site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपालमा मौद्रिक नीतिको सान्दर्भिकता

१. साधारणतया मौद्रिक नीतिको सबैभन्दा महत्वपूर्ण लक्ष्य मुद्रास्फीति नियन्त्रण गर्नु हो । यो लक्ष्य प्राप्त गर्न केन्द्रीय बैंकको सबैभन्दा प्रभावकारी मौद्रिक उपकरण अल्पकालीन ब्याजदर हो । तर, राष्ट्र बैंकले निर्धारण गरेको नीतिगत ब्याजदर २०७३/७४ को ७ प्रतिशतभन्दा पृथक ढंगबाट मुद्रा बजारको दर (२०७३/७४ को सरकारी ऋणपत्र १.४५ प्रतिशत, अन्तरबैंक दर २.६ प्रतिशत) कायम हुँदा ती दरहरुबीच ठूलो अन्तर देखियो । केन्द्रीय  बैंकको यो महत्वपूर्ण मौद्रिक उपकरण नेपालको सन्दर्भमा पूर्णरुपले निस्क्रिय रहेको छ ।  तसर्थ, नीतिगत ब्याजदरमार्फत ऋणको माग र आपूर्ति व्यवस्थापन गरी मुद्रास्फीतिको लक्ष्य प्राप्ति गर्ने प्रणाली नेपालको सन्दर्भमा असान्दर्भिक रहेको छ । 

२. यद्यपि भारतसँगको स्थिर विनिमयका कारणले पनि पूर्णरुपले स्वतन्त्र मौद्रिक नीति अवलम्बन गर्न भने सम्भव छैन ।  भारतसँगको अधिक व्यापार निर्भरताका कारण पनि भारतको मुद्रास्फीतिको सोझो असर देशको अर्थतन्त्रमा पर्छ ।  यसबाहेक मागको कारणले हुने मुद्रास्फीतिका साथै आपूर्तिका कारण प्रभावित हुने मुद्रास्फीति नेपालको सन्दर्भमा उत्तिकै महत्वपूर्ण छ । यस अर्थमा नेपालको केन्द्रीय बैंकको मुद्रास्फीति नियन्त्रणमा सारै न्यून भूमिका रहेको तथ्यांकबाट स्पष्ट हुन्छ । 

३. केन्द्रीय बैंकको अर्को महत्वपूर्ण उद्देश्य विदेशी विनिमय दरको व्यवस्थापन पनि हो । तर, नेपालको सन्दर्भमा भारतसँगको स्थिर विनिमयका कारण मौद्रिक नीतिले दर परिवर्तनको अवस्थामा बाहेक वर्षेनि सम्बोधन गर्नुपर्ने अवस्था आउँदैन । 

Prabhu Bank
Agni Group
NIC Asia

४. त्यसैले नेपालको सन्दर्भमा मौद्रिक नीतिको औचित्य मूल्य स्थिरता र वैदेशिक विनिमय दर स्थिरताभन्दा वित्तीय स्थिरता र आर्थिक नीतिमा प्रक्षेपित रोजगारी सिर्जना एवं आर्थिक वृद्धिलाई नै टेवा दिने खालको दोस्रो तहको भूमिकामा सीमित भएको छ । यसर्थ मुद्रा नियन्त्रणसम्बन्धी औपचारिक लेपन पश्चात मौद्रिक नीतिमा प्राय बैंकिङ प्रणालीसम्बन्धी दफा नै बढी प्रेषित गरिएको हुन्छ र बजारमा पनि तिनैको बढी चर्चा परिचर्चा हुनेगर्छ । 

५. मर्जरको नाम गरिएको गलत पुँजी वृद्धिका कारण बैंकिङ प्रणालीमा नयाँ किसिमको जोखिम बढेको सर्वविदितै छ । बैंकिङ प्रणालीमा अत्यधिक पुँजी थुप्रिन गई ठूलो मात्रामा  निस्क्रिय रहनु, सानाठूला सबै लगानीकर्ता ऋणी हुन पुग्नु, लगानीअनुसारको प्रतिफल दिनुपर्ने दबाबका कारण संचालक समिति र व्यवस्थापन नचाहिँदो जोखिम उठाउनेतर्फ उन्मुख हुनु, सेयर बजार कृत्रिम तरिकाले चुलिनु र अहिले आत्मसुधारतर्फ लाग्दा धेरै लगानीकर्ताले गुमाउनुलगायत विधिध वित्तीय अस्थिरता निम्तिएको छ । तसर्थ बैंकिङ प्रणालीमा थुप्रिएको अत्यधिक निस्क्रिय पुँजीलाई सहज निकास दिनु जरुरी छ । आगामी केही वर्ष नाफा र साधारण जगेडा कोषमा भएको रकमलाई नगद लाभांशमार्फत् वितरण गर्ने र साधारण जगेडा कोषलाई छुट्याउनसपर्ने व्यवस्थालाई स्वेच्छिक बनाए यो समस्याको सहज समाधान निकाल्न सकिन्छ ।

Global Ime bank

६. सेयर बजारलाई अर्थतन्त्रको ऐना भनिन्छ । विश्व परिवेशमा यो परिभाषा सही हुनसक्छ । तर, हाम्रो परिवेशमा के यो भनाइ सही होला ? भूकम्पलगत्तै भारतले लगाएको नाकाबन्दीले थलिएको वर्ष कुल गार्हस्थ्य उत्पादनको वृद्धि ०.४ प्रतिशतमा सीमित हुँदा नेप्से ८ प्रतिशतले बढ्नु (९६१ बाट १७१८) र गत आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादन ७.५ प्रतिशतले बढेको वर्ष नेप्से ८ प्रतिशतले घट्नुले (१७१८ बाट १५८३) फरक संकेत गर्छ । वित्तीय क्षेत्रले ८५ प्रतिशत ओगटेको नेप्सेले सम्पूर्ण अर्थतन्त्र र विशेषगरी वास्तविक अर्थतन्त्रको प्रतिनिधित्व गरेको हुँदैन । यस अर्थमा सेयर बजार नेपालको अर्थतन्त्रको ऐना हुनसक्तैन । हाम्रो पुँजी बजार अर्थतन्त्रको मूलभूत यथार्थबाट निर्देशित नभई नितान्त वित्तीय क्षेत्रमा गरिने नीतिगत व्यवस्था र सो क्षेत्रमा विकसित हुने घटनाक्रमबाट निर्देशित हुने गरेको छ ।

७. पुँजी पर्याप्ततालाई बेसल कमिटीअनुसार नै परिभाषित गरी अनुगमन गर्नु आवश्यक हुन्छ ।  पुँजी पर्याप्ततालाई पुनर्परिभाषा गरी अर्थतन्त्रलाई  नै बोझ हुने गरी पुँजी थोपर्ने अवस्था सिर्जना हुनु दुर्लभ स्रोतको विचलन हो ।  निष्क्रिय पुँजीको लागतलगायत यसले निम्त्याएका विविध अपचलनको लेखाजोखा नगरी बैंकिङ छेत्रमा विगत २ वर्षमा ४ देखि २५ गुणाले पुँजी थप भएको अवस्थालाई मौद्रिक नीतिको सफलता भनेर एकोहोरो रटान लगाउनु उपयुक्त हँुदैन । पुँजी बढाउँदैमा संस्था बढी मजबुत हुँदैन । ढिलोचाँडो पुँजी पर्याप्तताकै मापदण्डअनुसार चल्ने हो ।

८. कर्जाका लागि उपलब्ध स्रोत गणनामा सरल र एकल प्रणाली लागु गर्नु आवश्यक छ । हालको पुँजी एवं निक्षेप (सीसीडी) व्यवस्थालाई आधिकारिक तरलताको अनुपात (यसयलआर)मा पूर्णरुपले समायोजन गर्दा सरल, पारदर्शी र प्रभावकारी हुने देखिन्छ । हालको यसयलआर को परिभाषालाई फराकिलो बनाई १२ प्रतिशतबाट बढाएर १८–२० प्रसतशतभित्र राख्ने र सीसीडीलाई पूर्णरुपले प्रतिस्थापन गरे प्रभावकारी हुनेछ । भारतको १९.५ प्रतिशत यसयलआरलाई आधार मान्दा २०७३ र ७४मा नेपालको बैंकिङ क्षेत्रबाट ८३ प्रतिशत सीसीडी अनुपातसम्म ऋण प्रवाह गर्न सकिने देखिन्छ । त्यसअनुरुप वाणिज्य बैंकले करिब ७० अर्ब बराबरको अतिरिक्त ऋण प्रवाह गर्न सक्ने देखिन्छ भने सोही वर्षको ८० प्रतिशत सीसीडी अनुपातलाई यसयलआरमा रुपान्तर गर्दा २३ प्रतिशत हुन आउँछ । यसरी हेर्दा भारतभन्दा नेपालको केन्द्रीय बैंकले बैंकिङ क्षेत्रको कर्जाको लागि उपलब्ध स्रोतमा बढी कडाइ गरेको देखिन्छ । साथै कर्जा व्यस्थापनमा यसयलआरको प्रयोग र परिवर्तन सहज र पारदर्शी हुनेछ । अन्यथा सीआरआर र यसयलआरको दरमात्र परिवर्तन गरेर अहिलेको समस्या समाधान गर्न सकिँदैन । साथै चालु आर्थिक वर्षमा आर्जन गरेको नाफाले सीसीडी अनुपातलाई टेवा नदिने हालको अवस्था यसयलआर प्रणालीद्वारा स्वतः समायोजन हुनेछ ।

९. २०७३ र ७४ को तथ्यांक हेर्दा सम्पूर्ण वाणिज्य बैंकको औसत सीसीडी अनुपात ७१ प्रतिशतमात्र देखिए पनि केही बैंकमा केन्द्रीय बैंकले तोकेको सिसिडी अनुपात नाघ्ने स्थिति आउँदा वित्तीय क्षेत्रमा अस्थिरता आएको थियो । अठ्ठाइसवटा वाणिज्य बैंकमध्ये ११ बैंकको सीसीडी अनुपात ७५ प्रतिशतभन्दा बढी रहनु र तीमध्ये केहीले सो अनुपात सम्बोधन गर्न चालेका कदमको फलस्वरुप देशको सम्पूर्ण बैंकिङ क्षेत्र नै तनावमा धकेलिएको थियो । चालु आर्थिक वर्षमा भने सो समस्या ऋण प्रवाह गर्ने स्रोतको अभावका कारण समग्र बैंकिङ क्षेत्र नै  अप्ठेरोमा परेको छ । यस्तो अवस्थामा तनावमा परेका एकाध संस्थाका निर्णयले पनि सम्पूर्ण  वित्तीय छेत्र नै अस्थिर हुने जोखिम उत्पन्न भएको छ । यसको प्रमुख कारण बजारले जोखिमको आधारमा वित्तीय संस्थाहरुलाई विभाजन गर्न नसक्नु हो । वित्तीय तनावमा परेको कुनै बैंकले अचानक निक्षेपको ब्याज बढाउँदा बजारले सो निर्णयको जोखिमको पाटो नहेरी ब्याजबाट आम्दानी बढाउने अवसरमात्र देख्नु बजार अपरिपक्व रहेको संकेत हो । यस्तो स्थिति रहिरहे अर्थतन्त्र जोखिमतिर धकेलिने छ । साथै हरेक बैंकको आकार धेरै नै ठूलो हँुदै गइरहेको परिपे्रक्षमा केन्द्रीय बैंकले अन्तिम अभिभावकको भूमिका निश्चय पनि निर्वाह गर्छ भन्ने अन्तर्मनको आश्वासनले बैंकिङ क्षेत्रमा नैतिक अपचलन बढ्दै जानसक्ने जोखिम हुन्छ ।  

१०. आक्रामक ब्याज, आक्रामक लगानी हुँदा पनि निष्क्रिय कर्जा वर्षैपिच्छे न्यून देखिनु आश्चर्य लाग्दो छ ।  व्यवसाय लागत बढिरहेको अवस्था, औद्योगिक छेत्र ५ प्रतिशतमा खुम्चिनु, उपभोग बढ्दै जानु, परनिर्भरता बढ्दै जाँदा पनि  निष्क्रिय कर्जा अत्यन्त कम छ । यस सन्दर्भमा निरन्तर हिसाबमिलान गर्ने र उकासिएको जग्गा भाउको प्रमुख भूमिका रहेको सहजै अनुमान लगाउन सकिन्छ । सो अन्तरसम्बन्ध तोडिए देशले वित्तीय संकट भोग्नु पर्ने देखिन्छ । समयमै यससम्बन्धमा आवश्यक अध्ययन गरी सुधारात्मक कदम चल्नु आवश्यक छ ।

११. बाध्यात्मक ठूला मर्जरको हल्ला निक्कै नै मच्चिएको छ । पच्चीस अर्ब डलरको अर्थतन्त्रमा २८ बाणिज्य बैंक हुनु धेरै हो भन्नेमा विमति हुँदैन । बाध्यात्मकभन्दा उत्प्रेरक मर्जर गर्दा दिगो र सफल होला भन्ने आशय हो । सबै चिज बाध्यात्मक नै हुनुपर्छ भन्ने सोचबाट माथि उठेर केन्द्रीय बैंकलगायत अर्थ मन्त्रालय र अन्य नियामक निकायले उत्प्रेरकको भूमिका निर्वाह गरी अनुकूल वातावरण तयार गर्दिए सफल पक्कै हुनेछ । शाखा खोल्ने होड यसरी नै चल्ने हो भने हरेक जिल्ला सदरमुकाममा २८ वटा वाणिज्य बैंकको शाखा खुल्नेमात्र हैन १० वटाभन्दा बढी विकास बैंकहरूका पनि शाखा खोल्ने अवस्था उत्पन्न हुनसक्छ । यस्तो अनुत्पादक प्रतिस्र्धा समयमै रोकिनुपर्छ ।

१२. मौद्रिक विस्तारमा सरकारको प्रमुख भूमिका रहने भए पनि नेपालको सन्दर्भमा भने एकातिर न्यून सरकारी आन्तरिक ऋण परिचालन (जीडीपीको ११ प्रतिशत भन्दा कम) र अर्कातिर कमजोर कार्यान्वयनका कारण ऋण विस्तारमा सरकारी भूमिका निस्क्रियमात्र नभएर नकारात्मक रहेको अवस्था छ । केही समय पहिले सम्पूर्ण सरकारी अन्तरिक ऋणभन्दा बढी सरकारी नगद मौजाद (रु. ३०० अर्ब) रहेको थियो । यो अवस्थाको दीर्घकालीन हल गर्न नसकेसम्म यो समस्या आई नै रहनेछ र बैंकिङ क्षेत्रले यसको मूल्य चुकाइरहनुपर्ने छ । त्यसैले यो समस्याको दीर्घकालीन समाधानका लागि स्वचालित संयन्त्र स्थापित गर्नु आवश्यक छ । अन्ततोगत्वा सरकारी नगद मौजाद बैंकिङ प्रणालीमै भित्रिने भएकोले साप्ताहिकरुपमा सरकारी नगद आवश्यकता प्रक्षेपनणगरी बढी रकम सरकारी ऋणपत्र, बोन्ड आदि धितो राखी लिलामीमार्फत् बजारमा प्रवाह गराउने र यसलाई कल निछेपमा गणना गर्न पाउने व्यवस्था गरे यो समस्या दीर्घकालीनरुपमा समाधान हुनेछ । साथै सरकारले अन्तरिक ऋण उठाउँदै पुँजी निर्माण हुने परियोजनामा लगानी गरे सोही स्रोत फेरि बैंकिङ प्रणालीमा निक्षेपको रुपमा भित्रिन गई नयाँ कर्जा प्रवाह गर्ने मार्ग  फराकिलो हुने थियो ।

१३. विदेशी मुद्राको संचितिलाई आर्थिक रुपान्तरणको प्रभावकारी स्रोतको रुपमा राज्यले अहिलेसम्म पहिचान गर्न नसक्नु दुर्भाग्य हो । आयातमुखी राजस्व प्रणालीभन्दा माथि उठी आयात कम गर्दा बचत हुने विदेशी मुद्रा संचिति पनि राज्यकै महत्वपूर्ण वित्तीय स्रोत हो भन्ने बुझ्नसके विकासले गति लिन  सक्थ्यो । यो परम्परागत सोच नत्यागे ढिलोचाँडो उपभोग्य आयातले नै देशको सम्पूर्ण विदेशी मुद्रा संचिति रित्तिँदै जानेछ र देशले ठूलो ऐतिहासिक अवसर गुमाउनेछ । विदेशबाट पैसा ल्याएर स्वदेशमा कर्जा प्रवाह गर्ने प्रसंग आइरहेको अवस्थामा विदेशमा थुपारिएको आफ्नै स्रोत स्वदेशमा परिचालन गर्नसके लगानीको अभाव कम गर्न सकिने थियो । चार अर्ब डलरभन्दा बढी वैदेशिक मुद्रा संचिति भारतकै सरकारी ऋणपत्रमा लगानी र बैंकहरुमा राखिएको अवस्थामा देशका बैंकहरु भने विदेशबाट ऋण लिएर स्वदेशमा ऋण प्रवाह गर्नतर्फ उन्मुख हुनुपरेको छ  । 

१४. अर्थतन्त्रको आकार नबढाई र छाया अर्थतन्त्र नखुम्च्याई आन्तरिक स्रोत परिचालन गर्न कठिन छ । देशमा भित्रिएको रेमिट्यान्स आन्तरिक उत्पादनमा योगदान गर्न नपाउँदै बाहिरिएको अवस्थामा मौद्रिक विस्तार सहज नहुने प्रस्ट छ । संस्थागत निक्षेप ४५ प्रतिशत भएको अर्थतन्त्रमा अन्य स्रोतबाट साधन जुटाउन सजिलो छैन । विकट गाउँपालिकाहरुमा अन्धाधुन्ध शाखा खोलिएका कारण बैंकिङ क्षेत्रको लागत प्रतिदिन बढिरहेको छ । यस्ता शाखामा सरकारी बजेटबाहेक स्थानीय अर्थतन्त्रबाट स्रोत परिचालन हुनसक्ने अवस्था ज्यादै न्यून छ । अप्राकृतिक ढंगबाट बढाइएको पुँजीका कारण लगानीको प्रतिफल सुनिश्चित गर्न आक्रामक ऋण प्रवाहतिर उन्मुख भए अर्थतन्त्रले ठूलै जोखिम भोग्नुपर्ने स्थिति उत्पन्न हुनेतर्फ सबै सजग हुनुपर्छ ।
केन्द्रीय बैंक सूक्ष्म व्यवस्थापनभन्दा माथि उठी आफ्ना कर्मचारीको कार्य क्षमता वृद्धि गर्न अग्रसर रहोस् । नयाँ मौद्रिक नीतिको लागि अग्रिम शुभकामना ! 

(विद्यावारिधि शोधार्थी, लभ्ली पन्जाब विश्वविद्यालय, भारत)

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ११, २०७५  १६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC