site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
गलत बाटोमा सरकार

नेपालको इतिहासमा पहिलो पटक बनेको (कथित) कम्युनिस्ट बहुले सरकार गलत बाटोतिर हिँड्न खोजेको देखिँदै छ । गलत दुई कारणले छ –  पहिलो कारण, दुईतिहाइ बहुमतको  दम्भ छ र दिग्भ्रमित पनि छ । दोस्रो वैचारिक अन्योलको सहउत्पादनको तानातान व्यावहारिक निर्णयमा पर्न थालेको छ । कारण वा नियत¬ – छोटकरीमा आफूलाई चतुर ठान्ने सरकार, कुहिरामा हराएको काग भएको नागरिकले महसुस गर्न थालेका छन् ।

पाँच महिना बित्न लाग्दैछ तर सरकारले सम्झन लायक नयाँ र स्पष्ट योजनामात्रै पनि देखाउन सकेको छैन । केही थेगोहरूको पुनरुक्तिमा नै दिन बितिगएका छन् । जस्तै समृद्ध नेपाल, सुखी नेपाली, म पनि भ्रष्टाचार गर्दिन, अरूलाई पनि गर्न दिन्न र समाजवादजस्ता थेगा सत्ताधारीलाई भीषण भाषणको खुराक भएका छन् । अमूर्त लफ्फाजी चलेको छ । विनायोजना र कार्यक्रम जतिसुकै सुन्दर होऊन् यस्ता शब्दावली परिणाममा उत्पादनहीन नै हुन्छन् । सरकारको नीति, कार्यक्रम र बजेट योजना क्रियान्वित गर्ने मार्ग निर्देशक हुन् । तर, यसपटकको बजेट प्रधानमन्त्रीलाई आफ्नै दलका सांसदलाई यस विरुद्ध नबोल्नु भन्ने आदेश जारी गर्नमात्र काम आयो, अरू कसैलाई पनि त्यसले उत्साहित गर्न सकेन । यस्तो पृष्ठभूमिमा ती भनाइ कार्यक्रमहीन थेगोमात्र बन्नु स्वाभाविकै भयो ।  

किन यस्तो भयो ? यसलाई वैचारिक अन्योल भन्नोस् कि विचारहीनताकै कारण हो भनी बुझ्न गारो छैन । सधैँ अरूको आलोचना र खोट देखाएर ठालु राजनीति गर्दैआएको नेपालको कम्युनिस्ट प्रवृत्ति व्यावहारिक पनि बन्न सकेन र वैचारिक पनि रहेन । पाए सत्ताको दोहन र नपाए हिंसाको प्रयोगबाट स्रोतको जुगाड गर्ने (कु)संस्कारको मिश्रण नै केपी ओली सरकारको रचना हो । गफ छ, कार्यक्रमको छर्लड्ग दृष्टि छैन । 

Prabhu Bank
Agni Group
NIC Asia

गफ पनि नेपालीको अहिलेको खाँचोलाई पूर्ति गर्ने प्रकारको छैन । हाम्रो प्रारम्भिक आवश्यकता चरम गरिबीले एकपेट हातमुख जोर्न नपाएको ख्याउटे मानिस र शिक्षा,स्वास्थ्यलगायत सामान्य मानवीय आवश्यकताका लागि तड्पी रहेको नागरिकलाई यो स्थितिबाट मुक्त गर्ने र समृद्धिको बाटोतर्फ हिँडाउने हो । अहिले नै पानी जहाज र रेलको गफ सुनाएर तिनको पेट भरिन्न,आङ ढाकिन्न, उपहासमात्र हुन्छ । ठीक छ, रेल र पानी जहाजको कुरा । तर, त्यो कहिले, कसरी र किन ? यिनको जबाफ सरकारले दिनुपर्छ । कतै, यो कुरालाई प्रारम्भिक काम गर्न नसक्ने सरकारले आकाशको फल देखाएर समय गुजार्ने सामल नबनाओस् ।     

तर,  यो सरकार मार्क्सवादका कारणले होइन पशुपति नाथको अनुग्रहले भाग्यमानी भने हो । समृद्धिको नारा छ, आफूले केही नगरे पनि अरूकै कामको उपलब्धिमा समृद्धिको बखान गरे पुग्छ । मेलम्ची होस् कि रसुवागढी मार्ग वा सडक सञ्जालमा जोडिन थालेको हुम्ला, जुम्ला र डोल्पा । निर्माणाधीन पोखरा विमास्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल वा काठमाडौं निजगढ द्रूत मार्ग र मध्यपहाडी राजमार्ग । तामाकोसी, चिलिमेलगायतका विद्युत् आयोजना । प्रायः काम सम्पन्न हुने क्रममा रहेका यस्ता बीसौँ सानाठूला योजनालाई समयमै पूरा गरेर उद्घाटन भाषणमा ‘‘ल हेर ! समृद्धि’’ मात्रै भनी दिए पनि अबका साढे चार वर्षका लागि यो सरकारलाई पुग्छ ।

Global Ime bank

संसद्मा प्राप्त संख्यात्मक बल र सहजै आउने उपलब्धिबीच पनि सरकार द्विविधा वा अन्योलग्रस्त छ । ल, गुणस्तरीय उपभोग्य सामग्रीको माग त छोडिदिऊँ, महँगी नियन्त्रण गर्नसमेत सरकार असफल छ । अनियन्त्रित महँगीले निम्न आय भएका नागरिकलाई बोझ थपिदिएको छ । यो सरकारले भनेको समृद्धि कसका लागि हो ? सत्तामा बस्ने र तिनका कार्यकर्ताको समृद्धि हो भने त्यसका लागि ढोका खुलेकै छ । भ्रष्ट्राचारलाई शब्दमा जतिसुकै दुत्कारे पनि व्यवहारमा नियन्त्रणको कुनै संकेत देखिएको छैन । सुन्दा राम्रो लाग्ने वा जनताले सुन्न चाहेजस्तो बोलिदिने तर त्यसका लागि आवश्यक ऐन, नियम र विधिसम्मत दीर्घकालीन उपाय अवलम्बन नगर्ने, बरु हुकुमी शैलीमा आदेश दिनेजस्तो अप्रजातान्त्रिक तरिका अपनाइएको छ । यो राम्रो लक्षण होइन । 

दुई महिना (चैत २३, २०७४) अघि भारत भ्रमण गरेका प्रधानमन्त्री ओली यतिबेला उत्तर छिमेकी चीनको भ्रमणमा छन् । दुवै छिमेकीबीच सम्बन्ध सन्तुलित तुल्याउने मूल मुद्दा बनाएर भएका यी भ्रमण प्रधानमन्त्रीको समृद्धिको आधारभूमि समेत हुन् भन्ने देखिएको छ ।

भ्रमणको उपलब्धि भनी जतिसुकै ठूलो र लामो फेहरिस्त दिइए पनि आफैँले गर्ने भन्दा गरिदेऊ भन्ने अभिव्यक्ति भ्रमणबाट आएका सन्देश हुन् । सामथ्र्यलाई भन्दा बाहिरको सहयोग दानलाई प्रमुखता दिइएको पनि भ्रमणका दृश्य हुन् । जस्तै पानी जहाज र रेल, तर हाम्रो पहिलो आवश्यकता सुदृढ सडक सञ्जाल हो । भारततिर जाँदा बजेट आएको थिएन । चीन जाँदा भने आइसकेको छ । यो बजेट अहिलेको अनिवार्य आवश्यकतालाई पहिचान गर्नसक्ने र आफ्नै सामथ्र्यलाई उद्घाटित गर्ने हुन्थ्यो भने हाम्रो स्थिति र दुवैतिरका छिमेकीको हेराइमा निश्चय नै फरक आउने थियो । बजेटले निजीसमेत आन्तरिक र बाह्य लगानी आकर्षित गर्न सकेको भए समृद्धिको यात्रालाई यतिधेरै भीक्षाटनको विषय बनाउनुपर्ने थिएन । रोजगार बढाउन पनि सबैभन्दा छिटो उपाय यही हुन्थ्यो । यति भन्दाभन्दै पनि लगानीका लागि चाहिने सुरक्षा र प्रतिफलको निश्चिततामा सन्देह भएका कारण वा स्वयं कम्युनिस्ट सरकारको अन्योल पनि लगानीका लागि बाधक भएको सत्य उल्लेख गर्नैपर्छ । दुईतिहाइ बढीको बलियो दम्भको सरकार भलै होस् तर सुरक्षा र प्रतिफल सुनिश्चित हुने सन्देश दिनसकेको छैन । बजेटको मात्रै दोष देखाएर पुग्दैन । 

मनमा निर्वाचित कार्यकारी हुँदै अधिनायकवादको सपना साँचेर संसदीय सत्ता स्वाद लिइरहेको कम्युनिस्ट सरकारले नियतवश नै अन्योल बनाएको हुनसक्छ । संसदीय प्रणालीलाई अन्योलको अन्धकारमा फसाएर अधिनायकी निर्वाचनका लागि जनमत तयार पार्ने रणनीति पनि हुनसक्छ । अहिलेको सरकारको संरचना संसदीय प्रणालीविरुद्ध हिंसाचार गरेको समूह नै हो । यसकारण जानाजान गलत बाटो हिड्न खोजिएको हुनसक्छ । हिटलरको उदय पनि निर्वाचनबाटै भएको हो । लगानीकर्ताले यस्तो बुझेकै कारण लगानी नगर्ने र लगानीलाई नजिक ल्याउन खोज्दा नियन्त्रित अर्थ व्यवस्थाको सपना टाढिने डरले बजेट खुम्चिएको संयोग हो कि, नियत भन्न सजिलो छैन । 

कैयन् यस्ता रहस्यबीच सत्ताधारी र केही विश्लेषक भन्छन् – राजनीतिक संक्रमण सकियो । तर, तथ्य त्यो होइन, संक्रमण थप जटिल र भुसभित्रको आगोजस्तो भएको छ, प्रकार फेरिएको छ । सरकारको स्थिरताका लागि बहुमत नै पर्याप्त थियो । किन चाहियो दुईतिहाइभन्दा बढी ? कसका वा केका विरुद्ध चाहियो त्यो ? संविधान संशोधनबाट तराईलगायत अन्य समुदायको माग सम्बोधन गर्नमात्र यस्तो मतको जोहो हो कि संसदीय व्यवस्थाको विरुद्धमा पनि हो ? संसदीय पद्धतिमा प्रतिबद्ध पनि हुन नसक्ने, त्यसको सुविधा भोगमा पनि लिप्त रहने, मनमा अधिनायकवादी सपना पनि देख्न नछोड्ने अहिलेको सत्ता मानसिकता स्वयं संक्रमणको संत्रास हो ।  सबैले हेर्नु र भोग्नु त छँदैछ । संशोधनबाट जायज माग सम्बोधन गर्न सरकारमा दुईतिहाइ चाहिन्छ नै भन्ने होइन । प्रतिपक्षीलगायत सबै दलले उचित कुरामा सहयोग गर्नुपर्ने नै थियो र तयार पनि भएकै हो । यो प्रक्रिया धेरै राजनीतिक हुन्थ्यो ।

यतिबेलाका केही यस्ता रहस्य र अन्योल बचाएर राखियो भने मुलुकले भयानक व्दन्व्द र परिणाम बेहोर्नुपर्ने दिन नजिकिने छन् । कठिन संक्रमणको अर्को सिलसिला जारी हुनेछ । दम्भ, षड्यन्त्र वा रहस्यजन्य अन्योलग्रस्त शक्तिले गलत बाटो रोज्छ । त्यसले अत्यन्त क्षति पुर्याएको इतिहास यहाँमात्रै हैन विश्वमै पटकपटक दोहोरिएको छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ७, २०७५  ०६:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC