अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनको स्वभावअनुसार एकाएक शरणार्थी आमाबाबुसँग अमेरिका आउने बालबालिकालाई अलग राख्ने नीति लागु गरिदिए । मध्य अमेरिकाबाट ज्यान जोगाउन आएका शरणार्थीलाई सँगै आएका आफ्ना सन्तानसँग अलग राख्ने नीति ट्रम्प प्रशासनले अपनायो । त्यसो गरेर जानी वा नजानी ट्रम्पले थप समस्या निम्त्याए ।
अमेरिकामा आप्रवासी संकट छ कि छैन भन्ने विषयमा चर्को विवाद छ । तर, ट्रम्पको त आफ्नै शैली छ । उनका कट्टर समर्थकहरूबाहेक अरूले ट्रम्पले अति नै गरेको ठानेका छन् । आमाको काखबाट सन्तान खोसिएका कथा, एक बच्चाको रुवाइ र सरकारले जारी गरेको अलि ठूला बालबालिकालाई तारबार लगाएको ठाउँमा राखिएको तस्बिर सबैले जनसाधारणलाई विचलित बनाएका छन् । थुनामा राखिएका बालबालिकामध्ये सबैभन्दा साना केटाकेटी वा अलिकति ठूला केटीहरूलाई भेट्न अझै अनुमति दिइएको छैन ।
सामान्यतयाः यस्ता घटनालाई वास्तै नगर्ने रिपब्लिकन सांसदहरूसमेत व्याकुल भए र ट्रम्प र उनको टोलीलाई परिवारलाई चिरा पार्ने तिनीहरूको नीतिले नभेम्बरको मध्यावधि चुनावमा जित्ने सम्भवना अन्त्य हुनेछ भनेर चेतावनी दिए । वास्तवमा परिवारलाई विखण्डित पार्ने नीतिले ट्रम्प र उनका कट्टर समर्थकका बीचमा समेत फाटो ल्याउने जोखिम बढेको थियो । उनीहरूले त सर्वोच्च अदालत र संघीय न्यायपालिकामा सामाजिक परम्परावादीहरूको नियुक्तिका लागि प्रथम महिला इवान्कासँगको विवाहका बेला एक जना अश्लील चलचित्रकी अभिनेतृ र अरूलाई मौन रहन पैसा दिएको घटनाजस्ता ट्रम्पका यौन बदमासीलाई समेत बेवास्ता गर्न तत्पर भइसकेका थिए । तर, असामान्यरूपमा पूर्व प्रथम महिला लाउरा बुसले बालबालिकालाई आमासँग अलग्ग्याउने नीतिविरुद्ध मुख खोलिन् ।
ट्रम्पको एउटा समस्या के भएको छ भने उनलाई ‘दृढ‘ देखिन मनलाग्छ । साँच्चै नै दृढ व्यक्ति गल्ती स्वीकार गरेर सुधार गर्न तत्पर हुन्छ भने यी अमेरिकाका ‘प्रमुख घमण्डी’ चाहिँ गल्ती स्वीकार गर्नै मान्दैनन् । त्यसैले ट्रम्प र उनका सहयोगीहरूले गल्तीको ढाकछोप गर्ने बहाना बनाएर भन्न थाले उनीहरूले त कानुन लागुमात्रै गरेका हुन् नयाँ नीति बनाएको हैन ।
यो ट्रम्प आफैँले निम्त्याएको समस्या थियो । यही मे ७ मा महान्यायाधिवक्ता जेफ सेसन्सले मेक्सिकोमा सीमामा अवैध सीमा पारप्रति ‘शून्य सहनशीलता‘को नयाँ नीतिको घोषणा गरेका थिए । उनले भनेका थिए – अवैधरूपमा सीमा पार गर्नेलाई पक्रेर मुद्दा चलाइनेछ । (अवैध आप्रवासीलाई पक्रेर छाडिदिने वा पुर्पक्षका लागि तारिख दिएर छाड्ने गरिनेछैन भन्ने पनि उनको घोषणाले बुझाउँथ्यो । ससाना बालबालिकालाई उनीहरूसँग थुनिनेछैन र तिनलाई अलग्गै राखिनेछ । सेसन्सले पछि आउनसक्ने आप्रवासीलाई यस नीतिले निरुत्साहित गर्ने ठानेका थिए ।
उनीहरूको अमानवीय निर्णयको विरोध सुरु भएपछि भने ट्रम्प र सेसनले तिनले लागु गर्न खोजेको कानुनका लागि डेमोक्य्राटहरूलाई दोष दिए । त्यो झुटो तर्कले काम नगरेपछि ट्रम्पले कानुन बनाएरमात्र त्यो समस्या समाधान हुनसक्ने तर्क गर्न थाले । तर, डेमोक्य्राटहरू र रिपब्लिकन सिनेटर लिन्डसले ग्राहमले समेत राष्ट्रपतिको एउटै फोनले समस्या समाधान हुन्छ भन्ने उत्तर दिएका थिए ।
अन्ततः त्यस नीतिबाट राजनीतिमा पर्न सक्ने असरको अनुभव गरेपछि ट्रम्पले कार्यकारी आदेश जारी गरेर आमाबाबु र छोराछोरीलाई सँगै थुनामा राख्ने व्यवस्था गरे । उनी आप्रवासनका सम्बन्धमा नरम भएका हुन् भने पनि ट्रम्पले आफ्ना गलत नीतिको ढाकछोप गर्न अवैध आप्रवासीले अमेरिकी समाजलाई संक्रमित गर्ने र तिनीहरूमध्ये अधिकांश दुर्दान्त अपराधी हुन् भन्नेजस्तो प्रचारवाजी गरिरहे ।
परन्तु अब नयाँ समस्या उत्पन्न भएको छ : प्रशासनले पहिले आधारातमा अमेरिकाका बालगृह र थुनुवा शिविरहरूमा पठाएर अलग गरिएका बालबालिका र तिनका आमाबाबुलाई कसरी एकै ठाउँमा राख्ने भन्ने कुनै योजना बनाएको थिएन । आमाबाबु र बालबालिका भिन्दाभिन्दै स.घीय निकायहरूको रेखदेखमा रहेका छन् । सरकारले ५०० बालबालिकालाई आमाबाबुसँग पुनर्मिलन गराएको दाबी गरेको छ । त्यो सही नै हो भने पनि अझै २ हजार केटाकेटी आमाबाबुबाट अलग्गै राखिएका छन् । (यो पनि सरकारी तथ्यांक पत्याउने हो भने । केही आमाबाबुलाई तिनका सन्तानलाई बाल गृहमा थुनामा राखेकै बेला देश निकाला गरिएको थियो । यसरी अलग्ग्याइएका परिवारको कहिल्यै पुनर्मिलन नहुनसक्छ ।
अमेरिकी संसद्मा आप्रवासन नीतिमा लामो समयदेखि गत्यावरोध कायम छ । सहमतिका लागि गरिएका थोरै प्रयास पनि विफल भएका छन् । जनबरीमा दुई पक्षबीच सहमति भएको भए सानो बच्चा छँदै आमाबाबुले गैरकानुनीरूपमा अमेरिका ल्याइएका ‘ड्रिमर’हरूलाई नागरिक हुन दिने र त्यसको बदलामा ट्रम्पको सीमामा पर्खाल लगाउने अनावश्यक जिद्दीका लागि बजेट विनियोजन गर्ने कार्य हुनसक्थ्यो । राष्ट्रपति बाराक ओबामाले ड्रिमरहरूलाई नागरिक हुन दिने व्यवस्था कार्यकारी आदेश जारी गरेरै गरेका थिए तर ट्रम्पले राष्ट्रपति हुनेबित्तिकै त्यसलाई उल्ट्याइदिए । सुरुमा सम्झौताका पक्षमा रहेका ट्रम्प उनका आप्रवासन सल्लाहकार स्टेफेन मिलर र प्रमुख अधिकृत जोन केलीको दबाबमा पछि हटे । मिलर महान्यायाधिवक्ता सेसन सिनेटर छँदा उनका सहयोगी थिए ।
परन्तु, अमेरिकाले कुन हदसम्म ‘सीमा संकट’को सामना गर्न सक्छ ? हालका वर्षहरूमा अवैध आप्रवासन न्यून भइरहेको थियो । तर, सन् २०१४ र हालै विभिन्न कारणहरूले गर्दा यसमा वृद्धि भएको छ । अधिकांश राम्रो आर्थिक भविष्यको खोजीमा आएका छन् । अरु कतिपय सामूहिक हिंसाका कारण भागेकाहरू छन् भने कतिपय महिला घरेलु दुव्र्यवहार सहन नसकेर भाग्नेहरू पनि छन् । यीमध्ये अधिकांशले शरण मागेका छन् तर ट्रम्प प्रशासनले शरण दिन अस्वीकार गरेको छ । शरण पाइने सम्भावना कम हुँदैगएकाले पछि आउनसक्ने शरणार्थी समेत अहिले नै अवैध उपायबाट भए पनि अमेरिका प्रवेश गरिहाल्न बाध्य भएका छन् ।
ट्रम्पलाई आफ्नै नीति उल्ट्याउने कार्यकारी आदेश जारी गर्नु परेकोमा पछुतो हुनसक्छ । उनलाई त सायद अवैध आप्रवासीलाई कुनै सुनवाइको मौकै नदिई ट्यप्प समातेर फिर्ता पठाउन पाए हुन्थ्यो भन्ने लागेको होला । (परन्तु, स्पष्ट असंवैधानिक हुने हुनाले त्यस्तो त हुनै सक्तैन । )
थुनामा राख्ने ठाउँ नभएपछि अमेरिकी सीमा रक्षकले अहिले आप्रवासीविरुद्ध मुद्दा चलाउने कार्य स्थगित गरेको छ । मन नलागे पनि ट्रम्प प्रशासनले अहिले फेरि ‘पक्रने र रिहा गर्ने’ नै गर्दैआएको छ ।
यो गन्जागोल र दुःखान्तको एउटा मुख्य कारण के हो भने ट्रम्प सन् २०१५ को जुनमा सुरु भएको राष्ट्रपति निर्वाचनको क्रममा बनेको आफ्नो आप्रवासी विरोधी छविकै कारण विजय हासिल भएको हो भन्ने ठान्छन् । आप्रवासी विरोधी विषय नोभेम्बरमा हुने निर्वाचनमा रिपब्लिकन पार्टीका लागि र आफ्नै राजनीतिक महत्त्वाकांक्षाका लागि पनि लाभदायक हुनेमा ट्रम्प ढुक्क देखिएका छन् । तर, त्यसको पुष्टि हुन भने बाँकी नै छ ।
द न्यु रिपब्लिककी सम्पादक
(बाह्रखरी र प्रोजेक्ट सिन्डिकेटको सहकार्य)
Copyright: Project Syndicate, 2018.