site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
चिकित्सक पढ्न ५० औं लाख लाग्ने व्यापार दुनियाँमा कहीँ हुन्छ ?

वकालतको जीवनमा बसेँ । न्यायाधीश बसेँ । प्रधानन्यायाधीश बनेँ । अनुशासन हुन्छ । तर, आजकल किंकर्तव्यविमूढ छु । के बोल्ने, के नबोल्ने, केही भेउ पाउन सकेकी छैन । बडा अचम्मित पो छु म । 

देश ‘रघुकुल रीत सदा चलिआयो’कै बाटोमा छ । हिजोको सरकार पनि त्यही हो, आजको सरकार पनि त्यही हो । भोट दिएका जनताले आश गर्छन् । र, त्यो आशा निराशमा बदलिन्छ ।

प्रतिपक्षमा बस्दा सडकका बार, रेलिङ भत्काउने ! निषेधाज्ञाको पालना गर्नु पनि नपर्ने ! त्यतिबेला मैले पनि सुन्थेँ– लौ निषेधाज्ञा जारी हुने भयो रे, ठाउँ–ठाउँमा ।
त्यतिबेला स्वतन्त्र न्यायपालिका पनि चाहिन्थ्यो । धपकड हुँदा, गिरफ्तारीमा पर्दा छुटाउनुपर्‍यो । तर, सत्तामा आएपछि अदालत पनि परतन्त्र हुनुपर्ने । निषेधाज्ञा लगाउनुपर्ने, अनि के यो ‘रघुकुल रीत सदा चलिआयो’ कै पुनरावृत्ति होइन ?

Agni Group

यो मुलुकमा पञ्चायती व्यवस्थामा पनि त्यही देखियो । त्यसपछिका व्यवस्थामा पनि उही । जसजसको सरकार आयो, उही प्रवृत्ति दोहोरिएको छ । फेरिएको त भाषणमात्रै । निचोडमा भन्ने हो भने सबैको स्वभाव उही । यस्तै हो भने पन्ध्र हजारभन्दा बढी मानिसको बलिदानी केका लागि ? ०६२–६३ को आन्दोलन केका लागि ?

हामीले देख्यौँ, ०६२–६३ को आन्दोलनमा मानिसहरू सडकमा उत्रिएका । यदि त्यसो नभएको भए परिवर्तन आउँदैनथ्यो । तर, परिवर्तनपछि पनि उही पुुनरावृत्ति ?

Global Ime bank

संविधानले नै भनेको छ– शान्तिपूर्णरूपमा भेला होऊ । आफ्ना विचार राख । व्यक्ति, समाजमाथि अन्याय हुँदा बोल्नुपर्छ । दूर–दराजमा गएर, जंगलमा गएर बोलेर हुँदैन । सुनिने ठाउँमा गएर बोल्नुपर्छ ।

प्रतिपक्षमा हुँदा आफ्ना कुरा राख्न त्यही ठाउँ चाहिन्थ्यो । भोलि सरकारमा नहुँदा पनि त्यहीँ आएर आफ्ना कुरा राख्ने हो ।

मलाई अर्को कुरा पनि भन्न मन लागेको छ । डर पनि छ– कति कुरा भन्न हुने हो, कति नहुने हो ? तर पनि म आम नागरिक नै भइसकेको मानिस हुँ । 

हिजो नेपाली कांग्रेस र तत्कालीन नेकपा माओवादी केन्द्रको सरकार थियो । सरकारमा हुँदा नेपाली कांग्रेसलाई गंगामाया दुखिनन् । हेर्न जाने फुर्सद मिलेन ।
युद्धमा कान्छो छोरो मारियो । श्रीमान्को शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा अलपत्र छ । जेठो छोरो बेपत्ता भयो । मरेजिउँदाको खुट छैन । हिजो कांग्रेसले देखेन । थाहा पाएन त्यो । तर, आज गंगामाया भेट्न जान कसरी सकेको ?

अहिलेको सरकारलाई पनि गंगामायालाई भेट्न जाने फुर्सद छैन । हेर्नुहोला भोलि निस्किएपछि इस्यु (मुद्दा) बनाउँछ । हो, सबभन्दा दुःख लाग्दो कुरा हो यो ।
कतिपय कुरा शास्वत् हुन्छन् । कतिपय कुरा राष्ट्रलाई नभई नहुने कुरा हुन्छन् । इमान्दारिता, भ्रष्टाचाररहित समाज, शान्त र सुव्यवस्थित समाज । पक्षपातरहीत विधिको शासन । यो शाश्वत कुरा हो ।

तर, यहाँ त एउटा दल सरकारमा आउँदा अर्कोलाई मिचेकै छ । प्रवृत्ति नै भइसक्यो । अहिले सात ठाउँमा निषेधाज्ञा जारी गरेको छ नि, त्यो प्रतिपक्षलाई मिच्न हो ।
तर, यो देखेको हामीले आज होइन । हामी नागरिक होऔँ, सेवामा बसेका मानिस होऔँ । हिजोदेखि यही देख्दै आएका छौँ । पञ्चायतको पालमा पनि यही त हो– ठाउँठाउँमा निषेधाज्ञा तोकिन्थ्यो । विरोध गरे प्रहरीले पक्रन्थ्यो । बोल्न दिँदैनथ्यो । मानवअधिकारको दुरुपयोग भयो, हनन् भयो भने बोल्न हामी नै जान्थ्यौँ । पछि कांग्रेसको सरकार पनि त्यही भयो । अहिले दुई तिहाइको सरकार छ, प्रवृत्ति त्यही ।

अतः यो ‘रघुकुल रीत सदा चलिआयो’ नै हो ।

अक्सर सोच्छु– देशको हावा नै यस्तो हो कि, पानी नै त्यस्तो छ कि ! नत्र किन सधैँ यस्तै हुन्छ ।
सरकारविरुद्ध आफ्ना कुरा राख्नै नपाइने ? विरोध त गर्नुपर्छ । तोडफोड पो गर्नुभएन, डकैती पो गर्न भएन,  लुट्न पो भएन । आफ्ना अभिव्यक्ति निर्वाध राख्न पाउनुपर्छ ।

डाक्टर गोविन्द केसी देख्दा अचम्म लाग्छ । न उनका सन्तान छन्, न कोही परिवार छन् । उनले आफ्ना लागि गरेको हो यो ? १५ पटक भइसक्यो अनशन बसेको  । उनको  लडाइँ गरिबका निम्ति होला नि । गरिबका छोराछोरीको स्वास्थ्य सेवा, शिक्षा पहुँचमा पुगोस् भनेर होला नि । गरिबले पनि धनीसरह उपचार पाऊन् भनेर होला नि । दूर–दराज, अविकसित ठाउँमा अस्पताल बनोस्, मानिस अकाल नमरून् भनेर होला नि । यो भन्नु नाजायज हो ?

उनले १४ पटक गरेको प्रयास स्वरूप विधेयक खडा भयो । एउटा सादगी व्यक्तिले देशका लागि लडेर ल्याएको उपलब्धी मेट्न खोज्ने ? यदि यसो हो भने त सरकार शोषक, सामन्तीको लाइनमा पो पुग्यो ! आम जनताको माग हो– गरिबले खान–लगाउन पाउनुपर्छ । उपचार पाउनुपर्छ भन्ने त सामान्य अधिकारको कुरा हो । यो विद्रोहको कुरा हो र ? यसलाई विद्रोह मानिन्छ ? सुन्दा पनि अचम्म !

उनले त फगत माथेमा आयोगको प्रतिवेदन कार्यान्वयन गर न भनेका छन् । मैले कतै पढेँ– त्यो प्रतिवेदनको अभ्यास भारतले गर्न खोजिरहेको छ । प्रतिवेदनको प्रभाव त्यहाँसम्म पुग्यो । तर, जहाँ खडा भयो, त्यहाँचाहिँ बेपत्ता छ । 

म कुनै सरकारको नाम लिन चाहन्नँ । तर, सरकारमा आएपछि व्यापारीलाई, त्यो पनि कस्ता भने शोषक, सामन्ती व्यापारी पृष्ठपोषक भएर बस्नुहुन्छ । उनीहरूकै उन्नति होस् भन्नुहुन्छ र हिजो आफैँले ल्याएको कुरा लत्याउनुहुन्छ भने हामीले कसरी पत्याउने ?

हामी भन्न बाध्य हुन्छौँ– सरकार त सामन्ती रहेछ ! मुखले मात्र सैद्धान्तिक कुरा गर्ने व्यवहारमा खत्तम ! दुःख मान्ने कुरा छ– देशमा १५ हजार बढीको रगत बग्यो । परिवर्तन आयो भन्नु हुन्छ । तर, बदलिएको छैन । यही गरिब राख्नुहुन्छ, अभाव राख्नुहुन्छ भने ३० हजारले ज्यान गुमाउनेछन् । 

व्यापारीलाई पोस्नुहुन्छ, तस्करको नाइके बन्नुहुन्छ, तिनलाई पृष्ठपोषण गर्दै हिँड्नुहुन्छ भने अर्को ३० हजार मान्छे मर्छन् ।

सत्तामा हुनेलाई बन्दुकले जोगाएको छ । सेना, प्रहरीले जोगाएका छन् । युद्धकालमा भात खुवाउन नसकेर, चन्दा दिन नसकेर मान्छे मारिएका छन् । त्यस्ता मान्छे मारिए । परिवर्तनका नाममा मानिसले के पाए ? ‘काग कराउँदै गर्‍यो, पिना सुक्दै गर्‍यो’ भनेजस्तै भएन र यो ?

यस्तो होला भनेर मैले कहिल्यै सोचिन !

तेस्रो, गंगामायाको त नाम लिँदा पनि ऐंठन हुन्छ । तपाईं कल्पना गर्न सक्नुहुन्छ ? मैले मिसिल हेरेको छु । पढेको छु । जिज्ञासा लागेर पढेँ । कुनैदिन बहससमेत सुनेँ होला । मेरा हातबाट काम भएनन्, अलग कुरा हो । तर, मैले हेरेको छु ।

गंगामायाको सट्टा कोही नेताको छोरो मरेको भए ती रुँदैनथे ? आफ्ना छोरालाई युवराज बनाएर उभ्याउँछन् सडकमा ! तिनका नाममा कार्यक्रम गर्छन् । गोरखा फुजेल–७ की एउटी मामुली महिला, जसको भर्खर एसएलसी पास गरेको छोरो खुसी मनाउन मावली गएको । बाटैमा मारियो । श्रीमान् मारियो । छोरो कता छ पत्तो छैन । आफू मृत्युको सँघारमा छिन् । सरकारले घाँटी ङ्याकेर मार्दैछ । हामी सबैले मार्दैछौँ । किनभने हामी बोल्दैनौँ । हो, हामी सबैले मार्दैछौँ ।

तर, लाज मानौँ– संसारले देख्दा के भन्ला ? एउटी महिला एक्लै ६ वर्षदेखि न्यायका लागि लड्दैछिन् । खान देऊ, घर बनाइदऊ त भनेकी हैनन् नि ! भूकम्पपीडित पनि हैनन् । न्यायका लागि छटपटाइरहेकी छन् । हरेकलाई आफ्नो सन्तानको माया हुन्छ । सरकारमा बस्नेलाई पनि हुन्छ । 
तर, गंगामाया दम घोटीघोटी मरिरहेकी छिन् ।

यो मुलुकमा हामी तीनवटी महिला खडा भएका थियौँ । गंगामाया पनि इतिहासमा नाम लेखिने महिला हुन् । यी एतिहासिक महिला हुन् । न्यायको लागि यत्रो साहस कसैसँग हुँदैन । न्याय त्यो पनि अबला महिलाले लड्ने, त्यो सानो कुरा हो ? घर–सम्पत्ति, छोरो, श्रीमान्, केमात्रै सकिएन उनको ? आङमा लगाएको लुगा र शरीरबाहेक उनीसँग आफ्नो भन्नु केही छैन । के यसैगरी मर्न दिने ? कस्तो अन्याय हो यो ? 

एउटी आमासामु उभिएर हामीलाई माफी देऊ भन्न सक्दैनन् यी नेताले ? उनीबारे आज केही नलेखिएका, यिनका डरले । तर, इतिहासमा लेखिनेछ । यी अबलामाथि जसरी घाँटी ङ्याकिएको छ । तिनी मरिन् भने देशको लागि ठूलो कलंक हुने छ । भीमसेन थापाकी पत्नीलाई जसरी राणाकालमा जसरी बेइज्जती गरियो । नाङ्गो पारेर मर्न विवश बनाइयो । त्यस्तै घटना हो यो । र त, अति दुःख लाग्छ । आधा रातमा तिनका बारेमा सम्झिएँ भने निकै पीडाबोध हुन्छ । झसङ्गझसङ्ग हुन्छु ।

चौथो,

मेडिकलमा त्यस्तै छ । एकदिन एउटा केटो भेटेँ, बहुत दुः.खी थियो । घरसम्पत्ति बेचेर जानकी मेडिकल कलेजमा भर्ना भएको, बन्द भएछ त्यो कलेज । उसको सर्वस्व नै हरण भयो नि । के गरेको यो ? व्यापार गरेको ? मैले मेरै परिवारमा देखेको छु– छोरो चिकित्सक पढाउँदा खर्च नपुगेर एकजोर सुट हाल्न नसकेको । गाँस कटाइकटाइ खाएको । चिकित्सक पढ्न ५० औँ लाख लाग्ने, यस्तो व्यापार दुनियाँमा कहीँ हुन्छ ? 

पढाउने बेलामा जायजेथा, सर्वस्व, झिटीगुन्टा बेचेर पढाउने, तलबचाहिँ २० हजार पनि नपाउने ! सरकारले जबरजस्ती विदेश धकेल्दै छ तिनलाई । यसरी कसरी हुन्छ राष्ट्रको उन्नति ?

सरकारमा बसेकाले गरिबकाबारे सोच । नाटक गरेर हुँदैन । गरिबका घरमा, मुुसहरका घरमा पाकेको भात खाएर राष्ट्रको विकास हुँदैन । बरु तिनकाबारे सोच ।
बरु पञ्चायतका बेला अस्ति दिवंगत हुनुभएका चिकित्सकले पढ्न पाउनुभयो । आज गरिबका छोराले पढ्न पाउँदैनन् । मैले मेडिकल पढ्ने चाह भएर छात्रवृत्ति नपाएको र झुन्डिएर मर्न बाध्य भएको घटना इजलासमै सुनेँ ।

एउटीले मेरै अगाडि भनी– म्याडम मेरो सबैकुरा पुग्छ । तर, तीनपटक आवेदन दिँदा पनि यी अपराधीले छात्रवृत्ति दिएनन् । म झुन्डिएर मर्छु । मैले फैसला गरिदिएँ– तिनलाई पढ्न पाउने व्यवस्था मिलाउनू, दिनैपर्छ । यी समवेदना बुझ्नुपर्दैन ? मेडिकल शिक्षा के व्यापार हो ?

यहाँका अस्पतालको के कुरा गर्नु– एकपल्ट मलाई सानो रोग लागेछ । एक लाख ६० हजार खर्च गर्दा पनि रोग पत्ता लागेन । ठूला अस्पतालको यो हालत छ । अन्तिममा खै कसरी हो पत्ता लाग्यो र उपचार गरेँ ।

पत्रपत्रिका पढ्छु– सरकारले रेल, पानीजहाज कुदाउने सबै लेखेको छ । तर आम जनताको खान पाउने, रोग लाग्दा उपचार गर्न पाउने अधिकारै छैन । बजार निस्कनुहोस् विषाक्त तरकारी बेच्न राखिएको छ । मेरा श्रीमान् दुर्गा सुवेदी छतमा तरकारी रोपेर परिवारलाई खुवाउन बाध्य हुनुहुन्छ । 

आधारतभूत र न्यूनतम कुरा नै पाएका छैनन् । ठूल्ठूला र हावाका कुरा गरेर हुँदैन ।

(निषेधाज्ञा लगाउने सरकारको निर्णय, अनशनरत चिकित्सक गोविन्द केसी र गंगामाया अधिकारीको स्वास्थ्यबारे सरकारको ध्यानाकर्षण गराउन सार्वजनिक सरोकार मञ्चले मंगलबार गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राखेको मन्तव्यको सम्पादित अंश)
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १९, २०७५  १७:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC