site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रधानमन्त्रीज्यूसँग जिज्ञासा

प्रधानन्त्री केपी शर्मा ओलीले केही दिनअघि एक कार्यक्रममा प्रजातन्त्र गए के आउँछ र प्रजातन्त्र गए कहाँ जान्छ ? भन्ने सार्वजनिक प्रश्न गर्नुभएको थियो । त्यस्तो प्रश्नको जबाफ इतिहासले दिइसकेको भन्ने ठानेर उहाँको यो प्रश्नको उत्तर कसैले दिएन होला  । तर, यो प्रश्न प्रधानमन्त्रीले मुलुकमा एकाधिकारवादी अधिनायक प्रवृत्ति देखिन थालेको भन्ने दाबी गरिरहेका नेपाली काग्रेसलगायत प्रतिपक्षी दल र लोकतन्त्रवादी नागरिक समाजका अघिल्तिर राख्नुभएको हो । दलहरु वा नागरिक समाजले आफूलाई अलोकतान्त्रिक चित्रित गर्दै औंला उठाएकोमा प्रधानमन्त्री ओलीको चित्त दुःखाइ हुनसक्छ । आफ्नो प्रजातान्त्रिक छविमाथि लाग्न थालेको दागप्रति उहाँको गुनासो वा सतर्कता दुवै अर्थ त्यस प्रश्नमा निहित होला ।

प्रधानमन्त्रीलाई लाग्दो हो, म चौध वर्ष जेल बसेको, केका लागि ? प्रजातन्त्रका लागि । लाग्न सक्छ । तर, लामो जेल बसाइ नै प्रजातन्त्रको पहरेदार हुनसक्दैन भन्ने थाहा हाम्रा प्रधानमन्त्रीलाई धेरै छ । तपाईँको जेल बसाइको आदर्श प्रजातन्त्र थियो कि सर्वहाराको वर्गीय अधिनायकवाद ? प्रधानमन्त्री ज्यू तपार्इँको प्रजातान्त्रिक प्रतिबद्धताप्रति कोही पनि प्रश्न गर्न चाहदैनन् र गर्न नपरोस् भन्ने नै चाहन्छन् । नागरिक समाजका पात्रको पहिचान बनाएकाहरूको चिन्ता र चासो प्रधानमन्त्री र उहाँले नेतृत्व गरेको सरकार कतै अधिनायकवादतिर वा अलोकतान्त्रिक व्यवहारतर्फ नजाओस् भन्ने  सुझावको अर्थमा आएको छ । यस्तो चिन्तालाई गलत अर्थमा टिप्पणी गर्ने र हल्का जबाफ दिने कुरा बनाउँदा कसैको चित्त बुझ्दैन । त्यो पनि प्रजातान्त्रिक प्रणालीको प्रधानमन्त्रीले । आरोप नै किन नहोस् ,त्यसलाई पनि चिन्ता मानेर सकारात्मक अर्थमा लिइयो भने सुधारको बाटो देखिन्छ वा खुला हुन्छ । समीक्षाले प्रजातान्त्रिक प्रणाली, पद्धति र पहिचानलाई उम्दा बनाउन सकिन्छ । आरोप मात्रै हो भने त त्यसमा चिन्ता गर्नै पर्दैन, त्यो स्वतः निरर्थक भइजान्छ । 

प्रतिपक्षी दल र नागरिक समाजका पात्र प्रतिनिधिले सरकारी व्यवहारको केही उदाहरण दिएर एकाधिकारवादी शैलीप्रति औँल्याएका हुन् । ‘बाघ कराउने र बाख्रा हराउने’ भनेजस्तै अनुदारवादी कम्युनिस्ट पाठशालाबाट प्रशिक्षितहरुको  सत्ता सञ्चालन शैली कतै आदेशात्मक, कतै निषेधात्मक र कतै आवेशात्मक भएको उनीहरूले सप्रमाण भनेका छन् । कम्युनिस्ट सिद्धान्त र व्यवहार निषेधात्मक नै हो,जहाँ स्टालिन र लेनिन भेटिन्छन् । कम्युनिस्ट पार्टीको एकाधिकार रहेको सत्ता विचार विविधताप्रति असहिष्णु तथा स्वतन्त्र दर्शनबाट प्रेरित आर्थिक, साहित्यिक र सांस्कृतिक विषयप्रति पनि अनुदार रहनुको प्रमाण विगत मात्रै होइन, वर्तमान पनि हो । कम्युनिस्ट मोह त्याग्न नसकेका तर रुपान्तरित लोकतन्त्रवादी दाबा गरिएका हाम्रा शासकहरुको धङधङगी कस्तो होला ? यो प्रश्न बडो रोचक छ । यी दुई राजनीतिक दर्शन बिल्कुल भिन्न हुन् । दर्शनको शिखण्डीकरण कति गर्ने हो ? तर राजनीतिमा शिखण्डी स्वीकृत नै छ । 

Prabhu Bank
Agni Group
NIC Asia

संसदीय लोकतन्त्रविरुद्ध एक दशकको हिंसाचारमा करिब अठार हजार सपुतको बाँच्न पाउने मूलभूत मानवीय अधिकार हरणको कारक बनेको माओवादीलाई तपाईंहरू र स्वयं माओवादीको सहमतिमा गिरिजाप्रसाद कोइरालाले गहुँत छर्की दिनुभएको हो । अहिले माओवादीमाथि लागेको आरोप मेटाउन त्यो पुच्छर नै काटिदिएर नेकपा (नेकपा)मात्रै हुनखोज्ने माओवादी र त्यसलाई काँध थापिदिने तपाईं नेकपा(एमाले) अध्यक्ष ओलीले ठीक गर्नुभएको छ । त्यसका लागि एमाले काट्न तपाईं पनि तयार हुनुभयो । यसरी नेकपा माओवादीले माओवादको अपजस र कृत्यलाई प्रायश्चित्त दान गरेको छ । कुनै दिन त्यही पार्टीका नेता डा.बाबुराम भट्टराईले पनि  माओवादको अपयशबाट मुक्त हुन नयाँ शक्तिको सपना देख्नुभएको हो । यस्तो पुच्छर हटाइदिएपछि एमाले र माओवादीवीच एकता वा सम्मिलनको बाटो खुल्यो । यससँगै जबज पनि हट्यो र नयाँ जनवाद पनि गयो । यसो हुनु लोकतन्त्रप्रतिको प्रतिबद्धता हो र ? स्मरणीय छ, एमालेले आफूलाई अब्बल प्रजातन्त्रवादी दाबा गर्ने एउटा सूत्र थियो – जबज (जनताको बहुदलीय जनवाद)।नेता मदन भण्डारीको सिर्जना । त्यसलाई नै ब्रह्मनालमा सुताएपछि,बाँकी के रह्यो ? कम्युनिस्ट कि प्रजातन्त्र ? उता सि जिङपिङको अभ्युदयमा माओवादको अवशान हुनैपर्ने थियो कि ?

अब केही व्यावहारिक पक्ष हेरौँ । स्वाभाविकरूपमा दार्शनिक सन्देहमा रहेका कम्युनिस्टहरुको वर्तमान सरकारको व्यवहार प्रजातन्त्र अनुकूल छैन । प्रजातन्त्रको प्रमाणपत्र कसैले दिने होइन आफँैले लिने र व्यवहारले आर्जन गर्ने हो  । यो कुरामा सरकार चुक्दै गएको छ । जस्तो प्रधानमन्त्रीले गृह मन्त्रालयअन्तर्गतको अनुसन्धान विभागलगायतका अन्य संयन्त्र पनि आफू मातहत खिच्नुभएको छ । यसरी तिनको अधिकार र अर्थ आफूमा केन्द्रित गर्नु प्रजातान्त्रिक विकेन्द्रीकरणको प्रतिकूल हो, एकाधिकारको द्योतक भयो । त्यस्ता संस्थालाई पूर्ववत् संरचनामा रहन दिएर थप गतिशील, सशक्त र परिणामदायी बनाउँदा प्रणाली र प्रधानमन्त्रीका लागि सुहाउँदो काम हुन्थ्यो ।

Global Ime bank

अनुदारताको अर्को उदाहरण विरोध प्रदर्शनका लागि देशभर ठाउँ तोकिनुबाट स्पष्ट हुन्छ । कारण दिएर, तोकिएका फलानो, फलानो ठाउँमा विरोध प्रदर्शन नगरिदिनु होला भनेको भए तै बिसेक मानिन्थ्यो । अहिलेको उर्दी त उल्टो छ । विरोध गरे खबरदार भन्ने शैलीको छ । सबै नेपाली पञ्च, सबै पञ्च नेपाली भन्ने पञ्चायती शासकहरूले ठाउँमात्रै होइन, विरोध र विरोधीलाई नै निषेध गरेका थिए,त्यो टिकेन । प्रजातन्त्र र जनअधिकारका लागि लडेको बताउनेहरूले ती दिन बिर्सिएका हुन् कि ?  सत्ताधारीहरूको स्मरण  यतिचाँडै खुइलिनु त नहुने हो, वा निर्दलीय  पञ्चायतको भूत सवार भयो ? कसरी ती दिन बिर्सिइए ? अर्कोतर्फ पत्रकारिता पनि सशंकित हुन थालेको छ । किन हो ? लेखक खगेन्द्र सँग्रौलाले अहिले मुलुकको समुच्चा पत्रकारितालाई ‘गोरखापत्र’ भनी टिप्पणी गर्नुभएको छ । यस विषयमा धेरै लेख्न किन पर्दैन भने पत्रकारिताका माध्यमहरू आफैँं लेख्न, बोल्न सक्षम छन्, रहनुपर्छ ।  

यतिबेला प्रतिपक्षले माग गरेको संवैधानिक विषयमा पनि सरकारी पक्षले अनुदार, ओठे जबाफ दिएको छ । विषय समाभुख र उपसभामुख भिन्न दलबाट हुनुपर्छ, भन्ने संवैधानिक प्रावधानको हो । सरकारी पक्षले यी पदमा निर्वाचित भएपछि ऊ कुनै दलमा आबद्ध रहँदैन त्यसकारण संविधानको त्यो प्रावधान लागु हँुदैन भनी रहेको छ । त्यसो हो भने भिन्न दल, किन भनिन्थ्यो ? कुनै दलसँगको आबद्धता निर्वाचित भएपछि स्वतः खारेज हुने भने पुग्ने थियो । यसलाई प्रतिपक्षले भागबण्डा खोजेको सत्तापक्षको आरोप छ । सरकारी पक्ष यो प्रावधानलाई उम्मेदवारी दिने बेलासम्मको हो भनी स्वार्थका लागि वैधानिक व्यवस्थामाथि प्रहार गर्दैछ । यो व्यवस्था संसद्को सन्तुलनका लागि हो भन्ने सामान्य अर्थप्रति पनि सरकार बुझपचाइ रहेछ । संविधानको मान्यता कायम होस् भन्ने प्रतिपक्षको स्वाभाविक अपेक्षालाई उपेक्षा गर्दै छ ।   विधि, लोकतन्त्र र सुशासनका लागि लडेको दाबा गर्ने प्रधानमन्त्री अनुचरहरूको अवैधानिक बोलीमा किन मौन बस्नुहुन्छ ? राजनीतिक समझको एउटा स्पष्ट कुरालाई अदालतको कठघरामा पुर्याएर उपचार खोज्ने बिरामी सरकारी व्यवहारको लाज छोप्न गाह्रै होला । तर, विषय संवैधानिक व्याख्याका लागि न्यायालयसम्म पुगेकाले मर्यादाको ख्याल गर्दै थप भन्नु आवश्यक भएन । लोकतन्त्रमा संसद्, सडक र सञ्चार प्रायः प्रतिपक्षकै हुन्छ भन्ने मर्म पनि भुल्नु भएन । 

सरकारले अध्यादेश प्रतिस्थापन गर्न ल्याएको राष्ट्रिय स्वास्थ्य शिक्षा विधेयक पनि आलोचित बन्यो । आफैँले समेत अनुमोदन गरेको अध्यादेशका प्रावधानलाई बटारबुटुर पारेर, माथेमा आयोगको प्रतिवेदन प्रतिकूल ल्याइएको स्वास्थ्य विधेयक स्थगित गर्न सरकार बाध्य भयो । विगत सम्झौताविपरीत ल्याइएको त्यो विधेयकविरुद्ध अनशन बस्न जुम्ला पुगेका डा. गोविन्द केसीप्रति सरकारको व्यवहार भने तानाशाही शासकको भन्दा फरक छैन । उनी पुग्नु एक दिनअघि निषेधित क्षेत्र घोषणा गरेर अस्पतालसम्म पनि उनलाई जान दिइएन । पक्राउ गरिएको र अँध्यारो,फोहर र दुर्गन्धित कभर्डहलको कोठामा थुनिएको जानकारी सञ्चारमाध्यमले प्रवाह गरेका छन् । स्थानीय प्रशासनले उनको उपचारमा समेत व्यवधान पुर्याएको खबर आएको छ । स्वास्थ्य क्षेत्रको ठूलो तप्का, नागरिक समाज, सञ्चारमाध्यम र स्थानीय बासिन्दाको व्यापक समर्थन प्राप्त एक सम्मानित नागरिकका लागि सरकारको यस्तो अशिष्ट व्यवहारले प्रजातन्त्र र नागरिक स्वतन्त्रताको पुष्ट्याइँ गर्दैन ।  छोराको हत्यारालाई कारबाही हुनुपर्ने न्यायालयको आदेश कार्यान्वयन  होस् भनी माग राखेर आमा गंगामायाले अनशन बस्नुपर्ने अवस्थाले विधि, सुशासन र नागरिक अधिकारको सुरक्षा छैन भन्ने स्पष्ट हुन्छ  । यही मागमा गंगामायाका पति नन्दप्रसादले ज्यानै गुमाए । सत्याग्रहीहरूप्रतिको यस्तो निर्मम उपेक्षा प्रजातन्त्र हो र सरकार ?  

प्रधानमन्त्री ज्यू नागरिक समाजले उल्लिखित उदाहरणसहित विनम्रतासाथ औँल्याएको कुराप्रति तपाईँको संवेदनशील उत्तरको प्रतीक्षा छ । जबज छोडेपछि झन् घनीभूत दार्शनिक र सैद्धान्तिक सन्देहको धरातलमा तपाईंले नेतृत्व गरेको  सरकारको आदेशात्मक, निषेधात्मक, आवेशात्मक र उपेक्षात्मक  व्यवहार अहिलेको यथार्थ वा संयोग हो कि प्रजातन्त्रवादी नेपालीले गरेको चिन्ता मात्रै ? समयले त जबाफ देला, समयको प्रतीक्ष गर्नुपर्ला ।   
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २१, २०७५  ०७:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC