site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
चित्रनगर
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
चित्रांगदा, मेरी बहिनी ! तिमी यहाँ भेटिनेछ्यौ भन्ने मलाई कल्पनै थिएन । बग्गी रोक्न लगाएर डा. कामिनी मेनन बाटैमा उत्रिन् र अँगालो हाल्दै गीत गाए जस्तो स्वरमा भनिन् । 
उस्तै परिधानमा, निकै प्रसन्न र चहकिली देखिन्थिन् उनी । अचम्म मान्दै चित्रांगदाले सोधी— कहिले आयौ तिमी देवी ? तिम्रो यता आइहाल्ने त योजना थिएन ! 
तत्कालै आएँ चित्रांगदा !... यसो भन्दा कामिनीको अनुहारमा अझ बढी खुसी देखियो । चित्रांगदालाई तानेर सडक छेउको बेन्चीमा पु¥याइन् उनले, दुवै त्यहीँ बसेर बात मार्न थाले ।
तिमी हिँडेको केही दिनमै गन्धर्वदूत डा. विधाता सौरीपुर धर्मशालामा आएर बसेका थिए । याम्यपुरमा भैरहेको दंगाको निरीक्षण गर्न आएका रहेछन् । धर्मशाला व्यवस्थापनको खूब प्रशंसा गरे । चित्रनगरमा गन्धर्व दूतावासको गृह–व्यवस्थापनका निम्ति पात्र खोजिरहेका रहेछन् । मलाई कामको प्रस्ताव गरिहाले, मैले पनि स्वीकार गरें । र, उनैसँग विमानमा सोझै आएँ देवी ।
ईश्वर दयालु छन् कामिनी ! राम्रो भएछ तिमीलाई...
हो चित्रांगदा । मलाई गन्धर्व दूतावासमै आवासको प्रबन्ध छ । मुद्रा बढी दिएका छन्, ठूलो ठाउँको आफ्नै आकर्षण... र, सबै भन्दा राम्रो कुरा— विधाता पनि एक्ला रहेछन् । उनीसँग झगडा गरेर पत्नी उषा गन्धर्वदेश गएकी रहिछन् । केटाकेटी उतै पढ्छन् रे । बिचरा एक्लै... त्यस माथि सुगरका बिमारी । मैले विधाताको भोजनगृह आफैं हेरिदिएकी छु, सँगै गर्छौं हामी साँझको भोजन । कहिले अबेला रातिसम्म बसेर पुराना सिनेमा हेर्छौं । कहिले म पुराना गीत गाउँछु, उनी आँखा चिम्लेर मग्न भएर सुन्छन् । हामी दुवैको एक्लोपन हटेको छ । हामीलाई रूचि लाग्ने कुरा पनि धेरैजसो साझा छन् देवी— कला संस्कृतिका पारखी छन् विधाता । आफ्नो स्तरको कुरा बुझ्ने बौद्धिक मान्छेसँग आफ्ना दुःख सुख बाँड्न पाउँदा प्रसन्न छु म । 
उनकी पत्नी फर्कन्नन् र देवी ? 
खै के गर्छिन् ? अंश लिएर छुट्टै बस्न खोजेको कुरा पनि गर्थे विधाता । केटाकेटी आफूसँग राखेर तिनको भरणपोषणका निम्ति भनेर सम्पत्तिको ठूलो भाग दाबी गर्ने सुरमा छिन् रे उनी । 
कमलो स्वरमा फेरि भनिन् उनले— 
डा. विधातामा उनीप्रति वितृष्णा छ । आइमाई बढी महङ्खवाकांक्षी भए पुरूषले धेरै दुःख पाउने निश्चित हो चित्रांगदा । परिवारको आनन्द नै समाप्त हुन्छ त्यस अवस्थामा । सामान्य परिवारबाट आएका सरल स्वभावका विधाता भन्थे— कामिनी, पत्नीको उपस्थितिमा मलाई सकस अनुभव हुन्छ । 
हर सानातिना कुरामा लैंगिक मान–अपमानको विषय निकालेर सधैं रडाको मच्चाउँथिन् रे उषा । दुई विषयमा पीएचडी गरेकी मेधावी महिला रहिछन् उनकी पत्नी । तर, जति पढे पनि परिवारलाई जोड्न नसक्ने आइमाईको के अर्थ, होइन र चित्रांगदा ?
चित्रांगदा चकित थिई उनको बदलिएको मनस्थिति देखेर । उनै कामिनी थिइन् यी, जसले आफ्नो पतिले अर्की आइमाई मन पराएकोमा खिन्नता व्यक्त गर्थिन्, पुरूष चरित्रको कमजोरी माथि बारम्बार टिप्पणी गर्थिन् । 
डा. विधाता मलाई के भन्छन् थाहा छ चित्रांगदा ? उनले प्रसन्न हुँदै भनिन्—
उनी भन्छन्— कामिनी, तिम्रो आगमनले मेरो जीवनमा शान्ति र आनन्द फिर्ता आएको छ । हराएको खुशी पाएको छु मैले । 
भगवान जस्ता छन् विधाता ! यस्तो असल मान्छेलाई दुःख दिने त्यो आइमाई कस्ती होली भनेर मलाई अचम्म लाग्छ !
कामिनीको कुरा सकिएको थिएन—
म असाध्यै खुशी छु मेरी बहिनी ! पृथ्वीमा कहिल्यै नपाएको सन्तुष्टि ईश्वरले मलाई यहाँ दिएका छन् । ...अपरम्पार छ तेरो लीला प्रभु... भावुकतावश दुवै हात जोडेर निधारमा पु¥याएर निहुरिइन् उनी... आँखा भिजेर गाजल लत्पतिएको थियो ।
अचम्म मानेर उनलाई हेरिरही चित्रांगदाले । बाटै छेउ बसेर कामिनीले फररर्र यी सबै कुरा भनिभ्याएकी थिइन् । 
तिमीलाई एक दिन म बोलाउँछु दिउसो । एकान्तमा बसेर दिदीबहिनीले मनका कुरा गरौंला... नभए केही दिन मसँगै यहीं बस । यति भनेर कामिनी बग्गीमा उक्लिन् । 
 
 
० ० ०
 
बग्गी पठाइदिएकी थिइन् कामिनीले अतिथि भवनमा । कृपासुरलाई नलिई एक्लै गई चित्रांगदा गन्धर्व दूतावासतिर । कामिनी प्रांगणमै कुरेर बसेकी रहिछन् । बडो स्नेह गरेर उसलाई भित्र लगिन् । सबै कोठा चोटा देखाएपछि आफ्नो कोठामा लगिन् र पलङमा बसाइन् । आफूले यहाँ आएर जोडेका ठूलो किनार भएका कटनका साडी र चाँदीका गहनाहरुको कलेक्शन देखाइन् । भित्ताभरिको एउटा विशाल दराज पूरै भरिएको थियो । 
डा. विधाताले सुटुक्क सुनाएको एउटा ठूलो रहस्य मेरा मन भित्र लुकेको छ चित्रांगदा । कसैसँग बाँड्न नपाउँदा उकुसमुकुस भएको छ मलाई, यताउति हेर्दै भनिन् उनले । 
भन न देवी.... चित्रांगदाले भनी । 
नजीकै आइन् कामिनी र सुस्केरामा बोल्न थालिन्—
बुझ्यौ... यतिखेर गन्धर्वदेशले यमलोक माथि ठूलो षडयन्त्र रचिरहेछ । म आफैं पनि यमलोकको भविष्यप्रति चिन्तित छु । तर, के गर्नु, मैले चिताएर मात्र केही हुँदैन । डा. विधाता समेत यस्तो षडयन्त्रमा शामेल हुनुपरेकोमा दुःखी छन् । उनी त जागीरे मान्छे; आफ्नो लोकको नीति अनुरुप चल्नैप¥यो । नभए छोड्नुप¥यो जागीर । उनको पनि बाध्यता छ । बूढा बा आमा छन् घरमा, तीन वटी बहिनीको बिहे गर्न बाँकी छ भन्थे । उनीहरुको समुदायमा दाइजोको चलन धेरै छ । उनकी पत्नीका कुरा त सुनिहाल्यौ । 
कस्तो षडयन्त्र भन्यौ कामिनी ? 
...गन्धर्वदेशले यमलोकलाई अधीनस्थ बनाइराख्न विशेष नीति बनाएर अघि बढिरहेछ । यमलोकलाई निरन्तर तनावग्रस्त बनाउने, त्यस पछि पृथ्वीलोकबाट आउने जीवात्मालाई यमलोकको सट्टा गन्धर्वदेशको बाटो हिंडाउँदै धर्मराजकहाँ पु¥याउने लक्ष्य छ गन्धर्वदेशको । यसो गर्दा ठूलो राजस्व संकलन हुन्छ रे । यसबाट गन्धर्वदेशको ख्याति पनि तीन लोक चौध भुवनमै फैलिन्छ रे देवी ! 
कार्ययोजना कस्तो रैछ त देवी ? सानो स्वरमा सोधी चित्रांगदाले । 
यमलोकको सीमावर्ती भागलाई गन्धर्वदेशमा मिलाउने योजना तयार हुँदैछ भन्छन्, देवी । सीमाक्षेत्रमा शुरु भएको उपद्रव त्यसैका निम्ति हो अरे । कथंकदाचित् यमलोकमा नयाँ नागरिकता नीति पारित भयो भने चाहिं अप्ठेरो पर्छ रे । त्यसलाई रोक्न सीमाक्षेत्रमा गन्धर्वदेशले आन्दोलन उठाइदिएको छ । आन्दोलनमा गए बापत गोप्य रुपमा व्यापक मुद्रा बाँडिएको छ । यमदूत, महिला, चिकित्सक, धार्मिक लगायत जनलाई आन्दोलनमा उतार्ने काम यही गुरूयोजनाकै अंग हो । दिनहुँ गोली चलेको चल्यै छ । चारैतिर आगजनी र लूटपाट भैरहेछ । दृश्यमा गन्धर्वदेश छैन, काम गर्ने पात्र सबै यमलोककै छन् । सीमाक्षेत्रमा तनाव बनाइराख्न त्यतैका बासिन्दाहरु गोप्य रुपमा खटिएका छन् । प्रतिपक्षी नेता वक्रतुण्ड पनि यसमा शामेल छन् । उनीहरु सबै धर्मसभाका सदस्य हुन् देवी, पत्याउँछ्यौ ? 
आश्चर्यचकित भएर हेरी चित्रांगदाले । उसलाई लाग्यो— कत्रो धोखा ?
कामिनी भने बोलिरहिन्—
अझ आश्चर्य त, महाराजपुत्र चन्द्रशेखर समेत गन्धर्वदेशसँग मिलेका छन् । युवराज हुन नपाएको झोंकमा उनी यमलोकलाई धोका दिन तत्पर छन् । त्यस बापत ठूलो मुद्रा लिन्छन् उनीहरुले विधाताबाट । बिचरा विधातालाई पनि सजिलो छैन, मौका यही हो भनेर मोलमोलाइ गर्छन् सबै । दिनरात नभनी ऐरेगैरेका ढोका ढोकामा गएर चित्त बुझाउनुपर्छ । ’छिमेकी चिढ्याउने नागरिकता नीति बनाउन तत्काल रोक’ भनेर चित्रपाटीमा सम्पादकीय लेखाउन मात्रै तीन करोड मुद्रा खर्च गरे विधाताले । 
चित्रांगदा ! मलाई त उनीहरु यहाँ आएर विधातासामु गिडगिडाएको देख्ता घीन लागेर आउँछ ! अर्काको प्रलोभनमा परेर आफ्नो राष्ट्रमाथि गद्दारी गर्नेहरु नीच कोटिका जीव हुन् । आज राति पनि उनीहरु आउनेवाला छन्, मोक्ष भोजनालयले भोजन व्यवस्थापनको जिम्मा पाएको छ । 
यो कुरा महाराज विचित्रलाई थाहा छ ? चित्रांगदाले सोधी । 
उनलाई थाहा हुनु र नहुनुले कुनै अर्थ राख्तैन; उनका पुत्र चन्द्रशेखरलाई हात लिएपछि उनलाई जे गराउन पनि सकिन्छ भन्छन् विधाता । 
उद्दालक नि ? उनको विद्वत्ताको ठूलो चर्चा छ, यमलोकमा । उनी धर्मसभामा पनि छन्... चित्रांगदाले सोधी । 
रहस्यमय मुस्कुराइन् कामिनी । भनिन्— 
उद्दालक विद्वान हुन्, सुन्दर व्यक्तित्व र तीक्ष्ण स्मृतिशक्ति भएका उनी शास्त्रचर्चामा विख्यात छन् । मधुर र प्रिय बोल्छन् । पतिपत्नी दुवै विधाताका निकट मित्र पनि हुन् । प्रायः भोजन गर्ने गरी आइरहन्छन् यहाँ । उनका धेरै नाता सम्बन्धी र मित्र गन्धर्वदेशमा भएकाले प्रायः उतै बस्छन् । चित्रनगर धर्मसभाका सदस्य भए पनि धेरैजसो अनुपस्थित नै रहन्छन् । यसपल्ट भने लामो समय पछि यमलोक आएका छन्... 
अनि देवी ?
अति मद्यप्रेमी, उनका कमजोरीलाई राम्ररी समातेको छ गन्धर्वदेशले । आप्ना दैनिक आवश्यकता पूर्तिका निम्ति मात्रै पनि प्रदाताहरुसँग सम्झौता गर्नुपर्ने स्थिति छ उद्दालकको । यति बाँधिएका छन्, गन्धर्वदेशको नीति विपरीत उनी जान सक्तैनन् चित्रांगदा । यतिखेर पनि उनको आगमनको कारण छ, यमलोकमा नागरिकता नीतिको विरोधमा जनमत बनाउने अभिभारा उनैलाई दिएको छ गन्धर्वदेशले । 
साँचो बोलिरहिछौ देवी ? चित्रांगदाका आँखा अविश्वासमा ठूला भए । 
कामिनी भने वास्तै नगरी भनिरहिन्— मलाई चाहिं खास गरी उनकी पत्नी तारा मन पर्दिनन् । अति नै आक्रामक र छुच्ची छिन् ती आइमाई, सहिष्णुता पटक्कै नभएकी झगडालु । आफैं मात्रै जान्ने–सुन्ने भन्ठान्छिन् । मद्यले टिल हुन्छिन् र बहाना पारीपारी विधातासँग टाँस्सिन जान्छिन् ! रिसाएको अनुहार पारिन् कामिनीले र भनिन्— 
नखरमाउली नारी !
हे भगवान ! चित्रांगदाले दुवै हातले आफ्नो टाउको समाती । कामिनी भनिरहेकी थिइन्— 
गन्धर्वदेशको षडयन्त्रबारे जानकार भएर पनि त्यसमा सहमत नहुने चित्रपुर नायक सुकर्ण मात्रै छन् नीति निर्माणका तहमा । त्यसैले त शुरुदेखि उनी माथि प्रहार भैरहेछन् देवी । उनलाई कलंकित देखाएर लोकका नजरमा गिराउने प्रयत्न चालू छ । उनी भने जसरी भए पनि नागरिकता नीति पारित गराउने उद्देश्यमा केन्द्रित छन् । नत्र यत्रो अपमान सहेर बसिरहने थिएनन् । 
...यमलोक माथिको यो षडयन्त्र थाहा पाएदेखि मेरो मुटु कामेको काम्यै छ चित्रांगदा । यस्ता दुर्नियत र दुर्विचार राखेर कसरी हिंड्न सकिन्छ कुन्नि ? हुन त विधाताले यो रहस्य अरुलाई नचुहाउनू भनेका थिए मलाई । तिमी त आफ्नै हौ नि मेरी बहिनी ! तिमीले चाहिं कसैलाई नभन्नू... कामिनीले उसलाई सतर्क बनाइन् । 
एक छिन रोकिएर फेरि भनिन् उनले— सुकर्णप्रति मेरो श्रद्धा छ देवी ! डा. विधाता पनि भित्री रुपमा उनलाई सम्मान गर्छन् । सुकर्णकी पत्नी स्वस्थानी यहींको आभिजात्य भारदारी परिवारकी उच्च शिक्षित नारी हुन्, हिरण्यलोकबाट उच्च शिक्षा हासिल गरेकी । उनलाई मात्तिएकी घमण्डी पनि भन्छन् जनले । तर सुल्झिएको विचारकी शीलवती सुन्दरी छन् उनी । उनलाई महाराजपुत्र चन्द्रशेखरले मन पराएर विवाहको प्रस्ताव पठाएका रहेछन् । त्यसलाई अस्वीकार गरेर सुकर्णसँग प्रेमविवाह गरेकीले पनि चन्द्रशेखरको सुकर्णप्रति डाहा छ । एकपल्ट स्वस्थानीलाई तिमी पनि भेट... मन प्रसन्न हुनेछ । 
चित्रांगदाले कामिनीसँग बिदा मागी । 
म पनि जान्छु तलसम्म... भन्दै कामिनी ऊसँगै ओर्लिन् । तल बैठकमा बसिरहेका स्वामी ऋषिकेशव र भुवनलाई देखेर चित्रांगदा तीनछक्क परी । उठे दुवै, नमस्कार गरी उसले । तिनका घाँटीमा स्वामी परिमलले दीक्षामा लगाइदिएको रक्तचन्दनको माला थियो । भुइँचालोमा दुवै आ–आफ्ना कार्यालयमा पुरिएछन् । कामिनीसँग राम्रो परिचय रहेछ उनीहरुको, कुशलक्षेम गरे तिनले । कामिनीले भनिन्—
म चित्रांगदालाई बाहिर बग्गीसम्म छोडेर आउँछु... बस्तै गर्नुहोला देव...
बाहिर निस्केपछि चित्रांगदाले सोधी— ऋषिकेशव र भुवन यहाँ किन आएका हुन् ?
वरिपरि हेर्दै कामिनीले बिस्तारै भनिन्— जल–माफिया हुन् देवी । आइरहन्छन् । दुवै गन्धर्वदेशका निम्ति काम गर्छन् । यमलोकले वैतरणी र पुष्पभद्रा नदीबाट बिजुली निकाल्ने ठूलो योजनाको टेण्डर खोलेको छ । त्यसैको ठेक्का हात पार्न विधातालाई भेट्न आएका हुन् । यी दुई वटा नदी हात पार्नु भनेको यमलोकलाई नाङ्गेझार पार्नु हो भन्ने गन्धर्वदेश राम्रोसँग जान्दछ... । 
 
(सोमबार सार्वजनिक हुन लागेको उपन्यास 'कम्प'बाट लिइएको अंश । यो पुस्तक सांग्रिला बुक्सले प्रकाशन गरेको हो)
 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १, २०७३  १३:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC