सानो बच्चालाई कुनै कुरासँग डर हुँदैन । बच्चाको उमेर बढ्दै गएपछि आमाबुबाले भनेको मान्न छाड्छ । अनि उसका अभिभावकले बच्चालाई आज्ञाकारी बनाइराख्न विभिन्न प्रकारका हाउगुजीको प्रयोग गर्छन् । जुन कुरासँग ऊ धेरै डराउने हुन्छ त्यसकै सहारा लिइन्छ – बच्चाले खान नमान्दा खाना खुवाउन, नुहाउन नमाने नुहाउन वा अन्य कुनै उट्पट्याङ गरे त्यसबाट रोक्न ।
मनोविद्हरुका अनुसार यस्तो हाउगुजी देखाएर बच्चाबच्ची तह लगाउनु नराम्रो बानी हो र यसले बालबालिकाको मानसिकतामा नराम्रो असर गर्छ । तर, अधिकांश अभिभावक यस्तो हाउगुजीको प्रयोग कुनै न कुनै रुपमा गर्छन् । यसको असरका बारेमा थाहा नभएर यसो गर्नु त अज्ञानतावश हुनगएको भूल मानिऐला तर शिक्षित भनिएका परिवारमा नै हुने यस्तो अभ्यासलाई के भन्ने ?
प्रसंग एसईई परीक्षाको । यो परीक्षा पनि विद्यार्थी जीवनको एउटा नियमित परीक्षा नै हो । विद्यार्थी जीवनमा यस्ता अनगिन्ती परीक्षाको सामना गर्नुपर्छ । हामीले त्यही एउटा नियमित जाँचलाई हाउगुजी बनाइदिएका छौँ – विद्यार्थीका अभिभावक, शिक्षक, संचारकर्मीलगायत समाजका सबैजना मिलेर ।
एसईई परीक्षालाई छोडेर कक्षा १ देखिको कुरा गर्ने हो भने स्नातकोत्तरसम्मको पढाइ सक्ता एउटा विद्यार्थीले करिब १९ वटा जति अरु परीक्षामा सामेल हुनुपर्छ । तर, सबै परीक्षाका जम्मै समाचारलाई जोड्दा जति संख्या हुन्छ, त्यसको पचासौं गुना बढी एसएलसीको मात्र समाचार संचारमाध्यमहरुमा आउने गर्छ । एसईई परीक्षा सुरु हुनु एक महिना पहिलेदेखि एसईईको नतिजा प्रकाशित भएको एक महिनापछिसम्म कुनै न कुनै रुपमा एसईईसँग जोडिएका समाचार आइरहन्छन् । मानौ जिन्दगीको यो नै सबैभन्दा ठूलो कुरा हो र यसलाई जसरी पनि पास गर्नुपर्छ भनेजस्तो । रमाइलो त के भने एसईईको मात्र यति धेरै समाचारले विभिन्न संचार माध्यममा स्थान पाइरहँँदा एसईई पूर्व तथा एसएलसीपछिका विभिन्न परीक्षा कहिले संचालन हुन्छन्, कहिले त्यसको नतिजा प्रकाशित हुन्छ भन्ने नियमित कक्षामा जाने विद्यार्थीबाहेक अन्यलाई थाहा नै हुँदैन । यसरी हामीले नै एसईईलाई सगरमाथाभन्दा अग्लो पहाड बनाइदिएका छौँ र त्यसलाई जसरी पनि पार गर्नै पर्छ ।
एसईईसी भनेको लामो स्कुले जीवनबाट पार पाउने एउटा तह हो । अझ एसएलसी भनिने परीक्षालाई एसईईको नाम दिइएपछि त यो माध्यमिक तहको परीक्षामा सीमित हुनुपर्ने थियो ।
नामैले पनि यो सेकेन्डरी एजुकेसन एक्जाम (एसईर्ई) अर्थात् माध्यामिक शिक्षा परीक्षा । स्कुले जीवनको माध्यमिक तह पार गर्ने एउटा परीक्षा मात्रै हो । तर एसएलसी परीक्षा एसईईमा रुपान्तरण हुँदासम्म पनि यो परीक्षालाई ठूलो हाउगुजी बनाइएको छ । समाजका प्रायः सबैजसोले यसलाई फलामे ढोका भन्दिए । नतिजा ग्रेडिङ प्रणालीमा आउँदासमेत त्यसलाई प्रतिशतमा रूपान्तरण गरेर सामाजिक संजालहरुमा बधाई दिने अविभावकको कमी हुनसकेको छैन ।
यो परीक्षा अब्बल दर्जामा पास गरिएन भने संसारै डुब्छ भनेर सिकाइँदै आइएको छ । यस्तै सिकाइका कारणले नै यो परीक्षा दिनानुदिन अमर्यादित बन्दै गएको हो । प्रत्येक वर्ष परीक्षामा नक्कली परीक्षार्थी भेटिने, निरीक्षकले नै परीक्षार्थीलाई सिकाउनेलगायतका विभिन्न अमर्यादित कार्य यसैको परिणाम हो । हुन पनि यति ठूलो हाउगुजीको सामना गर्न त सबै प्रकारले तयार हुनैपर्यो नि ! अनि किन नभेटिउन् बोराका बोरा चिट परीक्षाहलमा ?
साँच्चि नै हामीले यस परीक्षालाई कति ठूलो कुरा हो भन्ने भान विद्यार्थीहरुमा पारिदिएका छौँ भने परीक्षामा सामेल भएका आधा जतिले उच्च शिक्षाको बाटोतिर अघि बढ्दै गर्दा आधा जति अनुत्तीर्णको बिल्ला भिरेर गन्तव्यविहीन हुन्छन् । यी गन्तव्यहीनमध्ये केहीले आत्महत्या गरेका विगतको तीतो अनुभव छ ।
विद्यार्थीलाई जसरी पनि उत्कृष्ट नतिजा ल्याउन बाध्य पारिनु हँुदैन । हुन त स्कूलबाट धेरै विद्यार्थी पास भएर विद्यार्थीले उत्कृष्ट नतिजा ल्याए सबैका लागि राम्रो हुन्छ । तर यही एउटा परीक्षालाई ठूलो हाउगुजी बनाएर इज्जत र प्रतिष्ठा नै परीक्षाको परिणाममा नाप्नु चाहिँ गलत हो । यसलाई जति ठूलो हाउगुजी बनाएर प्रचार गरिन्छ, उति नै यसको परिणाम पनि ओरालो लाग्छ ।
एसईई अध्ययनको एउटा तहमात्र हो, जीवनको अन्तिम परीक्षा होइन । अर्को कुरा यो परीक्षा बिग्रँदैमा उच्च शिक्षा पनि बिग्रन्छ भन्ने पनि छैन । कतिपय विश्वप्रसिद्ध व्यक्तिहरू पनि अध्ययनमा अनुत्तीर्ण भएका उदाहरण हामी सामु छन् । यसको अर्थ अध्ययनमा अनुत्तीर्ण भए पनि हुन्छ भन्ने चाहिँ होइन । अर्थ केमात्र हो भने एसईईको अंकले मात्र जीवन सफल वा असफल भन्ने हुँदैन । विलियम सेक्सपियर ५ कक्षामा दुईपटक फेल भएका, रवीन्द्र ठाकुर एसएलसीमा सातपटक फेल भएका, महात्मा गान्धी तेस्रो डिभिजनमा एसएलसी पास भएकाजस्ता थुप्रै उदाहरण हाम्रा सामु छन् ।
त्यसैले समग्र अभिभावक, शिक्षक, विद्यार्थीहरुले एसईई विद्यार्थीहरुमा मनोवैज्ञानिक असर पर्ने गरी यो परीक्षा नै जीवनको सवैभन्दा ठूलो कुरा हो भन्ने भ्रम पैदा गर्ने कुरा गर्न आजैबाट छाडौँ । संचार माध्यमहरुले पनि एसईईकोमात्र समाचार प्रकाशन प्रसारण गर्नुभन्दा शिक्षाका अन्य विभिन्न पाटा केलाएर खोजमूलक शैलीका समाचार दिने प्रयास गर्नुपर्छ । यो कार्यले एसईईसी परीक्षालाई मर्यादित त बनाउँछ नै एसईई परीक्षामा कम अंक ल्याउँदा गलत कार्य गर्न पुग्ने र आत्महत्यासमेत गर्न तम्सने विद्यार्थीलाई त्यसबाट रोक्न समेत मद्दत गर्छ ।
व्यक्तिले समाजमा आफूलाई कसरी प्रस्तुत गर्छ भन्ने कुराले जति महत्त्व राख्छ त्यति एसईईमा प्राप्त अंकले पक्कै पनि राख्दैन । तर, पनि हामीले एसईईको अंकलाई प्रतिष्ठाको विषय बनाउन छाडेका छैनौ र परीक्षालाई हाउगुजीका रुपमा प्रस्तुत गरिरहेका छौँ । हामीले यस परीक्षालाई हाउगुजीका रुपमा प्रस्तुत गरिरहेसम्म यसले हाम्रा सन्ततिलाई तर्साइरहन्छ ।