँहरुको आफ्नो पहिचान नै मासिँदैन र भन्या ?”

उनले छाती फुलाउँदै भने,

“तपाईँले हामीलाई अझै चिन्न सक्नुभएन मिष्टर फाफुरा । हामी हाम्रो पहिचान कसै गरी पनि मासिन दिन्नौ । त्यसका लागि हाम्रो औपचारिक पोसाकको लागि पनि भत्तामा ठूलै रकम विनियोजन गराइसकेका छौँ ।”

“कस्तो पोसाक ?”

“एक प्रकारको विशेष वनस्पतिको धागोबाट निर्मित विशेष प्रकारको कपडामात्र हामी प्रयोग गर्नेछौंँ । हुन त भारत, बंगलादेश, भियतनाम र नेपालमै पनि त्यो उत्पादन नहुने हैन । तर, स्तर कायम राख्न हामीले त्यो उज्बेकिस्तान, सुडान, जिम्बाब्वे, इजिप्ट वा ब्राजिलबाटै आयात गर्नुपर्ने नियम पनि बनाएका छौँ ।”

फाफुरा उनको विद्वताबाट प्रभावित नभई रहन सकेन । उसले चमत्कृत स्वरमा सोध्यो,

“कस्तो विशेष वनस्पति, धागो र कपडाको कुरा गर्नुभएको हो ?”

उनले गर्वका साथ भने,

“टिलिएसिआए वा मालभिसाए प्रजातिको कोर्कोरस क्याप्सुलराइस भन्ने वनस्पतिबाट बनेको कपडा ।”

फाफुराले केही पनि बुझेन । उसले कान कन्याउँदै सोध्यो,

“यो कस्तो वनस्पतिबाट बनेको के कपडा हो ? मैले त नाम पनि सुनेको थिइनँ ।”

उनले फाफुरालाई कीराफट्याङ्ग्रालाई हेरे जसरी हेर्दै भने,

“तपाईँजस्ता मूढ र अज्ञानी भुईँ मानिससहरुले बुझ्ने भाषामा त्यसलाई जूटबाट बनेको बोरा भन्छन् । बोरा हाम्रो पहिचान हो । यो ओढ्न पनि काम लाग्छ, नोट भर्न पनि काम लाग्छ ।”

फाफुरा उनका कुराहरुको प्रतिवाद गर्न सक्ने अवस्थामा थिएन । उसले दुवै हात जोडेर ती मानिसलाई नमस्कार ग¥यो । उनले पनि मान्छे ठूलो हुनासाथ गर्धन अह्ररो पारेर हल्का झड्का दिने शैलीमा फाफुराको अभिवादन फर्काए । 
 
(प्रतिकात्मक रुपमा जुन अमूक समूहलाई भिखारीहरुसँग तुलना गरिएको छ त्यसबाट भिखारीहरुको इज्जत, प्रतिष्ठा र आत्मसम्मानमा कुनै ठेस लाग्न गएमा फाफुरा आफ्नो त्यस्तो कुनै नियत थिएन भनेर मनको गहिरो कुनादेखि नै क्षमा याचना गर्न चाहन्छ ।)
 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, असार २६, २०७५ मा प्रकाशित
TATA Landing
Dishhome
TATA Landing
Dishhome
प्रतिक्रिया दिनुहोस्