site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
सुंगुरको समृद्धि र शान्तिको प्रतीक

अनुदार संविधान भनेर दोष लागेको पञ्चायती संविधान २०४७ सालमा फालियो । तर, राणाकालमा भारत सरकारका सल्लाहकारहरुको सहयोग लिएर पद्म शमसेरले बनाएको संविधानलाई चन्द्र, मोहन र बबर शमसेरहरुले उदार भयो भनेर खारेज गरिदिएका थिए । राणाकालमा उदारवादी ठहरिएको त्यही संविधान पछि गएर हृषिकेश शाहको प्रत्यक्ष संलग्नता र भारत सरकारकै प्रत्यक्ष सहयोगमा पञ्चायतको संविधानमा परिणत गरिएको थियो । तर, नेपाल भारतको कठपुतली बन्न चाहेन बरु अमेरिकी इसारामा नाच्न थाल्यो । अनि भारत र नेपालको सम्बन्ध बिग्रियो । 

सन् १९६२ मा चीनले भारतमाथि आक्रमण नगरेको भए नेहरुले नेपालको राजतन्त्र त्यसैबेला समाप्त पारिदिन्थे । नेपालमा कम्युनिस्टहरुको बीउ उम्रन पनि सायद पाउँदैनथ्यो । महेन्द्रले लामो शासन गर्ने अवसर नै पाउँदैनथे । विश्व बैंकले नेपाललाई अमेरिकी ‘कोटरी‘मा जाकिदिएपछि भारत झन् रिसायो । अनि त्यसले नेपालबाट राजतन्त्र समाप्त पार्ने ‘ग्य्रान्ड डिजाइन‘ बनायो । यस काममा महेन्द्रले नेपालमा रोपेका कम्युनिस्टहरुलाई नै भारतले आफ्नो हातमा लिएर प्रयोग (दुरुपयोग) ग¥यो । राजा वीरेन्द्रको वंश सखाप पार्ने दरबार हत्याकाण्ड भएपछि नेपालबाट राजतन्त्र विधिवत् समाप्त भयो । ज्ञानेन्द्रले जुवामा लगाएको दाउ हारे । उनको च्याँखेसमेत ठूला जुवाडीले दम्पच पारिदिए । उनी च्याँखे हराएको शोकमा सन्तप्त हुन थाले । यसबेला नेपालमा संघीय गणतान्त्रिक नेपालको संविधान निर्माण भइरहेको थियो । यसमा भारतको चर्को दबाब परिरहेको थियो । 

नेपालको नयाँ संविधानमा अधिकतम बुँदा भारतीय सत्ताले चाहेअनुसारकै लेखिए पनि भारतका कट्टरपन्थी हिन्दु जमातले ‘धर्मनिरपेक्षता’ व्यवस्थाप्रति नाक खुम्च्याएका हुनाले यस संविधानप्रति भारतीय सत्ताले ‘नोट‘मा मात्र लियो, स्वागत गरेन् । यही विन्दुबाट सुरु गरेर नेपालविरुद्ध छद्मरुपमा, अन्यायपूर्ण नाकाबन्दी पनि लगायो । यही नाकाबन्दीलाई हतियार बनाएर तत्कालीन नेकपा (एमाले)का नेता खड्गप्रसाद शर्मा ओलीले आफ्नो सत्ताप्राप्तिको लागि हावादारी राष्ट्रवादी अभियान उठाए । त्यसैको आधारमा उनले तत्कालीन माओवादी केन्द्र (पूर्व माओवादी)संग चुनावी तालमेल गरेर संसद्मा दुई तिहाइ शक्ति हासिल गरे । तर भारतले नेपालविरुद्ध लगाएको नाकाबन्दी यो पहिलो पटक थिएन । यसअघि नाकाबन्दी हुँदा मरिचमान सिंह श्रेष्ठ राष्ट्रवादी देखिन पुगेका थिए । यसविरुद्ध यही कम्युनिस्ट जमात सिङ उज्याएर जाइलागेको थियो । तर, दिल्लीले पालेका प्यादाहरुलाई अप्ठ्यारो पर्ने गरी भारतले अचेट्न थालेपछि चाहिँ ‘सच्चा राष्ट्रवादी‘ चिच्याउन थाले । यही राष्ट्रवादी जमातले आफ्नो उभिने ठाउँ छाडेर समृद्धिको खोजीमा अर्काको घरको झ्यालभित्र टाउको झुन्ड्याएर बसेका छन् । यसरी राष्ट्रवाद पनि रमितामात्र बनिरहेको छ ।

Agni Group

अहिले यही जमात एकीकृत भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बन्न गयो । यिनको सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको बजेट भने पूर्णतः भारत सरकार रिझाउन केन्द्रित भएपछि तिनको नक्कली राष्ट्रवादी अनुहार उदाङ्गो भयो । राष्ट्रवादी ओलीले आफ्नै करकमलबाट कर्णाली, अरुणजस्ता ठूला जलविद्युत् आयोजना भारतलाई विधिवत सुम्पिदिए । यसो गर्दा महान् राष्ट्रवादी खड्गप्रसाद ओली र तिनका समर्थकहरु प्रफूल्ल भए । आजभन्दा झन्डै दुई दशकअघि नेपाल आफैँले अरुण आयोजना निर्माण गर्न लाग्दा यही राष्ट्रवादी जमातले क्रान्तिकारी अभियान चलाएर रोकिदिएका थिए । अरुण जलविद्युत् आयोजनाको डिजाइन र कार्यशैली उही भए पनि त्यसबेला राष्ट्रवादी जो ओली नजिकका कठपुतली थिए, तिनले वातावरण विनाशको मुद्दा उठाएर हाहाकार मच्चाए । अरुण आयोजनाविरुद्ध यत्रो हाहाकार मच्चाउन कसको लगानी भइरहेको थियो भन्ने त नेपालका सदावहार जलस्रोत मन्त्री रहेका पशुपति शमसेरलाई राम्रैसँग थाहा होला । यस विषयमा उनले ओली जमातसँग सहकार्य गरेकै हुन् । त्यही अरुण अहिले उही पुरानो रुपमा कार्यान्वयन हुँदैछ । तर वातावरणको मुद्दा उठाउने पुरानो जमात अहिले कानमा तेल हालेर सुतेको छ । अहिले यस्ता हल्लाखोरलाई लगानी गर्नेको हात माथि परिसकेको छ । 

राष्ट्रवादी जमातले अरुण र कर्णाली सुम्पिनुभन्दा अगाडि महाकालीको तर्पण दिनु थियो । पञ्चेश्वर आयोजना तुहाउनु थियो । त्यही गरे, त्यही भयो । फलतः अरु केही नभएपनि यहाँ अनेकौं कम्युनिस्ट नेताको दरवार र महल तयार भए । यो समय, पहिलो चरणको समृद्धिको समय थियो । भुटानमा पनि चुखा जलविद्युत आयोजना भारतलाई सुम्पिएको बेलामा केही राष्ट्रवादी नेताको समृद्धि काल आएको थियो । तर, अहिले त्यही गल्ती गरेकोमा पछुतो गरिँदैछ ।

Global Ime bank

क्रान्तिकारी नेताहरुको पहिलो चरणको समृद्धिसँगै, नेपालमा नेहरु डक्ट्रिन (हिमालय क्षेत्रका देशहरुलाई स्वतन्त्र रहन नदिने, तिनलाई भारतको संरक्षणमा राख्ने योजना) पूरा भयो । त्यसको प्रमुख साधन नेपालको राजदरवारले रोपेको, संरक्षण दिएको, हुर्काएको र शक्ति दिएको कम्युनिस्ट जमात नै हुन गयो । उनीहरुले १२ वर्षसम्म देशको घाँटी अठ्याएर चल्नै नसक्ने गरी अधमरो अवस्थामा पु¥याई दिएका थिए । एउटा पटाका पड्कँदा तीन दिनसम्म तर्सिने र कोही यात्रु बाटोमा लडेर सामान्य घाइते हुँदा तुरुक्क आँसु चुहाउने नेपाली समाजले आफ्नै घर बमले पड्केको देख्न प¥यो । तिनलाई आफ्ना नातेदारहरुको लास गन्न मुस्किल प¥यो । बाटोघाटो, पुलपुलेसा, स्कुल, मन्दिर सबै आफ्नै आँखा अगाडि हावामा उडेको देख्न प¥यो । फलतः कुनै पनि नेपालीका आखाँमा आँसु बाँकी रहेनन् । उनीहरु शोकलाई शक्तिमा बदलौँ भन्ने स्वार्थी नाराका पछि लाग्न थाले र क्रूर तथा सुख्खा आँखा लिएर सडकमा उत्रिए । यतिबेलासम्म नेपालमा कुनै पनि मानिसको छातिभित्र हृदय बाँकी रहेको थिएन ।  समाजमा पाशविक प्रवृत्ति व्याप्त भयो । कोही कसरी बाँचिरहेको छ भन्नेमा आश्चर्य व्यक्त गर्न थालियो । 

यी सबै दुर्घटना हुनुको एउटै कारण थियो – नेपालविरुद्ध अमेरिका र भारतले संयुक्त खेल खेल्नु । एउटै चाल चल्नु । अमेरिका चीनलाई तर्साउन चाहन्थ्यो, भारत नेपालको हिमालयसम्म शासन गर्न चाहन्थ्यो । यी दुवैको हातमा एउटैमात्र पूर्जा थियो – सूर्यबहादुर थापा । यिनले तिनका लागि मार्ग प्रशस्त गरिदिए । अरु पूर्जाहरु नोट चालित थिए । 

राजा महेन्द्रले अमेरिकी शक्तिलाई (बीपीले पनि इजरायललाई कूटनीतिक मान्यता दिएर) आफ्नो पक्षमा राखेका थिए तर राजा वीरेन्द्रले यही काम राम्रोसँग गर्न सकेनन् । उनले आफ्ना परिवारका भाइहरु, पत्नी (बडामहारानी), छोरा र भतिजाहरुलाई समेत अनुशासनमा राख्न सकेनन् । पञ्चहरु उत्ताउला साँढे भएर निस्केका थिए । तिनै मानिस २०४६ सालको आन्दोलनबाट फालिएपछि तुरुन्तै कांग्रेस र कम्युनिस्ट पार्टीका भित्री लगानीकर्ता र प्रमुख हर्ताकर्ता बन्न पुगे । माफियाका सरदार बन्न पुगे । चुनाव जितेर संसद्मा पुगे । अमेरिका, युरोप र भारतको नजिक रहेर संविधान बनाए । तर, उनीहरुले पश्चिमा जगत र भारतीय लगानीकर्तालाई सन्तुलनमा राख्न सकेनन् । डा. बाबुराम भट्टराईले नेपालको संविधानको तुलो भारततिर भारी बनाउन पहिलो संविधान सभा नै खारेज गरिदिए । तर पश्चिमा विश्व र अमेरिकालाई यो मन परेन । उनीहरुले कम्युनिस्ट जमातलाई हातमा लिएर (खासमा जमातलाई पैसाले किनेर) दोस्रो संविधानसभा खडा गरे । 

तिनले एनजीओ र आईएनजीओमार्फत अर्बाैं डलर (पौन्ड, क्रोनर समेत) खर्च गरेर तयार पारेका होक्काबोक्का समूह भनिने जमातबाट सांसदहरु बनाएर संसद्मा पठाए । ती अधिकांशत तिनै राजदरवारको छत्रछायाँमा हुर्किएका कम्युनिस्ट थिए । त्यसबेला जो जो राजनीतिकर्मी, अधिकारकर्मी आदि अत्यधिक सक्रिय थिए तिनलाई विदेशीको हुक्का बोकुवा जमात भनिन्थ्यो । यही शब्द पछि अप्रभंश भएर होक्काबोक्का जमात भन्न थालियो । यिनीहरुले १२ वर्षसम्म धेरैजसो समय पाँचतारे होटलको परिसरमा गफ चुटे, विदेशीहरुको निर्देशन लिए । समाजशास्त्रीका रुपमा नेपाल भित्रिएका चर्चका कार्यकर्ताले तिनलाई देश विदेशको सयर गराए । त्यसमा राजनीतिकर्मी, समाजशास्त्री, पत्रकार, विद्वान्वर्ग, अधिकारकर्मी तथा लेखकगण, नाटकीचटकी गण, ठट्टा गर्ने र बेतालका हाँसो गरेर कमाउने गण, वकिलहरु, विचारकहरु समेत हुन्थे । जसका घरमा आधुनिक सुविधाका सम्पूर्ण चीजवस्तुहरु रातारात पुग्थे तर तिनको विवेक र बुद्धि भने ह्वाइट लेबल, रेड लेबल, ब्ल्याक लेबल इत्यादिको रसमा घाँस चर्न गइसकेको थियो । त्रिविमा नेपाली विषय पढाउने प्राध्यापकहरु नै नेपाली भाषाविरुद्ध सत्तोसराप गरेर घन्टाको १२ देखि २० हजारसम्म पारितोषिक (भिख) कमाउँथे । समाजशास्त्रीहरु एउटा जातीय जमातविरुद्ध अर्को जातीय जमातलाई उकासेर लडाइँ गराउँथे । यताबाट पनि रक्तपातको खेल खेल्थे । जो म¥यो त्यो तुरुन्तै सहिद हुने समय आयो । अनि तिनको नामको सूची पढेरै नसकिने हुनथाल्यो । जो बम वा खतरनाक हतियार बोकेर अरुलाई मार्न जाँदा मारिन्थे उनीहरु सहिद भए । तिनका परिवारले १० लाख नगदै पाए । जो गरिब निरीह थिए ती भने मरेको म¥यै भए । त्यस्ता मानिसहरुको नामावली माडीको बाँदरमुढे खोलामा अझै पनि टाँगिएकै छ । 

अनि देशमा सम्पूर्ण शक्तिका साथ शासन गर्न उही जमात आयो जसको नेतृत्वमा खड्गप्रसाद ओली र पुष्पकमल दाहाल (प्रचण्ड) छन् । यी दुईमध्ये ओलीले राष्ट्रवादी खोल ओढेका छन् भने दाहालले अन्तर्राष्ट्रियतावादी । अर्थात्, एउटाले भारतीय घुम्टो ओढेको छ र अर्कोले पश्चिमा ख्र्रिष्टवादी खोल ओढेको छ । दुवै मालामाल छन् । ज्यान मारेको कसुरमा सजाय पाएका बालकृष्ण ढुङ्गेललाई शान्तिको प्रतीक बनाएका छन् । राजनीतिक शक्ति समृद्धिको यो उच्चतम अवस्था जो हो ।

यिनका कार्यकर्ता (मुख्य नेता र मन्त्री आदि)ले सम्पति विवरण देखाउँदा सुन र चाँदीका हिसाब तोलामा होइन किलोमा देखाउने गरेका छन् । यिनैले अहिले समृद्धिको ढ्वाङ फुक्दै हिँडेका छन् । किनभने उनीहरुलाई आगामी पाँच वर्षभित्र सुन र चाँदीको हिसाब क्विन्टल वा मन (४० किलोको एक मन)को तौलमा देखाउनु छ । यस्तो समृद्धि देखाउने होडबाजी विश्वको कुनै पनि कुनामा चलेको छैन । त्यो होडवाजी नेपालमा मात्र छ । त्यसैले उनीहरु महँगी बढेका जस्ता झिनामसिना कुरामा कुनै ध्यान नै दिँदैनन् । उनीहरुको एकमात्र लक्ष्य छ सकेसम्म छिटो समृद्धि हासिल गर्नु । 

तर ३३ किलो कति ग्राम कति मिलिग्राम सुन हराएको खोजविन हुन थालेपछि, कम्युनिस्ट वृत्तका ठूलाठूला नेता र कमरेडहरु दुम्किएर बसेका छन् । उनीहरु समृद्धिको गीत गाउन ( लच्छेदार भाषण गर्न) फिल्डमा उत्रिएका छैनन् । कहिले कहीँ मिडियामा अन्तर्वार्ता दिएर हामी त भुरा माछा हौं, ठूला माछा त अरु नै हुन् भनेर दुःख मनाउँछन् । 

के हाम्रा वरिपरि जताततै अंग्रेजी उपन्यासकार जर्ज अर्वेलले ‘एनिमल फर्म‘ भन्ने उपन्यासमा चित्रण गरेकै जस्ता सुंगुरका जमातहरु बढिसकेका हुन् ? हामीले यिनकै समृद्धिका लागि अझै पनि ताली बजाइरहनु पर्ने हो ? देशमा यति धेरै संख्यामा सुंगुरको जमात बढिसकेको हो भने यिनले हामी बसेको जग उधिन्दै यसैगरी उछित्तो मच्चाउँदै जाने हो भने, हाम्रो जीवनको आधार के बाँकी रहला ? हामीले लगाएको प्रजातन्त्रको बालीको सुरक्षा कसरी होला ? यो ‘हिगल्डी पिगल्डी‘ वातावरणमा हामी बाँच्न सकौँला र ?

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३, २०७५  ११:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC