site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
हत्या टरेको दिन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
बन्दी जीवन कष्टकर हुने भयो नै ।
घरको सम्झना, पार्टीको कार्यक्रममा खुलेर लाग्न नपाएको थकथकी, अनि भोलि आउने परिवर्तनको प्रतीक्षामा हरेक दिन चम्कन्थ्यो, हरेक रात चिसो भुइँमा मिसिन्थ्यो । अजेयराज सुमार्गीसँग त्यहीँ जेलमा भेट भएको हो । उहाँ थाहा अन्दोलनको योद्धा हुनुभएका कारण जनमुखीविरोधी सरकारले जेलमा कोचेको थियो । म प्रजातन्त्रको दर्शन बोकेको कांग्रेसमा लागेका कारण जेलमा हालिएको थिएँ । अन्य दलका मोदनाथ प्रश्रितलगायत पनि थिए ।
अजेय रुपचन्द्रको सानिध्यमा खारिएको मान्छे ! उहाँको लोकप्रियता यति धेरै थियो कि जेल प्रशासन पनि उहाँको ईष्र्या गथ्र्यो । उनीहरूको मान्यता थियो, कैदीहरू प्रशासनप्रति बफादार हुनुपर्छ, हामीले भनेको मान्नुपर्छ । तर, सबैजना अजेयको सुन्थे ।
उहाँ आफ्ना शैक्षिक प्रमाणपत्रहरू प्रशासनलाई बुझाएर बन्दीहरूलाई पढाउन थाल्नुभएको थियो । त्यसमा धेरै जवान थिए भने केही पाका । पाकाहरूका लागि प्रौढ शिक्षाको प्रबन्ध उहाँले नै गर्नुभएको थियो । बन्दीहरूलाई राजनीतिका बारेमा आधारभूत प्रशिक्षण दिने काम उहाँले गर्नुभएको थियो । त्यसैले सबैले ‘अजेय सर’ भनी सम्बोधन गर्थे । उहाँको हाईहाई यति चुलियो कि, विरोधीहरूका लागि टाउको दुःखाइको विषय बन्न पुग्यो । उनीहरू हत्याको तानाबाना बुन्न थाले ।
मेरो राजनीतिक यात्रा सबैलाई थाहा थियो । म त हतियार उठाएको मान्छे, तीन पटकसम्म जेल तोडेर निस्केको थिएँ । मेरा दाइ रामचन्द्र बास्तोला हुनुभयो । कास्की र बेसीशहरमा उहाँले जेल तोड्नुभयो भने तनहुँको जेल फोड्ने नाइके म थिएँ । दाइकै कारण म राजनीतिमा लागेको थिएँ । दाइ पटना सम्मेलनमा जानुभएको थियो, पार्टी पाल्ने जिम्मा सुर्वण शमशेरको थियो । निर्देशन पनि उनकै हुन्थ्यो । म विद्यार्थी मोर्चामा थिएँ त्यतिबेला । भोक–प्यास केही नभनी लागियो राजनीतिको बाटोमा । त्यसमै देशको हित देखियोे ।
लमजुङको चिहानपाटामा पहिलोपटक चारतारे झन्डा फहराउने म थिएँ । मेरो जंगली भूमिगत जीवन के भन्ने त्यसरी नै सुरु भयो । त्यो झन्डा निकाल्न प्रहरीहरूले रुखको हाँगा नै काटे । सारा गाउँलेलाई जम्मा गरेर म कतै देखिएमा सबैले अनिवार्य प्रशासनलाई खबर गर्नुपर्ने गरी हस्ताक्षर गराएका थिए । राजनीतिको दौरानमा नजिकका साथीले घात गरेका छन् । टाढाका साथीले सोचेभन्दा धेरै साथ दिएका पनि छन् ।
तनहुँमा जेलजीवन सरल भए पनि परिस्थितिले जेल फोडेर निस्किनुपरेको थियो । तर, नदी तर्न नसकेका कारण तुरुन्तै समातियौं । पछि चितवन जिल्ला कारागार चलान गरिएँ ।
भरतपुर जेलमा मेरो ख्याति थियो । बलियो थिएँ, हतियारको ज्ञान थियो तर भाग्ने योजना कहिल्यै बनेन । त्यो सबै अजेयबाबुको कारणले गर्दा हो । उहाँ ‘हामीले असल अभियानमा लागेबापत सजाय भोगिरहेका छौं, समय आउँछ र हामी छुट्नेछौं’ भन्नुहुन्थ्यो । मिलेर बसेका थियौं ।
त्यसबेला बन्दीहरू उती सारो रुपमा पढेलेखेका हुँदैनथे । पढिहालेका भए पनि बनारसी अध्ययनको आड हुन्थ्यो, कि त अपूरो पढाइ हुन्थ्यो । त्यतिको भरमा समाज बदल्नका लागि कुदिहाल्ने युवाहरूको मगज गजबसँग माडिएको थियो । समय कटाउनका लागि चेस खेल्ने अजेयको दिनचर्या थियो । उहाँले जेलभित्रका सबैलाई त हराइसक्नु भएको थियो तर त्यो क्रम बढेर गयो, प्रशासनसम्म । तर, उनीहरू पनि टिक्न सकेनन् । चेसमा सधैं हारेर कालो लत्रेको मुख बनाइरहेका हुन्थे । लाग्दो हो– यो सानो केटोले, त्यैमाथि बन्दीले हामीलाई हराउने ?
मैले हत्या योजनाको सुइँको पाइसकेको थिएँ । अर्को बिहान अजेय चेस खेल्न जेलरको निम्तामा उसकहाँ जाँदै हुनुहुन्थ्यो ।
मैले भनें, “आज हारेर आउनु है ?”
उहाँले कुरो बुझ्नुभयो/भएन तर यसमा केही होला भन्ने लाग्यो होला । त्यसै गर्नुभएछ ।
“आज उसलाई जिताएर आएको,” फर्किंदा हाँसेर भन्नुभयो, “थाहा पाई–पाई ठगिनु र हार्नुको मज्जा नै बेग्लै हुन्छ नारन्दाइ !”
उहाँको स्वभावै त्यस्तो ।
राजनीतिक विश्वास र बाटो बेग्लाबेग्लै भए पनि उहाँले अपनाएको बाटोप्रति मेरो सम्मान थियो । एउटै बाटोमा हिँडिहरेका दौतरीजस्तो लाग्थ्यो । फेरि अर्को दिन उहाँ चेस खेलका लागि बाहिर जानुभयो र फर्किंदा भन्नुभयो, “आज ७ खेल खेलियो, ४ मैले जितें, ३ उसलाई जित्न दिएँ ।”
हामी निकैबेर हाँस्यौं । विचरा जेलरलाई के थाहा, उसको जितको र हारको कारण एकै हो भन्ने ।
सधैंको दिनजस्तो एकदिन भएन । केटाहरू भित्तामा रंग लगाएको स्वाङ गर्दै थिए, अचानक उनीहरू भित्रिए र धमाधम अजेयको कोठातर्फ दौडिए । त्यसबेला उहाँको सुत्ने कोठा सिंगल थियो, उहाँ खाटमा सुत्नुहुन्थ्यो । त्यो आदर गुरुका रूपमा हामी कैदीहरूको थियो । जेलप्रशासनले पनि बुझेको थियो उहाँको स्थानलाई । तर, उनीहरू सोझै कोठातर्फ हानिएपछि म हुत्तिएर अजेयलाई पछाडि राखी समूहसँग प्रतिवादमा ओर्लिएँ, “हात मात्र लगायौ भने तिमीहरू कोही बँच्ने छैनौ । यो लडाइँ देशको हो, तिमी र हामीबीचको होइन, कसैको उक्साहटमा यो काम भइरहेको छ, खबरदार ।”
रातिको समय, एकैछिनमा कोलाहल मच्चियो । साथीसँगै अरु सबै बन्दीहरू जम्मा भए । मार्न आउनेहरूलाई डोरीले बाँधेर भुइँमा लडायौं । बाहिरबाट प्रशासनले ढोका खोल्न भन्यो । अहँ मान्नेवाला कोही थिएनौं ।
भन्यौं, “यसको हिसाबकिताब भोलि बिहान गरिनेछ । यिनीहरू यसैगरी लडिरहनेछन् र योभन्दा धेरै सजाय हुनेछैन, सुरक्षाको जिम्मा हाम्रो ।”
हामीले प्रशासनका कर्मचारीलाई फर्काइदियाैं । 
बिहानमा माहोल अर्कै भइसकेको थियो । सहायक सीडीयो, रा.प.स. जागृत भेटवाल, भीमबहादुर श्रेष्ठ, गीता वाग्ले, गुणचन्द्र विष्टलगायतका स्थानीय नेता र प्रशासनका कर्मचारीहरू जम्मा भएका थिए । त्यसरी अजेय हत्याको योजना तुहियो ।
हामीलाई थाहा थियो त्यसको कारण को हो ! पर्दापछाडिका पात्रहरू को–को थिए ! तीमध्ये केही बाँचेका छन्, केही मरिसके । तर, सिद्धान्तको लडाइँमा विचारको मोर्चामा व्यक्ति हत्या गर्ने योजना असल होइन । शायद अहिले ती बाँचेका कारकतत्वले बुझेका होलान्– निष्ठावान् विचारको लडाइँ कैयौं गुणा बलियो हुँदो रहेछ । समय बलवान हुन्छ, सत्यमा हिँड्नेहरू गन्तव्यमा ढिलोचाँडो गरी अवश्य पुग्छन् पुग्छन् । कुरा यत्ति हो– उनीहरू समयमै पुगेको भए समाजको विकास समयमै हुन्थ्यो भन्ने स्वार्थ हाम्रो हो ।
अजेयबाबुले थाहाका बारेमा मलाई मात्र होइन, सबैलाई पढाउनुभयो । रूपचन्द्रको नाम र चर्चा सुने पनि यसरी चिनेको थिइन । जेल बसाइमा रूपचन्द्रको कुरा निकै हुन्थे । एकदिन उहाँ आफैं अजेयबाबुलाई भेट्न जेलमा आउनुभयो र भन्नुभयो, “जेलसँग प्रतिशोध राख्नु हुँदैन, यो त अभियान हो, जारी राख्नुपर्छ । आत्तिएर गलत कदम उठाउने होइन ।”
रूपचन्द्रलाई पहिलोचोटि त्यही भरतपुर जेलको फलामे ढोकाबाट देखेको हो । अग्लो जिउ भएको खरा कुरा गर्ने र सम्झाउने तरिका मलाई मन परेको थियो । आन्दोलनको पक्षमा निरन्तर लागिरहनुपर्छ भन्ने उहाँको मतमा अत्यास थिएन । संघर्ष जारी राख्नुपर्छ, अवश्य हात लाग्छ खोजेको कुरा भन्ने चिन्तन उहाँको थियो । त्यसपछि बल्ल थाहा दर्शनको चुरो बुझियो । पहिले कांग्रेसी मात्र थिएँ । पछि सचेत कांग्रेसी पो भएँ ।
ममाथि विभिन्न आरोप लगाइएका थिए, जसको कुल सजाय १०० वर्षको थियो । ५ वटा त मुद्दा थिए । २०४७ मा किसुनजी सरकारमा आएपछि आममाफीअन्तर्गत देशभरका धेरै बन्दीहरू छुटेका थियौं । म ५ वर्ष भरतपुर जेलमा बसें । अजेय ११ महिनामा छुट्नुभयो ।
म जेलबाट निस्किएपछि बिस्तारै सक्रिय राजनीतिबाट टाढा भएँ । 
हामीलाई नै मार्न खोज्ने विरोधीहरू सरकार गए । सिद्धान्तको कुरै छैन । अवसरवादीहरूले स्थान पाइरहेका छन् । बडो विकराल ताल छ, यही सुस्तता देखेर म पातलिँदै गएँ । जेलबाट छुटेर फेरि दुराडाँडा गई खेती किसानी गरी बसें ।
पछि देशमा माओवादीहरू जन्मिए, सशस्त्र आन्दोलनको रन्को बढ्यो । मेरो कडा स्वभाव देखेर सरकारका मान्छेहरू माओवादी भन्थे, त्यो शंका यति बढेर गयो कि एक रात उनीहरू मलाई लिन १२ बजे आए, बाहिर निकाले, मुक्तिलाई मारेको हल्ला चारैतिर फैलिएको थियो । मेरो हत्याको योजनासहित उनीहरूले जंगलमा लगे । मैले प्रतिवाद गरें, “म माओवादी होइन, अहिले तिमीहरूले मलाई मारेपछि भोलि मेरो खोजी हुनेछ, जतिबेला मेरो संलग्नता देखिनेछैन । तिमीहरू र तिमीलाई आदेश दिने सबै फस्नेछौ, विचार गर ।”
उनीहरूले पनि सोचेछन् क्यारे, मलाई ३ बजेतिर घरमा पुर्‍याइदिए । 
मलाई माओवादीहरू लिन नआएका पनि होइनन् । तर म चलिरहेको चक्रमा अड्न नसक्ने मान्छे । कुनै सिद्धान्त देखिरहेको थिइनँ मैले । मार्ने र मर्ने काममात्र भइरहेको थियो । 
आजकल पनि कहिलेकाहीँ अजेयबाबुसँग पुनर्मिलन हुन्छ । परिवारको माहोलमा बसेजस्तो लाग्छ । सँगै कम्बल ओढेर सुतेका तिनै दिनको सम्झना आँउछ । 
 
(पुस्तक ‘अजेयराज सुमार्गी’का लागि निर्मलकुमार थापा र अरुणराज सुमार्गीसँग कुराकानीका क्रममा नारायण बास्तोलाले बारम्बार हातले मुख छोपे । दाँत लुकाउनु थियो उनलाई । किनकि दाँतहरू सद्दे थिएनन्– जेल जीवनमा पाएको सजाय थियो त्यो । प्रशासनले दिएको खत सँगालेर सामाखुसीको अँध्यारो गल्लीमा गुमनाम दिन बिताइरहेका छन् बास्तोला । दमनकारी सरकारविरुद्ध हतियार उठाएकै कारण १७ वर्ष जेल भोगेका यी कांगे्रसी योद्धा आफैंमा एक पुस्तक हुन् । यस्ता धेरै पुस्तकहरू देशमा आएको राजनीतिक परिवर्तनसँगै लोप भएका छन् । चाकडीको झोला बोक्ने अवसरवादीहरू शक्तिमा पुगेका छन् । “जसको हैसियत नै छैन, त्यसले कसरी आफ्नो भूमिका निर्वाह गर्ला ?” बास्तोला भन्छन्, “सत्यमा हिँड्नेहरू गन्तव्यमा ढिलोचाँडो अवश्य पुग्छन् । कुरा यत्ति हो– उनीहरू समयमै पुगेको भए समाजको विकास समयमै हुन्थ्यो भन्ने हो ।”
यो अंश उनैले सुनाएको विगत हो । थाहा अध्ययन प्रतिष्ठानले प्रकाशन गरेको पुस्तक ‘अजेयराज सुमार्गी’ बुधबार विमोचन भएको हो ।)
 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १, २०७३  १०:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC